१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

कालीकोटमा मतगणना १ बजेबाट

तुलाराम पाण्डे

कालिकोट — कालीकोटमा मतगणना मंगलबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ । जिल्ला प्रशासनमा कार्यालयमा बसेको सर्वदलीय बैठकले मंगलबार दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

कालीकोटमा मतगणना १ बजेबाट

अति सुरक्षा संवेदनशील मानिएको कालीकोटका पलाता, पचाल झरनालगायतका स्थानीय तहबाट १ सय ४ वटा मतपेटिका सोमबार राति सदरमुकाम पुर्‍याइएपछि मुख्य निर्वाचन अधिकृत भरत लम्सालको अध्यक्षतामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले मतगणना दिउँसोबाट गणना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

दलका प्रतिनिधिहरूले मत पेटिकाको सिल तोडिएको, केही मतदान अधिकृतले हस्ताक्षर गर्न सक्ने मतदातालाई पनि अर्धकट्टीमा ल्याप्चे लगाउन लगाएको, एक निर्वाचन प्रणालीका मतपत्र अर्कै बाकसमा हालिएको विषय उठाएका थिए । ठूला दलका प्रतिनिधिले मतदान केन्द्रको बाकस अलग अलग खन्याएर गणना गर्ने प्रस्ताव गरे पनि स्वतन्त्र उम्मेदवारले विरोध गरेका थिए ।

'निर्वाचन आयोगको निर्देशिका विपरीत अलग-अलग मत गणनामा मेरो सहमति छैन,' प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार काशीचन्द्र बरालले भने, 'गाउँमा जनतालाई डर, त्रासमा राखेर, पैसाको चलखेल गरेर मतदान गर्न लगाइयो ।' उनले दुई वा दुईभन्दा बढी मतपेटिका एउटै ठाउँमा खन्याएर मात्र गणना गर्नुपर्ने अडान राखेका थिए ।

चार ठाउँमा सीसीटिभी क्यामेरा जडान गरेर मतगणनाको व्यवस्थापन गरिएको नेपाल प्रहरीका डिएसपी जयश्वर रिमालले जानकारी दिए । उनले एक उम्मेदवारको एक जना मात्र प्रतिनिधि राख्ने सहमति भएकाले मतगणनामा अनावश्यक भिडभाड गर्न नदिइने जानकारी दिए । ८० हजार ७ सय ३३ मतदाता रहेको कालीकोटमा ४६ हजार ६ सय ६९ मत खसेको छ ।

प्रकाशित : मंसिर ६, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?