कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘रेकर्ड ब्रेक’ को ध्याउन्नमा दाहाल

२०६४ को कुल मतको ८३ प्रतिशत मत ल्याएर विजयी बाबुराम भट्टराईले प्रचण्डलाई आफ्नो रेकर्ड तोड्न चुनौती दिएका छन्
हरिराम उप्रेती

गोरखा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दर्ता गराएसँगै गोरखा–२ चर्चामा छ ।  २०७४ मा तत्कालीन वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र कांग्रेससँगको गठबन्धनबाट तत्कालीन नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईको प्रतिस्पर्धाले यो क्षेत्र तातिएको थियो ।

‘रेकर्ड ब्रेक’ को ध्याउन्नमा दाहाल

पाँच वर्ष पछिको परिदृश्य भने फेरिएको छ । ०७४ का प्रतिस्पर्धीको प्रस्तावक र समर्थनमा दाहाल उम्मेदवार बन्न आइपुगेका छन् । जिल्लाको बहुसंख्यक पालिका माओवादीले जितेकाले पनि गोरखा उनको रोजाइमा पर्‍यो । जिल्ला आगमनमा दाहालले भनेका थिए, ‘बहुमत पालिका जितेकाले पनि म यहाँ आउने आधार बन्यो ।’

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा पनि ५ मध्ये ४ पालिका प्रमुखमा माओवादीका उम्मेदवार विजयी वनेका छन् । गोरखा–२ मा गोरखा नगरपालिकाको ७, ८, ९, १०, ११, १२, १३ र १४ वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका पर्छन् ।

सिरानचोक गाउँपालिका अध्यक्ष/उपाध्यक्ष कांग्रेसले जितेको छ । अन्य पालिकामा माओवादी निकटका अध्यक्ष छन् । २०७४ मा क्षेत्र २ मा कुल खसेको मतको ५५.३४ प्रतिशत अर्थात् ३१ हजार ८ सय सात मत ल्याएर भट्टराई विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ४३.३८ प्रतिशत अर्थात् २४ हजार ९ सय ३३ मत ल्याएका थिए । दाहाललाई अहिले २०७४ को विजेता/उपविजेता दुवैको समर्थन छ ।

स्थानीय तह निर्वाचनका मुख्य प्रतिष्पर्धी माओवादी र कांग्रेस अहिले गठबन्धन गरेका छन् । स्थानीय तह निर्वाचनको मतको आधारमा गोरखा क्षेत्र २ मा एमाले तेस्रो शक्ति छ । दाहालले अन्तिम समयमा गोरखाबाट निर्वाचन लड्ने निष्कर्ष निकाल्नु पनि यिनै कारणहरू हुन सक्छन् । यद्यपि दाहालले निर्वाचन क्षेत्र फेरिरहने ‘टुरिस्ट’ उम्मेदवारको आरोप पनि खेपेका छन् । यही आरोप चिर्न पनि दाहालले उम्मेदवारी दर्ताका दिन भनेका थिए, ‘पूर्व, पश्चिम, मधेस, पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ, अहिले गोरखा आएपछि नयाँ रेकर्ड बन्यो ।’

शान्ति प्रक्रियामा आएपछि भट्टराई र दाहालबीच तिक्तता बढ्यो । २०७२ मा दाहालको साथ छाडेका भट्टराई अहिले पुनः दाहालका बलिया सारथी बनेका छन् । उनै भट्टराईले दाहाललाई सार्वजनिक चुनौती नै दिए, ‘मेरो रेकर्ड ब्रेक गर्नुस् ।’ २०६४ को निर्वाचनमा भट्टराईले प्रतिष्पपर्धीलाई ४० हजार मतान्तरसहित ४६ हजार मत ल्याएर विजयी बने । कुल खसेको मतको ८३ प्रतिशत भट्टराईले प्राप्त गरेका थिए । ‘त्यो बेला निर्वाचन क्षेत्र धेरै थिए, ४६ हजार मत सबैभन्दा धेरै थियो, अहिले निर्वाचन क्षेत्र घटेकाले त्यो सजिलै कट्छ, ४० हजार मतान्तर पनि भेट्न गाह्रो पर्दैन,’ भट्टराईले एक कार्यक्रममा दाहालका सामुन्ने भने, ‘कुल खसेको मतको तपाईंले ९० प्रतिशत कटाउनुपर्छ, ८३ पहिल्यै थियो । यो तपाईंलाई चुनौती हो ।’

