हुम्ला प्रदेशसभा ‘२’ मा कर्णालीका मुख्यमन्त्री शाही पुन:  विजयी

माओवादीबाट एमाले प्रवेश गरी उम्मेदवार बनेका छक्कबहादुर लामा पराजित
जनकबहादुर शाही

हुम्ला — हुम्ला प्रदेशसभा (२)मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन्  । कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाही ७ हजार ५६ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी उम्मेदवार छक्कबहादुर लामाले २ हजार ९ सय ७८ मत प्राप्त गरेका छन् ।

हुम्ला प्रदेशसभा ‘२’ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाहीले नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई ४ हजार ७८ मत अन्तरले पराजित गरेका हुन् ।

कांग्रेसका शाहीले ७ हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले २ हजार ९ सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नैनसिंह रावतले ९७ मत प्राप्त गरे भने जनता समाजवादी जसपाका बलिराज शाहीले ४० र राप्रपा नेपालका उम्मेदवार सुमन रावतले १५ मत प्राप्त गरे ।

यस्तै १ सय १९ मत बदर भएको छ । यसअघि प्रदेश ‘१’ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । २०७४ प्रदेशसभा सदस्य बनेका शाही पुन: प्रदेश (२)मा प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्

विश्वकपकै बेला छैन टीभी व्यापारमा उत्साह

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंतिहारलगायत चाडपर्वमा जस्तै विश्वकप पनि टीभी व्यापारीका लागि सिजन हो । तर यस वर्षको फिफा विश्वकपका लागि त्यति टीभीको व्यवसाय उत्साहजनक छैन । 

काठमाडौंको जडीबुटीका कृष्ण महर्जन गत केही दिनअघि टीभी किन्न महाबौद्ध पुगेका थिए । उनी २० हजार रुपैयाँमा पाइने भारतीय कम्पनीका टीभी हेर्दै थिए । तर उनले भने जस्ता टीभी बजारमा नपाएको सुनाए । भारतीय कम्पनीको ‘इन्टेक्स’ ब्रान्डको टीभी मन पराए पनि त्यसको मूल्य २५ हजार ५ सय रुपैयाँ भनेपछि महर्जन हच्किए । अर्जेन्टिनाका समर्थक महर्जनले टीभीमा घरपरिवारसँग विश्वकप हेर्ने उद्देश्यले बजार आएको बताए ।

विश्वकप नजिकिएसँगै टीभी किन्न आउनेको संख्या बढेको महाबौद्धस्थित अग्लेश्वरी महादेवका सञ्चालक सुरज श्रेष्ठले सुनाए । ‘दसैंतिहारपछि विश्वकपले गर्दा टीभी हेर्न आउने मान्छे बढेका छन्,’ उनले भने, ‘तर कतिले हेरेर मात्र जान्छन्, खरिद गर्ने कमै छन् ।’ अग्लेश्वरीमा एलजी, सामसङ, सोनी, इन्टेक्सलगायत ब्रान्डका टीभीसहित अन्य विद्युतीय सामग्री छन् । पहिलाको तुलनामा यस वर्षको विश्वकपका बेला ग्राहक कम नै आएको उनको भनाइ छ । हिजोआज दिनको ५/७ वटा मात्रै टीभी बिक्री भएको उनले जनाए । विश्वकपकै लागि टीभी खरिद गन आउनेले स्क्रिन हेरेर न्यूनतम ३० हजारदेखि ५० हजार रुपैयाँसम्मका रोज्ने गरेको उनको भनाइ छ ।

