कांग्रेसबाट चुनाव जित्नेमा १६ नयाँ अनुहार- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसबाट चुनाव जित्नेमा १६ नयाँ अनुहार

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६ नयाँ अनुहारले चुनाव जितेका छन् । पार्टीमा लोकप्रिय र स्थापित भइसकेका नेताहरूसहित जिल्लास्तरका नेता गरी यसपटक कांग्रेसबाट चुनाव जितेर १६ जना नयाँ अनुहारले संसदीय यात्रा तय गरेका छन् ।

अहिलेसम्म कांग्रेसले जितेका ५३ मध्ये ३७ जना भने प्रत्यक्ष वा समानुपातिकबाट यसअघि नै संसद्को अनुभव संगालिसकेका नेताहरू छन् । पहिलो पटक संसदीय यात्रा तय गर्नेमा महामन्त्री विश्वप्रकाश शर्मादेखि २९ वर्षे योगेश गौचनसम्म छन् । यसपटक पाँच जना जिल्ला सभापति र एक क्षेत्रीय सभापतिले पनि चुनाव जितेका छन् ।

तेस्रो प्रयासमा चुनाव जितेका महामन्त्री शर्मा पहिलो पटक संसद् प्रवेश गर्दैछन् । उनी झापा–१ बाट निर्वाचित भएका हुन् । उनी ०७० र ०७४ मा पनि त्यही क्षेत्रबाट उम्मेदवार थिए । तर यसपटक पार्टीको लोकप्रिय महामन्त्रीको रुपमा समेत रहेका शर्माले फराकिलो अन्तरसहित चुनाव जितेर संसद् प्रवेश गरेका छन् ।

उनले झापा–१ मा नेकपा एमालेका अग्नि खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका छन् । शर्माले ३९ हजार ६२४ मत ल्याउँदा खरेलले २५ हजार ३४९ मत पाए ।

अर्का युवा नेता प्रदीप पौडेलले भने पहिलो प्रयासमै संसद्को यात्रा तय गरेका छन् । उनी ०७४ मा प्रदेशसभा सदस्यमा लडेका थिए । तनहुँका पौडेल त्यहीबाट चुनाव लड्न प्रयासरत थिए । तर, अन्य हृभीवेट नेताले तनहुँका दुवै क्षेत्रमा दाबी नछोड्दा काठमाडौं–५ बाट उम्मेदवार बनेका पौडेलले पहिलो प्रयासमै संसद्को यात्रा तय गरेका हुन् । उनले नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरे । पौडेलले १५ हजार २३७ मत ल्याउँदा पोखरेलले १० हजार १७५ मत पाए ।

पर्यटन व्यवसायी समेत रहेका केन्द्रीय सदस्य राजेन्द्र बजगाईले गोरखा–१ बाट चुनाव जितेका छन् । बजगाई पनि पहिलो पटक संसद् प्रवेश गर्दैछन् । बजगाईले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरे । उनले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत पाएका थिए ।

अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरले पनि चुनाव जितेर संसद्को यात्रा तय गरेका छन् । उनले सिन्धुली–१ मा एमालेका प्रदीपकुमार कटुवालाई ४ हजार ८४५ मतान्तरले पराजित गरेका हुन् । घिमिरेले ३० हजार ३९१ मत ल्याए भने कटुवालले २५ हजार ५४६ मत पाएका छन् ।

भक्तपुर, मुगु, म्याग्दी, अछाम र रामेछाप कांग्रेसका सभापतिहरूले पनि पहिलो पटक संसदीय यात्रा तय गरेका छन् । दोस्रो पटक भक्तपुर सभापति रहेका दुर्लभ थापाले पहिलो प्रयासमै चुनाव जिते, र यहीपटक संसद्को यात्रा तय गरेका छन् । उनले नेकपा एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले पराजित गरेका थापाले २४ हजार २३९ मत ल्याएर जिते भने बस्नेतले २३ हजार २८२ मत पाए ।

मुगुका जिल्ला सभापति ऐनबहादुर शाहीले जितेका छन् । उनी दोस्रो पटक उम्मेदवार बनेका थिए । उनले नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् ।

