कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अमूल्य सुनाखरी अध्ययन भएन, तस्करी रोकिएन

नेपालमा दुर्लभ सुनाखरी परिवारका करिब १ सय जाति र ५ सय प्रजाति
विभिन्न जडीबुटीजन्य वनस्पतिका नाममा सुनाखरीको अवैध कारोबार भइरहँदा सरकारले संरक्षणकालागि कार्ययोजना अघि सार्न ढिला गरिरहेको छ
गोविन्द पोखरेल

काठमाडौँ — गत साता काठमाडौंमा आयोजित एक कार्यक्रममा संरक्षणकर्मीहरू सुनाखरी (अर्किड) प्रजातिबारे चिन्तित देखिन्थे । वनस्पति जगतमा सुनाखरी फूल फुल्नेमा पर्छ । अवैध संकलन तथा व्यापारले यो प्रजातिको वनस्पतिको अस्तित्व नै जोखिममा परेको उनीहरूको भनाइ थियो ।

अमूल्य सुनाखरी अध्ययन भएन, तस्करी रोकिएन

ग्रिनहुड नेपालले सुनाखरीसँग सम्बन्धित सरोकारवालाहरूको उपस्थितिमा तीन वर्षमा गरिएका अनुसन्धानबारे दिएको प्रस्तुतिमा विभिन्न वनस्पतिको नाममा अवैध रूपमा सुनाखरीको निर्यात भइरहेको उल्लेख छ ।

अनुसन्धानकर्ता कुमार पौडेलले विभिन्न प्रजातिको नाममा सुनाखरीको निर्यात भइरहेको बताए । पौडेलसहित वनस्पतिविद् कमल मादेन, अनुसन्धानकर्ता रेशु बस्याललगायतले चितवन–अन्नपूर्ण भूपरिधि (ताल) क्षेत्रमा पर्ने कास्की, मकवानपुर र गोरखा जिल्लाका विभिन्न ५ वटा समुदायमा गरिएको अध्ययनले जंगलबाट जथाभावी सुनाखरी संकलन गर्दा लोप हुने अवस्थामा पुगेको देखाएको हो ।

***

वनस्पति जगतको सुनाखरी परिवारमा ७ सय ७ जाति छन् । ती जातिअन्तर्गत २८ हजार प्रजाति छन् । नेपालमा यो परिवारका करिब सय जाति र ५ सय प्रजातिहरू रहेको वनस्पतिविद् कमल मादेनले बताए । नेपालमा भेटिएका सुनाखरीमध्ये ४० वटा जमिनमा उम्रने जातिका छन् ।

सजावटदेखि औषधीय प्रयोगमा हुने सुनाखरी हिमाली क्षेत्रदेखि तराईसम्म फैलिएको छ । यिनीहरू रुखमा (इपिफाइटिक), ढुंगामा वा पाखा पहरामा (लिथोफाइटिक) र जमिन (टेरिस्टेरियल) मा हुने पाइन्छन् । अधिकांश प्रजातिहरू औषधिजन्य उपयोगमा हुने गरेका छन् ।

नेपालमा जडिबुटी व्यापारीहरूले 'नक्कली जीवन्ती' प्रजाति भन्ने गरेको सुनाखरीको फूल । यो १२ देखि ३ हजार मिटरसम्मको उचाइमा पाइन्छ । यो प्रजातिको पनि अवैध व्यापार भइरहेको छ ।

नेपालमा सूचीकृत सुनाखरीमध्ये एक तिहाइ प्रजाति औषधिजन्य प्रयोगमा रहेको मादेनले बताए । पाँचऔंले, शक्ति गुम्बा, गामडोल, जिवन्ती प्रजातिको बढी मात्रामा अवैध संकलन तथा व्यापार हुने सुनाखरीमा पर्ने ग्रिनहुडको अनुसन्धानले देखाएको छ ।

संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ मा नेपालमा पाइने सुनाखरीमध्ये २ वटा अनुसूची १ मा र ४ सय ६६ वटा अनुसूची २ मा संरक्षित वनस्पति उल्लेख छ । नेपाल संकटापन्न वन्यजन्तु तथा वनस्पति प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि (साइटिस) को पक्ष राष्ट्र हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७१ मा निकालेको अनुसन्धानात्मक प्रकाशनमा नेपालमा ४ सय ६८ वटा प्रजातिका सुनाखरीलाई साइटिसमा सूचीकृत गरिएको उल्लेख छ ।

