२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पुनर्जीवन पर्खंदै पुस्तकालय

शैक्षिक जागरणलाई सघाउन दसकौंअघिदेखि पुस्तकालय सञ्चालनको अभ्यास गरेको म्याग्दीमा हिजोआज पढ्नै भनेर पस्नेहरु नगण्य
घनश्याम खड्का

म्याग्दी — गुजमुज्ज घरहरूले घेरिएको बस्ती । बस्तीका बीचैबीच ‘एल’ आकारको एउटा पुरानो घर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमको यो घर ‘अन्नपूर्ण पुस्तकालय’ हो । २०२४ मा स्थानीय हरिलाल सुवेदीले आमा भद्रकलाको नाममा धनधान्यञ्चल ज्ञान महायज्ञ आयोजना गरी संकलित नगद र धान बिक्रीबाट प्राप्त रकमले पुस्तक खरिद ल्याएर पुस्तकालय स्थापना गरिएको हो ।

पुनर्जीवन पर्खंदै पुस्तकालय

काठमाडौं बसेर कलेज पढ्दा पुस्तकालयको महत्त्व थाहा पाएका हरिलालको छोरा होमनाथसमेत खुमनाथ र कलानिधि सुवेदीले गाउँमा पनि पुस्तकालय खोल्न हुटहुटी जगाएका थिए ।

‘हामीले काठमाडौं पढ्थ्यौं, त्यहाँ थुप्रै पुस्तकालय थिए । कलेज पढ्दा गाउँमा पनि पुस्तकालय खोल्ने योजना बनायौं तर हामीसँग पैसा थिएन त्यसैले महायज्ञको योजना बनाइयो । कान्छा बा (होमनाथका बुबा) पढालेखा नै हुनुहुन्थ्यो । पुस्तकालय खोल्न उहाँले ठूलो सहयोग गर्नुभयो,’ पुस्तकालय स्थापनाताकाको समय खुमनाथ सुवेदीले यसरी स्मरण गरे, ‘महायज्ञबाट उठेको नगद पण्डितलाई र अन्न हामीले लियौं । त्यही अन्न बेचेर आएको पैसाले काठमाडौंबाट ५ हजारभन्दा बढी किताब किनेर ल्यायौं । त्यो बेला किताबका भारी गाउँ पुर्‍याउन सजिलो थिएन । पोखरासम्म गाडीमा र त्यसपछि खच्चड तथा भरियालाई बोकाएर गाउँ पुर्‍याएका हौं ।’

पुस्तकालयका लागि भवन बनाउन स्थानीयले श्रमदान गरेका थिए । ताकम धेरथोर शिक्षितको समाज थियो । धार्मिक जमात बहुल थियो । त्यसैले सुरुवातमा पुस्तकालयका अधिकांश पुस्तक धार्मिक विषयमा ल्याइएका थिए । त्यसपछि हिन्दी–नेपाली उपन्यास, इतिहास, शब्दकोष, कानुनका किताब ल्याइए । केही मार्क्सवादी धारका किताब पनि पुरस्तकालयमा आइपुगे । ‘गाउँको बीचमा ऐलानी पाखो थियो । त्यही पाखोमा कामदारलाई नगद, अन्न ज्याला दिनुका साथै गाउँलेसँग झारा (श्रमदान) समेत जुटाई भवन बनाइएको थियो । नजिकको जंगलबाट काठ ल्याएर दराज, र्‍याक बनाई काठमाडौंकै हाराहारीको व्यवस्थापनमा पुस्तकालय खोल्यौं,’ अर्का अभियन्ता कलानिधि सुवेदीले सम्झे, ‘अरु किताब समसामयिक थिए, मार्क्सवादी दर्शनका किताब हामीमध्ये कसैले किनेका थियौं वा कसैले दिएका थिए भन्ने अहिले हेक्का भएन ।’

दुर्गमको ताकम गाउँ भए पनि बाइसेचौबिसे राज्यकालमा थापा र मल्ल राज्यको राजधानी थियो । पश्चिम म्याग्दीको माथिल्लो क्षेत्रको अन्य भण्डारसमेत रहेको ताकमका थापा र पण्डितको जिल्लाका प्रशासकसँग राम्रो हिमचिम थियो । त्यसैले पुस्तकालय २०२५ मा तत्कालीन म्याग्दी जिल्ला प्रशासनमा सजिलै दर्ता भएको थियो ।

