कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

'स्वन्तन्त्रहरूको अभियानले देशलाई सही दिशामा लैजाँदैन'

'सडकका धुलो हटाउन वडावडामा ब्रुमरहरू पठाउँछौं । खानेपानीमा अब मेलम्चीको भर पर्दैनौँ । ठोस्ने खोलाको पानी वितरण गरेर हाम्रो क्षेत्रमा पानी पुर्‍याउँछौं । '
कान्तिपुर संवाददाता

काठमाडौँ — ललितपुर–३ को प्रतिनिधिसभाको चुनाव सधैं चर्चामा हुने क्षेत्र हो । यो क्षेत्रबाट दुईपटक माओवादी नेता पम्फा भुसाल निर्वाचित भइसकेकी छन् । राजधानीका आवासीय क्षेत्रका रूपमा विकसित हुँदै आएको यो क्षेत्रबाट पम्फा भुसालसँग एमालेका उम्मेदवार अमृत खड्का चुनावी प्रतिस्पर्धामा छन् ।

'स्वन्तन्त्रहरूको अभियानले देशलाई सही दिशामा लैजाँदैन'

२३ वर्षकै उमेरमा २०५४ सालमा तत्कालीन ललितपुरको सैंवु गाविस (हाल भैंसेपाटी)का अध्यक्षमा निर्वाचित भएका खड्काले यसअघि भुसाललाई सहयोग गरेका थिए । पञ्चायतकालीन अवस्थामा नख्खु जेलमा रहेका राजबन्दीहरुलाई पत्रिका पुर्‍याउने जिम्मेवारी पाएका खड्का १२ वर्षको उमेरदेखि नै वामपन्थी राजनीतिमा सक्रिय थिए । नेपालबाट विदेशमा हस्तकलाका सामान निर्यात गर्ने अग्रणी व्यापारीभित्र पर्छन् । उनै खड्कासँग कान्तिपुरका होम कार्कीले गरेको कुराकानी :

तपाईं ललितपुर क्षेत्र नम्बर–३ मा नेकपा एमालेबाट उम्मेदवार हुनुहुन्छ । तपाईंका चुनावी मुद्दा के-के छन् ?

समाज र देशमा नैराश्यतामा डुबेको छ । युवाहरुको पलायन छ । यसलाई रोक्नका लागि आवश्यक कामहरु गर्नुछ । देशमा सुशासनदेखि विकासमा धेरै मुद्दाहरूमा परिणाममुखी बनाउने मेरो मुख्य मुद्दा हो ।

तपाईं यतिखेर चुनावी अभियानका क्रममा मतदातामाझ गइरहनुभएको छ । मतदाताहरूले तपाईंलाई के-कस्ता प्रश्नहरु सोधिरहेका छन् ?

यतिखेर म मतदाताहरुलाई भेट्न घरघरमा पुग्न सकिरहेको छैन । १५/२० वर्ष उहाँहरुले जे माग वा अपेक्षा राख्नुभएको छ अहिले पनि त्यही दोहोर्‍याइराख्नुभएको छ । म यही क्षेत्रको उपभोक्ता, यहीँको बासिन्दा, यहीँको व्यवसायी र यहीँकै राजनीतिकर्मी, यहीँकै समाजसेवी र यहीँको खेलाडी हुँ । यहाँको आधारभूत समस्याहरुबारे राम्रो जानकारी र भुक्तभोगी छु । यहीँको बाटोघाटोमा हिँड्छु । यहीँको धुलोमा हिँड्छु । यहीँको खानेपानीको अभाव झेल्छु । उहाँहरुको माग पहिलादेखि नै बुझेको हो । मैले उहाँहरुसँग यसरी समाधान गर्छु है, मैले यसरी योजना बनाएको छु भन्छु । समयमा नै काम सक्ने र नतिजा दिने थप केही राम्रो सोच छ भनेर सोध्ने गर्छु ।

तपाईंको निर्वाचन क्षेत्रमा नयाँ विकसित चर्चित आवासीय क्षेत्र, पुरानो परम्परागत बस्तीदेखि पिछडिएको क्षेत्रसम्म पर्छ । यी क्षेत्रहरूका मतदाताहरूका फरक-फरक विषयहरू छन् । यसलाई कसरी मिलाएर लैजानसक्नु हुन्छ ?

