कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङका १९३ स्थानको मतपत्र आइपुग्यो, चार केन्द्रको दुई दिन पर्खनुपर्ने 

आनन्द गौतम

ताप्लेजुङ — मतपेटिका ओसार्न सरकारले हेलिकप्टर उपलब्ध गराएको भए हिमाली जिल्ला ताप्लेजुङमा सोमबार दिउँसोदेखि मतगणना सुरु हुन सक्थ्यो ।

ताप्लेजुङका १९३ स्थानको मतपत्र आइपुग्यो, चार केन्द्रको दुई दिन पर्खनुपर्ने 

६१ वटा वडा रहेको जिल्लाका फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा, ग्याब्ला, वडा नम्बर–७ ओलाङचुङगोला र याङमा बाहेकका सबै केन्द्रको मतपेटिका सदरमुकाम फुङलिङ पुगीसकेको छ । तर हेलिकप्टर नआउने भएपछि ती केन्द्रका मतपेटिका दुई दिन कुर्नुपर्ने बाध्यता भएको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार ओलाङचुङगोला र ग्याब्लाको मतपेटिका सोमबार रातिसम्म आइपुग्ने भए पनि याङमा र घुन्साको मतपेटिका आउन मंगलबार रातिसम्म लाग्नसक्ने देखिएको छ । यदि यसरी नै समय लागे बुधबारदेखि मात्रै गणना सुरु हुनसक्छ । सोमबार बिहानै सबै केन्द्रबाट हिँडिसकेकाले जतिसक्दो चाँडो ल्याउने प्रयासमा रहेको पोख्रेलले बताए । याङमा पुग्न निर्वाचन टोलीलाई चार दिन लागेको थियो ।

सरकारले यी चार केन्द्रको मतपेटिका ल्याउन हेलिकप्टर उपलब्ध गराउने बताएको थियो । ‘हिजो मैले मुख्य निर्वाचन आयुक्तज्यूसँग कुरा गरेँ । उहाँले हेलिकप्टर सम्भव नहुने भयो भन्नुभयो त्यसपछि तत्काल खबर गरेर मतपेटिका हिँडायौँ,’ पोख्रेलले भने । याङमामा १२, ओलाङचुङगोलामा ९७, घुन्सामा ६० र ग्याब्लामा २२ मत झरेको त्यहा खटिएका मतदान अधिकृतहरुले बताएका छन् । याङमामा ६१, गोलामा २ सय ८४, घुनसामा १ सय ६९ र ग्याब्लामा ६७ मतदाता रहेका थिए ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार जिल्लाभर ५४.७७ प्रतिशत मत खसेको छ । ८८ हजार २ सय ८५ मतदाता रहेको जिल्लामा ४८ हजार ३ सय ५५ मत खसेको खनालले जानकारी दिए । १२ सय ७९ अस्थायी मतदाता रहेको जिल्लामा ६ सय १९ जनाले मतदान गरेका थिए । अस्थायी र स्थायी गरी ४८ हजार ९ सय ७४ मत खसेको छ ।

सबैभन्दा बढी मेरिङदेन गाउँपालिका–४ लिङतेपको लक्ष्मी माध्यमिक विद्यालयमा १ हजार २० मत झरेको छ । यहॉ ११ सय ९० मतदाता रहेका थिए । फर्जी मत झारिएको भन्दै नेकपा एमालेले पुन: मतदानको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार निवेदन दिएको छ । जिल्लामा १ सय २३ स्थायी र २ अस्थायी मतदान केन्द्र रहेका थिए ।

प्रकाशित : मंसिर ५, २०७९ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?