म्याग्दीको धवलागिरि–७ ताकमको विसं. २०२४ सालमा खुलेको अन्नपूर्ण पुस्तकालय भवन । व्यवस्थापन दरिलो नहुँदा बन्द भएको पुस्तकालयलाई पुनर्जीवन दिने योजना कसैले बनाएन । तस्बिर : कान्तिपुर

५५ वर्ष जेठो अन्नपूर्ण पुस्तकालयमा तिनताक शिक्षक, विद्यार्थी, पढ्न रुचि हुने एकाध गाउँले पस्थे । शिक्षामा पहुँच हुनेको संख्या निकै कम थियो, विद्यालय पनि धेरै थिएनन् । त्यस क्षेत्रभरिका धेरथोर पढलेखा युवाले आलोपालो गरी पुस्तक लैजान्थे र पढेर फिर्ता गर्थे । पुस्तकालय गाउँलेका लागि गहनाजस्तै थियो । पढ्न रुचि हुने पस्थे, पढ्न नजान्ने बाहिरैबाट हेरेर सामाजिक परिवर्तन ल्याउने आयामका रूपमा व्याख्या गर्थे । उद्देश्यअनुरूप पुस्तकालय चलेको थियो ।

यही पुस्तकालयमा दुई दशकयता कोही पाठक छिरेका छैनन् । पुरानो र जीर्ण पुस्तकालयको एउटा कुनोमा पुराना पुस्तक थुप्रो लागेको छ । धेरै किताब किराले खाएका छन्, सग्ला देखिनेमा पनि ढुसी लागेको छ । मुसाले गुड बनाएका छन् । भवन चुहिने र भत्कने अवस्थामा छ । ‘इमानदारीपूर्वक पढेर ज्ञानको दायरा फराकिलो बनाउने लय हरायो । पुस्तकालयका किताब घर लगेर फिर्ता नगर्ने र घरमा आएका पाहुनालाई आफू धेरै किताब पढ्छु भन्ने देखाउन घरमा थुप्रो लगाउने होडले पुस्तकालयको साख घट्दै गयो,’ खुमनाथ सुवेदीले भने, ‘पुस्तकालय केवल पुस्तकको मात्र संग्रह होइन भन्ने हाम्रा पुर्खाको चेतनाको स्तर पुस्तान्तरण गर्न सकेनौं । हाम्रो पुस्तालेसम्म केही दशक पुस्तकालय नियमित गर्ने प्रयास गर्‍यौं । तर, नयाँ पुस्ता पुस्तकसँगै टाढा भयो ।’

जीर्ण भवन बर्सेनि सिंगारपटार गरिने आरसीसी ढलानयुक्त पञ्चांग देवता मन्दिरले छोपिएको छ । अब केही युवा अन्नपूर्ण पुस्तकालयलाई स्थानीय ताकम माध्यमिक विद्यालयमा गाभ्ने र व्यवस्थित गर्ने पक्षमा छन । केही भने सामुदायिक भवनमा सारेर व्यवस्थित गर्ने पक्षमा छन् । ‘थुप्रै पुस्तक चोरी भए । बचेका जम्मा गरेर नजिकैको सामुदायिक भवनमा राख्ने र नयाँ किताबहरू ल्याएर पुस्तकालयलाई जीवन्त बनाउने प्रयासमा छौं,’ स्थानीय पुष्कर भण्डारीले भने, ‘युग फेरियो । तर, पुस्तकको महत्त्व घटेको छैन । थोरै अभियान चलाउने हो भने डिजिटल सुविधासहितको पुस्तकालय बनाउन सकिन्छ कि भन्नेमा हामी छलफलमा छौं ।’

दर्ताको हिसाबले म्याग्दी जिल्लाकै पुरानो पुस्तकालय हो, बेनी नगरपालिका–६ अथुङ्गेस्थित ज्ञान मन्दिर पुस्तकालय । विस. २०२० मा प्रशासन कार्यालयमा दर्ता भएको उक्त पुस्तकालयको अहिले भवनको अवशेष मात्रै छ । स्थानीय हरिदत्त ढुंगाना २०२० भन्दा अघि नै सर्वोच्च अदालतका न्यायाधीश भएका थिए । यहाँका मानिस सरकारी जागिर, शिक्षण पेसामा पनि उत्तिकै लागेका थिए । जिल्लामा तुलनात्मक रूपमा अथुङ्गे बढी शिक्षित थियो । त्यसैले खोलिएको ज्ञान मन्दिर पुस्तकालयको संस्थापक अध्यक्ष नरबहादुर बानियाँ थिए ।

