कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै ५ जनप्रतिनिधिलाई एमालेको २४ घण्टे स्पष्टीकरण

शिव पुरी

रौतहट — नेकपा एमाले मधेश प्रदेश कमिटी जनकपुरले पार्टीको निर्णय विपरीत अन्य दलको प्रचारमा हिँडेको भन्दै रौतहटका तीनवटा नगरपालिकाका प्रमुख र उपप्रमुखलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै ५ जनप्रतिनिधिलाई एमालेको २४ घण्टे स्पष्टीकरण

गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणि जैसवाल, देवाहिगोनाहीका नगरप्रमुख प्रेमलाल साह कानु र मौलापुरका नगरप्रमुख रिनादेवी साहलाई एमाले मधेश प्रदेश कमिटीले आइतबार स्पष्टीकरण सोधेको हो ।

यस्तै एमाले कमिटीले देवाहिगोनाहीका उपप्रमुख परनिया देवी र मौलापुरका उपप्रमुख नागेन्द्र राय यादवलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ । नगरप्रमुख जैसवालका छोरा रवि जैसवाल रौतहट क्षेत्रनम्बर ४(२) बाट प्रदेशसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार छन् ।

त्यस्तै मौलापुरका नगरप्रमुख रिनाका श्रीमान प्रभु साह स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् । एमालेको तत्कालीन पोलिटब्यूरो सदस्यसमेत रहेका साहलाई पार्टीबाट निष्कासन गरिसकेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पार्टीको निर्णय विपरीत हिँडेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।

२४ घण्टे स्पष्टीकरण चित्त बुझ्दो जवाफ नआए पार्टीको विधानअनुसार कारबाही हुने पनि बताइएको छ । पार्टीको हित र नीति विपरीत कार्य गरेको पाइएकाले स्पष्टीकरण सोधिएको एमालेका मधेश प्रदेश अध्यक्ष राम आतार यादवले बताए । एमालेले स्पष्टीकरण सोधिएकाहरू तत्कालीन स्थायी कमिटी सदस्य प्रभु साह निकट नेता हुन् ।

एमाले नेताहरूका अनुसार उनीहरूले एमालेका उम्मेदवारलाई सघाएका छैनन् । सोही कारण स्पष्टीकरण सोधिएको एमालेका एक नेताले बताए । नेता साहले एमालेको टिकट त्यागेर क्षेत्र नम्बर ३ बाट स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। साहलाई पछिल्लो समय कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनको उम्मेदवारको रुपमा अघि सारिएको छ ।

उनको क्षेत्रमा यसअघि माओवादीले रवीन्द्र पटेललाई उम्मेदवार बनाएको थियो । तर साहलाई पार्टीमा ल्याउन पटेलको उम्मेदवारी निस्क्रिय बनाइएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको रौतहटमा अहिले गठबन्धन दल, विभिन्न दलका उम्मेदवार र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्य पदका लागि ६७ जना चुनावी मैदानमा छन् । त्यस्तै प्रदेशसभा सदस्यका लागि १ सय ४० जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित : कार्तिक २८, २०७९ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?