सुनाखरीका विज्ञ डा. भक्तबहादुर रास्कोटीका अनुसार साइटिसको अनुसूचीमा सूचीकृत भएका वनस्पतिका सबैभन्दा धेरै जाति सुनाखरीको हो । विस्तृत अध्ययन नै हुन बाँकी भएकाले नेपालमा यो प्रजातिको संख्या ठ्याक्कै यति नै हो भनेर किटान गर्ने आधार कमजोर रहेको उनले बताए ।

सुनाखरीको गामाडोल प्रजाति । गामाडोलको जरामा हुने आलुजस्तो देखिने गानोको अवैध व्यापारमा प्रयोग हुने गरेको छ ।

अनुसूची १ मा लोप हुने स्थितिमा पुगेका प्रजातिहरू समावेश गरिएको छ । पूर्णरूपमा संरक्षण गर्नुपर्ने भएकाले यी प्रजातिहरू व्यापारका कारणले अझै खतरामा पर्ने भएकाले व्यापार वा ओसारपसारलाई नियन्त्रण गरेको छ । अनुसूची २ मा लोप हुने स्थितिमा पुगी नसकेको तर तिनको व्यापारलाई समयमा नै नियन्त्रण नगर्दा भविष्यमा लोप हुन सक्ने अवस्थाका प्रजातिहरूलाई अनुसूची–२ मा समावेश गरिएको छ । यस अनुसूचीमा सूचीकृत प्रजातिहरूको निकासी गर्न सम्बन्धित राष्ट्रको व्यवस्थापन निकायबाट निकासी इजाजत लिन आवश्यक हुने उल्लेख छ ।

‘अनुसूची १ मा भएको प्रजाति हो भने दुवै मुलुकबाट आयात र निर्यातको अनुमति चाहिन्छ । अनुसूची २ मा भएको प्रजाति छ भने त्यो सम्बन्धित निर्यात गर्ने अनुमति दिएको हुन्छ,’ अनुसन्धानकर्मी पौडेलले भने, ‘ आफैं उत्पादन गरेर बेच्ने अनुमति प्राप्त छ भने बाहिरबाट ल्याउन पाइन्छ ।’

थाइल्यान्डमा जंगली अवस्थाबाट भन्दा पनि आफैं उत्पादन गरेर सजावटको रूपमा नेपालमा ल्याउने गरिएको छ । भारत पनि नेपालजस्तै साइटिसको पक्ष राष्ट्र भएकाले नेपालको जस्तो स्थानीय साइटिस कानुन निर्माण गरेको छ । ती मुलुकहरूमा यस्ता प्रजातिको निजी उत्पादन गर्न विभिन्न अवस्थामा दिने कानुन छन् । नेपालको सन्दर्भमा साइटिसमा सूचीकृत वनस्पतिको अनुमति लिएर अध्ययन गर्न मात्रै पाइन्छ । पौडेलले भने, ‘प्रजातिको व्यवस्थापन कार्ययोजना नभएकाले यसको बिक्रीवितरण गर्न पाइँदैन ।’

सुनाखरी प्रजातिको भाले प्रजनन अंग पुंकेशर अन्य वनस्पतिको जस्तो अलग्गै हुँदैन । यस्तै, बिउ अंकुरणका लागि आवश्यक पर्ने पोषकतत्त्व नहुँदा ढुसीको सहायतामा थोरै मात्रै उम्रन्छन् । त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक मुक्तिराम पौडेल भन्छन्, ‘सुनाखरीको सवालमा बिउ अंकुरण हुनका लागि बिउभित्र ढुसी पुग्नुपर्छ । त्यो ढुसी पनि निश्चित प्रकारको प्रजातिलाई हुने खालेको ढुसी हुन्छ । सूक्ष्म ढुसी प्रवेश गरेपछि पोषकतत्त्व पाउँछ अनि मात्रै अंकुरण हुन्छ ।’ प्राकृतिक अवस्थामा यी जातिहरू हुर्कन पनि समय लाग्ने उनले बताए ।

