कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पर्दा पछाडि

‘कथा वाचनमा पार्श्वसंगीतको भूमिका ठूलो हुन्छ’ [भिडियो]

शुभबहादुर सुनाम भन्थे, 'नातिको नामले चिनिँदैछु'
रीना मोक्तान

काठमाडौँ — 'मैले खोजेको यस्तै गीत हो,' निर्देशक छेतेन गुरुङले 'हर युग होस्' को डमी सुन्नेबित्तिकै दिएको प्रतिक्रिया संगीतकार एलिस कार्कीले बिर्सेका छैनन् । बिर्सुन् पनि कसरी? आफूले संगीत भरेको गीतले निर्देशकको आँखा रसाएको साक्षी जो बन्न पाएका थिए ।

‘कथा वाचनमा पार्श्वसंगीतको भूमिका ठूलो हुन्छ’ [भिडियो]

'प्रेमगीत ३' को कथामा थुप्रै पटक घोत्लिसकेपछि जन्मेको थियो, 'हर युग होस्' । कथा सुनेर त्यहाँबाट गीतको रचना कसरी गर्ने गीतकार राजेशकुमार श्रेष्ठ र एलिसलाई चुनौती थियो । २ सय वर्ष अगाडिको फिल्म भनेर कथाको ब्रिफिङ गरिएको थियो । एलिस चाहन्थे आफ्नो संगीतमार्फत दर्शकलाई त्यतिबेलाको समयसँग जोड्न । केही नयाँ गर्ने सोचसहित ६० बढी वाद्यवादक राखेर रेडियो नेपालमा गीतको लाइभ रेकर्डिङ गरे ।

खुबै मेहनतले बनाएको गीतले हलभित्र दर्शक झुमाएको देख्दा एलिस दंग छन् । 'सुरुमा त गीतको नतिजा कस्तो होला भन्ने चिन्ता थियो । लाइभ रेकर्डिङ गर्न नै चुनौती थियो । गीतमा एउटा नयाँ प्रयोग गर्न खोजेका थियौं, नतिजा सन्तोषजनक नै मिल्यो भनौं,'एलिस सुनाउँछन्,'गीतमा तीन पाने बाजाहरू प्रयोग गरेका थियौं । अहिले हलमा यो गीत बज्दा दर्शकहरू नाचेको दृश्यहरू भाइरल भएको देख्दा खुसी लागेको छ । त्यतिबेला गरेको मिहेनले सार्थकता पायो भन्ने लाग्छ ।'

एलिसले 'प्रेमगीत'कै संस्करणहरूमा पार्श्वसंगीत भरेर आफ्नो पहिचान बनाएका हुन् । यसअघि प्रेमगीतमा उनले गरेको पार्श्वसंगीतलाई निकैले रुचाइदिए । प्रेमगीतको सिग्नेचर धुनलाई मनपराउनेहरू अझै भेटिइरहेका हुन्छन् । प्रेमगीतमा उनले पार्श्वसंगीत मात्रै होइन, कति मोन्टाजका लागि टुक्रे गीतहरू कम्पोज गरिदिएका थिए । प्रेमगीतलाई केही हदको राम्रो बनाउन एलिसको संगीतले प्रमुख भूमिका खेल्यो । त्यस्तै, एलिसद्वारा संगीतबद्ध 'प्रेमगीत २'को 'मोटरसाइकलमा'बोलको गीत खुबै रुचाइयो । २ महिना स्कटल्यान्ड बिताएर फर्किसकेपछि एलिसलाई निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काले यो गीतको प्रस्ताव राखेका थिए । पबमा नाच्नुपर्ने गीत, फरक स्वादको संगीत – निर्माण टिमको माग । स्कटल्यान्डको संगीत मिसाएर 'मोटरसाइकलमा' सार्वजनिक भयो । इन्दिरा जोशी र प्रताप दासको स्वरमा तयार भएको गीतको शब्द राजेशकुमार श्रेष्ठ र बबिनले लेखेका थिए । गीत निर्माण टिमको मागअनुसार फरक स्वादमा आयो, दर्शकले एलिसको नयाँ प्रयोगलाई मन पराइदिए ।

