'महापुरुष' हरिवंशको मात्र कथा होइन- फिचर - कान्तिपुर समाचार

'महापुरुष' हरिवंशको मात्र कथा होइन

फिल्म 'महापुरुष'ले एक बाको एक्लोपन र वियोगको कथा समेटेको छ । फिल्ममा हरिवंशको प्रमुख भूमिका छ ।
रीना मोक्तान

काठमाडौँ — धेरैलाई थाहा नहुन सक्छ, निर्देशक प्रदीप भट्टराई 'मह जोडी'को स्कुलिङबाट हुर्केका हुन् । महकै टेलिश्रृंखलामा 'असिस्ट' गर्दै लेखन र निर्देशनमा प्रदीपले आफूलाई निखारे । पछिल्लो समय 'मह सञ्चार'को अभिन्न व्यक्ति नै बनेका छन्, प्रदीप । महको विरासतलाई जोगाइरहेको श्रेय उनलाई नै जाने गरेको छ । त्यसैले होला हरिवंश भन्ने गर्छन्,'मलाई प्रदीपको नसा-नसा सबै थाहा छ' । 

खासमा छायांकर गौरीशंकर ध्वजुले मह सञ्चारसँग प्रदीपको भेट गराइदिएका रहेछन् ।

'मह सञ्चारमा मोहन मैनाली भन्ने निर्देशक/कलाकार हुनुहुन्थ्यो । एकपटक उहाँ अर्कै काममा व्यस्त हुनुभयो । त्यतिबेला नै गौरीशंकरले एक जना प्रतिभाशाली केटो छ, उसलाई बोलाउनुपर्ला भन्नुभयो । हामीले बोलाउनु त भन्यौं । अनि प्रदीपसँग चिनाजान भयो,' हरिवंशले २०६०/०६१ तिरको क्षण सम्झे, 'उहाँले आफ्नो काम र व्यवहारले हामीलाई रिझाउन थाल्नुभयो । दिलिप कुमारलाई पनि निर्देशक चाहिन्थ्यो रे ! एउटा अन्तर्वार्तामा उनले भनेको मैले हेरेको थिएँ । प्रदीपले पनि हाम्रो अभिनय हेर्न थाल्नुभयो ।'

विस्तारै, महले हरेक स्क्रिप्टदेखि निर्देशनसम्मको छलफल प्रदीपसँग गर्न थाल्यो । प्रदीप महको अभिनयमा एक्सन/कट पनि गर्थे । 'हामी अभिनय गर्थ्यौं, उहाँले एक्सन/कट गरेर टेक ओके भयो कि भएन भनेर पनि सल्लाह दिन सुरु गर्नुभयो । १२/१३ वर्षसम्म सँगसँगै भएपछि प्रदीप नभई हाम्रो हातै नचल्ने भयो । हामीले सबभन्दा पहिले सम्झने नै प्रदीप हुन थाल्नुभयो,' छेउमा बसेका प्रदीपलाई हेर्दै हरिवंशले भने, 'धेरै लामो समय काम गरिसकेपछि प्रदीप हाम्रो भाइ/छोराजस्तै लाग्न थाल्यो । हाम्रो लागि मात्रै होइन परिवारकै लागि पनि प्रदीप प्यारो हुन थाल्यो । उहाँको नसा–नसा सबै थाहा छ मलाई ।'

यसरी लामो समय प्रदीपले टेलिश्रृंखलाको लेखन र निर्देशनमा पुर्‍याएको सहयोग देख्दा महलाई सधैं लाग्थ्यो, 'प्रदीपलाई कसरी पूर्णकालीन निर्देशक बनाउने होला ?'

महले पहिलोपटक टेलिश्रंखला 'लेफ्ट राइट लेफ्ट'को पूरा निर्देशनको जिम्मा प्रदीपलाई दियो । आफूले बनाउने फिल्मको निर्देशनको जिम्मा पनि प्रदीपलाई दिन चाहन्थ्यो मह । तर, त्यसैबीच प्रदीपलाई 'जात्रा'को अफर आयो । फिचर फिल्ममा प्रदीपले छलाङ मारे । 'यस्तो प्रतिभाशाली व्यक्तिलाई असिस्ट मात्रै गराउनु भएन भन्ने भइरहेको थियो । त्यसबीच मह सञ्चारले फिल्म बनाउने दाउ खोज्दै थियौं । तर, उहाँले अर्कै फिल्ममा काम गर्नुभयो । हामीले फिचर फिल्मको निर्देशक बनाउन पाएनौं,' हरिवंश सुनाउँछन्, 'फिचर फिल्ममा छलाङ मारिसकेपछि उहाँ मह सञ्चारमा मात्रै सिमित हुनु भएन । सबैतिर छाउनुभयो । हामीलाई आफ्नो घरको छोराले प्रगति गरेको देखेर गर्व लाग्यो ।'

