कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो चुनाव वर्तमान व्यवस्था चाहने र नचाहने बीचको प्रतिस्पर्धा हो : दाहाल

डम्बरसिं राई

खोटाङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने चुनाव प्रतिनिधिसभा र प्रदेशसभाको लागि मात्रै प्रतिस्पर्धा नभएर वर्तमान व्यवस्था चाहने र नचाहेबीचको प्रतिस्पर्धा भएको बताएका छन् ।

यो चुनाव वर्तमान व्यवस्था चाहने र नचाहने बीचको प्रतिस्पर्धा हो : दाहाल

बुधबार वाम लोकतान्त्रिक गठबन्धनले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा दाहालले गणतन्त्र, संघीयता, समावेशी लगायत व्यवस्था जोगाउने र ढाल्ने शक्तिबीचको चुनाव भएको बताएका हुन् ।

‘मङ्सिर ४ गते दुइटै गठबन्धन बीचमा जनमत संग्रहको रुपमा चुनाव हुँदैछ,’ दाहालले भने ‘देशभर सत्ता गठबन्धनको पक्षमा जनलहर देखा परिसकेको छ, यहाँ पनि अपार उपस्थितिले गठबन्धनका उम्मेदवारको विजयलाई सुनिश्चित गरिसक्नुभएको छ ।’

खोटाङको विकास र समृद्धिका निम्ति गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका रामकुमार राई, खोटाङ १ का उम्मेदवार वीरबलकाजी राई र खोटाङ २ का उम्मेदवार भूपेन्द्र राईलाई विजयी गराउन नेता दाहालले आग्रह गरे । जिल्लाबाट विजयी उम्मेदवारहरू मन्त्री बन्न योग्य भएकाले मन्त्री बनेपछि जिल्लाको विकासमा समेत सहज हुने दाहालले बताएका थिए । दाहालले करिब दुई मिनेट बोलेका थिए ।

कांग्रेस नेता प्रकाशशरण महतले लोकतान्त्रिक वाम गठबन्धनको उम्मेद्वारलाई भोट हाल्न कार्यकर्ताहरुलाई आग्रह गरे । गठबन्धनले चुनाव नजिते मुलुक पछाडि पर्ने भन्दै जसरी पनि जित्नै पर्ने धारणा राखे ।

माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईले पुष्पलाल, मदन भण्डारीको चुनाव चिह्न सूर्य अब कमल थापाको भइसकेकाले एमाले कार्यकर्ताहरूले सोच्नु पर्ने दिन आएको भन्दै एमालेमाथि कटाक्ष गरेका थिए । अनुशासित कार्यकर्ताहरुलाई एमालेले भ्रममा पारेर चुनाव चिह्न अर्कैलाई दिइसकेको राईले बताए ।

सभामा उम्मेद्वारहरू लगायत कांग्रेस नेतृ सरस्वती बजिमय, एकीकृत समाजवादीका नेता राजन राई, माओवादी केन्द्रकी रश्मी रसाइली, कांग्रेस नेतृ विमला राई, रविप्रकाश राई, दिनेश राई लगायतले बोलेका थिए ।

प्रकाशित : कार्तिक ३०, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?