मतदान केन्द्रको व्यवस्थापन राम्रो छ‚ ढुक्कसँग मतदान गरौं : निर्वाचन आयुक्त भण्डारी- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

मतदान केन्द्रको व्यवस्थापन राम्रो छ‚ ढुक्कसँग मतदान गरौं : निर्वाचन आयुक्त भण्डारी

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान गरेपछि आयुक्त भण्डारीले निर्वाचन व्यवस्थापन राम्रो भएको भन्दै निर्धक्क भएर मतदान गर्न आग्रह गरेका हुन् । 

निर्वाचन आयुक्त भण्डारीले काठमाडौंको अनामनगरस्थित मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त भण्डारीले निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्वपूर्ण प्रक्रिया मतदान भएकाले निर्धक्क भएर मतदान गर्न मतदातासमक्ष आग्रह गरेका हुन् । उनले मतदान स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले मतदान सहज र व्यवस्थित ढंगले गरेको बताए । उनले निर्वाचनका लागि शान्ति, सुरक्षाको व्यवस्था पनि व्यवस्थित पारिएको जानकारी दिए ।

आयुक्त भण्डारीले भने, ‘निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया भनेको मतदान हो । मतदान स्वच्छ, निष्पक्ष र भयरहीत हुनुपर्छ भन्ने सबैको मान्यता हो । हामीले अहिले यति राम्रोसँग सहज र व्यवस्थित ढंगले व्यवस्था गरेका छौँ, व्यवस्थापन असाध्यै राम्रो छ । शान्ति, सुरक्षा राम्रो छ । कुनै पनि ठाउँमा दुर्घटना भए आयोग त्यहीँ ३० मिनेट भित्रमा पुगिसक्छ । खुसीसँग मतदान गरौँ ।’

निर्वाचन आयुक्त भण्डारीले कुनैपनि स्थानमा दुर्घटना भए आयोग ३० मिनेट भित्रमा घटनास्थलमा पुग्ने बताए ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

गगन थापाले मैतिदेवी केन्द्रबाट गरे मतदान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं- ४ बाट गगनकुमार थापाले मतदान गरेका छन् । काठमाडौंको मैतिदेवी केन्द्रबाट आइतबार बिहान मतदान गरेका हुन् ।

उनीसँगै चुनावी प्रतिस्पर्धामा रहेका उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले पनि सोहि केन्द्रबाट मतदान गरेका छन् ।

पाँच वर्षपछि आएको यो अवसर प्रयोग गर्दै १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । झन्डै ८ वर्ष लगाएर जनताले पहिलो पटक आफ्ना प्रतिनिधि (संविधानसभा)मार्फत लेखेको वर्तमान संविधान लागू भएपछि हुँदै गरेको यो दोस्रो आवधिक निर्वाचन हो ।

यो निर्वाचनमा करिब २३ लाख मतदाता (१३ प्रतिशत) पहिलो पटक सहभागी हुँदै छन् । उनीहरूले आफ्ना आकांक्षा वा असन्तुष्टि कसरी प्रकट गर्छन् भन्ने विषयले आगामी दिनको राजनीतिमा प्रभाव पार्ने छ ।

प्रकाशित : मंसिर ४, २०७९ ०८:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×