'महापुरुष'मा हरिवंशको एक्लोपन

मह सञ्चारको फिल्म 'शत्रु गते' प्रदीपले नै निर्देशन गरेका हुन् । समीक्षात्मक हिसाबले फिल्मले खासै चर्चा पाएन । तर, प्रदीपले 'जात्रा' र 'जात्रै जात्रा'मा आफूलाई साबित गरिसकेका थिए । अहिले मह जोडीलाई लिएर प्रदीपले 'महापुरुष' निर्देशन गरेका छन् । कात्तिक ११ देखि प्रदर्शनमा आउने यो फिल्ममा हरिवंशको प्रमुख भूमिका छ । फिल्मले एक 'बा'को कथा समेटेको प्रदीप सुनाउँछन् ।

'जब महापुरुषको एक ड्राफ्ट लेख्यौं, यो चरित्रका लागि हरिवंशको विकल्प नै देखेनौं । बा भन्ने बित्तिकै सबैले बा अनुभव गर्ने अनि त्यही स्तरको अभिनय गर्न सक्ने, सँगसँगै त्यो अनुहार कमर्सियल होस् भन्ने लोभ थियो । त्यसको समिश्रणमा हरिवंश बाहेक कोही भेटेनौं,' प्रदीप भन्छन्, 'त्यो बाको चरित्र दिइरहँदा हरिवंशको वर्षौं बनेको चरित्रहरू भत्किन्छ कि भत्कँदैन भन्ने चुनौती पनि थियो ।'

'महापुरुष'को कथा सुरुमा हरिवंशलाई सुनाउन प्रदीप डराएका थिए । कारण, फिल्ममा पत्नी बितिसकेपछि एक पतिको एक्लोपनलाई समेटिएको थियो । पहिलो पत्नी मीराको मृत्युपछि हरिवंशले त्यही एक्लोपनमा बाँचेको समयको साक्षी थिए, प्रदीप । तर, जब उनले हरिवंशसँगै परिवारलाई एउटै ठाउँमा राखेर फिल्मको कथा सुनाए, सबैले मन पराए। हरिवंशले यो कथामा फिल्म बन्नुपर्छ भनिसकेपछि प्रदीप 'महापुरुष' बनाउन हौसिए । 'महापुरुष' हरिवंशकै कथामाथि बनेको त होइन । तर, हरिवंशले बाँचेको एक्लोपनलाई प्रदीपले पटकथामा घुसाएका छन् । 'मैले उहाँबाट फिल्म कति सिकेँ त्यो आफ्नो कुरा होला । तर मैले उहाँबाट जीवन धेरै सिकेको छु,' हालै पत्राकारहरूसँगको भेटमा हरिवंशको छेउमा उभिएर प्रदीपले भने, 'मैले उहाँको त्यो एक्लोपन देखेको पनि छु । त्यही प्रसंग किन ल्यायो भन्नु होला भन्ने डर थियो, फिल्मको कथा सुनाउँदा । भाउजु नहुँदाको एक-एक घटना याद छ मलाई । दाइ घरमा छिर्नै सक्नु भएको थिएन ।'

हरिवंशको त्यो एक्लोपन, वियोग सम्झँदा प्रदीपको आँखा अहिले पनि रसाउँछ । 'मान्छे बितेको घरमा तर्साउँछ भन्छन् । भाउजु बितेपछि १३ दिनसम्म त्यो घर रुँघेकै मैले हो । झपक्क निन्द्रा नआउँदासम्म सुत्न पनि सक्दिन थिएँ, सायद तर्साउँछ भन्ने मानसिकताले होला । फ्रिजको आवाज आउँदा पनि तर्सन्थेँ । एकदिन पाँच बजे बिहान कसैले ढोका ढकढकायो । म तर्सिएँ । सायद भाउजु बित्नु भएको सातौं/आठौं दिन हुँदो हो, दाइलाई एकदम गाह्रो भएछ,' आँखाभरि आँसु लिएर प्रदीपले भने, 'भाउजुले तपाईं घर नछिर्ने भनेर भन्नु भएकोले आएँ भन्नुभयो दाइले । उहाँ माथि चढ्नुभयो, बाथरुमको साबुनमा भाउजुको कपाल टाँसेको देख्नु भएछ, उहाँलाई एकदमै गाह्रो भयो ।'

