कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सातौँ पटक चुनाव लडेका पूर्वमन्त्री बलबहादुर केसी सोलुमा पराजित

भानुभक्त निरौला

सोलुखुम्बु — बहुदलीय व्यवस्थापछि लागातर सोलुखुम्बुमा संसदीय चुनावमा उठ्दै आएका कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी यो पटकको निर्वाचिनमा एमालेसँग पराजित भएका छन् ।

सातौँ पटक चुनाव लडेका पूर्वमन्त्री बलबहादुर केसी सोलुमा पराजित

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार रहेका केसी यो पटक २ हजार ७ सय ७९ मतको अन्तरले एमाले उम्मेदवार मानवीर राईसँग पराजित भएका हुन् । सातौँ पटक चुनावी मैदानमा उत्रिएका केसीले १६ हजार ५ सय ४५ मत ल्याउँदा विजयी उम्मेदवार एमालेका केन्द्रीय सदस्य राईले १९ हजार ३ सय २४ मत ल्याएका छन् ।

कुल ४० हजार ४ सय ३३ मत खसेको जिल्लामा यो पटक गठबन्धनले चुनाव जित्ने आकलन गरिएको थियो । स्थानीय तहको मतअनुसार १५ हजार मतान्तरले अगाडि रहेको गठबन्धनलाई एमाले उम्मेदवार राईले २ हजा ७ सय ७९ मतले चामत्कारिक जित निकालेका हुन् ।

गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको सोलुखुम्बु जिल्ला अन्त्यमा शेखर कोइराला समूहको दबाबबीच माओवादीबाट खोसेर कांग्रेस जिल्ला समितिले प्रत्यक्षमा सिफारिस नपरेका बलबहादुर केसीले टिकट लिएर आएका थिए । जिल्लामा कांग्रेसको संस्थापन पक्षको सहयोगका बाबजुत पनि केसीले जित निकाल्न सकेनन् । पछिल्लो समय युवा पुस्तामाझ लागेको ‘नो नट अगेन’ अभियानले पनि केसी पराजित हुन पुगेको विश्लेषण गरिएको छ ।

यसअघि प्रदेशसभा‘१’ र ‘२’ मा माओवादी केन्द्रका गोम्बु शेर्पा र एमालेका बुद्धिकुमार राजभण्डारी निर्वाचित भइसकेका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?