कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पैसा बाँडेको आरोपमा सिन्धुपाल्चोकमा एमाले उम्मेदवारका छोरा कुटिए

क्षेत्र न २ प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङले नगद बाँडेर मतादाता प्रभावित पार्न खोजेको भन्दै सत्ता गठबन्धनका कार्यकर्ताहरूले उनको गाडी रोकेर कुटपिट गरेका थिए । छत्रबहादुर तामाङलाई अहिले प्रहरीले नियन्त्रमा लिएर अनुसन्धान गरेको जनाएको छ ।
अनिश तिवारी

सिन्धुपाल्चोक — आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मौनअवधि चलिरहँदा शनिबार पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पैसा बाँडेको आरोपमा सिन्धुपाल्चोकमा एमाले उम्मेदवारका छोरा कुटिए

इन्द्रावती गाउँपालिकामा छत्रबहादुर चढेको गाडी रोकेर खानतलासी गर्दा उनको साथबाट पैसा समेत बरामद गर्दै केही युवाहरूले छत्रबहादुरमाथि कुटपिट गरेको भिडियो समेत सार्वजनिक भएको छ । प्रहरीले भने उनले पैसा बाँडेको पुष्टी भइनसकेको जनाएको छ । तर उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

क्षेत्र न २ अन्तर्गत प्रदेशसभा (क) का एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्रबहादुर तामाङले नगद बाँडेर मतादाता प्रभावित पार्न खोजेको भन्दै कांग्रेसका कार्यकर्ताले उनको गाडी रोकेर कुटपिट गरेका थिए ।

स्थानीयहरूका अनुसार दुवै दलका कार्यकर्ताबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीकाअनुसार यहाँ झडप हुने अवस्था बनेपछि प्रहरी निरीक्षक इन्द्रजित इटनीको अगुवाइमा पुगेको टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो।

‘आरोपित तामाङलाई शनिबार साँझ नै चौतारा ल्याइँदैछ, पैसा कसले कसलाई बाँडेको भन्ने अझै पुष्टि भइसकेको छैन, थप विवरण लिएर आवश्यक अनुसन्धान भइरहेको छ,’ डीएसपी बुढाथोकीले भने । प्रहरीका अनुसार तामाङसहित शंकास्पद नगद एक लाख १४ हजार ९ सय ५० रुपैयाँ, आईसीएफसी फाइनान्सको दुई बण्डल चेक र बा २० च १४२८ नम्बरको स्कार्पियो गाडी घटनास्थलमा फेला परेको छ ।

नगद बाँडेको आरोप र शंकास्पद कुरा फेला परेको भए पनि घटनाबारे सम्पूर्ण तथ्य र अनुसन्धानको पाटो सकिएपछि मात्रै यथार्थ कुरा खुल्ने उनले बताए ।

एमाले जिल्ला अध्यक्ष कमल नेपालले भने निर्माण व्यवसायी छत्रलाई सवारीबाट आफ्नो गन्तव्यतर्फ फर्किने क्रममा सत्ता गठबन्धन दलका कार्यकर्ताले सिपापोखरेमा सवारी तोडफोड गर्दै हातापात र कुटपिट गरेको बताए ।

यही घटनालाई लिएर एमालेको विद्यार्थी संगठन अनेरास्ववियु सिन्धुपाल्चोकले भने घोर भर्त्सना गरेको छ । अघिल्लो ०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट चौतारा साँगाचोकगढी नगरको मेयरमा निर्वाचित अमानसिंह तामाङ यसपटक पार्टीबाट टिकट नपाएपछि चुनाव सुरु हुनुभन्दा एक महिनाअघि एमाले प्रवेश गरेका थिए ।

उनका छोरा छत्र निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्षसमेत हुन् । एमाले प्रवेश गरेपछि प्रदेशसभा (क) मा टिकट पाएका तामाङ सत्ता गठबन्धका उम्मेदवार वाग्मती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री तथा माओवादी पोलिटब्यूरो सदस्य युवराज दुलालसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित : मंसिर ३, २०७९ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?