५५ क्षेत्रको गणना अझै सुरु भएन- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५५ क्षेत्रको गणना अझै सुरु भएन

मकर श्रेष्ठ

काठमाडौँ — निर्वाचन आयोगले एक साताभित्र मतगणना गरिसक्ने दाबी गरे पनि सोमबार रातिसम्म ५५ निर्वाचन क्षेत्रमा मतगणना हुन सकेको छैन । १६५ मध्ये ११० क्षेत्रमा मात्रै गणना सुरु भएको छ । आइतबार स्थगित भएका केही ठाउँमा सोमबार मतदान भएको छ ।

मतगणना भएकामध्ये ललितपुर–२, मनाङ र मुस्ताङमा अन्तिम नतिजासमेत सार्वजनिक भइसकेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान भएको आठ दिनभित्र दुवै सभाको प्रत्यक्ष र समानुपातिक मत गनिसक्ने दाबी गरेका थिए । उनले पुन: मतदान भएका ठाउँको गणनासमेत आइतबारसम्म सकिने बताएका छन् ।

आयोगले मतगणना चाँडो गर्न प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको छ । प्रत्येक क्षेत्रको चार ठाउँमा मात्रै गणना भइरहेकाले नतिजा आउन केही ढिलाइ भएको हुन सक्ने आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकको एक–एक ठाउँमा तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकको एक–एक ठाउँमा गणना गरिरहेका छन् । ‘एकैपटक चारवटै मतपेटिकाको मतगणना गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ आयोग प्रवक्ता शालिग्राम पौडेलले भने ।

मतदानका क्रममा एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा खसेको गुनासो आएकाले पनि चारवटै मतपेटिकाको गणना एकैपटक गर्नुपर्ने बाध्यता रहेको आयोगले जनाएको छ । आयोगले निर्वाचन सुरु हुनुअघि प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षको मतगणना तीन दिनभित्र सार्वजनिक गर्ने दाबी गरेको थियो ।

खसेको मत खेर नजाओस् भनेर दुवै सभाको प्रत्यक्ष र समानुपातिक मत एकैपटक गणना गर्नुपरेको आयोगले जनाएको छ । ‘दलका प्रतिनिधिले केही जिल्लामा प्रत्यक्षको मात्रै पहिला गन्नुपर्ने भन्दै विवाद निकालेको र केही जिल्लामा एक पटकमा एउटा वडाको मात्रै मतगणना गर्नुपर्ने अडान लिएकाले ढिलाइ भइरहेको छ,’ उनले भने ।

आयोगले सडक यातायातको पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित जिल्ला सदरमुकाम (मतगणनास्थल) ल्याउन सेनाको हेलिकोप्टर प्रयोग गरेको छ, तैपनि सबै जिल्लामा मतपेटिका संकलन भइसकेको छैन । ‘हिमाली जिल्लाको मतपेटिका संकलन जारी छ,’ उनले भने ।

हुम्लाका ३४, डोल्पाका ८ र बझाङका एउटा मतदानस्थलको मतपेटिका हेलिकोप्टरबाट सदरमुकाम ल्याउन बाँकी रहेको आयोगले जनाएको छ । आयोगले हुम्लाको अदानचुली, चंखेली, ताजाकोट र सर्केगाड गाउँपालिकाका ३४ वटा केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम ल्याउन सेनालाई निर्देशन दिएको छ । त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका ९, गोरखाको चुमनुब्री गाउँपालिकाका २२, मनाङको नार्पाभूमि गाउँपालिकाका ५ र संखुवासभाको भोटखोला गाउँपालिकाका ४ केन्द्रका मतपेटिका हेलिकोप्टरबाट जिल्ला सदरमुकामस्थित मतगणनास्थलमा ल्याइएको छ । डोल्पाको शे फोक्सुन्डो गाउँपालिकाको ८ र बझाङको साइपाल गाउँपालिकाको ३ वटा केन्द्रको मतपेटिका मतगणनास्थलमा ल्याउन बाँकी रहेको आयोगले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७९ ०४:१५
प्रतिक्रिया
पठाउनुहोस्

फ्रान्सको अभियानमा एमबाप्पे महत्त्वपूर्ण

एएफपी

दोहा — विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सले मंगलबार उपाधि रक्षाको अभियान सुरु गर्दै छ । टोलीका लागि केलियन एमबाप्पे आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा हुनुपर्नेछ । फ्रान्सले चोटकै कारण बालोन डी’अर विजेता करिम बेन्जेमालाई हालै मात्र गुमाएको छ, त्यसैले प्रशिक्षक डिडियर डेसच्याम्प पनि मान्छन्, फ्रान्सेली टिमका लागि एमबाप्पे नै सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । फ्रान्सको समूह चरणको पहिलो खेल छ अस्ट्रेलियाविरुद्ध ।

