जितेपछि रायमाझीले भने- 'अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक कसैले जित्दैन'- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

जितेपछि रायमाझीले भने- 'अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक कसैले जित्दैन'

वीरेन्द्र केसी

अर्घाखाँची — नेकपा एमाले सचिव एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अब ५० वर्षसम्म एमाले बाहेक अरु कसैले पनि जित्न नसक्ने दाबी गरेका छन् । उनले अन्य दललाई लक्षित गर्दै अब ५० वर्षसम्म जित्ने सपना नदेख्न पनि चुनौती दिएका छन् ।

सत्ता गठबन्धनको घेरबन्दीलाई तोडेर एमालेले यहाँ तीनवटै सिटमा चुनाव जितेर असफल पारेको उनले बताए । सन्धिखर्कमा भएको विजय र्‍याली तथा धन्यावाद सभालाई सम्बोधन गर्दै रायमाझीले एमालेका विरुद्ध एक्लै लड्ने आँट नभएपछि गठबन्धन बनेको र त्यो पनि असफल भएकाले अब ५० वर्षको चुनावसम्मका लागि अर्घाखाँचीमा एमाले बाहेक अरु कसैले पनि जित्नसक्ने हिम्मत नराख्ने दाबी गरे ।

‘अब गठबन्धन चल्दैन, टिक्दैन,’ उनले भने, ‘जनतालाई गठबन्धन मन परेको छैन, असफल भए । हामीले सोचेजस्तै सफलता हात पर्‍यो ।’ उनले यस चुनावलाई दूरगामी, युगान्तकारी र इतिहास रच्ने चुनावका रुपमा पनि व्याख्या गरेका थिए ।

यस्तै उनले अबको पाँच वर्ष जनताको सेवामा लाग्ने पनि बताए । ‘जतिबेला एमाले नेतृत्वको सरकार ढाल्ने काम भयो, विकास र समृद्धिका काम गर्छौं,’ रायमाझीले भने, ‘गठबन्धनका दलहरुसँग मित्रवत गर्दै अब एमालेको नेतृत्वमा देशको विकास हुन्छ । अब पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, पूर्वाधार विकास र रोजगारीका काममा जुट्नेछौं ।’ उनले विकासका काम गरेर अर्घाखाँचीलाई देशकै नमूना जिल्ला बनाइने दाबी गरे ।

रायमाझीले सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमलाई १७ सय ३० मतान्तरले पराजित गरेका छन् । प्रदेशसभा १ मा एमाले चेतनारायण आचार्य र प्रदेशसभा २ मा रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटमा शक्ति बस्नेतको ‘ह्याट्रिक’

हरिहरसिंह राठौर

जाजरकोट — जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठवन्धनकातर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । कुल ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ । उनले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गरे ।

एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गरे । बस्नेतले योसँगै तीन पटक संदसदीय निर्वाचन जिते । संविधान सभाको दोस्रो निर्वाचन २०७० मा एक्लै, २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेसँगको गठबन्धन र यसपटक कांग्रेससँगको गठबन्धनबाट निर्वाचित भएका छन् । बस्नेत स्वास्थ्य मन्त्री, गृहमन्त्री र वन तथा वातावरण मन्त्री समेत भइसकेका छन् ।

को हुन् शक्ति बस्नेत ?

नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्तिबहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षबाट राजनीति सुरु गरेका नेता हुन् । वि. सं. २०२८ साल वैशाख १ गते भेरी नगरपालिका–१ कालेगाउँमा उनको जन्म भएको हो । बुबा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् शक्तिबहादुर बस्नेत । उनका तीन दाजुभाइ छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन् भने उनकी एक छोरी संगम बस्नेत हुन् । बस्नेतले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

तीन पटक मन्त्री

पहिलो संविधान सभाको निर्वाचन २०६४ पछि बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर गणतन्त्र स्थापनापछिको जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफूलाई उभ्याएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष निर्वाचित बस्नेत गृहमन्त्री बने । २०७२ मा उनले गृहमन्त्रीको रुपमा काम गरेका थिए ।


प्रकाशित : मंसिर ८, २०७९ १९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×