कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावमा गाउँ फर्केनन् कालीकोटका मतदाता

'यो चुनाव स्थानीय तहको जस्तो नहुने रहेछ । स्थानीय तहको चुनावमा त घर आउ कि आउ भनेर पालिका प्रमुख, उपप्रमुख वडाध्यक्ष, सदस्य सबै उम्मेदवारले बोलाएका थिए यस पटक कसैले बोलाएनन् ।' यसपटक २० प्रतिशत मतदाता गाउँ नफर्किएको आकलन गरिएको छ ।
तुलाराम पाण्डे

कालीकोट — दसैं तिहारको बिदामा नाती-नातिनासहित घर आएकी खाडाचक्र ३ ताडीकी रेश्मा पाण्डे कात्तिक १४ गते विद्यालय खुलेपछि सुर्खेत गइन् । नातीनातिना पढाउन एक वर्षदेखि सुर्खेत बस्दै आएकी ६२ वर्षीया रेश्मालाई वैशाखको स्थानीय चुनावमा उम्मेदवारले गाडीको व्यवस्था गरेर सुर्खेतबाट भोट हाल्न कालीकोट ल्याए पनि यसपटक कसैले वास्ता नगरेको भन्दै गाउँ फर्किनन् ।

चुनावमा गाउँ फर्केनन् कालीकोटका मतदाता

'आफ्नो खर्च गरेर अरुलाई भोट हालेर क्या पाइन्या छ ?,' उनले कान्तिपुरसित प्रतिप्रश्न गर्दै भनिन् गाउँको चुनावमा त आफन्तलाई भोट दिन आएँ, अहिले कसैले बोलाएनन् किन आउनु ?' उनका छोरा बुहारी पनि ज्याला मजदुरीका लागि भारतको बेंगलोरमा छन् । उनीहरू वैशाखमा पनि घर फर्किएनन् ।

खाडाचक्र ४ का सामाजिक अगुवा बाले विश्वकर्माकी पत्नी छविता विश्वकर्मा पनि सुर्खेतमै छन् । वैशाखमा गाउँमा भोट हालेकी विश्वकर्मा दसैंतिहार मनाएर सुर्खेत पढ्ने ३ छोराछोरीको रेखदेख गर्न सुर्खेत झरेकी थिइन्, तर अहिले घर फर्किनन् । 'केटाकेटीलाई रेखदेख गर्ने कोही छैन । बच्चाबच्ची लिएर जान गाडी पनि सहजै पाइँदैन, मत हाल्न नपाइने भयो,' घर नफर्किनुको कारणबारे उनले भनिन् ।

रेश्मा र छविता मात्र होइन । यसपटक जिल्लाबाहिर रहेका अधिकांश मतदाता घर फर्किएका छैनन् । कालीकोटका करिब २० प्रतिशत मतदाता जिल्ला बाहिर रहेको नागरिक अगुवा नमराज योगीले आकलन गरे । योगी भन्छन्, 'यति नै मतदाता बारिह छन् भनेर सर्भे त भएको छैन तर गाउँघरमा हेर्दा २० प्रतिशत घरमा छैनन् ।'

हिउँद लागेकाले पनि मौसमी बसाइसराइँ, कामको खोजी, अध्ययनलगायत कामले घर छाड्नेको संख्या धेरै छ । यस पटकको चुनावमा जिल्ला सदरकुकाम मान्म भएका पनि गाउँ फर्किएका छैनन् । 'यो चुनाव स्थानीय तहको जस्तो नहुने रहेछ । स्थानीय तहको चुनावमा त घर आउ कि आउ भनेर पालिका प्रमुख, उपप्रमुख वडाध्यक्ष, सदस्य सबै उम्मेदवारले बोलाएका थिए यस पटक कसैले बोलाएनन्,' नरहरिनाथ ५ रुप्सामा मतदाता नामावली भएकी जयाकुमारी बोगटीले भनिन् ।

