कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सर्लाहीमा गठबन्धनबीच प्रतिस्पर्धा

उम्मेदवारलाई गठबन्धनभित्रका दलका कार्यकर्ताको मन जित्नुपर्ने चुनौती
ओमप्रकाश ठाकुर

सर्लाही — आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको क्षेत्र–१ र ३ मा सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ । क्षेत्र–१ मा सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी उम्मेदवार छन् । उनको प्रतिस्पर्धामा जसपाका निवर्तमान सांसद प्रमोद साह छन् । यस्तै क्षेत्र–३ को प्रतिनिधिसभामा गठबन्धनबीच कडा प्रतिस्पर्धा छ । यहाँ सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र साह उम्मेदवार छन् । उनको प्रतिस्पर्धा एमालेका उम्मेदवार हरि उप्रेतीसँग छ । 

सर्लाहीमा गठबन्धनबीच प्रतिस्पर्धा

पहाडी र मधेसी समुदायको मिश्रित बसोबास रहेको क्षेत्र–१ र ३ मा कांग्रेस, एमाले र माओवादी पार्टीको जनमत छ । यी दुवै क्षेत्रमा दुइटै गठबन्धनले हारजितलाई प्रतिष्ठाको विषय बनाएका छन् । स्थानीय तहको मत परिणाम अनुसार दुवै क्षेत्रमा सत्ता गठबन्धन बलियो छ । तर संघ र प्रदेशमा बागीले उनीहरूलाई समस्यामा पारिरहेका छन् । रुष्ट बनेका नेताहरू पनि सत्ता गठबन्धनका लागि टाउको दुखाईको बिषय बनेको छ । यता एमाले–जसपा गठबन्धन भए पनि तल्लो तहका नेता तथा कार्यकर्ताको मन मिल्न सकेको छैन ।

क्षेत्र–१ मा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेका साह जसपाका निवर्तमान सांसद हुन् । उनी जित दोहोर्‍याउने दाउमा छन् । जसपाको बलियो संगठन यस क्षेत्रमा नभएपनि साह आफ्नो पक्षमा बनाएका मतदाता र एमालेको भरमा छन् । उनले आफूले ५ वर्षभित्रमा गरेको कामहरूको पनि चर्चा गरिरहेका छन् । एमाले–जसपा गठबन्धन भए पनि साहको यस क्षेत्रका एमाले नेतासँग भने कटुता सम्बन्ध रहँदै आएको छ, जसको प्रभाव चुनावमा पर्न सक्ने आकलन गरिएको छ ।

सत्ता गठबन्धनतर्फ लोसपाका उम्मेदवार बनेका चौधरी स्थानीय तहमा आएको गठबन्धनको मतअनुसार ढुक्क छन् । यस क्षेत्रका ईश्वरपुर, लालबन्दी, हरिपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा कांग्रेसले जितेको छ । जसपाभन्दा लोसपाको संगठन पनि यस क्षेत्रमा राम्रो छ । जातिगत रूपमा पनि चौधरीको संख्या उल्लेख्य भएकाले फाइदा पुग्ने छ ।

आसन्न चुनावमा क्षेत्र–३ मा सबैभन्दा बढी प्रतिस्पर्धा छ । माओवादी केन्द्र यो क्षेत्रमा जित दोहोर्‍याउने दाउमा छ । दुवै गठबन्धनका उम्मेदवारले आक्रामक प्रचारशैली अपनाएर जनताको घरदैलोमा पुगिरहेका छन् । ०७४ सालको चुनावमा यस क्षेत्रबाट माओवादीका रामेश्वर राय यादव निर्वाचित भएका थिए । तर उनी यस पटक मैदानमा छैनन् । पार्टीका तर्फबाट नरेन्द्र साह गठबन्धनका उम्मेदवार बनेका छन् । साह ०७४ को चुनावमा स्वतन्त्र उम्मेदवार थिए । उनले चुनाव जित्न नसके पनि सम्मानजनक मत ल्याई तेस्रो स्थान पाएका थिए । ५ वर्षयताको सक्रियता र गठबन्धनका कारण चुनाव जित्नेमा साह ढुक्क छन् ।

यस अघिको प्रतिनिधिसभाको निर्वाचनमा जितेका माओवादी, निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस र स्वतन्त्र रूपमा उठेका साह अहिले एकै ठाउँमा छन् । जसले साहको मनोवल उच्च छ । ०७४ को निर्वाचनमा निकटतम् प्रतिद्वन्द्वी रहेका हरेश महतो गठबन्धनबाटै प्रदेश सभाका उम्मेदवार छन् । उनले साहलाई सघाइरहेका छन् । साहले यसपटक सत्ता गठबन्धनको सहयोगमा आफूले नै जित्ने दावी गरे । तर प्रदेशमा गठबन्धन विरुद्घ आफ्नै पार्टीका नेता बागी बनेपछि उनलाई चुनौती थपिएको छ ।

यस क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट एमालेका हरि उप्रेती चुनावी मैदानमा छन् । लामो समयदेखि राजनीतिमा लागेका उनीसँग राजनीतिक अनुभव छ । तर मधेसी बाहुल्य क्षेत्रमा एमालेको संगठन कमजोर छ । जसपाका कार्यकर्ताले पनि उनलाई सघाउने सम्भावना कम छ । उनी उत्तरी क्षेत्रका कांग्रेसको मत तान्ने प्रयासमा छन् । मधेस र पहाड जोड्ने नेताका रूपमा परिचित उप्रेतीले यस पटकको चुनाव आफूले जित्ने दाबी गरे । उनले उत्तरी क्षेत्रका जनताको माया पाएको र दक्षिणी क्षेत्रका जनता पनि आफ्नो कामसग सन्तुष्ट रहेको जिकिर गरे ।

प्रकाशित : कार्तिक २८, २०७९ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×