कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एमालेका भट्टराईलाई गठबन्धन तगारो

डम्बरसिं राई

खोटाङ — जिल्लाका विभिन्न स्थानमा हुने गरेका चुनावीसभामा नेकपा एमालेका विशाल भट्टराईले आफूले जित्ने दाबी गर्दै आएका छन् । ‘जिल्लाको विकासमा उल्लेख्य योगदान गरेको छु,’ बुधबार केपिलासगढीमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘त्यसैको आधारमा जनताले पत्याउने देखियो ।’ तर जिल्लाको सिनारियो हेर्दा त्यति सहज स्थिति भने देखिँदैन ।

एमालेका भट्टराईलाई गठबन्धन तगारो

सुरुमा भन्दा पछिल्लो अवधिमा वाम–लोकतान्त्रिक गठबन्धन कसिलो बन्दै गएकाले उक्त घेराबन्दी दोड्न भट्टराईलाई सहज छैन । गठबन्धनको तर्फबाट माओवादी नेता रामकुमार राई २०६४ मा खोटाङ १ बाट संविधासभा सदस्य र २०७४ मा प्रदेशसभा सदस्य खोटाङ २ बाट चुनाव जित्नुका साथै प्रदेश १ खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री पनि भएको र उनको प्रभाव राम्रो भएकाले भट्टराईका लागि सहज नभएको हो । भट्टराई भने पाँचौँपल्ट चुनाव लड्दै छन् । २०५६ र २०६४ मा हार खेपेका उनी २०७० र २०७४ मा विजयी भएका थिए ।

भट्टराईको आफ्नै गृहपालिका खोटेहाङलगायत विभिन्न स्थानीय तहहरूमा वाम–लोकतान्त्रिक गठबन्धन कसिलो देखिएको छ । उक्त पालिकामा बलियो गठबन्धन भएकाले भट्टराईको कुनै सीप नचल्ने कांग्रेसका खोटेहाङ गाउँपालिका सचिव लोकराज ढकालले बताए । ‘भट्टराईको तुलनामा गठबन्धन धेरै माथि छ ।’ ढकालले भन, ‘उहाँको मत उहाँले सोचेजस्तो आउँदैन ।’

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतको आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार पाँच सय १३ मत छ । एमालेको भने २८ हजार ७ सय ९७, कांग्रेसको २६ हजार ६ सय ३३ मतमात्र खसेको छ । यसलाई आधार मानेर हेर्दा भट्टलाईलाई १८ हजार ७ सय १६ कम छ । तर, प्रदेशसभा सदस्य खोटाङ– १ मा कांग्रेसले बागी उम्मेदवारी दिएपछि त्यसको फाइदा उठाउने दाउमा छन् भट्टराई । यद्यपि प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनको एकल उम्मेदवार भएकाले जीत सुनिश्चित हुने कांग्रेस नेता तथा पूर्वपर्यटन राज्यमन्त्री सर्वधन राईले बताए ।

खोटाङ– १ मा भने वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राईविरुद्ध कांग्रेसले महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई उम्मेदवार बनाएको छ । तर, पोखरेलले उम्मेदवारी दिए पनि गठबन्धनकै जित हुने कांग्रेस महाधिवेशन प्रतिनिधि तथा कांग्रेस पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठको भनाइ छ । कांग्रेस सभापति विष्णुकुमार राईलगायत केही व्यक्ति बागीको पक्षमा लागे पनि मिलाउने कोसिस भइरहेको श्रेष्ठ बताउँछन् । सभापति राईले भने कांग्रेसको जनमतलाई सुरक्षित गर्न उम्मेदवारी उठाएको बताउँदै आएका छन् । ‘खोटाङ– १ मा कांग्रेसको जनमत पहिलो भए पनि केन्द्रले नेकपा एकीकृत समाजवादीको भागबन्डामा पारेकाले जनमत सुरक्षित गर्न उम्मेदवारी उठाएका हौं,’ राईले भने ।

खोटाङ– १ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको भोटको आधारमा हेर्दा कांग्रेस १६ हजार ९ सय ३४, माओवादीको ८ हजार ४ सय २४ र नेकपा एकीकृत समाजवादीको १ हजार १ सय २६ गरी गठबन्धनको २६ हजार ४ सय ८४ मत छ । एमालेको १३ हजार २ सय ५९ मात्र छ । एमालेले पाँचकर्ण राईलाई उम्मेदवार बनाएको छ । गठबन्धनको बागीले बढीमा पाँच हजार मत मात्र ल्याउने भएकाले गठबन्धनको जीत सुनिश्चित हुने कांग्रेस नेताहरूको भनाइ छ ।

खोटाङ २ मा गठबन्धनको तर्फबाट कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राई एक्लो उम्मेदवार हुन् । उनलाई एमालेको तर्फबाट उम्मेदवारी दिएका रामप्रसाद दङ्गालले उछिन्न मुस्किल परेको छ । स्थानीय तहको चुनावमा वडाध्यक्षहरूको मतको आधारमा गठबन्धन नै अगाडि छ । स्थानीय तहको निर्वाचनमा माओवादीको १० हजार ३ सय १२, कांग्रेसको ९ हजार ६ सय ९९ र नेकपा एकीकृत समाजवादीको १ हजार १८ गरी २६ हजार २१ हजार २९ मत गठबन्धनको छ । एमालेको भने १५ हजार पाँच सय ३७ मत मात्र छ । दङ्गाल पनि कांग्रेसभित्रको कलहको फाइदा उठाउने दाउमा छन् ।

प्रकाशित : कार्तिक २४, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×