हाम्रो निर्वाचन क्षेत्रमा तीन खालको बस्तीहरू छन्–एउटा परम्परागत सांस्कृतिक बस्ती, एउटा इलिट वर्ग, बुद्धिजीवी, विशेषज्ञ बस्ने बस्ती र एउटा काँठ बस्ती छ । म पनि काँठकै छोरा हो । यहाँको मुख्य समस्या भनेको बिन योजनाको सहरी विस्तार हो । यसले गर्दा हिजो हामीले बनाएको सडक साँघुरो भयो । मान्छेले आफ्नो आफ्नो जग्गा छोडेर बाटो बढाए । त्यो पनि साँघुरो भयो । फेरि बढाउने ? कति जनसंख्या धान्ने ? हिजो हामी पाटन अस्पताल जाँदा होलो थियो । अहिले अत्यन्तै भीड भयो । त्यो भीडमा हामीले सेवा लिन गाह्रो भएपछि निजी अस्पतालको अत्यन्तै महँगो शुल्कमा पर्न बाध्य भएका छौं । शिक्षामा पनि त्यस्तै समस्या छ । यसलाई समाधान गर्ने कुरामा हामी हल गर्नेछौं ।

अहिले पुराना राजनीतिक दलहरूप्रति मतदाताहरु आक्रोशित देखिन्छन् । स्वतन्त्र प्रकृतिका उम्मेदवारीप्रति आकर्षण बढेको देखिन्छ ? यो अवस्था कसरी सिर्जना भयो जस्तो लाग्छ ?

यसो हुनुमा मुख्य कुरा नैराश्यता नै हो । देश असफल राज्यका रूपमा अगाडि बढेको छ । राजनीतिक मात्रै होइन आर्थिक अवस्था पनि श्रीलंकाकै हालतमा जाने अवस्था छ । विदेशी सहयोगले अर्थतन्त्र धानिरहेको हो । हामी साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा पुग्दैछौं । उत्पादन गर्ने क्षेत्र झन् घट्दै गइरहेको छ । धेरै ठाँउमा त कानुनले नै रोक लगाइरहेको छ । ५० लाखभन्दा बढी युवाहरू देश बाहिर गइसकेका छन् । अब ६० लाख कट्ने होला । यो संख्या बढ्दै गइरहेको छ । सम्पूर्ण युवा वर्गको ‘कन्फिडेन्स लुज’ भइरहेको छ । यो देशमा बस्न सक्छु, यहाँको हावामा श्वास फेर्न सक्छु, यहाँ मलाई प्रदुषणले गाह्रो बनाउँदैन, यहाँ रोजगारी पाउँछु, यहाँ नै बस्न सक्छु भन्ने आत्मविश्वास नै क्षीण भइसकेको अवस्था छ । यसलाई स्वतन्त्रहरुको अभियानले अझै बढाएको छ ।

१२ वर्षको द्वन्द्वले पनि विदेश पलायन गरायो । अहिलेको स्वन्तन्त्रहरूको अभियानले पनि देशलाई सही दिशामा लैजाँदैन । यो संसारको सयभन्दा बढी देशहरुमा प्रजातन्त्र, मानव अधिकारको ग्यारेन्टी छ । यसमा सर्वोच्च शक्ति भनेको जनता छ । जनताले नै आफ्नो प्रतिनिधि र सरकार चुन्छ । सबै ठाउँमा दल छ । दल भनेको एउटा टिम हो । दलको विकल्पमा स्वतन्त्रले चलाएको एउटा पनि नमुना छैन ।

हामीले दललाई फेल बनाएर एउटा अराजकता सिर्जना गर्न खोजेको हो कि ? ०४७ सालको संविधान, अन्तरिम संविधान र अहिलेको संविधानले पनि राज्य सञ्चालनको विधि बहुदलीय प्रजातन्त्र र दलको भूमिकालाई प्रस्ट बनाइदिएको छ । दलहरूलाई व्यवस्थित गर्नु, सुधार गर्नु, राम्रो दल बनाउनुबाहेक विकल्प नै छैन । स्वतन्त्रहरू भनेको स्थानीय निकायमा होला । जहाँ राज्य सञ्चालनको लागि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका छ । यसकै आफ्नै विधि छ । यस्तो ठाँउमा दलले नै भूमिका खेल्छ । स्वतन्त्रहरू गएर सरकार चलाउने अभ्यास कही छैन ।

सत्ता गठबन्धनको तर्फबाट पम्फा भुसालसँग तपाईंको मुख्य प्रतिस्पर्धा छ । दुईपटक विजयी भएकी भुसालसँग प्रतिस्पर्धा गर्न तपाईंले कतिको चुनौती सामना गरिरहनुभएको छ ?

गएको पाँच वर्ष अगाडि हाम्रो दुईवटा पार्टी एक भएर चुनाव लडेको थियो । उहाँसँग नजिक भएर संगत गरियो । उहाँका राम्रा नराम्रा पक्षहरुलाई राम्रोसँग चिन्ने मौका पाइयो । उहाँको नेतृत्वले हाम्रो क्षेत्रको जनता र देशले सुख पाउँदैन । अहिलेको निर्वाचनमा मैले स्वस्थ्य, शान्तिपूर्ण र राजनीतिक प्रतिस्पर्धीका रुपमा लिएको छु । गठबन्धनबाट उहाँ (भुसाल)लाई उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेले मलाई बनायो । मुख्य शक्ति भनेको यहाँका जनता हुन् । मतदाताहरुले जसलाई छान्नुहुन्छ, त्यसको परिणाम केही दिनमा आउँछ । मतदाताहरूले चुनावपछि उम्मेदवारले मतदातालाई भेट्दैन, राम्रो काम गर्दैन, परिणाममुखी विकास आँउदैन भन्ने कुरा मतदान गर्नुअगाडि नै बुझिदिनुपर्छ । यो कुरा मतदाताहरुले भोगिसकेका छन् ।

