२०६४ पछिका ३ चुनाव : कम्युनिस्टले गुमाएको अवसर- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
इतिहासमा चुनाव

२०६४ पछिका ३ चुनाव : कम्युनिस्टले गुमाएको अवसर

ध्रुव सिम्खडा

काठमाडौँ — २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचार–प्रसारमा संसदीय चुनावका पुराना खेलाडी कांग्रेस, एमाले र नयाँ खेलाडी माओवादीबीच घम्साघम्सी थियो । कांग्रेस, एमालेका नेता/कार्यकर्ता मात्र होइन, आफूलाई स्वतन्त्र बुद्धिजीवी भन्नेहरुले समेत माओवादीले प्रत्यक्षमा २० सिटभन्दा धेरै जित्दैन भन्दै अखबारी पाना रंगाएका थिए ।

टीभी कुराकानी र बहसमा उत्रेका थिए । तर मतदाताले तिनका विश्लेषणलाई आधार मानेनन्, मत माओवादीलाई दिए । प्रत्यक्षको २ सय ४० सिटमध्ये १ सय २० सिटमा माओवादीले जितेर सबैलाई चकित पारिदियो ।

६ सय १ सदस्यीय (प्रत्यक्ष २४०, समानुपातिक ३३५ र मनोनीत २६) सभाका लागि निर्वाचन भएको थियो । त्यसबेला माओवादी युवा संगठन वाइसिएलका गतिविधि देखेर धेरै डराएका थिए । त्यो चुनावमा माओवादी आक्रामक भयो भने कांग्रेस, एमाले प्रतिरक्षात्मक । उता ‘एथ्नो–रिजनल’ दलको रुपमा मधेसबाट उदाएका मधेसी जनअधिकार फोरम र तराई–मधेस लोकतान्त्रिक पार्टीले मधेस क्षेत्रमा पहाडी मूलका मतदाताको बोली बन्द गरिदिएका थिए । जनकुपरमा विमलेन्द्र निधिको घरमा आगो लगाइयो ।

निर्वाचन परिणाम आइसकेपछि कांग्रेस, एमाले खुम्चिए भने माओवादी बलियो शक्तिको रुपमा उदायो। त्यसबेला माओवादीको नारा थियो, ‘अरुलाई हे‍र्‍यौं पटकपटक हेर्नुभयो, माओवादीलाई हेरौं यसपटक।’

प्रचार–प्रसारका क्रममा सुनिन्थ्यो, ‘को-कसलाई भोट हाल्छन् भनेर माओवादीले डाँडाकाँडाबाट टेलिस्कोप फिट गरेर हेर्छन्, भोट नहाल्नेलाई चुनावपछि छानीछानी कारवाही गर्छन्’ भन्ने हल्ला पिटिएको थियो । मधेसमा पहाडी मूलका मतदाताको त्रास र पहाडतिर माओवादी भयका कारण चुनाव तनावपूर्ण वातावरणमा सम्पन्न भयो ।

चुनावी परिणामले माओवादी र मधेसी जनअधिकार फोरमलाई नचिताएको सफलता दियो भने कांग्रेस र एमालेलाई नराम्रो झट्का लाग्यो । काठमाडौँको टुँडिखेलमा चुनावपछिको विजयसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई सत्ता सुम्पन आनकानी गरे भने तिनलाई भ्याकुर खेदेझैं खेद्छौँ ।’

एकैपटक संविधानसभा र व्यवस्थापिका–संसद्का लागि निर्वाचन भएकोले संसद्मा सत्तापक्ष र विपक्षी भन्ने अवधारणा धुमिल थियो । जे हुन्थ्यो सहमतिमै हुन्थ्यो, तर जो असहमत हुन्थे तिनको आवाजको खासै सुनुवाई हुँदैनथ्यो ।

उक्त निर्वाचनमा माओवादीले २ सय २९, कांग्रेसले १ सय १५, एमालेले १ सय ८, फोरमले ५४ र तमलोपाले २१ सिट जितेका थिए । ७४ पार्टी सहभागी उक्त निर्वाचन मिश्रित प्रणालीअन्तर्गत भएको थियो । प्रत्यक्षमा २ सय १० पुरुष र ३० जना महिला विजयी भएका थिए । समानुपातिकमा १ सय ७४ पुरुष र १ सय ६१ महिला छानिएका थिए । किनभने, त्यसबेला सविधानसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य थियो ।

पहिलो संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटी दरबार त्याग्न निर्देश गर्दै मुलुक विधिवत् गणतन्त्रमा प्रवेश गरेको घोषणा गर्‍यो । भदौमा पुष्पकमल दाहाल प्रधानमन्त्री बने । त्यसपछि पाँच वर्षसम्म कम्युनिस्टका चारजना नेताहरु (पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई) पालैपालो प्रधानमन्त्री भए तर कुनैले पनि संविधान लेख्ने काममा सफलता हासिल गर्न सकेनन् ।

