कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुर-२ : दुर्लभले फर्काए कांग्रेसको विरासत

भक्तपुर-१ मा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले पाँच पटक चुनाव जिते, अहिले सचिव प्रेम सुवाल फराकिलो मतान्तरसहित दोहोरिएका छन् । तर सँगै जोडिएको भक्तपुर-२ मा भने अहिलेसम्म कसैले दोहोरिएर जितेको छैन ।
प्रकाश धौलाकोटी

काठमाडौँ — भक्तपुर सुन्नेबित्तिकै धेरैलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को प्रभाव क्षेत्र भन्ने याद आउँछ । हुन पनि भक्तपुरको भक्तपुर नगरपालिका क्षेत्रमा नेमकिपाले त्यस्तै प्रभाव कायम राखेको छ । नेमकिपाले यसपटकका निर्वाचनमा पनि आफ्नो प्रभावलाई परिणाममै पुष्टि गर्‍यो । भक्तपुर क्षेत्र नं. १ बाट ०४६ को राजनीतिक परिवर्तनपछिका सबै निर्वाचन नेमकिपाले एकलौटी जितेको छ ।

भक्तपुर-२ : दुर्लभले फर्काए कांग्रेसको विरासत

नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले ०४८ पछि ०७० सम्म निरन्तर पाँच वटा चुनाव जिते, ०७४ बिजुक्छेको उत्तराधिकारी बनेका प्रेम सुवालले यसपटक पनि फराकिलो मतान्तरसहित चुनाव जितेका छन् ।

तर, यससँगै जोडिएको भक्तपुर क्षेत्र नं.२ भने एउटै व्यक्तिलाई दोहोर्‍याउँदैन । यो क्षेत्रबाट यसबीचमा भएका सात वटा आमनिर्वाचनमा कसैले पनि दोहोरिएर जितेका छैनन् । भक्तपुर–२ ले यसपटक पनि नयाँ मान्छेलाई प्रतिनिधिसभामा पठाएर नदोहोर्‍याएको इतिहास कायम राखेको छ भने नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले कांग्रेसको विरासत फर्काएका छन् ।

थापाले नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका छन् । थापाले २४ हजार २३८ मत ल्याउँदा एमालेका बस्नेतले २३ हजार २७५ मत पाएका छन् । जबकि बस्नेतले ०७४ मा १७ हजारभन्दा धेरै मतान्तरले जितेका थिए ।

कुनै बेला यो क्षेत्र कांग्रेसको गढकैरुपमा चिनिन्थ्यो । क्षेत्र नं. १ मा बिजुक्छेकैजस्तै यहाँ कांग्रेसको दलबल थियो । यहाँबाट ०४८ मा नेपाली कांग्रेसका नेता जगन्नाथ आचार्यले चुनाव जितेका थिए । ०५१ को मध्यावधि निवाचनमा नेमकिपाका आशाकाजी बासुकला र ०५६ को निर्वाचनमा पनि कांग्रेसकै लेखनाथ न्यौपानेले चुनाव जिते ।

०६४ मा भने यो क्षेत्र पनि नेमकिपाले खोस्यो, सुनिल प्रजापति विजयी भए । ०७० मा फेरि कांग्रेसका रामेश्वर ढुंगेलले जितेर कांग्रेसको साख फर्काए । तर, ०७४ मा कांग्रेसले स्थानीय कार्यकर्ताको रुचिविपरीत दमननाथ ढुंगानालाई टिकट दिएर पठाउँदा एमालेले ऐतिहासिक जित निकाल्यो, महेश बस्नेत फराकिलो मतान्तरले निर्वाचित भए ।

बस्नेतले क्षेत्रमा आक्रामक शैलीमा काम गरे, चाहे त्यो विकासका काम होस् या त्यसको प्रचार । जसकारण लोकप्रिय छवि बनाएका बस्नेत यसपटक यही क्षेत्रबाट दोहोरिएर जित निकाल्नेमा ढुक्क थिए । तर, माओवादी केन्द्रसमेतको समर्थनमा कांग्रेसका थापाले बस्नेतलाई झिनो अन्तरले रोक्दै कांग्रेसको गढ फिर्ता ल्याएका छन् ।

यही जन्मिएर हुर्केका थापा कटुञ्जेका बासिन्दा हुन् । उनले बाणिज्य शास्त्रमा स्नातक गरेका छन् । ०४३ सालमा नेविसंघबाट राजनीति थालेका उनी ०५३ मा मीनभवन क्याम्पसमा स्ववियु सभापतिको प्रत्यासी थिए । ०५७ मा उनी नेविसंघको केन्द्रीय सदस्य भए । कांग्रेसको ११ औँ महाधिवेशनमा महासमिति सदस्य बनेका उनी १३ औँ महाधिवेशनबाट जिल्ला सभापति भए ।

विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गर्दै राजनीतिमा सक्रिय रहेका थापा नाशा कलेजको डाइरेक्टर, अम्बिका हेल्थ इन्सिच्युटका प्रबन्धक निर्देशक, तथा नवदूर्गा कलेजको व्यवस्थापन समितिको अध्यक्ष समेत रहिसकेका नेता हुन् ।

यो क्षेत्रमा यसपटकको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी थप खुम्चिएको छ । ०६४ मा यहाँबाट चुनावै जितेको नेमकिपाले ०७० मा कांग्रेसका ढुंगेलसँग करिव १६ हजार मतले पराजित भएको थियो । ०७४ मा नेमकिपा तेस्रो भएको थियो । यसपटक नेमकिपाकी अनुराधा थापामगरले ५ हजार ९७३ मत पाएकी छिन् ।

प्रकाशित : मंसिर ८, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?