बोल्दाबोल्दै प्रदीप मौन भए । त्यसपछि हरिवंशको गला अवरुद्ध भयो । उनले थपे, 'अझै पनि म त्यो ट्वाइलेटभित्र पसेको छैन । गाह्रो हुन्छ ।' उनी आफूले भोगेको त्यस्तो वियोग भएको घरको कथासँग 'महापुरुष' मिल्ने बताउँछन् ।

महापुरुष हरिवंशकै कथा भन्ने हल्ला छ नि ?

'कथाको त्यो द्वन्द्वसँग भन्दा पनि उहाँले भोग्नुभएको एक्लोपन कतै न कतै मिसाएको छु । सायद उहाँको वियोग मेरो सब-कन्ससमा कतै बसेको थियो होला । तर, यो कथाको आइडिया चितवनमा एक जना बुबाको कथा सुनेपछि आएको हो,' जवाफमा प्रदीपले भने, 'यो विषय गम्भीर छ भनेर सुरुमा अमर न्यौपानेलाई स्क्रिप्ट लेख्न लगायौं । उहाँ व्यस्त हुनुभयो । अनि मैले नै लेख्नुपर्ने भो । मलाई आफू त राम्रो लेख्छु भन्ने लाग्दै लाग्दैन । जबर्जस्ती लेख्छु म ।'

हरिवंश प्रदीपलाई अभिनय सिकाउन सक्ने निर्देशकको रुपमा व्याख्या गर्छन् । 'उहाँ स्क्रिप्टको डिटेलमा काम गर्नुहुन्छ । कतिपय निर्देशकले निर्देशन गर्न मात्र जान्दछ, कलाकारलाई अभिनय सिकाउँदैनन् । गर भन्छन्, तर गरेर देखाउँदैनन्,' उनले भने, 'तर, प्रदीप राम्रो कलाकार हुनुहुन्छ । कुनै सिरियस सिन दिनुपर्‍यो भने मेरोभन्दा पहिले उहाँको आँखामा आँसु टलपलाएको देख्छु ।'

'महापुरुष'मा प्रदीपले हरिवंशलाई ११/१२ टेक सम्म दिन लगाएका रहेछन् । प्रदीपले राम्रो टेक लिनकै लागि त्यति धेरै पटक आफूलाई अभिनय गर्न लगाएको भन्ने हरिवंशलाई थियो । त्यसैले १२ टेक दिनलाई पनि उनी हच्किएनन् ।

'काम गर्ने क्रममा मैले भर्खरका भाइहरूले बनाउनुभएका विज्ञापनमा काम गरेको छु । उनीहरू कति त नातीको उमेरको पनि हुन्छन् । उनीहरू निर्देशक भएर आइसकेपछि म उनीहरूलाई निर्देशककै सम्मान दिन्छु । तर, कतिपय समय निर्माताले छायांकन हेर्न आउँदा भइसकेको टेकलाई पनि नभएको भनेर बढी टेक लिनुहुन्छ । काम देखाउन पाइन्छ कि भनेर,' हरिवंश सुनाउँछन्, 'तर, प्रदीपले मलाई ११/१२ सम्म टेक लिनुभएको छ, महापुरुषमा । मलाई उहाँले जबर्जस्ती टेक लिएको अनुभव पटक्कै भएन । राम्रो ननिस्किएसम्म टेक लिइरहनुभयो ।'

प्रकाशित : कार्तिक ८, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्

'के घर के डेरा'मा नकस्सिएको सम्बन्ध

फिल्ममा नयाँ कुरा केही छैन, अधिकांश दृश्य दर्शकले सजिलै अनुमान गर्न सक्छन् । द्वन्द्व कुन पात्रले सिर्जना गर्दैछ भन्ने कुरा सहजै पर्दामा देखाइदिँदा पनि ट्वीस्ट एण्ड टर्नले दिनसक्ने मज्जा दर्शकले अनुभव गर्नै पाउँदैनन् ।
रीना मोक्तान