खासमा एलिस कम्पोजर बन्न चाहन्थे । तर, सुरुमा कसैले हत्तपत्त नपत्याइदिने । त्यसैले पार्श्वसंगीतकार हुँदै कम्पोजर बन्ने सपना बोकेर उनी फिल्म संगीततिर होमिए । पार्श्वसंगीतमा आफूलाई साबित गरेपछि कम्पोजमा पत्याइदिन्छ भन्ने सोचेका थिए । फिल्महरूमा पार्श्वसंगीत सुरु गर्दा उनी फिल्मकर्मीहरूलाई 'म कम्पोज पनि गर्छु है' भन्न कहिल्यै छुटाउँदैनथिए । तर, खासैले विश्वास गरिदिएनन् । पहिलो पटक दीपक रायमाझीको 'चाँडै आउनु है' फिल्ममा पार्श्वसंगीतको अवसर पाए । तर, फिल्म प्रदर्शनमै आएन, एलिसले आफ्नो काम देखाउन पाएनन् । तर, बिस्तारै उनले नीर शाहको 'सेतो बाघ', 'नाई नभन्नु ल ४', 'छ एकान छ', 'मायाज बार' हरूमा आफ्नो प्रतिभा देखाउने मौका पाए । 'नाई नभन्नु ल' को दोस्रो सँस्करणदेखि पाँचौंसम्म पनि एलिस नै पार्श्वसंगीतको काम गरेका हुन् । 'रोज'को 'फूल होइन काँडा' मा भने एलिसले कम्पोज नै गरे । त्यही गीतले एलिसलाई कम्पोजरको रुपमा स्थापित गराइदियो ।

फिल्ममा काम गर्ने एलिसको छुट्टै शैली बनिसक्यो । उनी फिल्ममा संगीत भर्नुअघि स्क्रिप्ट सुन्छन् । त्यही कथाबाट गीतको शब्दहरू निकाल्ने प्रयास गर्छन् । रचनाकारलाई कथाले मागेको शब्दहरू लेख्न लगाउँछन् । उनी फिल्मको संगीतले दर्शकलाई कथासँग एकाकार गराउनुपर्ने बताउँछन् । 'फिल्मको गीत हिट हुनुपर्छ भन्ने होइन । खासमा पटकथामा आउँदा दर्शकलाई फिल्मसँग यो संगीतले कति कनेक्ट गर्न सक्छ भन्ने महत्त्वपूर्ण हो,' एलिस भन्छन्, 'पार्श्वसंगीतमा म लोकेसनमा बज्ने संगीतलाई महत्त्व दिइरहेको हुन्छ । यदि कथा रारातिरको हो भने त्यतै बज्ने स्थानीय संगीत मिसाउने मेरो प्राथमिकतामा पर्छ । प्रेमगीत जोमसोमतिरको प्रेममा फोकस भएका कारण उतातिरको पुरानो धुनलाई फ्युजन गरेको थिएँ मैले ।'

फिल्ममा प्रयोग भएका गीतहरू स्केल, दृश्यहरूको कन्टिन्युटी हेरेर उनी फिल्ममा पार्श्वसंगीत भर्छन् । 'म कथाले के मागिरहेको छ भन्ने कुरालाई संगीतमार्फत न्याय दिने कोसिस गर्छु । कस्तो लोकेसनको कथा हो भन्ने कुरामा पनि ध्यान दिन्छु । हिमालको कथा हो भने त्यसमा हिमाली संगीतलाई कसरी जोड्ने भन्नेतर्फ ध्यान जान्छ,' उनले भने । फूल होइन काँडाको एउटा आलाप निकै चर्चामा पनि आयो । खासमा त्यो आलाप गीतको छायांकन गरिसकेपछि एलिसले एउटा दृश्य हेरेर तयार पारेका थिए । 'यो गीत मलाई पनि ऊर्जा दिने गीत हो । कम्पोजरमा मेरो बाटो खोल्ने गीत हो यो,' उनले हाँस्दै सुनाए, 'लिलिबिलीको इज इट अ लभ गीत एकदमै चित्त बुझेको गीत थियो । तर, फूल होइन त कस्तो होला भन्ने थियो । अरु गीतलाई झैं सुन्ने बित्तिकै चल्छ भनेर यो गीतलाई कसैले भनेको थिएन । मोटरसाइकलमालाई त सुरुमै हिट हुन्छ भन्ने थियो । मैले फूल होइनबाट त्यस्तो आशा गरेको थिएन । तर नसोचेको चर्चा पाएँ ।' खासमा 'फूल होइन काँडा' भन्ने गीत अभिनेता प्रदीपले नै एलिसलाई प्रस्ताव गरेका थिए । उनी प्रदीपका मिल्ने साथि पनि । 'एउटा लभ सङ चाहिएको छ, तिमीले गर्न सक्छौ त ? प्रदीपले फिल्मको काम सुरु हुँदै गर्दा एलिसलाई सोधेका थिए । एलिसले डमी पठाइसकेपछि प्रदीपलाई मात्रै होइन निर्माण टिमले नै गीतलाई रुचाइदिए । त्यसपछि त प्रदीप अभिनीत अर्को फिल्म 'लिलिबिली' को 'इज इट अ लभ'मा संगीत भरे ।