सुनाखरीको डेन्ड्रोबियम प्रजातिको फूल ।

अनुसन्धानकर्ता रेसु बस्याल नेपालको क्षेत्रफलको हिसाबले अर्किडहरूको विविधता धेरै नै रहेको बताउँछिन् । ‘सुनाखरीको परिवारभित्र धेरैजसो प्रजातिहरू भएकाले पनि महत्त्वपूर्ण छ । साइटिसमा सूचीकृत वनस्पतिमध्ये ७० प्रतिशत सुनाखरी छ,’ उनले भनिन् ।

उनले गरेको अनुसन्धानमा सुनाखरीको अवैध व्यापारको अवस्था गम्भीर छ । ९० भन्दा बढी जडीबुटी व्यवसायी तथा स्थानीयसँग छलफल गर्दा अवैध तरिकाले संकलन र व्यापार भइरहेको पाएको उनले बताइन् । ‘कहिले पाउडरका रूपमा, त कहिले अन्य कुनै वनस्पतिको नाममा निर्यात गर्ने गरेको पाइयो,’ उनले भनिन् ।

अध्ययनकै क्रममा १ सय ५० वटा प्रजातिमा औषधीय गुण रहेको पाइएको छ । पाँचऔंले, गामडोल र डेन्ड्रोडियम धेरै नै मात्रामा संकलन भइरहेको उनले बताइन् । ‘जंगलबाट एउटै व्यक्तिले ४० केजीसम्म सुनाखरी संकलन हुने गरेको पायौं,’ बस्यालले कान्तिपुरसित भनिन्, ‘संकलन गरेर ल्याइएको पाँचऔंले उमालेपछि सुकाएर बिक्री हुने गरेको छ । घरायसी प्रयोगका लागि पाँचऔंलेलाई उमालिँदैन रैछ ।’

सुनाखरी प्रजातिभित्र पर्ने जडिबुटी पाँचऔंले । नेपालमा साइटिस कानुन लागू भएपछि यसको व्यापारमा पूर्ण प्रतिबन्ध छ । प्रजाति व्यवस्थापन कार्ययोजना निर्माण गरेपछि मात्रै यसको संकलन तथा व्यापारका लागि सरकारले अनुमति दिन सक्छ । तर हालसम्म सुनाखरीका कुनै पनि प्रजातिको व्यवस्थापन कार्ययोजना निर्माण भएको छैन ।

गामडोल (सेटाइरियम) को अवस्था पनि पाचऔंले जस्तै रहेको उनले सुनाइन् । बस्यालका अनुसार यो सुनाखरी प्रजातिको संकलन अध्ययन क्षेत्रका तीनवटै जिल्लामा भइरहेको छ । डेन्ड्रोडियम प्रजातिलाई संकलन गरेर विभिन्न आकारमा बनाएर पठाउने गरिन्छ भने फोलिडाटा प्रजाति जंगलबाट एक पटकमा ६० केजीसम्म संकलन हुने गरेको छ । ‘यो प्रजातिचाहिँ आधा सुकाएको अवस्थामा नै व्यापार हुने गरेको छ,’ उनले भनिन् ।

छैन संरक्षण कार्ययोजना

साइटिस ऐन कार्यान्वयनमा आएपछि यो जातिको कुनै पनि प्रजाति नेपालमा बिक्री वितरणमा पूर्ण बन्देज लगाइएको छ । साइटिसको अनुसूची २ मा रहेको वनस्पतिको व्यापार प्रजातिको व्यवस्थापन कार्ययोजना बनाएर मात्रै गर्न पाइने भनिएको छ । नेपालले हालसम्म सुनाखरीका कुनै पनि प्रजातिका लागि कार्ययोजना बनाएको छैन । जंगलबाट संकलन गर्ने कार्य पनि गैरकानुनी देखिएको छ ।