पहिलो संविधानसभा वामपन्थी वर्चश्व थियो । दृढ इच्छाशक्ति र सबैलाई मिलाएर नेतृत्व दिन सकेको भए त्यसबेला उनीहरुले जनताको मन जित्न र कम्युनिष्ट वर्चश्वको प्रगतिशील संविधान जारी गर्न सफल हुन्थे । तर उनीहरु त्यस महान कार्यमा नराम्ररी चुके । जनजिविका र संविधान लेखनकार्यभन्दा पनि तिनले सत्तालाई नै प्रमुख ठाने । समाजमा व्याप्त साम्यवादी लहरलाई कमजोर पार्न सबैभन्दा बढी माओवादी नै जिम्मेवार देखियो । बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा पहिलो संविधानसभाको कार्यकाल संविधान जारी नगरी सकियो ।

त्यसले नेपाली राजनीतिलाई अर्को चरणमा प्रवेश गरायो । दलका शीर्षनेताहरु मिलेर सत्ता हाँक्न सहमति गर्न सकेनन्, बरु तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर दोस्रोपटक संविधानसभा निर्वाचन गराउने जिम्मा दिन सहमत भए । त्यसै पृष्ठभूमिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानन्यायाधीश र मन्त्रिपरिषद् अध्यक्ष दुवै बन्न सफल भए ।

माओवादीले पनि केही नयाँ गर्न सकेनन्, पुरानै पार्टीले जस्तै रवैया अपनाउन थालेपछि आमनागरिकले आफ्ना दुःख कसैले नहेर्ने रहेछन् भन्दै प्रतिक्रिया दिन थाले, ‘जो आए पनि उस्तै ।’

सत्ताको बागडोर सम्हालेका पार्टी र नेताभन्दा नयाँलाई खोज्ने नेपाली मतदाताको मनोवृत्ति भएकाले खिलराज रेग्मीले गराएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको आकार खुम्चियो ।

संविधान लेख्ने सभा

दोस्रो संविधानसामा कांग्रेस ठूलो दल बन्यो, एमाले दोस्रो ठूलो दल । त्यस निर्वाचनमा सत्ताका पुरानै खेलाडीहरुको पुनरागमन हुन पुगेपछि माओवादी तेस्रो दलमा खुम्चिन पुग्यो ।

उक्त निर्वाचनमा कांग्रेस २ सय ६, एमाले १ सय ८४, माओवादी ८३, राप्रपा नेपाल २४, फोरम लोकतान्त्रिक १४, राप्रपा १३, तमलोपा ११ र मधेसी जनाधिकार फोरमले १० सिट जिते ।

कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकार बने पनि त्यो एकल सरकार थिएन, कांग्रेस–एमाले मिलिजुली सरकार थियो । त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सडक संघर्षमा उत्रिए । कांग्रेस–एमालेभन्दा माओवादी फरक नभएको आमनागरिकको सोचाइ र कमजोर समर्थनका कारण सडक आन्दोलनलाई दाहालले चलाखीसाथ संविधानसभाभित्रै पुर्‍याए । यत्तिकैमा मुलुकमा विनासकारी भूकम्प गयो ।

त्यसको ६ महिनापछि विभिन्न असहमतिका बाबजूद पनि दोस्रो संविधानसभाले संविधान जारी गर्‍यो । संविधान जारी गर्दा सरकारको नेतृत्व कांग्रेस सभापति सुशील कोइरालाले गरेका थिए भने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ । त्यस्तै संविधान जारी गर्ने प्रथम राष्ट्रपति डा. रामवरण यादव थिए ।

२०७२ असोज ३ गते त्यस सभाले संविधान जारी गरेपछिको पहिलो निर्वाचन २०७४ को प्रचार–प्रसार भने गज्जबको थियो । चुनावको मुखैमा एमाले र माओवादी मिलेर अगाडि बढेपछि कांग्रेसको निकै खुम्चियो ।

कांग्रेसको ‘क्लिन स्विप’

२०७४ को प्रदेशसभा/प्रतिनिधिसभा निर्वाचनपूर्व देउवा नेतृत्वको सरकारमा सम्मिलित दाहाल एमालेसित एकता गर्न पुगेपछि एकाएक निर्वाचनको माहोल बदलियो । आ–आफ्नो चुनाव चिन्हमा चुनाव उठे पनि एमाले र माओवादी एक भएर चुनावमा होमिएपछि देउवा छाँगाबाट खसेझैँ भए । चुनाव प्रचार–प्रसारकै क्रममा कांग्रेस प्रतिरक्षात्मक अवस्थामा पुग्यो भने नेकपाको दबदबा देखियो । चुनावी सभामा सम्बोधन गर्दै ओलीले त्यसबेला भनेका थिए , ‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् ।’ साँच्चै त्यसबेलाको दृश्य र अवस्था हेर्दा त्यस्तै हुने हो कि जस्तो पनि लाग्थ्यो ।

आममतदाताको सोचाइ पनि एकचोटी कम्युनिस्टलाई हेरौँ न त भन्ने देखियो । केन्द्रदेखि स्थानीय तहसम्म चुनावी परिणाम नेकपाको पक्षमा गयो । १ सय ६५ सदस्यका लागि भएको प्रत्यक्ष निर्वाचनमा कांग्रेस २३ सिटमा खुम्चियो । एमाले (८०), माओवादी (३६), राजपा (११) र समाजवादी फोरमले १० सिट जिते ।

