कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावमा मात्रै पुग्छ चेपाङ गाउँमा विकासका कुरा

रमेशकुमार पौडेल

चितवन — पाइमराङ खोलामा कलकल पानी बगेको बग्यै छ । हिउँदमा ओहोरदोहोर गर्दा स्थानीयको खुट्टा भिजाउनुबाहेक यो पानीको खासै उपयोग भएको छैन । बर्खामा उर्लेको भल छोपेर एकाधले धान पनि नरोप्ने हैनन् । तर बिरामी परेर उपचारका लागि अस्पताल जानु पर्दा होस् या किनमेलका लागि बजार झर्दा बर्खामा यसले दिने सास्ती बयान गरी साध्य छैन ।

चुनावमा मात्रै पुग्छ चेपाङ गाउँमा विकासका कुरा

बगेर जाने पानी उपयोग गर्न पाइयोस्, हिँडडुल गर्दा सास्ती नहोस्, गाउँलेहरू यही चाहन्छन् ।

निर्वाचन क्षेत्र चितवन– २ अन्तर्गत पर्ने कालिका नगरपालिका– १० का बासिन्दाको चाहना हो यो । साविकको सिद्धि गाविस सीमान्तीकृत वर्गमा पर्ने नेपालका आदिवासी समुदाय चेपाङ बहुल क्षेत्र हो । सिद्धिलाई हाल कालिका नगरपालिकाको वडा नम्बर १० र ११ मा समेटिएको छ । सिद्धिको तीन दोभान यी दुवै वडाको केन्द्रजस्तै हो । वडा कार्यालय, किनमेल गर्ने पसल, स्वास्थ्य केन्द्र र माध्यमिक विद्यालय यही छन् ।

प्रतिक चेपाङ साथीसँगै हस्याङफस्याङ गर्दै खोलो तरेर स्कुल तिर लाग्दै थिए । आफ्नो गाउँ देउजरबाट एक डेढ घण्टा हिँडेर स्कुल आउजाउ गर्ने उनलाई बर्खायाममा निकै सकस हुन्छ । स्कुल आउने सयौं बालबालिका यही खोलो तर्ने गर्छन् । खोलो तर्दै गर्दा भेटिए १० नम्बर वडामै पर्ने चेपाङ गाउँ जिङलाउका मंगलबहादुर चेपाङ । ‘यहाँ एउटा झोलुङ्गे पुल राख्नु पर्ने हैन र’ मंगलबहादुरको प्रश्न छ ।

बच्चा बोकर दुई जना महिला तीन दोभानको स्वास्थ्य चौकी आउँदै थिए । अरु पाँच सात जना विद्यार्थी पनि खोला तर्दै थिए । ‘यी सप्पैलाई असुविधा छ । मेरो गाउँ यहाँबाट डेढ–दुई घण्टा पर छ । खोलो तर्दै तर्दै आउने जाने गर्नुपर्छ । कम्तीमा तीन ठाउँ झोलुङ्गे पुल राखे बल्ल सुविधा हुन्छ,’ मंगलले भने । बर्खायाममा कोही बिरामी परे सात–आठ जना गाउँले बटुलेर भिरभिरै दौडाउने र सबै मिलेर जोगिँदै खोलो तार्ने गरेको उनले बताए ।

‘यो असुविधा नेताले नदेखेको, नसुनेको हैन नि । उनीहरूलाई थाहा छ । त्यसैले चुनावमा बाटोको कुरा गर्छन् । पुल र बिजुलीको कुरा गर्छन् । तर चुनावपछि बिर्सिन्छन्,’ मंगलले भने । अहिले पहिलाको तुलनामा बाटो केही बने पनि झोलुङ्गे पुल र बिजुलीका कुरा चुनावमा मात्रै आउने गरेको उनले बताए । मंगलले पुल भए धेरै सुविधा हुने थियो भन्दै गर्दा आडमै रहेका महिलाहरूले भने ‘बिजुली पनि चाहियो, चाहियो ।’

साविकको सिद्धिको ८ नम्बर वडा अहिले कालिका– १० मा पर्छ । ती वडामा सयभन्दा बढी घर छन् । प्राय: घर चेपाङका मात्रै हुन् । तर बिजुली कतै बल्दैन । जिङलाउ, नामदार, गोत्रा, सात्रुङ, अंगारे, देउजरजस्ता ८–१० गाउँहरू आधारभूत सेवा सुविधाबाटै वञ्चित छन् । नगरपालिकाको वडामा पर्ने यी ठाउँका भिरपाखाका स–साना छाप्रामा गाउँलेहरू बसेका छन् । पाखो जग्गा धेरै भए पनि उब्जनी राम्रो नभएको हुँदा खान लाउन धौधौ छ ।

तीन दोभानबाट अलि पर पुगेपछि खोला आडमै छ केयरसिंह चेपाङको घर । खोला आडमा भएका कारण उनले भल छोपेर धान पनि रोप्छन् । ‘धान पनि थोरै रोप्छु । मकै, पिडालु, कोदो पनि हुन्छ । वर्षदिनलाई खान पुग्छ,’ केयरसिंहले भने । तर आफ्नै उब्जनीले यसरी वर्ष दिनलाई खान पुग्ने चेपाङहरू निकै कम छन् । सिँचाइको राम्रो प्रबन्ध भए थप खेतमा पनि धान रोप्न सक्ने र वर्षदिनलाई धानकै भातले पुग्ने उनले बताए ।