सार्वजनिक कार्यक्रममा भट्टराईले यस्तो चुनौती दिएपछि दाहाल निकटको माओवादी कार्यकर्ता पनि ‘सुप्रिमो’ लाई नयाँ रेकर्ड स्थापित गर्न कम्मर कसेर लागेका छन् । माओवादीको आन्तरिक प्रशिक्षणमा दाहाललाई अत्याधिक मतले विजयी गराउने गरी कार्यकर्तालाई प्रशिक्षित पार्न माओवादीका जिल्लास्तरीय नेताको जोडबल छ । यद्यपि कांग्रेस माओवादी गठबन्धनबाट उम्मेदवार बनेका दाहालको निर्वाचन क्षेत्रमा गठबन्धन दलभित्रकै कार्यकर्तामा आन्तरिक असन्तुष्टि पनि छ । दाहालका विरुद्ध कांग्रेस निकटका गणेश देवकोटाले बागी उम्मेदवारी दिएका छन् । पालुङटार नगरपालिका–४ का देवकोटा कांग्रेसको ९० प्रतिशत भोट आफूलाई प्राप्त हुने दाबी गर्छन् । गठबन्धन दलभित्र निराशा रहेको देवकोटाको बुझाइ छ ।

गठबन्धनका कारण पदीय दायित्वमा रहेका कांग्रेस निकटका मतदाताले खुलेर आफूलाई सहयोग नगरे पनि भित्री रूपमा साथ र समर्थन गरेको उनले दाबी गरे । देवकोटा कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित बनेका थिए । गठबन्धन अप्राकृतिक र अपवित्र रहेकाले त्यसका विरुद्ध आफूले उम्मेदवारी दिएको देवकोटाले बताउँदै आएका छन् । चुनावी प्रचारकै क्रममा पनि कांग्रेस माओवादी कार्यकर्ताबीच आत्मीय सम्बन्ध स्थापित भई नसकेको प्रचारमा खटिएका स्वयं गठबन्धन दलका कार्यकर्ताको गुनासो छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेका दल कांग्रेसले माओवादीप्रति र माओवादीले कांग्रेसप्रति हेर्ने दृष्टिकोण फेरिएको छैन । एक अर्को दलका कार्यकर्ताले खुलेर आफ्ना उम्मेदवारको पक्षमा मत नमागेको भन्दै असन्तुष्टि बढेको छ ।

यद्यपि दाहालले निर्वाचनको उम्मेदवारी दर्तादेखि नै बलिया सारथि पाएका छन् । पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेसपाका अध्यक्ष भट्टराईलाई दायाँ र बायाँ राखेर दाहाल उम्मेदवारी दर्ताका लागि पुगेका थिए । भट्टराई र श्रेष्ठ २०७४ को निर्वाचनमा आमने/सामने भएर चुनाव लडेका थिए । ‘यो क्षेत्रमा हाम्रो प्रतिस्पर्धा छैन, बहुदलीय प्रतिस्पर्धाका प्रतिस्पर्धी कांग्रेस र माओवादी हौँ,’ श्रेष्ठले एक कार्यक्रममा भने, ‘तर पनि निर्वाचनमा उम्मेदवार भइसकेपछि त्यही ढंगले अघि बढ्नुपर्‍यो, सबैभन्दा बढी मतान्तरले विजयी घोषणाको सफलता हासिल गर्नुछ ।’ दाहाल उम्मेदवारी दर्तामा सँगै गृहजिल्ला आएका भट्टराई र श्रेष्ठ त्यसयताका चुनावी भेटघाट कार्यक्रममा पनि दाहालका साथ छाडेका छैनन् ।