नयाँशक्ति र स्वतन्त्ररुपमा आएकाहरुको ‘डिजिटल मिडिया’ मा प्रभुत्व देखिए पनि मतदातालाई आकर्षित गर्न भने सकेनन् ।

उपेन्द्र यादवलाई मिलाएर संसद्मा दुई तिहाइ शक्तिसाथ अगाडि बढेका एमाले अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच पालैपालो सत्ता साझेदारी गर्ने सहमति भएको गाइँगुइँ सुनियो । जे भए पनि त्यो जीतमा एमाले अध्यक्ष ओलीले भारतीय नाकाबन्दी विरुद्ध लिएको राष्ट्रवादी अडानको पक्षमा मतदाताले रुचाएको देखियो ।

खेर गएको पाँच वर्ष

ओली प्रधानमन्त्री भए । नेपाल जस्तो अल्पविकसित मुलुकमा करिब दुई तिहाइको निर्वाचित कम्युनिस्ट सरकार । जनतामा आशा र विश्वास पक्कै पलाएको थियो । तर, सरकार बनेको एकडेढ वर्षमै सत्ता साझेदारीको विषयलाई लिएर दुई अध्यक्षबीच खटपट सुरु भयो । दाहालले पूर्वसहमतिअनुसार सत्ता छाड्न ओलीलाई दबाब दिन थाले । ओली सत्ता छाड्न तयार भएनन् । सत्ता माग्नेहरुलाई शब्दवाण वर्षाउन थाले । तिक्तता बढ्दै जाँदा दाहालेले ओलीलाई भ्रष्टाचारी करार गर्दै दस्तावेज नै सार्वजनिक गरे । माधवकुमार नेपाललगायत केही पूर्वएमालेजन पनि दाहालतिरै लागे । ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरे ।

त्यही झोँकमा दुई सिट भएको नेकपाको सरकार हाँकिरहेका ओलीले राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । र, सर्वोच्चले ओलीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापना गरिदियो ।

त्यति हुँदा पनि ओली प्रधानमन्त्री छाड्न तयार भएनन्, विभिन्न तिकडम गर्न थाले । अध्यादेश ल्याउने, संसद्मा बहुमत पुर्‍याउने सबै हर्कत असफल भएपछि दोस्रोपटक पनि फेरि प्रतिनिधिसभा विघटन गरे । त्यसलाई पनि सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि नेकपाको दुई तिहाइको सत्ता ढल्यो ।

दाहाल, माधवकुमार नेपालहरु मिलेर देउवालाई प्रधानमन्त्री बनाए । ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ भनी ओलीद्वारा होच्याइएका देउवा प्रधानमन्त्रीबाट हटेको तीनै वर्षमा फेरि प्रधानमन्त्री बने । ओली पार्टीभित्रका सबै असन्तुष्टहरुलाई पन्छाएर अघि बढ्न खोज्दा र आफ्ना गुटकाले सत्ताको वरिपरि बसेर जति बदमासी गर्दा पनि कारबाही नगर्दा ओलीले संसद्को दुई तिहाइ सिटको संरक्षण गर्न सकेनन् । त्यसको असर केन्द्रमा मात्र सीमित रहेन, नेकपाका सबै प्रादेशिक सरकारहरु प्रभावित भए । एमाले बाहिरिनु पर्‍यो । पाँच वर्षको महत्वपूर्ण समय कम्युनिस्ट पार्टीहरुको आन्तरिक किचलोका कारण खेर गयो । न कम्युनिस्टका चार/चार जना प्रधानमन्त्री बन्दा संविधान जारी गर्न सके न दुई तिहाइको प्रचण्ड जनविश्वासको रक्षा नै गर्न सके ।

यसै पृष्ठभूमिमा संसद्को सातौं निर्वाचन हुँदैछ । यसपटक ‘डिजिटल’ चुनावी प्रचार–प्रसारको रौनक हेर्दा त्रिपक्षीय भिडन्तजस्तो देखिए पनि खास भिडन्तचाहिँ देउवा नेतृत्वको गठबन्धन र ओली नेतृत्वको गठबन्धनबीच नै हुने देखिन्छ ।

राष्ट्रियताको सदाबहार मुद्दा

०५६ सालसम्मका चुनावमा एमालेलगायत कम्युनिष्ट पार्टीहरुले राष्ट्रियता र जनजीविका दुवै विषयलाई जोडतोडले उठाए पनि पछिल्ला तीनवटा चुनावमा उनीहरुको मुख्य मुद्दा राष्ट्रियतामा मात्र सीमित हुन पुगेको छ । यसअघिको निर्वाचनमा नेकपाले राष्ट्रियताको मुद्दालाई उरालेको थियो । भारतसितको नाकाबन्दीमा पौँठेजोरी खेलेका ओलीलाई मतदाताले अनुमोदन गरिदिएका दिए यसअघिको चुनावमा ।

