कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७७

जुम्लामा लोप हुँदै मौलिक माटोका छानाहरू

डीबी बुढा

जुम्ला — गाउँमाथि घना जंगल । तल चुखेनी खोला । जंगल र खोलाको बीचमा गडीगाउँ । पातारासी १ मा रहेको गडीगाउँमा माटोको छाना भएका घरहरू निकै आकर्षक र अनौठो देखिन्छन् । टाढाबाट हेर्दा मौरीको घार जस्ता देखिने यो गाउँ नजिकै पुग्दा परम्परागत सीप र शैली झल्कन्छ ।

जुम्लामा लोप हुँदै मौलिक माटोका छानाहरू

पुर्खाहरू कति व्यवहारिक र सीपालु थिए भन्ने प्रमाण पनि गडीगाउँका छानाहरू हेर्दा पनि थाहा हुन्छ । सदरमुकाम खलंगादेखि निकै टाढाको बस्ती भएकाले परम्परागत शैलीमा बनेका माटोको छाना भएका घरहरु अहिले पनि कायमै छन् । तर छिटफुट मात्रै । जस्ता पाताले छाएका घर भने नबनेका होइनन् । तर यस गाउँमा अन्य गाउँमा भन्दा अलि धेरै नै माटाको छानो भएका घर बाँकी छन् ।

त्यसो त यी अनौठा छानाका घरहरू पछिल्लो समय पर्यटकको रोजाइमा पनि पर्न थालेका छन् । यद्यपि यस्ता छानाको प्रचलन हराउन थालेकोमा स्थानीयहरू खुसी छैनन् ।

पातारासी १ गडीगाउँका ७० वर्षीय सिंहवीर ऐडी जस्तापाताले माटोको छाना हराउन थालेकोमा चिन्ता व्यक्त गर्छन् । ‘चिसोमा गर्मी र गर्मीमा शितल बनाउने माटोका छाना भएका घर वातावरणीय रुपमा पनि निकै अनुकुल र व्यवहारिक मानिन्छ ।’

उनको माटोले छाएको ८ कोठे घर अहिले पनि उस्तै छ । ऐडीका अनुसार उनको जस्तै माटोको छाना भएका घरहरूमा नेपाली चलचित्र 'प्रकाश'को सुटिङ गरिएको थियो । सिंहवीरले भने, ‘पहिले सडक पुगेको थिएन । माटोको छानो हाल्नुको विकल्प थिएन । त्यसले गर्दा गाउँ एकैनासको देखिन्थ्यो । अहिले सम्पन्न मानिसहरूले जस्तापाता हालेर घर बनाउने गरेको ऐडीको भनाइ छ ।

यसवाहेक माटोको छानोमुनि बस्नेहरू र जस्तापाताको छानोमुनि बस्नेहरूबीच गाउँमा वर्गीय भिन्नता जस्तो देखिने पनि उनको अनुभव छ । माटोको छानोमुनि बस्नेहरू विपन्न भएको सोच हाबी हुँदा स्थानीयहरूले जस्तापाताको प्रयोग गर्न थालेको बताउँछन् ऐडी ।

'माटोको छानाले घर बनाएको व्यक्ति सधैँ कमजोर र गरिब जस्तो देखिन्छ । तर हरेक हिसाबले माटोको छाना भएको घर नै बलियो हो,’ ऐडी भन्छन् । गडीगाउँका अर्का स्थानीय कृष्ण ऐडीलाई पनि जस्ताको छानो लगाउन परिवारबाटै दबाब छ । तर उनी परिवारका सदस्यलाई माटोको छानो भएको घरको महत्त्व बारेमा सुझाउँदै छन् । उनले भने, ‘माटोको घर हाम्रा पुर्खाको चिनो हो । घरमा उनीहरुको सीप र कला प्रयोग भएको छ । बलियोको हिसाबले पनि निकै बलियो र हेर्दा पनि उत्तिकै राम्रो छ । किन जस्ताको छाना हालेर घरलाई कुरुप बनाउने ?’

