काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो जित हासिल गरेको छ । बुधबार बिहान सम्पन्न काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् ।

सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छन् ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।


प्रकाशित : मंसिर ७, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्

म्यानचेस्टरबाट रोनाल्डो अलग्गिने

कान्तिपुर संवाददाता

लन्डन — पोर्चुगाली फरवार्ड क्रिस्टियानो रोनाल्डोले तत्काल लागू हुने गरेर मंगलबारबाट इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाड्ने भएका छन् । विवादास्पद अन्तर्वार्तामा क्लब र प्रशिक्षक एरिक टेन हागको चर्को आलोचना आएपछि यो स्थिति बनेको हो ।

क्लब र खेलाडीले आपसी सहमतीमा अलग्गिने निर्णय गरेको बताएका छन् । युनाइटेडले प्रेस विज्ञप्तिमा भनेको छ, ‘दुई फरक समय क्लबमा पुर्‍याएको योगदानका लागि हामी धन्यवाद दिन चाहन्छौं ।’

विश्वकपका लागि अहिले प्रिमियर लिग विश्राममा छ र त्यस अगाडि टेन हागको नेतृत्वमा पहिलो सिजन खेल्दै म्यानचेस्टर अंक तालिकाको पाँचौं स्थानमा छ । टिमले सुधारिएको प्रदर्शन गरिरहेको छ ।

खराब प्रदर्शनका कारण प्रशिक्षक टेन हागले रोनाल्डोलाई नियमित खेलाइरहेका थिएनन् । रोनाल्डो भने पोर्चुगाली टिमसँगै कतारमा छन् ।

प्रकाशित : मंसिर ७, २०७९ ०६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×