काठमाडौँ — जीवनमा डेरा र घरभन्दा महत्त्वपूर्ण हुन्छन् सम्बन्ध । इट्टाको संरचनाभन्दा सम्बन्धको डोरी बलियो, त्यही सम्बन्ध नै हाम्रा लागि घर हुन् - दीपेन्द्र के खनाल निर्देशित फिल्म 'के घर के डेरा'ले भन्न खोजेको यत्ति हो ।

यही कुरा भन्नका लागि दुई परिवारको कथा पटकथामा उनिएको छ । तर भन्न खोजेको कुरामा इमानदार बन्न नसक्दा 'के घर के डेरा'दीपेन्द्र के खनालको कमजोर निर्देशकीय बन्न पुगेको छ । कमजोर पटकथा, क्लिसे संवाद र चर्को पार्श्व ध्वनीले फिल्ममा दर्शक बाँधिनै पाउँदैनन् । कथ्य वाचनमा नयाँ प्रयोग गर्दै आएका खनालको यो निर्देशन सिर्जनशिलताका हिसाबले तारिफलायक छैन । फिल्मको कथा सामान्य छ, नेपाली दर्शकको नजिक छ । तर, उक्त विषय, र पात्रहरूसँग दर्शकलाई एकाकार गराउन असफल हुनु नै फिल्मको प्रमुख कमजोरी हो ।

सजन राई (दयाहाङ राई) र आकृति (सुरक्षा पन्त)आफ्नी छोरीसँगै डेराको जीवन बिताउँदैछन् । दुई दम्पति पूर्व खेलाडी पनि । सजन नामजस्तै सज्जन, उनको लागि आफ्नो इमान ठूलो छ । मालसमान ढुवानी गर्ने गाडी चलाएरै परिवार सम्हाल्दै आएका छन् । तर, डेरावाल जिन्दगीबाट वाक्क भएकी आकृति भने काठमाडौंमै घर ठडेको देख्न चाहन्छिन् । अर्कोतर्फ देखाइएको छ, काठमाडौंमा घर भएको शंके (विपिन कार्की) र लालिमा (वर्षा राउत)को जोडी । शंकेलाई डर छ, आफ्नो पहिलो पत्नीले झैं लालिमाले पनि काठमाडौंमा भएको घर आफ्नो पोल्टामा पारेर भाग्लिन् भन्ने । त्यसैले आफ्नै घरलाई डेराको भन्दै लालिमालाई झुक्काउँदै आइरहेका छन्, उनी । घरकै लोभमा शंकेसँग बिहे गरेकी लालिमाले शंकेको झुठ पत्ता लगाउलिन् त ? यी दुई डेरावाल र घरवाला दम्पति कसरी एकअर्कासँग जोडिन्छन् ?' के घर के डरा'को बाँकी कथा हो ।

काठमाडौंमा डेरा गर्दै आएका अनि घर भाडामा दिँदै आएका घरवालाका लागि यो फिल्मले उठाएको विषय रोचक बन्न सक्थ्यो । तर, जबर्जस्त दर्शक हँसाउने चक्करमा बुनिएको पटकथाले दर्शकलाई फिल्मसँग जोडेर राख्न सकेको छैन । दर्शक पात्रहरूसँग एकाकार नै हुन पाउँदैनन् । फिल्म हेरिरहँदा लाग्छ, काठमाडौंमा डेरा गर्नेहरूलाई आफ्नो इमान बेचेर जसरी पनि घर नै बनाउनुछ र घर हुनेहरूलाई अरुले घर खोसिदेला भन्ने डर ।

फिल्ममा नयाँ कुरा केही छैन, अधिकांश दृश्य दर्शकले सजिलै अनुमान गर्न सक्छन् । द्वन्द्व कुन पात्रले सिर्जना गर्दैछ भन्ने कुरा सहजै पर्दामा देखाइदिँदा पनि ट्वीस्ट एण्ड टर्नले दिनसक्ने मज्जा दर्शकले अनुभव गर्नै पाउँदैनन् । केही दृश्यमा डेरावाल र घरवालाका समस्या देखाइएका छन् । संवादबाट मात्रै दर्शक हँसाउन खोजिएको छ । बीचबीचमा बज्ने रिंगटोनमा दर्शक मज्जाले हाँस्न सक्छन् । त्यसबाहेक हँसाउने सिचुएस्नल कमेडीको अभाव खट्कन्छ । कमिक पन्चलाइन छैनन् । डेरावाल र घरवालाको रस्साकस्सीमै फिल्म घुमिरहँदा पात्रहरूबीचको सम्बन्ध स्थापना गर्न फिल्म चुकेको छ । पदम र उसको छोरासँगको सम्बन्धलाई राम्रोसँग स्थापना गरिएको छैन । घरबेटी आमा र विदेशमा भएको छोराको सम्बन्धलाई उतिकै महत्त्वका साथ स्थापना गर्न नसक्दा उनीहरूको वियोगमा दर्शकको मन दुख्दैन । घरबेटी आमा पर्दामा आँशु खसाल्छिन्, यता दर्शकको मन चसक्क पनि हुँदैन । उक्त दृश्य अनवाश्यक रुपमा तन्काइएको छ ।