मतदाताहरुले उहाँ(भुसाल)को जीवनयापन कसरी भइरहेको छ भनेर बुझिदिनुपर्छ । मतदाताहरुले उम्मेदवारको जीवनयापन भ्रष्टाचार गरेर हो कि पेसा अपनाएर गरिरहेको छ ? उम्मेदवारसँग ह्वाइट मन‍ी छ कि ब्ल्याक मनी छ भनेर हेरेर मत दिनु भएन भने जनतालाई फेरि धोका हुन्छ । यो कुरा मतदाताले बुझिदिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।

तपाईंसँग त्यस्तो बलियो योजना के छ, जसले गर्दा तपाईंप्रति मतदाता आकर्षित होस् ?

मैले देश बनाउने बेला राम्रो नीति बनाउन सक्छु भनेर नै पार्टीले मलाई उम्मेदवार बनाएको हो । मैले नेतृत्व गरेको, काम गरेको हरेक क्षेत्रमा सफलता हासिल गरेको छु । म यहाँको जनताको दु:खसुखमा सहभागी हुन्छु ।

मैले जे-जे काम गर्ने हो, त्यसको लामो तयारी गरेको छु । मेरो २० को तयारी छ । नीतिगतदेखि तथ्यांक विश्लेषणसम्म गरेको छु । किन यो तयारी गरेभन्दा नेताहरू भाषण गर्ने तर केही पूरा नगर्ने प्रवृत्ति देखेको छु । यसबाट जनताहरु वाक्कदिक्क भएका छन् । मैले पूरा योजना बनाएको छु । यसमा मलाई सबैबाट साथ सहयोग पनि छ । त्यो कार्यान्वयन गर्न मसँग टिम पनि छ ।

हामी पाटन अस्पताल जस्तै सस्तो र गुणस्तरीय सेवा दिने एउटा अस्पताल बनाउँछौं । चिडियाखानालाई सार्नेछौं । अहिलेको हिसाबमा जनावरलाई त्यति सानो ठाउँमा थुनेर राख्न अमानवीय हुन्छ । हामी आईटी पार्क बनाउँछौं । हस्तकलामा ठूलो संख्यामा रोजगारी सिर्जना गर्छौं । ऐतिहासिक पोखरीलाई उपयोग गर्छौं । सबै घरमा निकै सस्तो रूपमा जेनेरिक औषधि वितरण गर्नेछौं । शिक्षा क्षेत्रमा गुठी स्कुलका रूपमा अगाडि बढाउँछौं । सडकका धुलो हटाउन वडावडामा ब्रुमरहरू पठाउँछौं । खानेपानीमा अब मेलम्चीको भर पर्दैनौँ । ठोस्ने खोलाको पानी वितरण गरेर हाम्रो क्षेत्रमा पानी पुर्‍याउँछौं ।

तपाईं विदेशमा हस्तकला निर्यात गरी नेपालमा डलर भित्र्याउने व्यवसायी हुनुहुन्छ । यो व्यवसायसँगै भोलि सांसद भएर संसद्‌मा जाँदा कतै स्वार्थ त बाझिदैन ?

यस्तो खालका मान्छेहरु राजनीतिमा खासै आएका छैनन् । आँउदैनन् पनि । बरु विदेश जान्छन् । धेरै देशले यस्ता मानिसलाई हातमा ग्रिनकार्ड दिएर अफर गरिरहेको हुन्छ । मलाई पनि गर्छ । हामीमध्ये धेरै मानिसहरु नेपालको राजनीतिको दलदलमा फस्न खोज्दैनन् । यस्तो बदमासीहरुको भीडमा टिक्न, ज्यान जोगाउन नै कठिन छ ।

भोलि एउटा अस्पताल बनाउँछुभन्दा पनि राजनीतिक जागिरेहरुले रोक्ने, अनेक आरोप लगाएर, गिल्ला लगाएर, मुद्दा लगाएर रोक्नेहरु धेरै छन् । मैले अंगालेको जस्तो पेसा अन्तर्राष्ट्रिय बजारमा निकै आर्कषक छ । मलाई धेरैले किन दलदलमा फस्न गइस् भनेर मूर्ख भनिरहेका छन् । मैले १५ वर्ष नेपाली सामान अन्तर्राष्ट्रिय बजारमा पठाएर प्रतिस्पर्धा गरें । यसको सम्भाव्यता र बाधाहरुको अध्ययन गरें । मैले आधारभूत तहबाट मध्यम तहमा पुर्‍याएँ । मैले आफ्नै व्यापारमा लागिराख्दा जति प्रगति गरें, त्यसले देशलाई थोरै फाइदा होला । त्योभन्दा सयौं गुणा फाइदा राजनीतिमा आएर गर्न सक्छु ।

प्रकाशित : कार्तिक २८, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?