यहाँका विकट बस्तीका केही मतदाताहरू ज्याला मजदुरीका लागि भोट नलालेरै दसैंतिहार सकिएलगत्तै भारत गइसकेका छन् भने घरमा भएकाहरूमा पनि उत्साह छैन । 'कसलाई भोट हालेर के पाइने हो ? आफ्ना दुःख सधै उस्तै हुन्,' दाहा घर भएकी जयलक्ष्मी शाहीले भनिन् । यहाँको पलाता, पचालझरना, तिलागुफालगायत स्थानीय तहका ज्याला मजदुरी गरेर परिवार पाल्ने २० देखि ३० प्रतिशत मतदाता छरमा छैनन् । चुनावको लागि भनेर फर्किने पनि न्यून भएको ट्राफिक प्रहरी कार्यालय मान्मले जनाएको छ ।

चुनाव चिसो सिजनमा हुनु, ज्याला मजदुरीका लागि मौसमी बसारइसराइ गर्ने संख्या अत्यधिक हुनु, अध्ययन रोजगारीलगायत अवसरको खोजीमा घर छाडेकाहरू नफर्किनु, संघ र प्रदेश सदस्यबाट जनताको धेरै अपेक्षा नहुनुजस्ता कारण गत वैशाखको स्थानीय तह चुनावको तुलनामा यसपटक मत कम खस्ने सम्भावना रहेको मानवअधिकारकर्मी कालीबहादुर मल्लको अनुमान छ ।

कालीकोटमा प्रभाव क्षेत्र मानिएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गत वैशाखको चुनावमा स्वतन्त्रको हैसियमा उम्मेदवारी दिएर चुनावमा प्रतिस्पर्धा गरे पनि यस पटक बहिष्कार गरेकाले केही मतदाता त्रसित भएको हुनसक्ने बताइन्छ ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले भने कालीकोटका सबै मतदान केन्द्रलाई सुरक्षा आकलनसहित वर्गिकरण गरेर पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको छ । जसकारण कुनै पनि मतदाता र उम्मेदवार डराउनुपर्ने अवस्था नरहेको शर्मा बताउँछन् । साथै सुरक्षको पूर्ण व्यवस्था गरिएको उनले बताए ।

कालीकोटका १ सय २४ मतदान केन्द्रमध्ये जिल्ला सुरक्षा समितिले ७४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ३६ लाई संंवेदनशील र १४ वटालाई सामान्य वर्गिकरण गरेर म्यादी, जनपद प्रहरी, सशस्त्र र नेपाली सेना परिचालन गरिएको डीएसपी जयश्वर रिमालले बताए । उनले कुनै पनि निर्वाचन विरोधी गतिविधि हुन नदिने बताए । 'सुरक्षाको पूण प्रत्याभूति गरिएको छ । सबै पालिकामा चार घेराको सुरक्षा प्रबन्ध छ,' जिल्ला प्रहरी प्रमुख रिमालले बताए । उनका अनुसार निर्वाचन सुरक्षाका लागि १ हजार २५ म्यादी, ५ सय ८ जनपद प्रहरी, २ सय १५ सशस्त्र प्रहरी र ३ सय ५० जना नेपाली सेना गरी २ हजार १ सय ३ जना सुरक्षाकर्मी परिचालित छन् ।

९ वटा स्थानीय तह रहेको कालीकोटमा एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यहाँका ससबै मतदान केन्द्रमा मतदान टोली पुगेर सर्वदलीय बैठकको आयोजना गरेर निर्वाचन आचारसंहिता मतदाता सुरक्षा र मतदानको बारे सहमति गरेर सहयोग गर्ने वातावरण सिर्जना गरिएको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए । निर्वाचनको स्थिर समयमा कसैले पनि मतदातालाई प्रभावित पार्ने नगरोस् भनेरर पनि सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन अधिकारीको भनाइ छ ।

प्रकाशित : मंसिर ३, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?