यसपालिको चुनावी हतियार पनि चुच्चे नक्सा नै बनेको छ । चुनाव प्रचार–प्रसारको सन्दर्भमा दार्चुला पुगेका ओलीले चुच्चे नक्साको विषय उठाएपछि त्यसपछि सोही जिल्ला पुगेका प्रधानमन्त्री देउवाले भने, ‘कालापानीबारे ओलीले दार्चुलामा होइन, भारतसित कुरा गर्नुपर्थ्यो ।’ अर्को एउटा चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्ड ओलीमाथि खनिए । उनले भने, ‘नेकपाको अत्यधिक बहुमतले नक्सा बनाउन बाध्य पारेपछि ओलीले आत्मसमर्पण गरेका हुन् ।’ चुनावका बेला जजसले राष्ट्रियताको मुद्दा उठाए पनि त्यसले राष्ट्रियता बलियो नभई झनै कमजोर बनाउने वुद्धिजीवीहरु बताउँछन् ।

३० वर्षयता ६ वटा संसदीय निर्वाचन सम्पन्न भएका छन् । तीमध्ये कांग्रेसले दुईटामा एकल बहुमत र एउटामा ठूलो दलको हैसियत प्राप्त गर्‍यो भने एमाले र माओवादी एक एक पटक ठूला दल बने । ०७४ सालमा एमाले र माओवादी मिलेर नेकपा बनेपछि झन्डै दुई तिहाइ स्थान जित्न सफल भए ।

टिभी कुराकानी र बहसमा उत्रेका थिए । तर मतदाताले तिनका विश्लेषणलाई आधार मानेनन्, मत माओवादीलाई दिए । प्रत्यक्षको २ सय ४० सिटमध्ये १ सय २० सिटमा माओवादीले जितेर सबैलाई चकित पारिदियो ।

६ सय १ सदस्यीय (प्रत्यक्ष २४०, समानुपातिक ३३५ र मनोनीत २६) सभाका लागि निर्वाचन भएको थियो । त्यसबेला माओवादी युवा संगठन वाइसिएलका गतिविधि देखेर धेरै डराएका थिए । त्यो चुनावमा माओवादी आक्रामक भयो भने कांग्रेस, एमाले प्रतिरक्षात्मक । उता ‘एथ्नो–रिजनल’ दलको रुपमा मधेसबाट उदाएका मधेसी जनअधिकार फोरम र तराई–मधेस लोकतान्त्रिक पार्टीले मधेस क्षेत्रमा पहाडी मूलका मतदाताको बोली बन्द गरिदिएका थिए । जनकुपरमा निधिको घरमा आगो लगाइयो ।

निर्वाचन परिणाम आइसकेपछि कांग्रेस, एमाले बिचरो हुनपुगे भने माओवादी दादा । त्यसबेला माओवादीको नारा थियो, ‘अरुलाई पटकपटक हेर्नुभयो, यसपटक हामीलाई हेर्नुस् ।’

प्रचार–प्रसारका क्रममा सुनिन्थ्यो, ‘को कोलाई भोट हाल्छन् भनेर माओवादीले डाँडाडाँडाबाट टेलिस्कोप फिट गरेर हेर्छन्, भोट नहाल्नेलाई चुनावपछि छानीछानी कारवाही गर्छन्’ भन्ने हल्ला पिटिएको थियो । मधेसमा पहाडी मूलका मतदाताको त्रास र पहाडतिर माओवादी भयका कारण चुनाव तनावपूर्ण वातावरणमा सम्पन्न भयो ।

चुनावी परिणामले माओवादी र मधेसी जनअधिकार फोरमलाई नचिताएको सफलता दियो भने कांग्रेस र एमालेलाई नराम्रो झट्का लाग्यो । काठमाडौँको टुँडीखेलमा चुनावपछिको विजयसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई सत्ता सुम्पन आनकानी गरे भने तिनलाई भ्याकुर खेदेझैं खेद्छौँ ।’

एकैपटक संविधानसभा र व्यवस्थापिका–संसद्का लागि निर्वाचन भएकोले संसद्मा सत्ता पक्ष र विपक्षी भन्ने अवधारणा धुमिल थियो । जे हुन्थ्यो सहमतीमै हुन्थ्यो, तर जो असहमत हुन्थे तिनको आवाजको खासै सुनुवाई हुँदैनथ्यो ।

उक्त निर्वाचनमा माओवादीले २ सय २९, कांग्रेसले १ सय १५, एमालेले १ सय ८, फोरमले ५४ र तमलोपाले २१ सिट जितेका थिए । ७४ पार्टी सहभागी उक्त निर्वाचन मिश्रित प्रणालीअन्तर्गत भएको थियो । प्रत्यक्षमा २ सय १० पुरुष र ३० जना महिला विजयी भएका थिए । समानुपातिकमा १ सय ७४ पुरुष र १ सय ६१ महिला छानिएका थिए । किनभने, त्यसबेला सविधानसभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य थियो ।

पहिलो संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र नारायणहिटी दरबार त्याग्न निर्देश गर्दै मुलुक विधिवत् गणतन्त्रमा प्रवेश गरेको घोषणा गर्‍यो । भदौमा पुष्पकमल दाहाल प्रधानमन्त्री बने । त्यसपछि पाँच वर्षसम्म कम्युनिष्टका चारजना नेताहरु (पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई) पालैपालो प्रधानमन्त्री भए तर कुनैले पनि संविधान लेख्ने काममा सफलता हासिल गर्न सकेनन् ।

