कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीमा मत गणना ढिलाइ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा प्रदेश र प्रतिनिधिसभा सदस्य उम्मेदवारले पाएको मतगणना गर्न ढिलाइ भएसँगै अन्तिम नतिजाका लागि अझै केही दिन लाग्ने देखिएको छ ।

सुनसरीमा मत गणना ढिलाइ

कतिपय ठूलो संख्यामा मतदाता भएका र विकट पहाडी भेगका निर्वाचन क्षेत्रका चुनावी परिणाम एकपछि अर्को गर्दै आइरहेको बेला सुनसरीको भने ढिलाइ भएको हो । अन्य जिल्लाको तुलनामा साधन स्रोत र जनशक्ति भएको सुगम सुनसरीमा मतगणना सुस्त हुनुलाई मतगणना स्थलको व्यवस्थापकीय कमजोरी र गणकहरु तालिम प्राप्त नभएको बताइएको छ । सुनसरीका प्रतिनिधिसभा सदस्यका लागि ४ र प्रदेशसभा सदस्यका लागि ८ निर्वाचन क्षेत्रका उम्मेदवारलाई भोट दिएको एकसाता भइसकेको छ ।

कुल मतदाता ५ लाख ४४ हजार ९ सय ४१ मतदाता मध्ये ३ लाख ४६ हजार ६ सय ९३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अर्थात ६३.६ प्रतिशत मतमात्र खस्दा पनि मतगणना ढिलाइ भएको छ ।

४ वटा निर्वाचन क्षेत्रमा १ सय ६६ मतदान स्थल, ५ सय ११ मतदान केन्द्र, २ अस्थायी मतदान केन्द्र रहेको सुनसरीको छ । शनिबार अपरान्ह ३ बजेसम्ममा सुनसरीका क्षेत्र नम्बर १ (१), क्षेत्र नम्बर २ (१) को मात्र अन्तिम नतिजा निर्वाचन आयोगले घोषणा गरेको छ । तीमध्ये सुनसरी क्षेत्र नम्बर १ (१) बाट एमालेका रमेश बस्नेत ११ हजार १ सय २ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश थापाले ९ हजार ७ सय ५२ ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले ८ हजार ३ सय ६३ मत ल्याएर तेस्रो स्थान बनाए । यसैगरी निर्वाचन क्षेत्र २ (१) मा एमालेका रेवती रमण भण्डारीले १४ हजार ५ सय ३७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका द्वारिकलाल चौधरीले ११ हजार ८ सय ५२ मत प्राप्त गरे । राप्रपाका मोहानबहादुर खत्रीले ९ हजार ३ सय ३३ ल्याएर तेस्रो स्थान बनाए ।

सुनसरीका निर्वाचन क्षेत्रमा मतगणना ढिलाइ हुनुमा विभिन्न प्राविधिक कारणहरु रहेको निर्वाचन अधिकृतहरुले बताए । कतै मतगणनास्थल साँघुरो, कतै समानुपातिकको मतपत्र पनि सँगै गणना हुनु, कतै संवेदनशील निर्वाचन क्षेत्र त कतै हाइप्रोफाइल उम्मेदवारहरुका कारण अत्यन्तै संवेदनशील भएर विवादरहित मत गणना गराउन खोज्दा ढिलाइ भएको निर्वाचन अधिकृतहरुले बताए ।

१ लाख २५ हजार ४ सय ३२ मतदाता रहेको सुनसरी क्षेत्र नम्बर ३ को प्रदेश सभा १मा ६१ हजार ८ सय १० र प्रदेश सभाको खमा ६३ हजार ६ सय २२ मतदाता रहेका छन् । निर्वाचन अधिकृत उमाकान्त पौडेलले भने, ‘यो क्षेत्र सुनसरीमा सबैभन्दा बढी संवेदनशील भएकाले धेरै सतर्क भएर मतगणना गर्नु पर्दा ढिलाइ भएको हो । हाइ प्रोफाइल उम्मेदवार पनि यही छन् । बढी मत पनि यही खसेको छ । अर्को कारणमा एउटा कवर्ड हलमा ४ ठाउँमा मतगणना गरिरहेका छौं त्यो पनि समानुपातिकसहित । थप दुई ठाउँ पनि मत गणनाका लागि विस्तार गर्न प्रयास गरेको सहमती हुन सकेन ।’ उनले शनिबार बेलुकासम्ममा प्रदेश क को अन्तिम परिणाम घोषणा गर्ने लक्ष्य राखेको र बाँकी निर्वाचन क्षेत्रको रातिदेखि मत गणना सुरु गरेर तीन दिनभित्रमा सबै नतिजा सार्वजनिक गर्ने बताए ।

उनले सुरुमा मतगणनाले लय टिप्न गाह्रो भएपनि अहिले सरासर काम भइरहेको बताए । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उपसभापति र पटक पटक मन्त्री भइसकेका विजयकुमार गच्छदार र उनलाई कडा चुनौती दिँदै आएकी एमालेकी भगवती चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ ।

सुनसरी १ मा कुल मतदाता १ लाख ४१ हजार ८७८ रहेकोमा प्रदेशसभा क मा ७१ हजार ३ सय ४० र ख मा ७० हजार ५ सय ३८ मतदाता रहेका छन् । तीमध्ये प्रतिनिधिसभा सदस्य र प्रदेशसभा ख कोको मतगणना सुस्त भएको छ । प्रदेश सभा ख को मतगणना शुक्रबार साँझदेखिमात्र सुरु भएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि अन्तिम नतिजा सार्वजनिक हुनलाई धरानमा एकसाता भन्दा बढी समय लागेको थियो । समानुपातिक मत पनिसँगै गणना भइरहेकाले ढिलाइ भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विगतका चुनावमा झै यसपटक सुनसरीमा मतगणनाका विषयमा खासै विवाद भने देखिएको छैन ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार सुनसरी क्षेत्र नम्बर १ को धरान सभागृहमा, २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, ३ को दुहवी कवर्ड हलमा र ४ को इनरुवाको भगवती माविको हलमा मतगणना भइहेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ मा पनि मतगणना सुस्त भएको छ । कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदिशप्रसाद कसियैतबीच प्रतिनिधिसभा सदस्यका लागि कडा प्रतिस्पर्धा भइरहेको उक्त क्षेत्रमा प्रदेशसभा क मा ६७ हजार ६३३ र प्रदेशसभा ख मा ६० हजार ४ सय ३२ मतदाता रहेको छ । सुनसरीमा पुरुष भन्दा महिला मतदाताको मत संख्या ८ हजार भन्दाबढी देखिएको छ ।

प्रकाशित : मंसिर १०, २०७९ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?