कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रास्वपा लहर र माओवादी प्रभाव पन्छाउँदै संसदीय यात्रामा विक्रम पाण्डे

रमेशकुमार पौडेल

चितवन — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल दोहोरिन नचाहेको क्षेत्र हो चितवन-३ । अघिल्लोपटक सत्तारुढ गठबन्धनको साथ पाएर यही क्षेत्रबाट चुनाव लडेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे तत्कालीन वामपन्थी गठबन्धनका साझा उम्मेद्वार दाहालसँग नौ हजार मतान्तरले पराजित भएका थिए ।

रास्वपा लहर र माओवादी प्रभाव पन्छाउँदै संसदीय यात्रामा विक्रम पाण्डे

योपटक बिनागठबन्धन चुनावमा उठेका पाण्डेले सत्ता गठबन्धनका उम्मेदवारलाई ९ हजार मतान्तरले नै पराजित गरे । यस क्षेत्रबाट लगातार पाँचौंपटक चुनावमा उठेर पाण्डेले दोस्रो जित हात पारेका हुन् ।

आफू हुर्केबढेको चितवन शिवनगरमा बनेको नयाँ घरमा दशैं घटस्थापनाको साइत पारेर गृह प्रवेश गरेका दाहालले चितवन–३ बाटै फेरि चुनाव लड्ने धेरैको अनुमान थियो । तर दशैंको टीकाका दिन त्यो घर सुनसान भएपछि दाहाल चितवन–३ मा नदोहोरिने अनुमानले आकार लिन थाल्यो । त्यही अनुमानलाई सत्य सावित गर्दै अन्तिम समयमा आएर दाहालले छिमेकी जिल्ला गोरखाको निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निधो गरे । यता ५६ सालबाट लगातार चुनाव लड्दै आएका पाण्डे योपटक पनि उठ्छन् भन्नेमा सबै विश्वस्त थिए । तर एमालेले उनलाई समर्थन गर्छ वा एक्लै लड्छन भन्ने कुतुहुलता भने बाँकी नै थियो । साथै, चितवन-३ बाटै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने समेत उठ्ने चर्चा थियो । तर, अन्तिम समयमा उनले क्षेत्र परिवर्तन गर्दै चितवन-२ बाट उम्मेदवार बने । रवीको यो निर्णय पाण्डेको संयदीय यात्राको मार्ग तय गर्नका लागि सहज भयो ।

गएको स्थानीय चुनावमा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा तालमेल गरेको हुँदा पाण्डेलाई एमालेको समर्थन रहने चर्चा थियो । तर मनोनयन दर्ता हुने दिन एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पार्टीको तर्फबाट चितवन–३ मा उम्मेदवारी दर्ता गराए । उम्मेदवारी फिर्ता हुने दिन अन्तिम समयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्रका आधारमा चितवन–३ को निर्वाचन अधिकृतको कार्यालयले न्यौपानेको नाम उम्मेदवारको सूचीबाट हटायो । तर अनुमान विपरीत एमालेले राप्रपाका पाण्डेलाई नभएर कांग्रेस केन्द्रीय सदस्य रहेर स्वतन्त्र उठेका दिनेश कोइरलालाई समर्थन गर्‍यो ।

एकातिर सत्तारुढ गठबन्धन, अर्कोतर्फ एमाले र स्वतन्त्र उम्मेदवारको तालमेलबीच पाण्डेले नवगठित दल राष्ट्रिय स्वतन्त्र पार्टीको ‘लहर’को पनि सामना गर्नुपर्‍यो । दाहालले चुनाव जितेपछि चितवन–३ मा विकास निर्माणले फड्को मारेको माओवादी पार्टी र त्यो पार्टीका समर्थकहरूले दाबी गर्दछन् । यही कुरालाई उनीहरूले चुनावी मुद्दा पनि बनाए ।