पहिलो संविधानसभा वामपन्थी वर्चश्व थियो । दृढ इच्छाशक्ति र सबैलाई मिलाएर नेतृत्व दिन सकेको भए त्यसबेला उनीहरुले जनताको मन जित्न र कम्युनिष्ट वर्चश्वको प्रगतिशील संविधान जारी गर्न सफल हुन्थे । तर उनीहरु त्यस महान कार्यमा नराम्ररी चुके । जनजिविका र संविधान लेखनकार्यभन्दा पनि तिनले सत्तालाई नै प्रमुख ठाने । समाजमा व्याप्त साम्यवादी लहरलाई कमजोर पार्न सबैभन्दा बढी माओवादी नै जिम्मेवार देखियो । बाबुराम भट्टराईले पहिलो संविधानसभा विघटन गरिदिए ।

त्यसले नेपाली राजनीतिलाई अर्को चरणमा प्रवेश गरायो । दलका शीर्षनेताहरु मिलेर सत्ता हाँक्न सहमती गर्न सकेनन्, बरु तेस्रो व्यक्तिलाई प्रधानमन्त्री बनाएर दोस्रोपटक संविधानसभा निर्वाचन गराउने जिम्मा दिन सहमत भए । त्यसै पृष्ठभूमिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानन्यायाधीश र मन्त्रिपरिषद् अध्यक्ष दुवै बन्न सफल भए ।

माओवादीले पनि केही नयाँ गर्न सकेनन्, पुरानै पार्टीले जस्तै रवैया अपनाउन थालेपछि आमनागरिकले आफ्ना दुःख कसैले नहेर्ने रहेछन् भन्दै प्रतिक्रिया दिन थाले, ‘जो आए पनि उस्तै ।’

प्रकाशित : कार्तिक ३०, २०७९ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्

२०४८ र ०५६ : कांग्रेसले सम्हाल्न नसकेको आफ्नै बहुमत

तीनवटै संसदीय निर्वाचनमा एमाले, कांग्रेसलगायतका दलहरुले प्रमुखरुपमा राष्ट्रियताको मुद्दा उठाएसँगै आमनागरिकलाई पिरोल्ने महँगी, शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने वाचा पनि गरे ।
ध्रुव सिम्खडा

काठमाडौँ — लोकतन्त्र पुनर्स्थापनापछि पहिलो संसदीय निर्वाचन हुँदै थियो- २०४८ वैशाख २९ गते । प्रतिनिधिसभाको २ सय ५ स्थानका लागि भएको निर्वाचनमा काठमाडौं–१ बाट तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई एमालेका महासचिव मदनकुमार भण्डारीले पराजित गरे ।

भण्डारी एकाएक चर्चाको चुलीमा पुगे भने भट्टराईको पराजयसँगै कांग्रेसभित्र ‘अन्तर्घात’ को बीजारोपण भयो ।

त्यसबेलाको चुनावी प्रचार–प्रसारमा कांग्रेस र एमाले आमने–सामने थिए । गाउँ/देहाततिर कांग्रेसका कार्यकर्ताहरु भन्थे, ‘कम्युनिस्टले जित्यो भने मान्छे मार्छ । धर्म मान्न दिँदैन । आफ्नो सम्पत्ति राख्न पनि पाइँदैन ।’

कम्युनिस्ट कार्यकर्ताहरु आरोप लगाउँथे, ‘कांग्रेस भारतीय र अमेरिकी साम्राज्यवादीहरुको दलाल हो । पुँजीवादीहरुको पार्टी हो । उसले जित्यो भने गरिब, किसान, मजदूरहरुले केही पनि पाउँदैनन् ।’ तिनका यस्ता आरोप पनि आज ३० हिउँद पार गर्दा सबै सतहमा छताछुल्ल भए । त्यसबखत ज–जसले जे–जे आरोप लगाए पनि चुनावका बेला दलहरु जनजिवीकाका कुरालाई बढी जोडतोडले उठाउँथे । तर आजभोलिका चुनावी प्रचार–प्रचारमा महंगी, कालोबजारी, भ्रष्टाचार जस्ता जनतालाई आहात पारिरहेका समस्या दलका चुनावी एजेण्डा बनिरहेका छैनन् ।

‘त्यसबेला गाउँघरतिर मर्दाको मलामी र जिउँदाको जन्तीसमेत बार्न पुगेका कांग्रेस–कम्युनिस्ट आज एकैजस्ता भए’ धादिङका एकजना पाका स्थानीय मतदाता बलबहादुर रानाले बताए, ‘कांग्रेस, कम्युनिस्ट सरिबरी भए ।’

२०४८ को चुनावमा माओवादीको चहलपहल थिएन । तर संयुक्त जनमोर्चाको नाउँमा त्यस समूहका नौ जना प्रतिनिधिसभामा प्रवेश गरेका थिए । र, संसद्को तेस्रो ठूलो दलको रुपमा स्थापित भएको थियो ।

