शारदा नगरपालिकाका १५ वडामा ७० वर्षमाथिका झन्डै २ हजार ज्येष्ठ नागरिक छन्
सल्यान — शारदा नगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै गएर उपचार गर्न थालेको छ । हिँड्न नसकेर अस्पताल पुग्न नसक्दा स्वास्थ्य सेवाबाट उनीहरू वञ्चित हुन नपरोस भनेर घरै गएर पालिकाले उपचार सुरु गरेको हो । घरमै गएर उपचार तथा निःशुल्क औषधि वितरण गरेपछि अहिले ७० माथिका ज्येष्ठ नागरिक र अशक्तलाई राहत भएको छ । शारदा नगरपालिकाका १५ वडाका ७० वर्ष माथिका झन्डै २ हजार लाभान्वित भएका छन् । उनीहरूलाई सामान्य उपचारको लागि परिवारले धेरै कष्ट उठाउन नपर्ने भएको छ ।
ज्येष्ठ नागरिक आफैं उपचारका लागि बाहिर जान कठिन छ । भौगोलिक विकटताका कारण भन्नेबित्तिकै गाडी नपाउँदा बाहिर लैजान कठिनाइ हुने भएकाले घरमै गएर सेवा दिन सुरु गरिएको शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाधर ववालले बताए । उनका अनुसार वडास्थित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई खटाएर उनीहरूको रक्तचाप, मधुमेह, दम, बाथ, ज्वरो, रुघाखोकी, पेट दुखाइलगायतको उपचार गर्न थालिएको हो ।
पालिकाले जाँच गरिएका बिरामीलाई निःशुल्क औषधि वितरण गरेको छ । ‘अहिले वर्षमा चार पटक तीन महिनाको फरकमा सेवा दिने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘विस्तारै यसलाई बढाउँदै महिनामा एक पटक निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पहल गर्ने छौं ।’ गम्भीर समस्या भएको ज्येष्ठ नागरिकलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्यानसम्म पुर्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए । नगरपालिकाले जिल्ला अस्पतालमा पुर्याइएका बिरामीको उपचार खर्चसमेत व्यहोरिरहेको छ ।
पालिकाभरिका ज्येष्ठ नागरिकको रोग पहिचान गर्न सहज होस् तथा उनीहरूले सामान्य उपचारका लागि पनि धेरै कष्ट उठाउन नपरोस् भनेर घरघरमै गएर स्वास्थ्य परीक्षण गर्न थालिएको शारदा नगरपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र हमालले बताए । उनका अनुसार उनका अनुसार पालिकाका १५ वडामा झन्डै दुई हजार ७० वर्षमाथिका ज्येष्ठ नागरिक छन् । कात्तिक तेस्रो सातादेखि सुरु भएको यो चरणको कार्यक्रमबाट अहिलेसम्म ४ वडाका झन्डै ५ सय बढीले उपचार सेवा पाएको उनको भनाइ छ ।
ज्येष्ठ नागरिकलाई विभिन्न परामर्श दिएर उनीहरूको खानपिन र आनीबानीमा परिवर्तन गराएको स्थानीय स्वास्थ्यकर्मी सरिता शर्माले बताइन् । ‘अहिले पालिकाको प्रत्येक वडामा स्वास्थ्यसंस्था छन् । तर भौगोलिक विकटताका कारण उनीहरू वडाकै स्वास्थ्यचौकीमा पनि जान सकिएका छैनन्,’ उनले भनिन्, ‘हामीले उपचार गरेका धेरैजसो बिरामीमा रक्तचाप, मधुमेह, दम, खोकीलगायत दीर्घरोगको समस्या बढी देखिएको छ ।’ नगरपालिकाले विशेषज्ञहरूलाई घरमै लैजाने गरी पहलसमेत थालेको छ । ‘अस्पताल पुर्याइदिने कोही नहुँदा लामो समयदेखि रोग लुकाएर बस्नुपरेको थियो,’ ज्येष्ठ नागरिक ईश्वरी श्रेष्ठले भनिन्, ‘अहिले नियमित स्वास्थ्य परीक्षणसहित निःशुल्क औषधि पनि पाइरहेका छौं ।’
प्रकाशित : मंसिर १३, २०७९ १०:१४