कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवालाई कति सहज ?

डीआर पन्त

डडेलधुरा — डडेलधुराको चुनावी मैदानमा शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने प्रयास असफल भएपछि देउवा यसपटक पनि विकल्पहीन उम्मेदवारका रूपमा देखिएका छन् । कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसबाट उम्मेदवार बनेका कर्ण मल्ललाई एमालेले समर्थन दिएन ।

देउवालाई कति सहज ?

एमाले अध्यक्ष केपी ओलीको निर्देशन र आग्रहलाई पनि जिल्ला तहका नेता–कार्यकर्ताले नमानेपछि मल्ल एक्लिएका छन् । मल्ललाई एकीकृत समाजवादीवाट विद्रोह गरेर प्रदेशमा स्वतन्त्र उम्मेदवार बनेका तारा जोशीको सहयोग छ । अर्कोतिर गुल्मीबाट देउवाविरुद्ध चुनाव लड्न आएका सागर ढकालले पनि जिल्ला स्तरमा युवाहरूको साथ सहयोग नपाएपछि उनी पनि एक्लै चुनावी मैदानमा छन् । देउवाविरुद्ध मोर्चावन्दी गर्ने विपक्षी उम्मेदवारहरूको अन्तिम प्रयास पनि विफल भएपछि देउवालाई जित हात पार्न निकै सहज भएको छ ।

एमालेले आफ्ना उम्मेदवार चक्र स्नेहीको उम्मेदवारी फिर्ता लिए पनि एमालेका पुराना नेता विक्रम शाही स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडिरहेका छन् । एमालेका अधिकांश नेता–कार्यकर्ता शाहीको प्रचारप्रसारमा जुटेका छन् । बीपी कांग्रेसबाट उम्मेदवार भएका मल्लले अन्तिम समयसम्म पनि एमालेको साथ पाउने आशा गरेका थिए । तर स्वतन्त्र उम्मेदवार शाहीका कारण उनको त्यो प्रयास विफल भएको छ । सागर ढकालले कुनै पनि दलको सहयोग पाउन सकेनन् । जनता समाजवादीका उम्मेदवार श्याम सिनालले देउवालाई समर्थन गर्ने गरी भएका छन् ।

राप्रपा उम्मेदवार गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार ढकाल, एमालेका विद्रोही स्वतन्त्र उम्मेदवार शाही र सधैं चुनाव लड्ने गरेका कर्णबहादुर रावल एक्ला एक्लै चुनाव लड्न थालेपछि प्रधानमन्त्री देउवाका लागि निकै सहज देखिएको छ । ‘देउवालाई सम्भवतः विगतका ६ निर्वाचनभन्दा धेरै सहज भएको अनुमान गर्न सकिन्छ,’ एक शिक्षक भुवन भट्टले भने, ‘अरू दल र उम्मेदवारहरू मिल्न नसकेपछि देउवाको प्रतिस्पर्धी नै देखिए जस्तो लागेन ।’ । मनोनयन दर्ता हुनुअघिदेखि नै देउवाविरुद्ध डडेलधुरामा मोर्चाबन्दी गर्ने धेरै प्रयास भएका थिए । कुनै समय देउवाका निजी सहयोगी रहेका कर्ण मल्लले कांग्रेसबाहेक सबै पार्टीलाई एक ठाउँमा ल्याएर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने प्रयास गरेका थिए । एमाले केन्द्रीय नेतृत्वले मल्ललाई सहयोग गर्ने निर्णय गरे पनि स्थानीय स्तरमा एमाले नेता कार्यकर्ताले मल्ललाई स्वीकार गर्न नसक्ने भन्दै उनलाई सहयोग नगर्ने निर्णय नै गरे ।

प्रदेशसभामा कडा प्रतिस्पर्धा

डडेलधुरामा प्रतिनिधिसभाको निर्वाचन एकपक्षीय जस्तो देखिए पनि प्रदेशसभाका दुवै क्षेत्रमा भने कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रदेश १ मा गठबन्धनबाट माओवादी प्रदेश इन्चार्ज खगराज भट्टले एमालेका पठानसिंह बोहरासँग प्रतिस्पर्धा गरिरहेका छन् । प्रदेश २ तर्फ गठबन्धनबाट कांग्रेसका गोविन्द बोहराले एमालेका गजेन्द्र शाही र स्वतन्त्र उम्मेदवार तारा जोशीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रदेशसभामा भने अहिलेसम्म कुन उम्मेदवारले जित हात पार्लान् भन्ने अनुमान गर्न सकिने स्थिति देखिँदैन । ‘गठबन्धनका कारण जिल्लाको पूरै राजनीतिक समीकरण नै परिवर्तन भएको छ,’ देउवासँग असन्तुष्ट रहेका कांग्रेसका पूर्वसचिव लोकराज भट्टले भने, ‘हिजोका प्रतिस्पर्धी आज सहयोगी बनेका छन् भने हिजोका सहयोगी यस पटक विपक्षी भएका छन् ।’ देउवा निर्वाचन जित्ने विषयमा कुनै शंका नभए पनि प्रतिस्पर्धीहरूले सम्मानजनक मत ल्याउन दौडधुप गरिरहेको उनको भनाइ छ । प्रदेशसभामा भने के हुन्छ अहिले नै भन्न सकिने स्थिति नरहेको भट्टको भनाइ छ ।

डडेलधुरामा कुल ९६ हजार मतदाता छन् । गत निर्वाचनमा प्रधानमन्त्री देउवाले २८ हजार मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्टले २२ हजार मत ल्याएका थिए । यस पटक भट्ट गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवारका रूपमा प्रदेशसभामा निर्वाचन लडिरहेका छन् । उनलाई देउवाको दरिलो साथ रहेकाले उनी जित्नेमा आशावादी छन् । प्रदेशसभाको २ मा प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले एकीकृत समाजवादीका नेता स्वतन्त्र उम्मेदवार तारा जोशीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । जोशीलाई बीपी कांग्रेसको मल्लको दरिलो साथ छ ।

प्रकाशित : मंसिर १, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?