१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

सिन्धुलीमा ५५ प्रतिशत मत खस्यो, सोमबारबाट मात्रै गणना

राजकुमार कार्की

सिन्धुली — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुली जिल्लाको सबै मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको छ । मतदानमा ५५ प्रतिशत मत खसेको छ । मतदान कार्यमा जेष्ठ नागरिक, अपांगता भएका मतदाताको सहभागिता रहेको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भने ७० प्रतिशत मत खसेको थियो ।

सिन्धुलीमा ५५ प्रतिशत मत खस्यो, सोमबारबाट मात्रै गणना

सबै मतदान केन्द्रबाट मतपेटिका र कागजपत्र सुरक्षित साथ जिल्ला सदरमुकाम सिन्धुलीमाढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । सबै मतपेटीका ल्याइसकेपछि सर्वदलीय बैठक राखी आचार संहिता बनाई सोमबार बिहानबाट मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको दुई वटा र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा दुई लाख आठ हजार ३६९ मतदाता रहेका छन् । १५१ वटा मतदानस्थल र दुई अस्थायी सहित २६९ वटा मतदान केन्द्रमा मतदान गरिएको छ । कमलामाई नगरपालिका–४ निवासी ११३ वर्षीया विष्णुमायाँ भुजेलले देउराली मतदान केन्द्रबाट मत हालेकी छन् । त्यस्तै १०३ वर्षीया बिष्णुमाया श्रेष्ठले बरुणदेवी मावि खट्टारबाट मत हालेकी थिइन् । कमलामाई नगरपालिका–६ निवासी ८० वर्षीया मधुमाया लामाले बैशाखीको सहारामा लोकतान्त्रिक चौर मतदान केन्द्रबाट मत खसाइन् ।

त्यसैगरी कारागार कार्यालयमा रहेका ९३ जना कैदीबन्दीले मतदान गरेका छन् । मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेक कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गरेको कार्यालय प्रमुख कुशल न्यौपानेले जानकारी दिए।

प्रकाशित : मंसिर ४, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?