कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा न्यून मत खस्यो, गणना सुरु हुँदै

रासस

काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यअन्तर्गत नुवाकोटमा न्यून मत खसेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा ७४ प्रतिशत मत खसेकामा आइतबार सम्पन्न आम निर्वाचनमा ५४ दशमलव ३९ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिकाएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए । 

नुवाकोटमा न्यून मत खस्यो, गणना सुरु हुँदै

दुई लाख ३९ हजार सात सय २६ मध्ये एक लाख ३० हजार तीन सय ९८ मतदाताले मतदान गरेका छन् । उनको अनुसार निर्वाचन क्षेत्र नं १ मा करिब ४५ प्रतिशत र निर्वाचन क्षेत्र नं २ मा करीब ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको छ ।

निर्वाचन क्षेत्र नं १ को शिवपुरी, दुप्चेश्वर, पञ्चकन्या, तादी गाउँपालिकामा न्यून मत खसेको प्रारम्भिक विवरणमा देखिएको हो । दुई वटा प्रतिनिधिसभा र चार प्रदेससभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा निर्वाचन अधिकृतको कार्यालयभित्र मतगणनास्थल तयार गरेर गणना सुरु गर्न लागिएको छ ।

नुवाकोटमा अहिले दुईवटै निर्वाचन क्षेत्रमा मतपेटिका सङ्कलन भइरहेको छ । मतपेटिका सङ्कलन सम्पन्न गरेपछि गणना सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचन क्षेत्र नं १ को मतगणना निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको ठाउँ तादी गाउँपालिकाको कार्यालय रहेको स्थान खरानीटार र क्षेत्र नं २ को गणनाकार्य मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरस्थित जिल्ला अदालतमा गर्न लागिएको छ । मतगणनास्थलमा सीसीटीभी क्यामरा जडान र तारजालीको निर्माण गरिएको छ ।

प्रकाशित : मंसिर ५, २०७९ ०२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?