कृष्णबहादुर चेपाङले पनि भलपानी छोपेर धान रोप्छन् । योपल्ट उनले ३० मुरी धान भित्र्याए । ‘अलिमाथि पनि खेत छ । त्यहाँ पानी लैजान सकिएको छैन । सरकारले सिँचाइको व्यवस्था गर्दिए अझै बढी धान हुन्छ,’ कृष्णबहादुरले भने । धान फल्ने खेत भए पनि त्यसको लालपुर्जा छैन । अघिल्लो चुनावमा लालपुर्जा दिन्छु भनेर चुनाव जितेका नेताहरूले वाचा पूरा गरेनन् भन्छन् उनी । अब पनि पाइने हो या होइन उनलाई शंका छ ।

नामदारका यमप्रसाद चेपाङको १० बिघाजति पाखोबारी छ । तर, लालपुर्जा एक बिघाको मात्रै छ । जग्गा टन्नै भए पनि खोलादेखि पर भीरपाखामा छ । मकै, कोदो, पिँडालुबाहेक अरु हुन्न । रुखो जमिनमा स्याहार नपाउने भएका कारण राम्रोसँग केही फल्दैन । हावाहुरीले सधैं बिगार्ने गर्छ । ‘अब मैले यो डाँडामा सिँचाइ ल्याइदेऊ भन्नु भएन । नालासहितको राम्रो बाटो, लालपुर्जा र बिजुली आए धेरै राम्रो हुने थियो,’ यमप्रसादले भने ।

लालपुर्जा दिने भनेर वडा कार्यालयले स्थानीय चुनावअघि नै आश्वासन दिएको थियो । गाउँ आउने नेताहरूले ठेक्का लागेका कारण अब बिजुली बल्छ भनेर दुई वर्षअघि नै भनेको उनले सुनाए । ‘त्यसैले नेताका कुरा पत्याउनै गाह्रो छ हामीलाई । यी नेता ठेकेदार मिलेका हुन् कि के हुन् जस्तो लाग्छ,’ यमप्रसादले भने । ७० वर्ष पुगेकी सुकमाया चेपाङलाई पहिलाका भन्दा अहिलेका मान्छेले धेरै सुख सुविधा पाएको सुनाइन् ।

उनी र ८० वर्षका श्रीमान् नरबहादुर १७ वर्षका कान्छो छोरासँग बसेका छन् । तर उनको कोखबाट एक, दुई होइन, १८ सन्तान जन्मे । ‘जन्मेका मध्ये १० जना बिते,’ भन्छिन् उनी । उनका ६ छोरी र दुई छोरामात्रै जोगिएका हुन् । ‘बिरामी भएपछि बच्चा जोगाउन गाह्रो थियो । अहिले त नजिक–नजिक अस्पताल छ,’ उनले भनिन् ।

तर बर्खायाममा खोलो तर्न सकस छ । ‘यो खोलाको पानी खेतमा लैजाने व्यवस्था मिलाए कति जाति हुन्थ्यो । धान हाम्रै खेतमा फल्थ्यो । किन्नलाई दोकानमा जानु पर्दैन थियो । बिजुलीबत्ती बाल्न पाए रमाइलो हुने थियो । खोलामा पुल भए भेल आउँदा गाउँमै थुनिन पर्दैन थियो,’ सुकमायाले सुनाइन् । गाउँलेहरूलाई यी कुराको आवश्यकता छ भनेर चुनावमा उठेका उम्मेदवारहरूलाई थाहा नभएको होइन ।

‘तर काम पो गरेनन् । नेतालाई पत्याएर भोट हाल्यौं । विकास हुन्छ भनेर विश्वास गरियो । पर्खेर बसियो तर अहिले पनि बाटो, बिजुली, लालपुर्जा देऊ न भन्नुपरेको छ,’ यमप्रसादले भने । मंगलबहादुर चेपाङ यो पटक के गर्ने, कसलाई भोट हाल्ने भनेर ढुलमुलमै रहेको बताए । ‘नेताले नै हाम्रो दिमागको चक्का घुमाइदिए । बत्ती, बाटो, विकास र रोजगारीको कुरा सबैले गर्दछन् । तर कसले साँच्चै काम गर्दछ, सोच्नु पर्नेछ,’ मंगलबहादुरले भने ।

चुनावी प्रचारप्रसार तीव्र हुँदै गर्दा गाउँमा उम्मेदवार नपुगे पनि स्थानीय नेताहरू पुगेका छन् । कालिकाका १० र ११ नम्बर वडामध्ये एउटामा एमाले र एउटामा कांग्रेसको राम्रो पकड रहेको यमप्रसाद बताउँछन् । तर, चुनावमा यी दुईभन्दा अन्य दलको पनि चर्चा परिचर्चा पुगेको छ । चुनाव चिह्न घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) र कुखुराको भाले (मंगोल नेसनल अर्गनइजेसन)का स्थानीय नेता भोट माग्न आएको कृष्णबहादुर चेपाङले सुनाए ।

त्यसैले कसलाई भोट दिने, कसलाई नदिने भनेर गाउँलेहरूले सोच विचार गरिरहेका छन् । ‘नगरपालिकाजस्तो ठाउँमा यस्तो असुविधा छ । त्यसैले नेताले भन्दैमा किन पत्याउने, काम गर्ने को हो, विचार गरेर भोट दिने हो भन्ने छ,’ यमप्रसादले भने । तीन निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ को र २ को पहाडी भेगमा चेपाङ समुदायको बाक्लो बसोबास छ । अन्य चेपाङ बस्तीको अवस्था पनि योभन्दा खासै फरक देखिँदैन ।

प्रकाशित : कार्तिक २५, २०७९ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?