कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

स्याङ्जा- २ बाहेक गण्डकीका सबै क्षेत्रको मतपरिणाम सार्वजनिक

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशमा स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाहेक अन्य सबै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । गण्डकीका ११ जिल्लामा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्र छन् ।

स्याङ्जा- २ बाहेक गण्डकीका सबै क्षेत्रको मतपरिणाम सार्वजनिक

एमाले लगायत विभिन्न ११ उम्मेदवारले स्याङजाको चापाकोट नगरपालिकाका विभिन्न ४ वटा केन्द्रमा धाँदली भएको भन्दै पुन: मतदानको माग गरेपछि मतगणना अघि बढ्न नसकेको हो ।

यहाँ कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतगणना गर्नुपर्ने भन्दै आएको छ । विवादका कारण प्रतिनिधिसभा र दुवै प्रदेशसभाको मतगणना हुन नसकेको हो । अहिले विवाद समाधानका लागि निर्वाचन आयोगको एक टोली शुक्रबार स्याङजा आएर सरोकारवालाहरूसँग छलफल गरिरहेको छ ।

आवश्यक परे मतदानस्थलको स्थलगत अवलोकन पनि उक्त टोलीले गर्ने स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । आयोग टोलीको प्रतिवेदनका आधारमा पुन: मतदान हुने वा मतगणना थालिने भन्ने टुंगो लाग्नेछ ।

गत आइतबार भएको निर्वाचनको प्रतिनिधिसभा र प्रदेशसभातर्फको नतिजा मुस्ताङबाट सार्वजनिक भएको थियो । १७ प्रतिनिधिसभा क्षेत्रमध्ये सबैभन्दा पछि स्याङजा–१ र प्रदेशसभातर्फ स्याङजा–१ को २ निर्वाचन क्षेत्रको नतिजा शुक्रबार सार्वजनिक भएको हो ।

घोषित प्रतिनिधिसभाको १७ सिटमध्ये कांगेस ९ सिट जित्न सफल भएको छ । एमालेले ५, माओवादी केन्द्रले २ र राष्ट्रिय जनमोर्चाले १ क्षेत्र हात पारेका छन् । २०७४ को निर्वाचनमा भएको वाम गठबन्धनविरुद्ध पूर्वी नवलपरासी–१ बाट कांग्रेसका डा. शशांक कोइराला मात्रै प्रत्यक्षमा निर्वाचित भएका थिए । एमालेले १३ सिट जित्दै पहिलो दल बनेको थियो । माओवादीले ३, नयाँ शक्तिका बाबुराम भट्टराइले जित हासिल गरेका थिए ।

प्रकाशित : मंसिर ९, २०७९ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×