साइटिस ऐन कार्यान्वयनमा आउनुअघि नेपालबाट सुनाखरीको निर्यात हुने गरेको थियो । सन् १९७७ देखि २०१६ सम्म ३८ प्रजातिका सुनाखरी निर्यात हुने गरेको ग्रिनहुड नेपालले जनाएको छ । उक्त अवधिमा ‘डेन्ड्रोबियम’ प्रजाति बढी निर्यात हुने गरेको उल्लेख छ ।

शक्ति गुम्बा(बायाँ) जस्तै देखिने पानी अमला(दायाँ) । पानी अमलाको नाममा नेपालबाट शक्ति गुम्बाको अवैध निर्यात भइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

बस्यालले नै संकलन गरेको तथ्यांकअनुसार सन् २००८ देखि २०१६ सम्म नेपालबाट ४९ हजार ७८९ केजी सुनाखरी निर्यात भएको उल्लेख छ । निर्यात भएका ९६ प्रतिशत जंगलबाट संकलन गरेर ल्याइएका थिए । यस्तै, २०१० देखि २०२० सम्म सरकारी निकायमा २८ हजार ३ सय १५ केजीसहित ७ जना मानिसहरू पक्राउ परेको तथ्यांक रहेको उनले जानकारी दिइन् । ‘अवैधानिक व्यापारको विषयमा छानबिन गर्न विभिन्न ठाउँमा गइयो, आधिकारिक तथ्यांक पाइँदैन,’ उनले भनिन्, ‘विभिन्न बहानामा यसको निकासी भइरहेको छ ।’

सुनाखरी विज्ञ एवं वनस्पतिशास्त्र केन्द्रीय विभागकी प्राध्यापक विजया पन्तले माहुरी लगायतका किराहरू सुनाखरीका फूलमा झुम्मिने र परागसेचन प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछिन् । उनले अर्किडको बिउहरूमध्ये करिब १ प्रतिशत मात्रै अंकुरण हुने भएकाले पनि संरक्षणमा चुनौती रहेको उनको भनाइ छ । ‘पारस्थितिकीय प्रणालीको जर्गेनाका लागि किरा, माहुरी प्रजाति, कमिला सबैलाई यसले खानाको उपलब्धता गराइदिन्छ,’ उनले भनिन् ।

अनुसन्धानका क्रममा जडीबुटी व्यवसायीले पानी अमलाको नाममा सुनाखरीको अर्को प्रजाति शक्ति गुम्बाको अवैध निर्यात गरिरहेको देखाएको छ । हेर्दा उस्तैउस्तै देखिने भएकाले कर्मचारीसँगको मिलोमतोमा यसको निर्यात भइरहेको उनले बताइन् । कुनै प्रजातिहरू पाउडरका रूपमा, सुकाएर, प्याकेजिङ गरेर अरू वस्तुको नाममा, चियाका रूपमा निर्यात हुने गरेको पनि ग्रिनहुडको अनुसन्धानमा देखिएको हो ।

सुनाखरीको डेन्ड्रोबियम जातिअन्तर्गतको एक प्रजातिको फूल । यसको कान्ड अवैध रूपमा संकलन हुने गर्छ ।

आलुजस्ता देखिने डाँठजस्तो देखिने सुनाखरीका केही प्रजातिलाई तरकारी जसरी नै राखेर पनि निर्यात हुने गरेको अनुसन्धानले देखाएको छ । ‘हाम्रो अर्को महत्त्वपूर्ण उपलब्धि भनेको वनस्पति र वन्यजन्तुको अवैध व्यापारमा प्रयोग हुने रुट एउटै भएको पायौं,’ उनले भनिन्, ‘माध्यम फरक भए पनि रुट एउटै भएको पाइयो ।’ पछिल्लो समयमा डिजिटल प्लेटफर्म र तल्लो तहमा पनि यो जातिको अवैध व्यापार सम्बन्धमा नियम निकायले निगरानी बढाउनुपर्ने उनको सुझाव छ । गामडोल (सेटाइरियम) भन्ने प्रजाति पनि धेरै मात्रामा व्यवसाय भइरहेको छ ।