स्थानीय तह निर्वाचनसम्म एक अर्कालाई कटाक्ष गर्ने श्रेष्ठ र भट्टराई दाहालको पक्षमा भने एक भएका छन् । पाँच वर्षअघिका दुई प्रतिस्पर्धीलाई मिलाएर उनीहरूकै निर्वाचन क्षेत्रमा चुनाव लड्न आइपुगेका दाहाल गठबन्धनभित्रको अर्को दल कांग्रेसलाई रिझाउन पनि लागिपरेका छन् । दुवै दलका कार्यकर्तामा देखिएका असन्तुष्टिलाई चिर्न पनि जिल्लाका गठबन्धन दलले संयुक्त प्रशिक्षण कार्यक्रम राखे, यस्ता प्रशिक्षण जिल्ला र वडास्तरसम्म भएका छन् । दाहालले एक प्रशिक्षणमा भनेका थिए, ‘यदि तपाईंलाई रूखमा भोट हाल्न या हँसिया हतौडामा भोट हाल्न हात कामेका छन् भने विस्तृत शान्ति सम्झौताको महत्त्व बुझ्नुभएको छैन, संविधानको महत्त्व बुझ्नुभएको छैन ।’ १२ बुँदे समझदारी र विस्तृत शान्तिसम्झौता गर्दा आफूले रूखमा भोट हालिसकेको भन्दै दाहालले कांग्रेस कार्यकर्तालाई ढाडस दिने गरेका छन् । दाहाल भन्छन्, ‘मैले रूखमा भोट त्यतिबेलै हालिदिएको हो, गिरिजाबाबुसँगै सम्झौतामा हस्ताक्षर गर्नु भनेको प्रचण्डले रूखमा र गिरिजाबाबुले हँसिया हतौडामा भोट हाल्नु हो,’ भन्न छुटाउँदैनन् ।

माओवादी र कांग्रेसबीचको मतदाता भेटघाटमा लालसलाम र जय नेपाल पनि रोचक बन्ने गरेको छ । माओवादीका नेताहरू लाल सलामपछि जय नेपाल भन्दै आफ्नो मन्तव्य टुंग्याउँछन्, कांग्रेस वक्ता जय नेपालसँगै लाल सलाम भन्न छुटाउँदैनन् । कार्यकर्ता भने एक अर्को दलले प्रयोग गर्ने लाल सलाम र जय नेपाल शब्द चाख मानेर सुन्छन् । गठबन्धन बनाएर निर्वाचमा होमिएका माओवादी कांग्रेस नेता दस वर्षे द्वन्द्वपीडितलाईसमेत एक अर्को दलले रिझाउने प्रयासमा छन् ।

कांग्रेसकै नेताहरू दाहाललाई गिरिजाप्रसाद कोइरालासँग तुलना गर्न पनि पछि परेका छैनन् । कांग्रेसको सच्चा मित्र माओवादी र माओवादीको सच्चा मित्र कांग्रेस रहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले दाहाललाई ढाडस दिए । उनले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसादसँग पनि दाहालको तुलना गरे । उनले गठबन्धन दलको एक प्रशिक्षणमा भने, ‘शान्तिसम्झौताको दायाँपट्टि हस्ताक्षर गर्ने हाम्रो पार्टीका सभापतिलाई शान्तिको नायकको उपाधि दिएका छौँ, त्यही सम्झौताको बायाँपट्टि हस्ताक्षर गर्ने दाहाल कसरी खलनायक हुन सक्छ ? यो कुरा मनन गर्न सक्नुपर्छ, बहकिएर मात्र अघि बढ्न सकिँदैन ।’ २०६४ मा डा. भट्टराईको रेकर्डलाई ‘ब्रेक’ गर्ने तवरले विजयी गराउन उनले आह्वान गरे ।

गोरखा–२ मा दाहालसहित १२ प्रतिनिधिसभा उम्मेदवार छन् । एमालेबाट उम्मेदवार बनेका २८ वर्षीय अब्दुस मियाँदेखि नेपाली कांग्रेस बीपीका ९९ वर्षीय टीकादत्त पोखरेलसम्म दाहालको विरुद्ध चुनावी मैदानमा छन् ।

प्रकाशित : कार्तिक २५, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?