ओखलढुंगा प्रदेशसभा '२' मा माओवादीका बाबुराम गौतम विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओखलढुंगा प्रदेशसभा '२' मा माओवादीका बाबुराम गौतम विजयी

कुम्भराज राई

ओखलढुंगा — प्रदेशसभा दुईबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् । उनले १५ हजार सात सय ३८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानबहादुर खड्काले १४ हजार ६ सय ४२ मत प्राप्त गरे । 

गौतम तत्कालीन एकता केन्द्रमा २०४६ सालअघि देखि नै सहभागी भई राजनीतिमा प्रवेश गरेका थिए । २०४७ सालमा हरिऔन माविको इकाई अध्यक्ष त्यसपछि सर्लाही जिल्ला अनेरास्ववियू कमिटीको जिल्ला सदस्य र २०४९ मा आरआर क्याम्पसमा अनेरास्ववियूबाटै स्ववियू सदस्यका उम्मेदवार बनेका थिए । २०५१ माओवादी जनयुद्ध सुरु भएपछि आबद्ध भए । खुल्ला र्मोचा संयुक्त जनमोर्चा नेपाल हुँदादेखि उनको पार्टीमा आबद्धता थियो ।

माओवादीको एरिया कमिटी सदस्य, जिल्ला कमिटी २०५५ सालदेखि, टेड युनियन महासंघको केन्द्रीय महासचिव २०६० सालमा, २०६४ मा उपाध्यक्ष बनेका गौतम २०७० मा नेकपा माओवादीको जिल्ला अध्यक्ष बने । हाल पार्टीको केन्द्रीय सदस्य रहेका गौतमले चारपटक गरी अढाई वर्षजति जेल जीवन बिताएका छन् ।

मजदुरका रूपमा पत्रिका वितरक साइकल ब्वाईको काम गर्दै राजनीतिमा संघर्ष गरेका गौतम शालिन र भद्र नेताका रूपमा परिचित छन् । प्रदेशसभा क्षेत्र नं. २ मा कूल मतदाता संख्या ६१ हजार १ सय ६४ रहेकोमा ३३ हजार ५ सय २९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित : मंसिर ७, २०७९ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

खोरमै थुनेर भेडापालन

कुम्भराज राई

ओखलढुंगा — चरनक्षेत्र अभाव हुँदै गएपछि ठुल्ठूला गोठमा भेडा पाल्ने र लेकदेखि बेंसीसम्म चराउने चलन घट्दै गएको छ । तर यहाँको मोलुङ गाउँपालिका–१ झगरपुरका गाउँलेले भने घरघरमै खोर बनाएर भेडापालन गर्न थालेका छन् । ठूलो गोठमा चराएर पाल्न नसके पनि भेडापालन लोप हुन नदिन बाख्रासरह खोरमै राखेर भेडा पाल्ने गरिएको हो । 


यहाँका ११ घरमा ६५ भेडा पालिएका छन् । ‘हाम्रो प्रत्येक कुलपूजामा भेडा अनिवार्य चाहिन्छ,’ स्थानीय नरबहादुर राईले भने, ‘त्यसैका लागि भए पनि पाल्नुपर्छ, यसलाई व्यावसायिक रूपमा अघि लैजाने सोचका साथ केही वर्षयता संख्या बढाउँदै छौं ।’ स्थानीय ‘सुनभेडा’ प्रजातिको भेडा वरपरका विभिन्न मठमन्दिरमा पूजाआजाका लागि चाहिने भएकाले किसानलाई बिक्रीका लागि समस्या छैन । ‘गतवर्ष मात्रै २८ वटा भेडा यही गाउँबाट किनेर पूजा गर्‍यौं,’ कुन्तादेवीका स्थानीय प्रदीप बानियाँले भने, ‘मूल्य भने बोकाबाख्राभन्दा महँगो छ । त्यसैले यसलाई व्यावसायिक फार्म खोलेर पाल्न सक्दा आम्दानी राम्रो हुन सक्ने देखिएको छ ।’ भेडाबाट ऊन र घिउ उत्पादन हुने गर्छ । तर स्थानीयले ऊन काट्ने तरिका नजान्दा केही वर्षयता खेर जाने गरेको थियो । केही वर्षअघि घरेलु तथा साना उद्योग विकास समितिले भेडाको ऊन काट्ने सातदिने तालिम झगरपुरवासीलाई दिएको थियो । यो तालिम लिएसँगै वर्षमा दुई पटक ऊन काटेर बेच्न सहज भएको छ ।

जिल्लामा मात्र नभएर देशमै ऊन काट्ने सीपसम्बन्धी तालिम खासै चल्दैन । किसानले राडीपाखी बुन्ने तालिम दिन सके ऊनको सदुपयोगसँगै गाउँमै रोजगारी सिर्जना गराउन सकिने स्थानीयको बुझाइ छ । भेडापालनलाई गोठमै हिँडाएर चराउने चलन बिस्तारै घटेको छ । त्यसैले यसलाई बाख्रालाई जस्तै खोरमा राखेर वा नजिकका जंगलमा चराएर पाल्न सकिने स्थानीयको अनुभव छ । यदि घरघरमै भेडापालन गर्ने किसानलाई सरकारले प्रोत्साहन दिने हो भने यसबाट ऊन उत्पादन र रोजगारी दुवै बढाउन सकिने स्थानीय बताउँछन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०७:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×