शाहीले १४ हजार ७०२ मत पाए भने कार्कीले १० हजार ७०८ मत ल्याए । त्यस्तै, निर्माण व्यवसायी समेत रहेका रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले पनि यसपटक चुनाव जिते । ०७० मा पार्टीको समानुपातिक बन्द सूचीमा परेका उनी ०७४ मा भने प्रत्यक्षतर्फ प्रत्यासी थिए । उनले पनि दोस्रो प्रयासमा परिणाम निकालेका हुन् । यसपटक उनले एमालेका कैलाश ढुंगेललाई १६ हजार २६९ मतान्तरले पराजित गरे । तामाङले ४७ हजार ९८ मत ल्याएका छन् भने ढुंगेलले ३० हजार ७२९ मत पाएका छन् ।

उता अछामका सभापति पुष्पबहादुर शाहले पनि दोस्रो प्रयासमै संसद्को यात्रा तय गरेका हुन् । शाहले नेकपा एमालेका यज्ञबहादुर बोगटीलाई ६ हजार ८४० मतान्तरले पराजित गरेका हुन् । यसअघि ०७४ मा भने बोगटीले शाहलाई पराजित गरेका थिए । यसपटक शाहले २२ हजार ९५४ मतसहित जितेका हुन् । बोगटीले १६ हजार ११४ मत ल्याए ।

म्याग्दीका सभापति खमबहादुर गर्बुजाले पनि चुनाव जितेका छन् । गर्बुजाले एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८३२ मतान्तरले जितेका हुन् । उनले २४ हजार २१ मत पाएका छन् भने श्रेष्ठले २० हजार १८९ मत ल्याएका छन् ।

कांग्रेसबाट निर्वाचित भएकामध्ये सबैभन्दा कान्छा सांसद् हुन् मुस्ताङका योगेश गौचन थकाली । २९ वर्षीय उनी युवा जोस् र जाँगरसहित संसद् प्रवेश गर्दैछन् । योगेशले ९१४ मतान्तरसहित एमालेका प्रेम तुलाचनलाई पराजित गरेका छन् । उनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत ल्याए ।

यसअघि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर रहेका सन्तोष चालिसे काठमाडौं–३ बाट निर्वाचित भएका छन् । मेयर हुँदा लोकप्रिय काम गरेका चालिसेले एमालेका कृष्णकुमार राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गरेका छन् । चालिसेले १५ हजार १५८ मत ल्याउँदा राईले ११ हजार १९६ मत पाएका छन् ।

दैलेख–२ बाट दिक्पालकुमार शाहीले संसद्को यात्रा तय गरेका छन् । उनी यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एकपटक प्रदेश सांसद्कोरुपमा काम गरेका उनी यसपटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनले १५३ मतान्तरले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हराएका हुन् । शाहीले २० हजार १५८ मत पाउँदा पोखरेलले २० हजार ५ मत पाएका छन् ।

उता सप्तरीमा ०५४ मै जिल्ला विकास समितिको सभापति भएर काम गरेका दिनेशकुमार यादवले चौथो प्रयासमा संसद्को यात्रा तय गरेका छन् । उनले सप्तरी–३ बाट चुनाव जितेका हुन् । उनी यसअघि तीन पटक यही क्षेत्रबाट उम्मेदवार थिए । यसपटक भने उनले एमालेका ताराकान्त चौधरीलाई ३ हजार ८६६ मतान्तरले पराजित गरेका हुन् । यादवले २६ हजार १६६ मत ल्याउँदा चौधरीले २२ हजार ३०० मत पाएका छन् ।

नवलपरासी पुर्व–२ बाट विष्णुकुमार कार्की विजयी भएका छन् । उनी पनि पहिलो पटक संसद्को यात्रा तय गर्न सफल भएका छन् । ०७४ मा पराजित उनले यसपटक भने एमालेका तिलकबहादुर महत क्षेत्रीलाई ५९४ मतान्तरले हराए । कार्कीले ३० हजार ५६८ मत ल्याउँदा क्षेत्रीले २९ हजार ९७४ मत पाए ।

कैलाली कांग्रेसका पुर्वजिल्ला सभापति डिल्लीराज पन्त कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी यसअघि प्रदेशसभा सदस्य थिए । पन्तले एमालेका निवर्तमान सांसद् नारदमुनि रानालाई १ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । पन्तले २१ हजार ३९१ मत ल्याए भने रानाले २० हजार ३१८ मत पाए । रानाले ०७४ मा कांग्रेस नेता आरजु राणालाई पराजित गरेका थिए ।