३० वर्षसम्म कहिले उदारवादी र कहिले अनुदारवादी खेमामा लागेर राजाको निगाहमा राजनीति गरेका पूर्वपञ्चहरु २०४६ सालको जनआन्दोलन लगत्तै संगठित भए । तर तिनीहरु एक हुन सकेनन् । त्यसैले ०४७ जेठमा तिनीहरुले लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा दुई अलग–अलग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठन गरे । चुनावमा भने चार सिटभन्दा जित्न सकेनन् ।

त्यो चुनाव निकै प्रस्तिपर्धात्मक थियो । किनकि, त्यसबेला ‘पहिलो हुने निर्वाचित हुने’ (फस्ट पास्ट द पोस्ट) पद्धतिअनुसार निर्वाचन हुने गर्‍थ्यो ।

नेतासँगै कार्यकर्ताहरु ‘लाउड स्पिकर’ बोकेर चुनाव प्रचार–प्रसारमा जुटेको दृश्य सायद तीन दशकपछि विरलै देख्न पाइन्छ । ठूल्ठूला सभाहरु भएका थिए । नेताहरुप्रति आममानिसले निकै आशा र भरोसा राखेका थिए ।

कांग्रेस ३० वर्षअघि नै संसद्मा दुई तिहाइ सिटसाथ स्थापित दल थियो भने कम्युनिस्टका विभिन्न घटकमध्ये को स्थापित हुने ०४८ को चुनावका बेला त्यति अनुमान थिएन । चुनावी परिणामले देखाइदियो–एमालेको चमत्कार । ‘पूर्वबाट एमाले उदायो’ यो भनाई त्यसबखत प्रायःका मुखबाट निस्कन्थ्यो । राजधानी उपत्यकाका आठ सिटमध्ये कांग्रेसले दुई सिटमात्र हात पार्न सफल भयो भने एमाले एक्लैले ६ सिटमा विजय हासिल गर्‍यो । कांग्रेसको अव्यवस्थित प्रचार–प्रसार र ‘अन्तर्घात’ नै मूलकारण थियो । एमालेको प्रचार–प्रसार निकै व्यवस्थित र आकर्षक देखिन्थ्यो । एमाले व्यवस्थित ढंगले पार्टीको आन्तरिक सुदृढीकरणसँगै संसदीय फाँटमा उदायो ।

त्यस निर्वाचनमा ७ हजार ३ सय ९१ मतदान केन्द्र र ६ हजार ६ सय ३० उपकेन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले तयार पारेको निर्वाचन इतिहास पुस्तकमा उल्लेख छ । आयोगमा दर्ता भएका ४४ राजनीतिक दलमध्ये २० वटाले मात्र निर्वाचनमा भाग लिए । नेपाली कांग्रेस (११०), एमाले (६९), संयुक्त जनमोर्चा (९), नेपाल सद्भावना पार्टी (६) र राप्रपा (चन्द) (३) ले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए । नेपाल मजदूर किसान पार्टी (२), नेकपा (प्र) (२), राप्रपा (थापा) (१) र स्वतन्त्र ३ जनाले जितेका थिए ।

१ करोड ११ लाख ९१ हजार ७ सय ७७ मतदाता रहेकोमा ७२ लाख ९१ हजार ८४ जना (६५.१५ प्रतिशत) ले मतदान गरेका थिए । ६९ लाख ६९ हजार ६१ मत (९५.५८ प्रतिशत) सदर भएको निर्वाचन आयोगद्वारा प्रकाशित निर्वाचन इतिहास पुस्तकमा उल्लेख छ । दलहरुले ६६ लाख ६५ हाजर ३ सय ३८ (९५.८३ प्रतिशत) पाएका थिए भने स्वतन्त्रले ३ लाख ३ हजार ७ सय २३ (४.१७ प्रतिशत) । ८१ जना महिलाले उम्मेदवारी दिएकोमा ७ जनाले जितेका थिए ।

हठी सत्ता र आक्रामक प्रतिपक्षबीच सदनदेखि सडकसम्म घम्साघम्सी चलिरहेको बेला (२०५० जेठ ३) एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार गाडी चितवनको दासढुंगामा दुर्घटनाग्रस्त भएको खबरले सर्बत्र सन्नाटा छायो । दुर्घटनामा दुवै नेताको निधन हुनपुग्यो भने गाडी चालक अमर लामा जिवितै रहे । २०६० साउन ११ गते चालक लामाको कीर्तिपुरमा हत्या भयो ।

भण्डारीले काठमाडौं–१ बाट चुनाव जितेका थिए । उक्त क्षेत्रमा सोही माघ २५ मा सम्पन्न उपनिर्वाचनमा फेरि कांग्रेस सभापति भट्टराई र मदन पत्नि विद्या भण्डारी उम्मेदवार बनिन् । त्यसबेला एउटा चुनावी सभामा सम्बोधन गर्दै गणेशमान सिंहले भनेका थिए, ‘हेभी वेट’ र ‘फेदर वेट’ बीचको फाइटमा किसुनजीको विजय निश्चित छ ।’ तर परिणाम भने गणेशमानले भनेजस्तो भएन । जीत भण्डारीले निकालिन् । सहानुभूतिको भोट उनका लागि जित्न काफी भयो ।

