कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्थानीय चुनावभन्दा करिब ६ प्रतिशत कम मतदान

प्रकाश धौलाकोटी

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा छ महिनाअघि भएको स्थानीय चुनावको भन्दा करिब ६ प्रतिशत कम मतदान भएको छ । निर्वाचन आयोगकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा करिब ६१ प्रतिशत मतदाता सहभागी भएका छन् । तर, छ महिनाअघि मात्रै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मत खसालेका थिए । 

स्थानीय चुनावभन्दा करिब ६ प्रतिशत कम मतदान

यसआधारमा स्थानीय चुनावमा मत दिएका करिब ६ प्रतिशत मतदाताले यसपटकको चुनावमा भोट हालेनन् । जबकी स्थानीय चुनावमा योग्य ठहरिएका कुल मतदाताको सूचीमै यसपटक दुई लाख नयाँ मतदाता थपिएका थिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार भएको मतदानमा करिब ६१ प्रतिशत मतदान भएको जानकारी दिए । ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, तर अझैपनि यकिन भइसकेको छैन,’ आइतबार साँझ आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले भने, ‘केही सामान्य घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७.६३ प्रतिशत मत खसेको थियो । यसपटक छ महिनाअघि भएको स्थानीय चुनावभन्दा करिब ६ प्रतिशत र पाँच वर्षअघि भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनभन्दा ७ प्रतिशत कम मतदान भएको छ ।

आयोगकाअनुसार यसपटक प्रतिनिधिसभाका १६५, प्रदेशसभाका ३३० र समानुपातिकतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० गरी कुल ८२५ सिटकालागि मतदान भएको थियो ।

देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मत जाहेर गर्न आयोगले १० हजार ८ सय ९२ मतदानस्थलका २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको थियो । आयोगको प्रारम्भिक तथ्यांकअनुसार कुल मतदाताको ६१ प्रतिशत अर्थात् करिब एक करोड ९ लाख १९ हजार हाराहारी मत खसेको छ । यसआधारमा स्थानीय चुनावमा मतदान गरेकामध्ये करिब ९ लाखले यसपटक मतदान गरेनन् ।

यसपटक थपिएका मतदातामध्ये २३ लाख अर्थात् १३ प्रतिशत मतदाता पहिलो पटक मतदानकालागि योग्य बनेका थिए । गत बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।

यसपटक प्रतिनिधिसभा सदस्यकालागि प्रत्यक्षतर्फ ६१ दलका एक हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई हजार १९९ उम्मेदवार छन् भने प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् । त्यस्तै, समानुपातिकतर्फ भने तीन हजार ७०८ जना उम्मेदवार छन् ।

प्रकाशित : मंसिर ४, २०७९ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?