ज्ञान मन्दिरका संस्थापकमध्येका ध्रुवलाल शर्माका अनुसार धेरैजसो धार्मिक र कानुनका किताब संग्रह गरेर शिवमन्दिरमा पुस्तकालय स्थापना भएको थियो । पछि नेपाली, हिन्दी साहित्य, इतिहास र अन्य राजनीतिक विचार जोडिएका पुस्तक थपिदै गयो । ज्ञानमन्दिर प्रारम्भिक विद्यालयको एउटा कोठामा किताबहरू सारेर पुस्तकालय विधिवत् सञ्चालन थालिएको थियो । ज्ञानमन्दिर प्रावि रहेको क्षेत्रमा २०६२ मा नेपाली सेनाले ब्यारेक बनायो । विद्यालय अन्यत्र सारिएसँगै पुस्तकालयको अस्तित्व पनि हरायो । पुस्तकालय नासिए पनि ब्यारेकभित्र पुस्तकालय रहेका केही कोठा अझै छन् ।

बेनीको म्याग्दी पुस्तकालय, जहाँ आवश्यक पूर्वाधार छन् तर पाठक भने निकै कम पुग्छन् ।

‘पुस्तकालयको संस्थापकमध्ये म पनि एक हुँ । चार कार्यकाल अध्यक्ष भएँ । २०४० सालदेखि ४/५ वर्षसम्म युवा जमात र पढ्न रुचि राख्नेहरू पुस्तकालय जाने, पुस्तक लगेर पढ्ने चलन थियो । रोजगारीको सिलसिलामा हामी पनि यताउति लागियो । ढुंगामाटोको भित्ता, र्‍याक अव्यवस्थित भएकाले किताबहरू किराले खायो, धमिराले खायो । व्यवस्थापन कमजोर भएपछि पुस्तकालय बन्द भएको हो,’ म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुवलाल शर्माले भने, ‘पुस्तकालयको महत्त्व घटेको होइन, स्वरूप र पठनशैली फेरिएको हो । पुरानो पुस्तकालयलाई जीवन्त राख्न सकिएन ।’ पुस्तकालय गएर बसेर पढ्ने चलन फेरिएको उनले बताए । ‘आयस्ता बढेसँगै पढलेखा मान्छे आडम्बरी बन्न थाले, पुस्तक आफैंले संग्रह गर्ने र पढन्ता देखाउने स्वभावले सार्वजनिक पुस्तकालय जोगाउने मान्छेको अभाव भयो,’ उनी भन्छन् ।

बेनी–५ भीरमुनिमा ‘कलिलो पुस्तकालय’ थियो । त्यो पनि अहिले अस्तित्वमा छैन । २०२५ मा स्थानीय युवाको सक्रियतामा गाउँको पीपल चौतारीछेउ घर बनाएर पुस्तकालय स्थापना गरिएको थियो । गाउँलेले हिउँदमा चौतारीमा पारिलो घाम ताप्दै र गर्मी महिनामा पीपलबोटमुनि बसेर पुस्तक पढ्थे । पुस्तकालय अहिले नासियो, तर स्थानीयले पीपल र चौतारीलाई ‘पुस्तकालय चौतारी’ भनेर चिन्छन् ।

म्याग्दी सदरमुकाम बेनीस्थित म्याग्दी पुस्तकालयमा पढ्दै पाठक । विसं. २०१२ मा खुलेको यो पुस्तकालय सशस्त्र द्वन्द्वको चपेटमा पर्दा २०६० चैतमा ध्वस्त भएको थियो । पछि पुनर्निर्माणसँगै नयाँ स्वरूप पाएको हो ।

‘समयअघि गरेको कामले प्रतिफल दिँदैन भन्छन्, ‘हाम्रो प्रयास पनि त्यस्तै भयो । सार्वजनिक सम्पत्ति संरक्षण भएन, समाजका अगुवाले पनि पुस्तकालयको महत्त्व बुझेनन् । पुस्तक नपढ्ने तर समाएर डुल्ने संस्कृति हाबी भयो,’ कलिलो पुस्तकालयका पाठकमध्येका मदन पुरस्कार विजेता साहित्यकर्मी चन्द्रप्रकाश बानियाँले भने, ‘हाम्रो आनीबानी फेरियो । हात–हातमा पुगेको प्रविधिले पाठकका चाहना फेरिए । पुस्तकालयलाई युग सुहाउँदो बनाउन सकिएन, त्यसैले नासियो ।’ फेरिएको समयसँगै पुरस्तकालयको विकास अघि नबढ्दा यस्तो भएको उनको ठहर छ ।

