कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संगीत मेरो लागि ध्यानको माध्यम हो : दीपकप्रसाद दाहाल 

बुनु थारु

काठमाडौँ — ५६ वर्षीय औषधि व्यवसायी दीपकप्रसाद दाहाल संगीतमा पनि रुची राख्छन् । नेपाल औषधी उत्पादक संघका पूर्व अध्यक्ष समेत रहेका दाहाल संगीतलाई ध्यानको एक माध्यम मान्छन् ।

संगीत मेरो लागि ध्यानको माध्यम हो : दीपकप्रसाद दाहाल 

बाल्यकालमा गोठाला जाँदा बाँसुरी बजाउन थालेका उनलाई अहिलेसम्म पनि त्यसको मोहले छाडेको छैन । उनी अहिले बाँसुरी, मुरली र हार्मोनियम बजाउन रुचाउँछन् ।

धनुषाको गोदारमा जन्मिएका उनी गोठाला जाँदा बाँसुरी बोकेर जान्थे र गाईवस्तु चराउँदै बाँसुरी फुक्ने अभ्यास गर्थे । घरमा कसैलाई पनि संगीतमा रुची नभएकाले गाइवस्तु नै उनको पहिलो स्रोत भए । ‘संगीत जन्मजात गुण हो जस्तो लाग्छ । घरमा कसैले नबजाउने भएकाले म गाईवस्तु चराउन जाँदा बजाउँथें,’ उनले भने ।

दाहालका अनुसार संगीत उनका लागि ध्यानको एक माध्यम हो । उनी बाँसुरी बजाउँदा आफू पनि रमाउँछन् र अरुलाई पनि मनोरञ्जन दिन्छन् । ‘मान्छे जहिल्यै पनि खुसी हुनुपर्छ । संगीत मेरो खुसी हुने माध्यम हो,’ उनले भने, ‘के कुराले आफूलाई खुसी दिन्छ त्यो चिज हामीले खोज्नुपर्छ । दुःख र सुख त एउटा जीवनको चक्र हो । आइरहन्छ, गइरहन्छ । हामी चेतनशील प्राणी हो दुःखी हुनुभन्दा सुखी हुने कारण खोजेर खुसी हुने हो ।’

उनी मुखले बाँसुरी बजाउन सिपालु त छन् नै नाकले फुकेर मुरली पनि बजाउँछन् । उनलाई नाकले मुरली फुक्दै पानी म तैरिन अझ बढी आनन्द मिल्छ रे । ‘पानीमा म सुतेर ध्यान गर्छु र मुरली बजाउँछु । ध्यान एकदमै छिटो भएको जस्तो महसुस हुन्छ,’ उनले भने ।

दाहालले नाकले मुरली बजाउन थालेको करिब २५ वर्ष भइसकेको छ भने पानीमा तैरिएर बजाउन थालेको २० वर्ष जति भयो । सुरुसुरुमा नाकले बजाउँदा र पछि पानीमा तैरिँदै बजाउन गाह्रो भए पनि अहिले उनलाई त्यसको बानी परिसकेको छ । ‘मान्छेले आफूलाई सन्तुलन गर्न सक्ने भनेको दिमागले हो । जति साधना गरिन्छ त्यति नै दिमाग सक्रिय हुन्छ । त्यसले सन्तुलन कायम गर्न सिकाउँछ । म त घण्टौंसम्म बजाउन सक्छु,’ उनले भने ।

उनले संगीतका लागि दैनिक निश्चित समय तोकेका छैनन् तर फुर्सद पाउनासाथ हरेक दिन बाँसुरी वा हार्मोनियम बजाइहाल्छन् । ‘चाहे १५ मिनेट नै किन नहोस् फुर्सद मिल्यो की बजाउन सुरु गरिहाल्छु,’ उनले भने, ‘कहिलेकाँही त कति बजाउनुपर्‍यो भनेर परिवारका सदस्य पनि झर्को मान्छन् । तर मलाई एकदिन बजाइन भने केही मिस भएको जस्तो हुन्छ ।’

बाँसुरी तथा हार्मोनियम बजाएका भिडियोहरु उनी फेसबुकमा पोस्ट गरिरहन्छन् । कुनै कार्यक्रम तथा साथीभाइको जमघटमा पनि उनी बाँसुरी बजाइदिन्छन् । बासुरी बजाउँदा उनी गीतसँगै रागहरु पनि बजाउँछन् । उनी विभिन्न प्रकारका बाँसुरीको संकलन पनि गर्छन् । १२ वटै सुर भएका दुई दर्जन जति बाँसुरी उनीसँग छन् ।

दाहाल संगीत साधना ठूलै विज्ञानको रुपमा लिन्छन् । उनका अनुसार संगीत चिन्ताको औषधि हो र यसले मान्छेलाई स्फूर्त बनाउन तथा दिमागलाई सक्रिय बनाउन मद्दत गर्छ । कतिपयले उनलाई एकल सांगीतिक कार्यक्रम आयोजना गर्न पनि सुझाएपनि उनी आफूलाई उत्कृष्ट बजाउनेको सूचीमा राख्दैनन् । उनका अनुसार राम्रो संगीत बजाउन अधिक अभ्यास चाहिन्छ । दैनिक अभ्यास गरेपनि पर्याप्तमा मात्रामा गर्न नसकेको उनको भनाइ छ ।

‘मैले संगीत सिकिराखेको हो । आफ्नो खुसीका लागि बजाउँछु । संगीत राम्रो बजाउनका लागि धेरै साधना अभ्यास चाहिन्छ । मैले आफ्ना लागि बजाउने हो,’ उनले भने, ‘संगीत र गणीत अभ्यासका विषय हुन् । संगीतमा जति अभ्यास गरिन्छ त्यति माझिन्छ ।’

प्रकाशित : कार्तिक १३, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?