समस्या के हो भने चोटका कारण फ्रान्सले बेन्जेमा मात्र गुमाएको छैन, अन्य केही प्रमुख खेलाडी पनि कतार ल्याउन पाएको छैन । बेन्जेमा त कतार आएका थिए, तर अभ्यासका क्रममा घाइते भए ।

सन् २०१८ मा विश्वकप जित्दाको फ्रान्सेली टिमका सदस्य नरहेका रियल म्याड्रिड खेलाडीको तिघ्रामा चोट लागेको थियो । रुसमा भएको विश्वकपकै क्रममा एमबाप्पेले आफूलाई विश्व फुटबलको उदीयमान उत्कृष्ट खेलाडीका रूपमा आफूलाई प्रमाणित गरेको थियो ।

त्यतिबेला पेरिस सेन्ट जर्मेन (पीएसजी) का खेलाडी जम्मा १९ वर्षका थिए । प्रतियोगितामा क्रममा चार गोल गरे । त्यसमध्ये एक गोल क्रोएसियाविरुद्धको फाइनलमा थियो । डेसच्याम्पले मिडियासँगै दोहामा कुराकानी गर्दै भनेका छन्, ‘एमबाप्पे अझै पनि युवा छन् । सायद चार वर्षको तुलना केही परिपक्व भए । यही चार वर्षको समयमा पनि उनले मैदानमा भने धेरै गरेका छन् । अहिले उनी धेरै परिवक्व खेलाडी भएका छन् । अहिले तत्काल उनी जत्तिको खेलाडी विश्व फुटबलमा विरलै छन् ।’

डेसच्याम्प थप्छन्, ‘एमबाप्पेले आफ्नो टिमका लागि यसअघि नै साबित गरिसकेका छन् । उनी जतिबेला चाहिएको हुन्छ, त्यही बेला निर्णायक प्रदर्शन गर्न सक्षम छन् । उनी कुनै पनि मोडमा आफ्नो उपयोगिता प्रमाणित गर्न सिपालु छन् ।’ अर्को महिना एमबाप्पे २४ वर्षका हुनेछन् । उनले ओलिभर जिरोडसँग मिलेर फ्रान्सेली आक्रमणको नेतृत्व गर्नेछन् । बेन्जेमाको अनुपस्थितिमा अर्का अनुभवी जिरोडले नै अवसर पाउने अनुमान गरिएको छ ।

यदि चार वर्षअगाडि रुसमा एमबाप्पे किशोर खेलाडी थिए । अहिले उनी अब्बल दर्जाका खेलाडी भएका छन्, त्यसैले त उनले रियलको प्रस्तावसमेत अस्वीकार गरे । यसक्रममा उनले पीएसजीबाट निकै आकर्षक अनुबन्ध पाए । तर उनका लागि पछिल्लो ठूला प्रतियोगिता युरो २०२० भने खासै सफल रहेन । उनी निर्णायक मोडमा पेनाल्टीबाट गोल गर्न चुके र स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा फ्रान्स टाइब्रेकरमा पराजित रह्यो ।

फ्रान्सेली कप्तान हुगो लोरिस मान्छन्, ‘उनी कति राम्रा खेलाडी हुन् भनिरहनुपर्दैन । अहिले उनी पूर्णत: खेलमा केन्द्रित छन् र आराम महसुस गरिरहेका छन् । उनी राम्रो खेल्न प्रेरित छन् र टिमलाई जित दिलाउन चाहन्छन् ।’ फ्रान्सले सन् २०१८ को विश्वकपमा पनि अस्ट्रेलियालाई हराएर नै विजयी सुरुआत लिएको थियो । यसपल्ट पनि यस्तै उपलब्धि दोहोर्‍याउन चाहन्छन् । लोरिस के पनि मान्छन् भने अस्ट्रेलियाले तेस्र्याउने चुनौती बलियो रहनेछ ।

उनी भन्छन्, ‘पक्कै पनि अस्ट्रेलिया बलियो टिम छ र उसले प्रतिस्पर्धात्मक फुटबल खेल्छ । पेरुलाई पेनाल्टीमा हराएपछि यो टिमको आत्मविश्वास बढेको हुनुपर्छ । यस्तै जितले टिमलाई अझ राम्रो बनाउने हो ।’

प्रशिक्षक डेसच्याम्पलाई के पनि आस रहेको छ भने खेल सुरु हुनुअगाडि म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक राफेल भराने ठीक हुनेछन् । उनी खुट्टाको चोटमुक्त हुँदै मैदानमा फर्कने प्रयासमा छन् । उनको उपस्थिति फ्रान्सका लागि महत्त्वपूर्ण रहनेछ ।’

प्रकाशित : मंसिर ६, २०७९ ०४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×