त्यो बेला चुनाव प्रचार–प्रसारमा प्रतिपक्षी एमाले एकताबद्ध भएर होमिएको थियो । तर, सत्ताधारी कांग्रेस भने सभापति भट्टराई र प्रधानमन्त्री कोइराला खेमामा विभाजित हुनपुग्यो । कोइराला समूहबाट भट्टराईलाई हराउन सरकारी सञ्चारमाध्यममा वक्तव्यसमेत आयो । भट्टराई हारेसँगै कांग्रेसभित्र ‘अन्तर्घाती’ को आरोप चुलियो । भट्टराई खेमाका उत्तेजितहरुले प्रधानमन्त्री कोइरालाको तस्बिरमा जुत्ताको माला लगाएर सहर घुमेका उदेकलाग्दा दृश्यहरु पनि देखिए ।

त्यसको अर्को वर्ष पुसमा प्रधानमन्त्री कोइरालाले पार्टीका ६ जना वरिष्ठ मन्त्रीहरुलाई हटाएपछि त्यो विवाद बढ्दै गएर २०५१ असार २६ गते सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम असफल हुनपुग्यो । कांग्रेसकै ३६ जना सांसद् अनुपस्थित भएर आफ्नै सरकार ढाले । अनि कांग्रेसमा ‘छत्तिसे’ र ‘चौहत्तरे’ समूहको जन्म हुनपुग्यो । सत्ताधारीकै कारण बहुमतको सरकार ढल्यो र मुलुक मध्यावधिमा होमियो । संसदीय राजनीतिमा विकृति र विसंगतिको अर्को अध्याय सुरु भयो ।

मध्यावधिको बोझ

कांग्रेस भित्रको कलहले मुलुकलाई अनाहकमा मध्यावधि (२०५१ कात्तिक २९) मा पुर्‍यायो । गिरिजाप्रसाद कोइरालाले बहुमतको पार्टीलाई प्रतिपक्षमा पुर्‍याए ।

चुनाव प्रचार–प्रसारमा एकातिर कांग्रेस–एमालेबीच छिनाझपटी र तनाव देखिन्थ्यो भने अर्कोतिर कांग्रेसभित्रै गणेशमान सिंहको जनजागरण अभियान थियो । घडी चिन्ह लिएर चुनावमा होमिएका गणेशमानका बागीहरु र सत्ताधारी कांग्रेसका उम्मेदवारहरुबीच केही स्थानमा झडपसमेत भए ।

नदीका दुई किनारजस्ता कहिल्यै नमिल्ने कांग्रेस–कम्युनिस्ट र कांग्रेसी कलहबाट वाक्कदिक्क बनेका मतदाताले तीन वर्षअघि ४ सिटमा सीमित राप्रपालाई २० सिटमा जिताएर ‘त्रिशंकु संसद्’ गठन गरिदिए । अनि, सत्ताको चाबी राप्रपाको हातमा पुग्यो ।

त्यसपछि संसद्मा ठूलो दल एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो निर्वाचित वामपन्थी सरकार गठन भयो । त्यसबेला एमालेले ८८ सिट जितेको थियो । तर अल्पमतको त्यो सरकार नौ महिनाभन्दा टिकेन । उनले आफ्नो सरकार ढल्ने भएपछि मध्यावधि सिफारिस गरे । सर्वोच्च अदालतले ०५२ भदौ १२ गते संसद् पुनर्स्थापनाको फैसला गरिदियो । एमाले पंक्ति तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको विरोधमा सडकमा ओर्लियो ।

त्यसलगत्तै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने । किनकी, पार्टीले बहुमत गुमाएपछि गिरिजाप्रसादले संसदीय दलको नेतामा आफ्नो दाबी दर्ज गरेनन् । कांग्रेसले ८३ सिटमात्र जितेको भए पनि मिलिजुली सरकार टिकाउन देउवाले ५० सदस्यीय ‘जम्बो’ मन्त्रीपरिषद् गठन पनि त्यसैबेला गरे, सांसद्लाई भन्सार सहुलियतमा पजेरो र प्राडो गाडी सुविधा पनि त्यसैबेला दिए । २०५३ फागुन २३ गते संसद्सामु विश्वासको मत मागेका देउवालाई आफ्नै दलका दुईजना सांसद अनुपस्थित भएर असहयोग गरेपछि डेढ वर्षमै उनको सरकार गिर्‍यो ।

अनि, एमालेले राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री मानेर सत्तारोहण गर्‍यो । कांग्रेसले पनि राप्रापका अर्का नेता सूर्यबहादुर थापासित मिलेर चन्द–एमाले सरकारलाई ढालेर थापालाई सत्ताको चाबी सुम्पँदै आफू पनि सरकारमा गयो । त्यो सरकारलाई पनि ढालेर ०५५ सालमा गिरिजाप्रसाद कोइराला दोस्रोपटक प्रधानमन्त्री बने ।