चर्चित व्यवसायी एवम् मेडिकल सञ्चालक सुनिलकुमार शर्माले पनि यसपटक संसद्को यात्रा तय गरेका छन् । मोरङ–३ बाट निर्वाचित उनी ०७४ मा पनि उम्मेदवार थिए । त्यसबेला एमालेका भानुभक्त ढकालसँग पराजित भएका शर्माले यसपटक उनै ढकाललाई २२ हजार ७३६ मतान्तरले हराएका छन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याउँदा ढकालले २५ हजार ८९५ मत पाए ।


प्रकाशित : मंसिर ११, २०७९ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्

'मनोरञ्जनलाई पुन: व्याख्या गर्न जरुरी छ'

'म कविता त लेख्दिनँ । तर, कविता लेख्नेहरुलाई प्रेरणा दिन्छु ।'
रीना मोक्तान

काठमाडौँ — 'स्टार र कलाकार हुनुको फरक के हो ?' प्रसिद्ध अभिनेत्री शबाना आजमीले यो प्रश्नको एउटा उत्तरलाई मात्रै बाँचेकी छन् । भारतको प्रतिष्ठित पद्मश्री, पद्मभुषण र पाँच नेश्नल अवार्डबाट सम्मानित शबानालाई कहिल्यै 'स्टार' ट्यागले मोहित गरेन ।

अभिनयमा असाधारण उनी साधारण जीवनलाई पर्दामा प्रस्तुत गर्नमै रमाइन् । त्यसैले त उनी स्टार र कलाकार बन्नुमा फरक छुट्याउँछिन् । 'जब तपाईं कलाकार हुनुहुन्छ, तपाईंको जीवन स्रोतहरुमा आधारित हुन्छ । तपाईं रिक्सावालासँग कुरा गर्नुहुन्छ, बस ड्राइभरसँग कुरा गर्न सक्नुहुन्छ,'नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवका लागि काठमाडौं आइपुगेकी शबानाले भनिन्,'तर, जब तपाईं स्टार बन्नुहुन्छ, संसारसँग जोडिने मौका गुम्छ । तपाईं अंगरक्षक, मेकअप ब्वाइ, हेयर ड्रेसर र म्यानेजरको बीचमा खुम्चिनुहुन्छ । काम सकिसकेपछि वाह! गर्ने मानिसहरु स्टारलाई चाहिन्छ । त्यो त कलाकारका लागि राम्रो होइन, कलाकारलाई पूरा प्रेरणा जीवनबाट पाउनुपर्छ ।'

शबानाले भने झैं संसारका फरक-फरक जीवनलाई पर्दामा बाँचिनन् मात्रै ती पात्रहरुका भोगाईलाई नजिकैबाट नियाल्ने अवसर पाइन् । स्टार हत्तपत्त यी जीवनहरुसँग ठोक्किँदैनन् । 'अंकुर'मा शबानाले लक्ष्मी चरित्रमामार्फत एक संघर्षशील महिलाको भूमिका निभाइन् । फिल्ममा उनी गाउँको पात्रको रुपमा देखिएकी छन् । यस फिल्मअघि उनले कहिल्यै गाउँमा पाइला टेकेकी थिइनन् । गाउँकी महिला कसरी हिँड्छन्, कस्तो पहिरन लगाउँछन् अनि कसरी बोल्छन् भन्ने कुरा बुझ्न गाउँमै पुगेकी थिइन् । भेटरान निर्देशक श्याम बेनेगलले शबानालाई थुप्रै दिन आफूहरु बस्ने टेबल नजिकको भुइँमा बसेर खाना खाने अभ्यास गराएका थिए । उनले उक्त चरित्र निर्माणका लागि सहजै त्यसलाई स्वीकारिन् । त्यतिबेला गाउँका ठिटाहरु आएर भुइँमा बसेकी शबानालाई सोधेका थिए,'यो फिल्मको हिरोइन कता छ ?'

