माेरङ-३ मा कांग्रेसका शर्मा विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माेरङ-३ मा कांग्रेसका शर्मा विजयी

देवनारायण साह

माेरङ — माेरङ निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका सुनिलकुमार शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले २२ हजार ७३६ मतान्तरले एमालेका स्थायी कमिटी सदस्य, निवर्तमान सांसद तथा पूर्वमन्त्री भानुभक्त ढकाललाई पछि पार्दै विजयी भएका हुन् । 


शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २५ हजार ८९५ मत प्राप्त गरेका छन् ।

अघिल्लाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा ढकालसँग १ हजार ९०७ मत अन्तरले पराजित भएका ढकालले यसपटक करिब दाेब्बर मतान्तरले पराजित गर्दै बदला लिएका छन् ।

शर्मा विराटनगरस्थित नाेबेल र काठमाडाैं मेडिकल शिक्षण अस्पतालका सञ्चालक हुन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्

६ दिनसम्म पनि आएन मुगुको परिणाम

कान्तिपुर संवाददाता

मुगु — जिल्लामा सुस्त गतिमा मतगणना भएकाले मतदानको ६ दिनसम्म भइसक्दा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिलेसम्म गणना पूरा गरेको छैन । अन्तिम मत परिणाम सार्वजनिक नहुँदा मतदाता दिक्क भएका छन् ।

जिल्लाको मुगु, चितै, डोल्फु, ह्याङलु, बिनालगायत मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आउन दुई दिन लागेको थियो । मुगुमा मंसिर ७ गते बिहानदेखि मतगणना सुरु भएको हो ।

प्रदेश र प्रतिनिधिसभा कुनैको पनि मत परिणाम घोषणा भएको छैन । मुख्य निर्वाचन अधिकृत कार्यालयको माथिल्लो तीन कोठामध्ये दुईवटामा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको छुट्टाछुट्टै र अर्को कोठामा दुवैतर्फको समानुपातिकको मतगणना भइरहेको छ ।

कोठा र कर्मचारी अभावले त्योभन्दा धेरै ठाउँमा मतगणना गर्न नसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘मतगणना सारै ढिलो भयो,’ सोरु गाउँपालिका–२ का कर्णजंग शाहीले भने, ‘पछि मत गन्न सुरु गरेका अन्य जिल्लामा मतगणना सम्पन्न गरिसके पनि यहाँ कछुवा गतिमा मतगणना हुँदा हामी लामो समयदेखि पर्खाइमा छौं ।’

कहिले परिणाम आउला भनेर मन आत्तिएको उनले बताए । हालसम्म प्रतिनिधिसभातर्फको करिब १६ हजार मतगणना भएको छ । अझै ११ हजार मत गन्न बाँकी छ । ११ हजार मत गन्न करिब दुई दिन लाग्ने अनुमान छ ।

त्यस्तै प्रदेश–१ (१) र प्रदेश–१ (२) मा करिब ६० प्रतिशत मतगणना पूरा भएको छ मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनामा निकै ढिलो भएको प्रदेश–१ (२) का माओवादी केन्द्रका उम्मेदवार मंगलबहादुर शाहीले बताए । ‘हामी त मतगणना स्थलमा बस्दाबस्दा थाकिसक्यौं, ’ उनले भने, ‘मतगणना सुरु भएदेखि चौबिसै घण्टा पालो लगाएर मतगणना स्थलमा जानुपर्ने बाध्यता छ ।’

शनिबार बेलुकासम्म मतगणना सक्ने लक्ष्य राखेर तीव्रता दिइएको मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले बताए ।

प्रकाशित : मंसिर १०, २०७९ ०९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×