मध्यावधि निर्वाचनमा ७ हजार ४ सय १० मतदान केन्द्र र ८ हजार १ सय ९२ उपकेन्द्र थिए । ६५ दल दर्ता भएकोमा २४ दलले चुनावमा भाग लिए । तीमध्ये एमाले (८८), कांग्रेस (८३), राप्रपा (२०) र नेमकिपा (४) ले राष्ट्रिय मान्यता पाए भने नेपाल सद्भावना पार्टीले ३ र स्वतन्त्र उम्मेदवार ७ जनाले जितेका थिए । त्यसबेला १ करोड २३ लाख २७ हजार ३ सय २९ मतदाता थिए । ७६ लाख २५ हजार ३ सय ४८ (६१.८६ प्रतिशत) मत खसेकोमा ७३ लाख ८४ हाजर २ सय ७७ (९६.८४ प्रतिशत) मत सदर भएको निर्वाचनको इतिहास किताबमा उल्लेख गरिएको छ । राजनीतिक दलहरुले ६९ लाख १२ हजार ९ सय ५३ (९३.९२ प्रतिशत) मत पाए भने स्वतन्त्रको पक्षमा ४ लाख ७१ हजार ३ सय २४ (६.०८ प्रतिशत) मत गएको थियो । ८६ जना महिला उठेकामा ७ जनाले मात्र जीत निकालेका थिए ।

दोस्रोपटक कांग्रेसलाई बहुमत

गिरिजाप्रसादले विकृति र विसंगतिको कारक बनेको संसद् विघटन गरेर ०५६ सालमा तेस्रो संसद्को आवधिक चुनाव घोषणा गरे ।

यो चुनावअघि नै उपप्रधान तथा गृहमन्त्री भएर सत्ताको स्वाद चाखिसकेका बामदेव गौतमले एमाले फुटाएर नेकपा माले पुनर्गठन गरे । चुनावमा होमिए तर एकसिट पनि जित्न नसकेपछि आफू त रनाहामा परे नै, एमालेलाई समेत बहुमत आउनबाट रोकिदिए । कांग्रेस, एमाले दुवै एजेण्डाविहीन भएर त्यो चुनावमा होमिएका थिए । उता गिरिजाप्रसादले आफू अलोकप्रिय भएको आकलनसहित किसुनजीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर पर्साबाट चुनाव उठाउने तानाबाना बुने । प्रचार–प्रसारका क्रममा आममानिसको बुझाइ यस्तो थियो, ‘गिरिजाले किसुनजीलाई ६ महिना पनि प्रधानमन्त्रीमा रहन दिँदैनन् ।’ ६ महिना त होइन गिरिजाप्रसादले किसुनजीलाई नौ महिनाचाहिँ प्रधानमन्त्री बन्न दिए । त्यो चुनाव माओवादी द्वन्द्व चर्केको बेला वैशाख २० र जेठ ३ गते दुई चरणमा भएको थियो ।

उक्त चुनावमा कांग्रेसले बहुमत ल्याए पनि यही चुनावी जनमतलाई कांग्रेसले जोगाउन सकेन । आन्तरिक किचलोका कारण कांग्रेस विभाजित भयो । संसद्को कार्यकाल नसकिँदै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरे । २०५९ सालमा देउवाले चुनाव गर्न नसकेपछि तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ मा प्रतिमनको सुरुवात गरे । यो समयमा पनि कांग्रेसले आफैँले पाएको बहुमत जोगाउन सकेन ।

त्यसबखत निर्वाचन आयोगमा एक सय दल दर्ता भएकामा ३९ दलले मात्र चुनावी प्रक्रियामा सहभागिता जनाएका थिए । अन्य दर्ता भए, त्यसै हराए । कांग्रेस (१११), एमाले (७१), राप्रपा (११), नेपाल सद्भावना पार्टी (५), संयुक्त जनमोर्चा (५), नेमकिपा (१) र राजमो (१) संसद्भित्र पुगे । त्यो चुनावमा स्वतन्त्र उम्मेदवार एकजनाले पनि जितेनन् । १ सय ४३ जना महिला उम्मेदवारमध्ये १२ जनाले जीत हासिल गरे । मनाङबाट कांग्रेसका पाल्देन गुरुङ निर्विरोध निर्वाचित भएको आयोगद्वारा प्रकाशित निर्वाचन इतिहासमा उल्लेख गरिएको छ ।

२०४०–०५६ सालमा सम्पन्न तीनवटा संसदीय निर्वाचनमा कांग्रेसले दुईटामा एकल बहुमत र एउटामा ठूलो दलको हैसियत प्राप्त गर्‍यो भने एमाले एकचोटी ठूलो दल र दुईपटक प्रमुख प्रतिपक्षको भूमिकामा रहृयो ।

तीनवटै संसदीय निर्वाचनमा एमाले, कांग्रेसलगायतका दलहरुले प्रमुखरुपमा राष्ट्रियताको मुद्दा उठाएसँगै आमनागरिकलाई पिरोल्ने महंगी, शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने वाचा पनि गरे ।

प्रकाशित : कार्तिक २६, २०७९ १६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×