चार वर्षको अन्तरालमा हुने विश्वकपका लागि टीभीको व्यापार उत्साहजनक नरहेको व्यापारीहरू बताउँछन् । महाबौद्धकै थोक तथा खुद्रा व्यापारी रमेशकुमार श्रेष्ठले पनि विश्वकपले टीभीको व्यापारलाई खासै प्रभाव नपारेको दाबी गरे । पहिला विश्वकप आउनु एक साताअघिदेखि नै पसलमा थामिनसक्नु भीड हुने गर्थ्यो । तर यस वर्ष सुनसान रहेको उनले सुनाए । ‘अघिल्लो विश्वकपमा होलसेल र खुद्रा गरेर दिनकै ५० वटा टीभी पनि बेच्थ्यौं, अहिले दिनको १० वटा बेच्न नि गाह्रो भो,’ उनले भने, ‘व्यापार हुने सिजनमै सुनसान छ ।’ ब्रान्ड खोज्नेले सोनी, सामसङ, एलजीलगायत महँगा टीभी रोजे पनि सस्तो खोज्नेका लागि सीजी र यासुदाका टीभी रहेको उनको भनाइ छ । पहिला निःशुल्क रूपमा हेर्न पाइने विश्वकप यस पटक सशुल्क भएकाले पनि टीभी खरिदमा उत्साह नदेखिएको ललितपुरको कुमारीपाटीस्थित इलेक्ट्रोनिक जोनका सञ्चालक मनोज शर्माले बताए । विश्वकप सशुल्क भएकै कारण सिजनमै समर्थकले टीभी खरिदमा चासो नदेखाएको उनको भनाइ छ । ‘विश्वकपमा सबै खेल हेरिँदैन, केही देशका खेललाई मात्र पछ्याउने हो, अझ कतिले त फाइनल मात्र हेर्छन्,’ उनले भने । चार वर्षअघिको तुलनामा अहिले १५ प्रतिशत मात्र व्यापार भइरहेको उनले जनाए ।

बजारमा व्यापार नभएकै कारण टीभीको अभाव खड्किएको छैन । सरकारले ३२ इन्चभन्दा माथिका टीभी आयातमा रोक लगाएको थियो । सरकारले वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गरी टीभी, मदिरा, तास, मोबाइललगायत १० वस्तु आयात बन्देज गर्ने निर्णय गरेको थियो । पछि भदौ १४ मा राजपत्रमा सूचना प्रकाशन गरी ६ प्रकार (चुरोट तथा सुर्ती, हीरा, टीभी, खेलौना, तास, कुरकुरे/लेज) वस्तुको प्रतिबन्ध फुकुवा गरेको थियो । यद्यपि चार वस्तुको प्रतिबन्ध भने यथावत् राख्ने निर्णय गरेको थियो । यद्यपि बजारमा अभाव नभए पनि आयात भने कम भएको छ ।

चालु आर्थिक वर्षको साउन–भदौ–असोजमा ५७ करोड ३२ लाख ६९ हजार रुपैयाँ बराबरको ३३ हजार ६३ वटा टीभी आयात भएका छन् । गत वर्षको सोही अवधिमा ७४ करोड २७ लाख ४२ हजार रुपैयाँ बराबरका ४४ हजार २२७ वटा टीभी आएका थिए । गत आर्थिक वर्षमा भने ३ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ बराबरका १ लाख ६५ हजार १५२ वटा टीभी आयात भएका थिए ।

कम्पनीहरूको अफर

विश्वकपलाई लक्ष्य गरी विभिन्न कम्पनीले नयाँ टीभीसँगै विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । यसैअन्तर्गत स्काइवर्थले क्यूएलईडी प्लस गुगल टीभी सार्वजनिक गरेको छ । स्काइवर्थका लागि नेपालको आधिकारिक विक्रेता केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेजले विश्वकपलाई लक्ष्य गरी ‘स्काइवर्थ बिगर स्क्रिन, बिगर ड्रिम’ स्किम ल्याएको छ । यसअन्तर्गत उपभोक्ताले स्काइवर्थ ब्रान्डका टेलिभिजन खरिदमा ३३ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने जनाएको छ ।

एलजी ब्रान्डको आधिकारिक विक्रेता सीजी इम्पेक्सले विश्वकपलाई लक्षित गरी यूक्यू सिरिजका यूएचडी टीभी नेपाली बजारमा ल्याएको छ । एलजीको यूएचडी श्रेणीमा ४३, ५०, ५५, ६५, ७५ र ८६ इन्चका टीभी बजारमा आएका छन् ।

प्रकाशित : मंसिर १०, २०७९ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×