'मन्डी'मा उनले देह व्यापारीको चरित्रमा देखिइन् । रुकमणी बाईको चरित्र निर्माणका लागि तीन वेश्यालय पुगिन् । निर्देशक श्याम बेनेगलसँग पुगेको एक वेश्यालयमा भेटिएकी किशोरीले चरित्र निर्माणमा सहयोग पुर्‍यायो । उनी पुग्दा ती किशोरी लाजले शीर माथि उठाउन सकेकी थिइनन् । तर जब ती किशोरीले उनका लागि शबानाकै फिल्मको गीतमा नृत्य पस्किन् । उनी त्यस अश्लिल भावभंगीको नृत्यले दंग खाइन् । पछि थाहा पाइन् ती किशोरीको काँधमा प्यारालाइज्ड बुवा र ८ भाइबहिनीहरूको जिम्मा छ भन्ने । 'जब तपाईं चरित्रमा निर्माण गर्नुहुन्छ । त्यो चरित्रप्रतिको सहानूभुति हुनुपर्छ । जब मैले उसको हरेक हाउभाउ नियाल्दै थिएँ, उनको अवस्थालाई पनि बुझ्दै थिएँ । त्यसरी मैले उक्त चरित्र निर्माण गरें' उनले भनिन् ।

'पार' फिल्मका लागि झाडु लगाउने महिलासँग मित्रता गाँसिन् । उनले कसरी झाडु लगाउँछिन्, कसरी बस्छन् भन्ने बुझ्न उनको घरसम्मै पुगिन् । 'फायर'मा महिलासँग सम्बन्ध राख्ने महिला चरित्र चित्रणमा उनी देखिइन् । विषयवस्तु विवादस्पद लागे पनि उक्त चरित्रका लागि उनी तयार भइन् । 'जब मैले स्क्रिप्ट सुने मलाई राम्रो लाग्यो । मलाई थाहा थियो त्यो विषय विवादस्पद हुन्छ भन्ने । यदि तपाईं सीमान्तकृतहरुको अधिकारका लागि कुरा गर्नुहुन्छ, यौनिक अल्पसैख्यंकका पक्ष उठाउँदिन भन्न पाउनु हुन्न,' गफिन समय छुट्याएकी शबानाले भनिन्,'मलाई थाहा थियो त्यस विषयलाई कतिले रुचाउलान् कतिलाई मन नपर्ला भन्ने । तर, फिल्मले प्रश्न गर्ने मेलो सुरु गराउँछ भन्ने भन्ने थियो । कलाले प्रश्न गर्ने त हो नि ।'

'फायर'मा उनी यौनिक अल्पसैंख्यकको आवाज बनिदिइन् । उनले थुप्रै फिल्महरुमा शसक्त महिला चरित्र चित्रणमा अभिनय गरेकी छन् । पर्दामा सशक्त भूमिका पाउनुको पछाडि समानान्तर/आर्ट हाउस फिल्मले योगदान रहेको शबानाको अनुभव छ । त्यतिबेला व्यवसायिक फिल्महरुमा 'हिरोइन' सँधै पुरुष पात्रको सहायकका रुपमा, अबला नारीको रुपमा प्रस्तुत गरिन्थे । तर, समानान्तर फिल्महरुले शबानालाई पर्दामा पनि बलियो प्रस्तुत गरिदिन्थ्यो । 'सन् १९६० तिर 'मे चुप रहुंगी'जस्ता फिल्म बन्थे । मिना कुमारी फिल्मकी अभिनेत्री थिइन् । त्यतिबेला चुप बस्नु नै महिलाको गुणका रुपमा व्याख्या गरिन्थ्यो,'शबाना सुनाउँछिन्,'फेरि ९० को दशकमा महिलालाई पुरुषकै क्षमाता, शारिरीक बलसहित बलवान देखाइयो । त्यो पनि स्टेरियोटिपिकल नै थियो । तर, समान्तर फिल्ममा फिल्मले भने स्टेरियोटिपिकल भन्दा माथि उठेर महिलालाई फरक-फरक चरित्रमा प्रस्तुत गरे । त्यसैले पनि म आफूलाई भाग्यशाली ठान्छु मैले समान्तर फिल्ममा काम गर्न पाएँ ।' महिला चरित्र चित्रणका सवालमा बलिउड गम्भीर बन्न थालेको शबानाको भनाइ छ । 'अब महिला कलाकार हिरोसँग नाच्ने गाउने मात्रै होइन । तर, ‍फरक भूमिकामा आफूलाई सावित पनि गर्दैछन् । गंगुबाईमा आलियाले आफूलाई सावित गरिन् । कंगना रनावतले पनि सशक्त चरित्रहरुमा काम गरेकी छन् । अबका स्टार अभिनेत्रीहरु त्यही नाच्ने/गाउने चरित्रमा पनि सीमित हुन चाहँदैनन्,' उनले भनिन् ।