जुम्लामा माटोको छानो भएका घरहरु बिरलै भेटिन्छन् । यातायातको सहज पहुँच भएसँगै नयाँ पुस्ताले जस्तापाताको प्रयोग गरेर घर बनाइरहेका छन् । मल्लकालीन समयमा बनेका माटोको छत भएका घरहरू खस साम्राज्यका जिउँदा प्रमाण नै मानिन्छन् । पहिले पहिले १० देखि १५ घरहरु सँगै जोडिएका हुन्थे । जसलाई बाडा भनिन्थ्यो । ६० वर्षीय सिंहवीरले भने, ‘परम्परागत शैलीका घरहरु हराउँदै जाँदा संस्कृति नै मेटिन थालेको अनुभूति हुने रहेछ ।’

हिउँदमा अत्यधिक चिसो हुने भएकाले माटोको छाना भएको घरमा बस्दा निकै न्यानो लाग्ने गरेको पनि उनले स्मरण गरे । माटोको छाना भएको घर भूकम्प प्रतिरोधी भएको पनि स्थानीयहरू बताउँछन् ।

संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य माटोको छाना भएको घर हराउँदा धेरै असर परेको बताउँछन् । आचार्यका अनुसार कम पानी पर्ने भएकाले पनि यहाँका अधिकांश घर माटाको छाना भएका हुन्थ्यो । चन्दननाथ मन्दिर आसपासमा सबै माटोको छाना भएको घर हुँदा मेला पर्वमा बस्न निकै सहज हुने गरेको पनि उनो अनुभव छ । तर अहिले सबै घरमा जस्तापाता हाल्दा निकै कठिन हुन्छ । जात्रामा आउनेहरू सडकमै उभिएर जात्रा हेर्न बाध्य हुने आचार्यले बताए । माटोका घर हिमाली क्षेत्रका बस्तीको मौलिकता नै भएको ठान्छन् आचार्य ।

स्थानीयस्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि, सीप र शिल्पीको प्रयोग गरेर निर्माण हुने यस्ता घरहरू जाडोमा न्यानो र गर्मीमा शीतल दिने खालका हुन्छन् । नजिकको खोलाको बगर वा ढुंगे खानीबाट ढुंगा जम्मा गर्ने र आवश्यकता अनुसार टुकटुकेले कुदेर आकार निकाल्ने । त्यसपछि माटो मुछेर ढुंगाको जडान गर्ने यस्ता छाना बनाउने तरिका हो । स्थानीय स्तरमै उपलब्ध बलिया काठहरूको प्रयोग गरेर झ्याल ढोका बनाउने, दलिन राख्ने र पातला सिलिक्क परेका ढुंगाका छपनीहरूले छाउँदा यस्ता घर तयार हुन्छन्।

स्थानीयहरूका अनुसार यस्ता घरको छानोमा ठूलै झरी परे पनि बलेसी र आगनमा भल बग्थ्यो तर जस्ताको जस्तो कर्कश आवाज कोठाभित्र कहिल्यै पुग्दैनथ्यो । चन्दननाथ ४ का ६० वर्षीय सर्पानन्द हमाल अहिले पनि माटोको छानाको घर वातावरण अनुकुल हुने बताउँछन् ।

‘उहिले माटोको छानाको घरको विकल्प थिएन। माटोको छाना ठीक पनि रहेछ । पुर्खाहरुले राम्रै बनाएका रहेछन् । अहिले आएर लोप भए । हिउँ पर्ने ठाउँमा माइनस १२ देखि १४ डिग्री तापक्रम हुन्छ । माटोको छाना भएको घर न्यानो हुन्छ,’ हमालले भने । यस्ता घरका छानाले जुम्लाको मौलिकता झल्काउने हुँदा यी घरका छानाको प्रयोग गरेर अहिले पनि पर्यटकलाई आकर्षिक गर्न सकिने हमालको तर्क छ ।

प्रकाशित : मंसिर २५, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×