२०२७–२८ सालमा मुक्तिमार्ग माध्यमिक विद्यालयसँगै जोडेर मुक्तिमार्ग पुस्तकालय स्थापना भएको थियो । उक्त पुस्तकालय बन्द भयो । बचेका पुस्तकमा केही थपेर थपेर २०५५ सालमा स्थानीय युवाले विद्यालय बाहिर एउटा कोठा भाडामा लिएर पुस्तकालय पुनः सञ्चालनमा ल्याए । तर व्यवस्थापन दिगो हुन सकेन । ‘पुस्तकालय सञ्चालनमा ल्याउने चाहना नभएको होइन तर हामीले व्यवस्थापनको प्रबन्ध उचित किसिमको गर्न सकेका छैनौं,’ उक्त पुस्तकालयका अध्यक्ष मुक्तिमार्ग माविका शिक्षक विमल बरुवालले भने, ‘युवालाई पुस्तकालयमा जोड्नै सकिएन । पठनपाठनभन्दा वैदेशिक रोजगारीमा आकर्षण बढी भयो ।’

जीवित पुस्तकालय, शून्य चहलपहल

स्थापनाको हिसाबले जिल्लाको जेठो पुस्तकालय बेनीको म्याग्दी सामुदायिक पुस्तकालय हो । २०१२ को प्रकाश पुस्तकालय २०२० देखि म्याग्दी पुस्तकालय बनेको हो । सदरमुकाम बेनीमा सरकारी अड्डा रहने र ब्यापारीले पनि पुस्तक पढ्ने रुचाउने भएकाले जिल्लामा म्याग्दी पुस्तकालयका पाठक धेरै थिए । २०६० चैत ७ मा तत्कालिन विद्रोही माओवादीले बेनी आक्रमण गर्दा पुस्तकालय पनि चपेटमा परेको थियो । २० हजारभन्दा बढी पुस्तकसहित पुस्तकालय जलेर नष्ट भयो ।

विभिन्न दाताको सहयोगमा सचेत युवाले पुनः सञ्चालनमा ल्याए । यहाँ हाल १० हजार हाराहारी पुस्तक छन् । पुनर्निर्मित पुस्तकालयमा भौतिक पूर्वाधार पर्याप्त छ । तर पाठक संख्या भने ज्यादै न्यून छ ।

‘२०२० देखि ०५० सालसम्मै पुस्तकालयमा धेरै पाठक थिए । पुस्तकालयका तर्फबाट समय–समयमा साहित्यिक कार्यक्रम आयोजना गरिन्थ्यो । पुस्तकालले साहस भन्ने साहित्यिक पत्रिका नै निकाल्थ्यो । तर यो क्रमले निरन्तरता पाउन सकेन,’ म्याग्दी पुस्तकालयका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठले भने, ‘धेरै वर्ष भयो म आफैं पुस्तकालय नछिरेको । पुस्तक पढ्ने बानी नै कम भएको छ ।’ पुस्तकालयका पाठक बढाउन २ सय मूल्य बराबरका पुस्तक दान गर्नेलाई आजीवन सदस्यता बाँड्नेदेखि लिएर घरदैलो गरी पुस्तक संकलन गर्ने र पाठकलाई पुर्‍याउने अभियान पनि चलाएको उनले बताए । पुस्तकालयको सक्रियताले समाजमा राजनीतिक, सामाजिक चेतना जागृत पनि भएको उनको भनाइ छ ।

म्याग्दी पुस्तकालयले युवा तथा बालबालिकालाई आकर्षित गर्न पढ्ने कक्षबाहेक, बालकक्ष, श्रव्यदृश्य, संगीत, खेलकुद र निःशुल्क इन्टरनेटसहितको आईटी कक्ष पनि व्यवस्था गरेको छ । तर, यी कक्षमा पुग्ने पाठक भने बढ्नुको साटो घटेका छन् । पुस्तकालय प्रमुख भुजु केसी भन्छन् ‘दिनमा मुस्किलले ५–७ जना पाठक आइपुग्छन् ।’

प्रकाशित : पुस ७, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?