सामाजिक परिवर्तनका लागि कला

खासमा उनी रंगमञ्चमै हुर्केकी हुन् । ‍आमा शौकात ‍चार महिनाको शबानालाई ढाडमा बोकेर रिहर्सलका लागि पृथ्वी थिएटर पुग्थिन् । ३ वर्षहुँदै अभिनय गर्न थालिन् । त्यतिबेला पृथ्वी थिएटरका कलाकार भ्रमणमा निस्किएको थियो । आमा भ्रमणमा शबानालाई पनि सँगै लिएर जाने । थिएटरले उनका लागि पनि कस्ट्युम बनाइदिन्थे । जब नाटकमा भीडको प्रस्तुति हुन्थ्यो, शबाना भीडमा मिसिदिन्थिन् । रंगमञ्च उनका लागि घर नै बन्यो । सेन्टजेभियर्स कलेजमा हुँदा फारुख शेखसँग मिलेर 'हिन्दी नाट्य मञ्च' सुरु गरेकी थिइन् । त्यसपछि त उनी पढ्नका लागि पुणे पुगिन् । तर, नेपालमा रंगकर्मीहरु मिलेर नै रंगमञ्च खोलेको कुराले शबानालाई फारुखसँग मिलेर नाटक गर्दाका दिनमा पुर्‍याउँछ । 'थिएटरमा काम गर्ने कलाकारहरुले नै आफ्नो लागि छुट्टै प्लेटफर्म स्थापना गरेका रहेछन् नेपालमा । तर, भारतमा त कलाकारहरु कलाकार मात्रै हुन्छन् जसले अभिनय मात्र गर्दछ,'मण्डला नाटकघरको उदाहरण दिँदै भनिन् ।

भारतका रंगमञ्चले हिन्दी फिल्मसँग सोझै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । कोभिडबीच दर्शकले घरमै बसेर ओटीटीमा फिल्म हेर्ने बानी बसाले । त्यसले रंगमञ्चमा गएर नाटक हेर्ने दर्शकको बानीलाई असर पार्न सक्ने उनी बताउँछिन् । भन्छिन्,'अहिले रंगमञ्चका लागि दर्शक पाउन गाह्रो छ । यो रंगमञ्चका लागि कठिन समय हो ।' भारतका रंगमञ्च समुदायतर्फ पुग्न थालेको पनि शबानाको विश्लेषण छ । 'अहिले भारतका रंगमञ्चमा थुप्रै गतिविधिहरु देख्छु । जिफाइफ भन्ने थिएटरले एउटा अलग्गै साँस्कृतिक प्लेटफर्म, ब्ल्याकबक्स नै स्थापना गरेको छ । माछा मार्ने समुदायको बीचमा यो स्थान खोलेका छन् । उनीहरुले त्यहाँको स्थानीयहरुलाई पनि नाटकमा सहभागी गराउँछन्,'उनले भनिन्,'यो नै रंगमञ्चको उद्देश्य हो नि होइन र? ती रंगमञ्च आफैंमा सीमित छैन । तर, समुदायमा पुगेको देख्छु ।'

व्यवसायिक हिसाबले हेर्दा स्टार लिएर गरिएको रंगमञ्च उता पनि नेपालमा झैं फस्टाउँछ । ‍त्यसो हुँदा अन्य आवाजहरुका लागि रंगमञ्च स्थान साँघुरिएको उनी बताउँछिन् । 'यदि नसिरुद्धिन शाह र शबाना आजमीलाई लिएर तपाईं नाटक गर्दै हुनुहुन्छ निकै चल्छ पनि । तर, दु:खको कुरा के हो भने त्यसो हुँदा रंगमञ्चमा राम्रो काम गरिरहेकाहरु छायाँमा पर्छन् ।' कर्पोरेट संस्थाले आफ्नो सीएसआर(कर्पोरेट सोसल रेस्पोनसिबिलिटी) मा रंगमञ्चलाई प्राथमिकतामा राखे आर्थिक रुपले रंगमञ्च बलियो बन्ने धारणा राख्छिन् । 'टिकट बिक्रीबाट मात्रै रंगमञ्च चल्न गाह्रो छ । व्यक्तित्व विकासमा रंगमञ्चले अहम भूमिका खेल्दै आएको छ । त्यति मात्रै होइन रंगमञ्चको माध्यमले फरक विचार पनि दिन्छ, त्यसैले त मानिसहरु रंगमञ्च हेर्न रुचाउँछन् नि,' उनले भनिन् ।

