उदयपुर-१ को मतगणना रोकियो- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

उदयपुर-१ को मतगणना रोकियो

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लोपटक खोलिएको १० वटा ब्यालेट बक्समा उदयपुर १ (२) प्रदेशसभाको १०० मतपत्र भेटिएकाले गणना रोकिएको हो । 

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० बक्स खोलिएको थियो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् । साढे १० बजे सर्वदलीय बैठक बस्ने गरी हाललाई गणना रोकिएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।

७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेसका नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छन् । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छन् भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

रामेछाप १ (२) प्रदेशसभा सदस्यमा माओवादीका चौलागाईं विजयी

टीका भट्ट

रामेछाप — रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट वाग्मती प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईं निर्वाचित भएका छन् । चौलागाईंले एमालेका मिलनकुमार घिसिङलाई ४ हजार ७ सय ७४ को मतान्तरले पराजित गरेका हुन् ।

मुख्य निर्वाचन कार्यालय, रामेछापका अनुसार आइतबार बिहान सम्पन्न मतगणनामा चौलागाईंले २२ हजार ९ सय ७९ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी घिसिङले १८ हजार २ सय ५ मत पाएका थिए । चौलागाईं सत्ता गठबन्धनका तर्फबाट वाग्मती प्रदेशसभामा उम्मेदवार हुन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य चौलागाईं विदेश विभाग प्रमुखसमेत हुन् । पश्चिमी रामेछापको गुन्सी निवासी चौलागाईं माओवादी सशस्त्र आन्दोलनदेखि पार्टीमा क्रियाशील छन् । यसअघि उनी कुनै पनि तहको जनप्रतिनिधिका लागि उम्मेदवार भएका थिएनन् । पहिलो प्रयासमा प्रदेशसभा सदस्य भएका चौलागाईंले नागरिकका समस्या समाधानका लागि योजनाबद्ध तवरले काम गर्ने र रामेछापका जनतालाई सहज सेवा-सुविधा प्रवाह गर्ने योजना रहेको बताएका छन् ।

चौलागाईंको जितेसँगै रामेछापको मतगणना पनि सकिएको छ । यसअघी प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) र वाग्मती प्रदेशसभा १ (१) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ विजयी भएका थिए ।

प्रकाशित : मंसिर ११, २०७९ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×