कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
आमनिर्वाचन २०७९

कांग्रेसबाट प्रत्यक्ष जित्ने महिला गुरुङ मात्रै

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमकी सीता गुरुङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने कांग्रेसकी एक्ली महिला भएकी छन् । ४५ वर्षीया गुरुङ एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पछाडि पार्दै विजयी भएकी हुन् । पराजित सुब्बा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष हुन् ।

कांग्रेसबाट प्रत्यक्ष जित्ने महिला गुरुङ मात्रै

सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएकी गुरुङले १९ हजार ७ सय २ भोट पाएकी छन् । एमालेका सुब्बाको पक्षमा १८ हजार ६ सय २३ मत मात्र खसेको छ । सुब्बा ०४८ र ०५६ मा प्रत्यक्ष निर्वाचित र ०७४ का समानुपातिक सांसद हुन् । गुरुङ भने ०६४ र ०७० को संविधानसभामा समानुपातिक सदस्य थिइन् । उनी भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री भइसकेकी छन् । गुरुङ ०७४ को आम निर्वाचनमा हालका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् ।

कांग्रेस केन्द्रीय सदस्य रहेकी गुरुङ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् । मतदानअघिसम्म शेखर कोइराला पक्षका नेता–कार्यकर्ताले उनलाई असहयोग गरेको चर्चा थियो । सुब्बा भने ०६९ मा एमाले परित्याग गरी संघीय समाजवादी फोरममा लागेका थिए । उक्त पार्टीमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका उनी ०७१ असारमा पुन: एमाले फर्केका थिए । बीचमा पार्टी छाडेका कारण उनीसँग जिल्लाका एमाले नेता–कार्यकर्ता रुष्ट थिए । उनी अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् ।

आठराई क्षेत्रको इवामा जन्मिएकी गुरुङ ०४६ मा कांग्रेसको राजनीतिमा जोडिएकी हुन् । उनी ०६० मा नेपाल महिला संघको केन्द्रीय सचिव र ०६७ मा कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । ०७२ र ०७८ मा सम्पन्न कांग्रेसको केन्द्रीय महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भइन् । उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । तेह्रथुममा २०१५ देखि नै लिम्बू समुदायका उम्मेदवारले मात्रै केन्द्रको संसदीय चुनाव जित्दै आएका थिए । उक्त परम्परालाई पनि गुरुङले तोडेकी छन् ।

चुनाव जितेपछि मतदाता–कार्यकर्तालाई शनिबार सदरमुकाममा म्याङलुङमा सम्बोधन गर्दै नेतृ गुरुङले आफूले जिल्लामा सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्य, एक स्थानीय तह एक उत्पादनमूलक उद्योग, गुराँसभूमि तीनजुरे मिल्के जलजले क्षेत्रको पर्यटन प्रवद्र्धनमा काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले तमोर जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण छिटो अघि बढाउने पनि बताएकी छन् ।

कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि ०१५ सालका सांसद तेजमान तुम्बाहाङफेसँग दायाँ । तस्बिर : चन्द्र कार्की/कान्तिपुर

प्रकाशित : मंसिर १०, २०७९ २३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?