फिल्ममा जुम सटहरू यति धेरै प्रयोग गरिएका छन् कि ती दृश्यले आँखा तान्न सक्दैनन् ।त्यस्तै, फिल्ममा प्रयोग गरिएको पार्श्व ध्वनी निकै कर्कसपूर्ण लाग्छन् । कति दृश्यमा पात्रहरूको भावना भंग गर्ने किसिमले नै पार्श्व ध्वनीको प्रयोग गरिएका छन् । थुप्रै दृश्यमा पार्श्व ध्वनी चर्को सुनिन्छ । फिल्मको सुरुवात र अन्तिमतिर आउने पार्श्व गीतले भने केही राहत मिल्छ । महिला चरित्र चित्रणमा भने पटकथाकार महेश दवाडीको अपरिपक्वता देखिन्छ । लालिमालाई पतिको सम्पत्ति (घर) हडप्नकै लागि वैवाहिक सम्बन्धमा जोडिएको महिलाको रुपमा फिल्ममा प्रस्तुत गरिएको छ । लालिमालाई जसरी पनि शंकेको घरको लालपुर्जा खोजेर घरको नामसारी गर्ने हतारोमा देखाइएको छ । त्यस्तै आकृतिलाई पनि काठमाडौंमा घर बनाउनका लागि गलत बाटो अप्नाउन पछाडि नपर्ने महिलाको रुपमा प्रस्तुत गरिएको छ । आफू मात्रै होइन पतिलाई पनि त्यही बाटोमा डोर्‍याउने महिलाको रुपमा प्रस्तुत गरिएको छ ।

जे होस्, आकृतिलाई भने 'ग्रे' चरित्र चित्रणमा लेखिएको छ । त्यस्तै, झा चरित्रलाई 'पियन' भनेर बोलाउने दृश्य, 'हाउसफूल ४' को अक्षय कुमारको चरित्रबाट प्रभावित देखिन्छ । 'पियन' भनिसकेपछि बज्ने सिग्नेचर ध्वनी अक्षय कुमारको 'भूला' चरित्रबाट टपक्क टिपिएको देखिन्छ ।

फिल्ममा अभिनेत्री सुरक्षा पन्तले गरेको अभिनय पात्र सुहाउँदो र विश्वासिलो लाग्छ । उनी आफ्नो चरित्रमा कतै लाउड लाग्दिनन् । सुरक्षाको कस्ट्युमदेखि, कालो कोठी र फरक हाउभाउले आकृति चरित्र पर्दामा जीवन्त लाग्छिन् । कति दृश्यमा लाउड लागे पनि सुरुदेखि अन्तिमसम्म विपिन कार्की भने शंकेको चरित्रबाट बाहिरिएका छैनन् । अभिनेत्री वर्षा राउतको अभिनय अन्य फिल्ममा भन्दा खासै फरक देखिएको छैन । दयाहाङ राईको अभिनय पनि उस्तै लाग्छ ।

'चिसो मान्छे', 'आमा'का निर्देशक दीपेन्द्रले 'के घर के डरा'मार्फत् सम्बन्ध कति महत्त्वपूर्ण हुन्छन् भन्ने कुरा देखाउन खोजेका छन् । तर पर्दामा सम्बन्धको महत्त्व देखाउन चुकेका छन् । उनीजस्ता निर्देशकले विषयवस्तुको चयनमा मात्रै होइन पटकथाको वजनमा पनि ध्यान दिए भविष्यमा'के घर के डरा' बन्ने थिएन ।

प्रकाशित : कार्तिक ७, २०७९ १८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×