दाहालको साटो सत्तारुढ गठबन्धनले चितवन–३ मा उठाएको माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारी चितवनमा चिनिएका ४३ वर्षीय युवा चिकित्सक हुन् । तर अन्तिम मत परिणाम आउँदा पाण्डेले ३५ हजार ५५ मत ल्याए । डा. अधिकारी २५ हजार ८ सय २२ मत मै सीमित भए । दिनेश कोइरालालाई एमालेले समर्थन गर्‍यो । तर राम्रो मत ल्याउन सकेनन् । कोइरालाले १२ हजार २ सय ७५ मत ल्याए । चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जिता बराल तेस्रो स्थानमा रहिन् । बरालको १८ हजार ८ सय ४२ मत आयो । दिनेश कोइराला चौथो नम्बरमा रहे ।

गएको स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध उठेर चर्चामा आएका कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल पनि यो पटक चितवन–३ मा स्वतन्त्र उठेका थिए । मेयरमा उठ्दा १५ हजारको हाराहारीमा मत ल्याएका पौडेलले यो पटक ३ सय ६५ मात्रै भोट ल्याए । उनलेभन्दा बढी मंगोल नेशनल अर्गनाइजेशनका फैइन्द्रजंग गुरुङले ४ सय ८६ मत ल्याए । चितवन– ३ मा १२ स्वतन्त्रसहित २० उम्मेदवार थिए ।

पाण्डे आफ्ना निकटतम प्रतिद्वन्द्वी डा. अधिकारीलाई ९ हजार २ सय ३३ मतले पछाडि पार्दै ६९ वर्षको उमेरमा दोस्रोपटक संसद् भवन प्रवेश गर्न सफल भए । यसअघि उनी ७० सालको संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन चितवन निर्वाचन क्षेत्र ५ बाट विजयी भएका थिए । त्यो क्षेत्र नै अहिले ३ अन्तर्गत छ ।

राप्रपाले प्रदेशसभामा पनि चितवन–३ मा अनपेक्षित नतिजा ल्यायो । राप्रपाका उम्मेदवार एक क्षेत्रमा विजयी नै भए, एउटामा निकटतम प्रतिद्वन्द्वी रहे । चितवन–३(१)मा सत्तारुढ गठबन्धनले नेपाली कांग्रेसका सूर्यकान्त घिमिरेलाई उठाएको थियो । घिमिरे कृषि तथा वन विज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार पनि हुन् । त्यसै गरी एमालेबाट प्रदेशसभाका निवर्तमान सदस्य कृष्ण भुर्तेल उठेका थिए । तर राप्रपाबाट उठेका ३६ वर्षीय युवा गिरबहादुर तमाङले निर्वाचन जिते । खासै नाम नसुनिएका तमाङले १७ हजार ८ सय १३ मत ल्याउँदा अधिकारीले १४ हजार ९ सय ५६ मत ल्याए । एमालेका भुर्तेल ११ हजार ६ सय २३ मत ल्याएर तेस्रो भए ।

अघिल्लोपटक समानुपातिकबाट वाग्मती प्रदेशसभा सदस्य भएकी राप्रपाकी रिना गुरुङ योपटक चितवन–३(२)मा उम्मेदवार थिइन् । भरतपुर महानगर क्षेत्रको मतगणना सकिँदासम्म अग्रतामा रहेकी गुरुङ माडीको गणनापछि पछाडि परिन् र सत्तारुढ गठबनन्धनका उम्मेदवार माओवादी केन्द्रका ठाकुर ढकालसँग पराजित भइन् । ढकाल माडी नगरपालिकाका निवर्तमान मेयर पनि हुन् ।

ढकालले १५ हजार ४ सय ६१ मत ल्याए । गुरुङको १४ हजार ६ सय १५ मत आयो । एमालेकी सरस्वती विष्ट १० हजार १ सय २४ मत ल्याएर तेस्रो भइन् । गठबन्धन र तालमेल बिना एक्लै चुनावको सामाना गरेका पाण्डेले आफू जित्दै पार्टीलाई प्रदेशमा पनि जिताए ।

प्रकाशित : मंसिर १०, २०७९ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?