किसानलाई बाली थन्क्याउने चटारो, चुनावीसभामा उपस्थिति न्यून

‘उम्मेदवार भोट माग्न पनि आएन भन्लान् भनेर मात्र गाउँमा चुनाव प्रचारप्रसारको कार्यक्रम लिएर जाने हो । भाषण सुन्न त जनताको फुर्सद र चासो दुवै छैन ।’
घनश्याम खड्का

म्याग्दी — आसन्न निर्वाचनले राजनीतिक दलमा जति धपेडी छ, त्योभन्दा बढी कृषकलाई धान, कोदोलगायत बाली थन्क्याउने छ । बाली थन्क्याउने चटारोबीच चुनावका लागि गाउँगाउँ पुगेका दलका कार्यक्रममा मतदाताको उपस्थिति ज्यादै न्यून छ । चुनावी सभामा उपस्थिति बढाउन सांस्कृतिक कार्यक्रम गरे पनि मतदाता आकर्षित भएका छैनन् ।

किसानलाई बाली थन्क्याउने चटारो, चुनावीसभामा उपस्थिति न्यून

‘खेतीबाली थन्क्याउने समय भएकोले साँझका कार्यक्रमभन्दा दिउँसोको कार्यक्रममा सहभागिता न्यून छ,’ बेनी–१ रत्नेचौर धानफाँटमा कृषकका खेतबारी डुलेर भोट माग्दै गरेका एमाले जिल्ला सदस्य सन्तोष रावलले भने, ‘भोट माग्न घरदैलो पुगे पनि मतदाता बाली थन्क्याउन व्यस्त छन् । मुखमा आएको बाली थन्क्याउन छोडेर हाम्रो भाषण सुन्न आउ भन्न पनि भएन ।’

चिसो बतास चल्न थालेकाले पानी परिहाल्ला भन्नेमा कृषक चिन्तित छन् । पाकेर काट्न ठिक्क परेको धान, कोदो असिनाले झार्ला भन्ने पीर उस्तै छ । खेतमा पाकेको धान, कोदोबाली थन्क्याउने चटारोले कृषक व्यस्त भएकाले उम्मेदवारले गाउँ–गाउँमा आयोजना गरेका चुनावी सभामा मतदाताको उपस्थिति न्यून भएको हो । एमालेको कार्यक्रममा मात्र होइन सत्ता गठबन्धनका उम्मेदवार, अन्य दल र स्वतन्त्रका चुनाव प्रचारप्रसार गर्न आयोजित सभाहरूमा पनि मतदाताको उपस्थिति न्यून छ । कतिपय स्थानमा दलका चुनावी सभामा उपस्थित मतदाताभन्दा बढी आयोजक दलका नेता कार्यकर्ता देखिएका छन् ।

‘उम्मेदवार भोट माग्न पनि आएन भन्लान् भनेर मात्र गाउँमा चुनाव प्रचारप्रसारको कार्यक्रम लिएर जाने हो । भाषण सुन्न त जनताको फुर्सद र चासो दुवै छैन । स्थानीय कार्यकर्ताले घरदैलो गरी भोट माग्ने हो,’ माओवादी केन्द्रका जिल्ला सदस्य शेरबहादुर केसीले भने, ‘कार्यकर्ता र मतदाता दुवैको माग र अपेक्षा धेरै नै बढेको पाएँ ।’

चुनावी सभाहरूले मतदातालाई आकर्षित गर्न नसकेपछि उनीहरूले चुनावी रणनीति परिवर्तन गरी समूहसमूहमा मतदाताको घरदैलो अभियान सुरु गरेका छन् । चुनावी सभामा मतदाताभन्दा कार्यकर्ताको भीड बढी हुने छ । रक्सी र मासु खुवाएर भोट प्रभावित पार्ने परम्परागत शैली परिवर्तन गरी ‘स्थानीय समस्या संकलन’ भन्दै उनीहरूले मतदातालाई ‘आर्थिक’ प्रलोभन दिने प्रयास पनि छ ।

प्रकाशित : कार्तिक २६, २०७९ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?