अरुको नक्कल राम्रो होइन

सन् १९७४ मा पहिलो पटक 'इश्क इश्क इश्क'को छायांकनका लागि नेपाल आएकी शबानाले थुप्रैपटक नेपाल भ्रमण गरिसकिन् । नेपाली गीतहरु सुने पनि फिल्म हेर्ने अवसर भने मिलेको रहेनछ । उनी नेपाली फिल्म 'अन्तर्राष्ट्रिय' बन्न जरुरी देख्छिन् । शबाना अभिनयमा अरुको नक्कल गर्नु सिर्जनशील मान्दिनन् । 'धेरै कलाकारले अमिताभ बचच्चनको जस्तै कसरी राम्रो अभिनय गर्न सकिन्छ भन्ने सोचिरहेका हुन्छन् । तर त्यो गलत हो । त्यसरी गर्न खोज्दा आफूभित्रबाट आउने कुरा अरुको नक्कल गर्दैमा हराउँछ । त्यसैले अभिनय के हो भन्नेतर्फ ध्यान पुर्‍याउनु भन्दा पनि आफ्नो चरित्रलाई अनुभव गर्न थाल्नुस् र त्यही मोमेन्टलाई जिउन थाल्नुस्,'उनी भन्छिन्,'अभिनयको क्राफ्ट बुझ्न धेरै अभ्यास आवश्यक छ । तपाईं अभिनय बिना बाँच्नै नसक्ने हुनुभयो भने मात्र यो क्षेत्रमा आउनुस् । किनकि यो क्षेत्र एकदमै कठिन ठाउँ पनि हो ।'

शबानाको नाम चर्चित भारतीय कवि अली सरदारले राखिदिएका थिए। उनकी हजुरआमा उनको नाम कनिश फात्मा होस् भन्ने चाहन्थिन् । 'मेरो नाम हजुरआमाले भनेजस्तै भइदिएको भए के म फिल्महरूमा काम गर्न सक्थें,' मास्टरक्लासमा दर्शकलाई हँसाउँदै भनिन् ।

कलालाई सामाजिक परिवार्तनका लागि प्रयोग गर्नुपर्छ भन्ने परिवारमा हुर्किन् शबाना । धेरैले कलालाई मनोरञ्जनका रुपमा मात्रै हेर्छन् नि ? प्रश्न गर्दा जवाफमा भनिन्,'यदि कोही कलालाई मनोरञ्जनका रुपमा मात्रै बुझ्छन्, अर्थपूर्ण मनोरञ्जन छोडेर त्यसै गर्छ भने ठीकै छ । तर, मनोरञ्जन यति भल्गर, स्वादविहीन हुन जरुरी छैन । मनोरञ्जन त राम्रो पनि हुन सक्छ । मनोरञ्जनलाई पुन: व्याख्या गर्न जरुरी छ ।' बुवा कैफी अजमी कवि, आमा शौकत रंगकर्मी । एउटा साँघुरो कोठामा ८ परिवारसँग हुर्केकी शबानाले कहिल्यै आफूलाई गरिब अनुभव गरिनन् । बुवा कवि । उनका पति जावेद अख्तर पनि कवि । तपाईंको बुवा, कवि, ससूरा कवि के तपाईं पनि कविता लेख्नुहुन्छ भनेर कसैले प्रश्न गरे जवाफमा उनी भनिदिन्छिन्,'म कविता त लेख्दिनँ । तर, कविता लेख्नेहरुलाई प्रेरणा दिन्छु ।'

प्रकाशित : मंसिर ११, २०७९ २१:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×