कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोल्पामा निर्वाचन गराउन गएका कर्मचारी बाटोमै अलपत्र

महेश केसी

रुकुम पश्चिम — गत मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा जिल्लाबाट खटिएर डोल्पाको से–फोक्सुन्डो गाउँपालिकाका विभिन्न वडामा पुगेका २४ जना कर्मचारी फर्किन नसक्दा बाटोमै अलपत्र परेका छन् । 

डोल्पामा निर्वाचन गराउन गएका कर्मचारी बाटोमै अलपत्र

से–फोक्सुन्डोको वडा नं. १, २, ३ र ४ मा निर्वाचन गराउन भनेर गएका आफूहरू फर्किन नसकेर अलपत्र परेको हरि न्यौपानेले बताए । न्यौपानेका अनुसार उनीहरू निर्वाचनअघि दुनैबाट हेलिकप्टरमार्फत से–फोक्सुन्डो–३ साल्दाङसम्म र त्यहाँबाट हिँडेर आ-आफ्नो कार्यक्षेत्रमा पुगेका थिए ।

निर्वाचन सकिएपछि मतपेटिकालगायत निर्वाचन सामग्री हेलिकोप्टरमार्फत लिएको र आफूहरू हिँडेर पुन: साल्दाङमा आएको न्यौपानेको भनाइ छ । ‘हामी हिँडेर यहाँसम्म पुग्यौं । अब अघि बढ्ने सम्भावना छैन । पहाडभरि हिउँ छ । कसरी फर्किने ?’ न्यौपाने भन्छन्, ‘हामीसँग खाने चिज केही छैन । यहाँका स्थानीयले पनि आफ्ना लागि ल्याएको खान्कि दिन गाह्रो मानिरहेका छन् ।’

साल्दाङबाट हिँडेर दुनै फर्किन कम्तीमा ६ दिन लाग्ने बताउने यी कर्माचारीका अनुसार यहाँबाट पैदन फर्किन भने सम्भव छैन । अबदेखि हिउँदभरि साल्दाङबाट दुनैसम्मको बाटो हिमपातका कारण बन्द गरेको छ ।

यस विषयमा डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि तिवारीले उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी भएको बताएका छन् । ‘हामी हेलीकोप्टर जोहो गर्दै छौं‚’ प्रजिअ तिवारी भन्छन्, ‘सकेसम्म आजै उनीहरूलाई दुनै ल्याउने हाम्रो तयारी छ ।’

प्रकाशित : मंसिर ८, २०७९ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?