सुनाखरी धेरैजसो औषधि बनाउन काम लाग्छ । कतिपय खानेकुराको स्वाद दिनका लागि पनि यसको प्रयोग हुने गर्छ । केही जातिहरू सजावटका रूपमा पनि प्रयोग हुने गर्छन् । व्यवसायीहरूले धेरैजसो कसरत गरेर स्थानीयसँगको समन्वयमा संकलन गर्न पाउने, सजावटमा प्रयोग र आम्दानी पनि धेरै हुने भएकाले यसको अवैध संकलन हुने गर्छ । सुनाखरीको फूल, पात, जरा, काण्डलगायत विभिन्न भागहरू व्यापारमा प्रयोग हुँदै आएको छ ।

ग्रिनहुडका अनुसन्धानकर्ता कुमार पौडेल अवैध व्यापार नियन्त्रणका लागि साइटिसको व्यापार नियन्त्रण गर्ने ऐन बनाइए पनि सुनाखरीजस्तो संकटापन्न वनस्पतिको संरक्षणका लागि तल्लो तहमा समन्वय अभाव भएको बताउँछन् । सामुदायिक वनका कार्ययोजनाहरूमा पनि संकटापन्न वनस्पतिहरूको संरक्षणका सवालमा उल्लेख नभएको उनको दाबी छ ।

शक्ति गुम्बाको फूल । यसको गानो अवैध रूपमा निकासी भइरहेको छ ।

वनस्पति विभागका उपमहानिर्देशक रमेश बस्नेतले सुनाखरीको पहिचान गर्ने सवालमा ट्याक्सोनोमीको अध्ययनमा जोड दिनुपर्ने बताउँछन् । जटामसी, कुट्की, कालादाना, पाँचऔंले जस्ता वनस्पति हिमाली क्षेत्रबाट निकासी भइरहेको स्विकार्दै उनले पछिल्लो समय काला दाना र सेतो भदौरे भन्ने जडीबुटीको अवैध निकासी भइरहेको जनाए ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक देवेशमणि त्रिपाठी यसबारे अनभिज्ञता प्रकट गर्छन् । ‘व्यवसायीहरूले फरक वनस्पतिको नाममा सुनाखरी निकासी गरिरहेका छन् भन्ने सूचना हामीलाई छैन, यस्तो हो भने सरकारले निगरानी बढाउँछ,’ उनले भने ।

तेह्रथुमको तीनजुरेमा खिचिएको शक्ति गुम्बा जातिको एक अर्को प्रजाति ।

विज्ञहरूले वनस्पतिको पहिचान गर्नका लागि त्यसको आनुवांशिक (मोलुकुलर) अध्ययन गर्नुपर्नेमा पनि जोड दिएका छन् । उपप्राध्यापक पौडेलले वनस्पतिको सम्पूर्ण आनुवांशिक अध्ययन नगरेसम्म अवैध रूपमा धूलोमा परिणत गरेर वा प्याक गरेर निर्यात हुने बताए । उनले हरेक वनस्पतिको बार कोडिङ गर्दा नियमक निकायले निर्यातको सिफारिस गर्दा पनि त्रुटि नदेखिने बताए ।

शक्ति गुम्बाजस्तै देखिने पानी अमला ।

वनस्पति विभागका उपमहानिर्देशक बस्नेतले बार कोडिङ गर्न सकिनेमा जोड दिएका छन् । बाहिरी आवरण हेरेर वनस्पतिको पहिचान गर्ने पद्धतिभन्दा त्यसको आनुवांशिक अध्ययन बढी प्रभावकारिता हुने विज्ञहरूको भनाइ छ ।

अनुसन्धानकर्ता डा. रास्कोटी पनि सुनाखरीको आनुवांशिक अध्ययनमा जोड दिन्छन् । ‘सुनाखरीको बीउले अंकुरण गर्नका लागि विशेष प्रकारको ढुसीबाट पोषक तत्त्व लिन्छ । तापक्रम वृद्धि हुँदा ढुसीलाई प्रत्यक्ष प्रभाव हुँदा बीउको अंकुरणमा समस्या हुन्छ,’ उनले भने ।

तस्बिरहरू सौजन्य : ग्रिनहुड नेपाल र कमल मादेन(तेस्रो,चौथो र पाँचौं बाहेक) ।

प्रकाशित : पुस १४, २०७९ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?