अहिलेसम्म एलिसले जति फिल्ममा काम गरेक छन्, सबैमा डेमो सुनाएरै आबद्ध भएका छन् । सुरुमा डेमो नसुनाई उनी कुनै फिल्ममा आबद्ध हुँदैनन् । 'सेतो बाघ' मा नेपाल र ब्रिटिस संगीत संयोजन गर्नुपर्ने थियो । त्यतिबेला ब्रिटेनको संगीत र राजाको पालाको बज्ने गीतहरूको खोज अनुसन्धानमा एलिसले मेहनत गर्नुपर्‍यो । 'राजा सवारी हुँदा कस्तो बाजा बज्ने । ग्रहण लाग्दा कस्तो बाजा ? भन्ने कुरामा अनुसन्धान गरेर काम गरेको थिएँ,' एलिस सम्झन्छन् ।

फिल्ममा पार्श्वसंगीतको महत्त्व के हो ?

'फिल्मले दर्शकलाई कति छुआउन सक्छ भन्ने कुरा नै पार्श्वसंगीतमा आधारित हुन्छ । पार्श्वसंगीतले कथा वाचनमा यति ठूलो भूमिका खेलिरहेको हुन्छ कि यदि यो पक्ष कमजोर बनिदियो भने फिल्मको पूरा कथा नै निरस बनिदिन्छ । पार्श्वसंगीतले फिल्मलाई एकदम उठाउन सक्छौं । पार्श्वसंगीतले दर्शकलाई इमोस्नल दृश्यमा भावुक बनाउन सकेन भने फिल्म नै कमजोर बनाइदिन्छ,' एलिसले प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिए,' आँखा नदेख्नु हुनुले संगीत सुनेर पनि कथालाई अनुभव गर्न सकोस् भन्ने उदेश्य त पार्श्वसंगीतको हो नि !'

शुभबहादुर सुनाम भन्थे- 'नातिको नामले चिनिँदै छु'

स्याक्सोफोन वादक शुभबहादुर सुनामका नाति हुन्, एलिस । उनका बुबा अमुल कार्की पनि चर्चित संगीतकार । बाल्यकालदेखि नै संगीत स्रस्टाहरूबीच हुर्केका एलिसलाई संगीतमा लाग्न कतै न कतै बुबा र हजुरबुबाको प्रभाव छ । विद्यालय जीवनदेखि नै उनी संगीतमा आफ्नो करिअर बनाउन चाहन्थे । १२ सकिनेबित्तिक्कै संगीतमा लागिहाले । त्यतिबेला नै हो प्रदीपसँग उनी नजिकिएका । प्रदीप पनि संघर्षत नै थिए । संघर्षका ती दिन र वर्तमान नियाल्दा एलिसले खुसीले गमक्क पर्छन् । 'प्रदीपलाई त्यतिबेला आफ्नो फिल्म बनिसकेपछि टोलछिमेकमा आफू हिरो भएको पोस्टर टाँसेको हेर्ने ठूलो चाहना रहेछ । लगानी गरेर बनाएको स्केप प्रदर्शको लागि ठिक्क तयार थियो । त्यतिबेला प्रदीपले जो-जोले मलाई पत्याएका छैनन् उनीहरूको अफिस होस् या घरतिर पोस्टर टाँस्नुपर्छ भनेर हामी रातारात पोस्टर टाँस्दै हिँड्थ्यौं । त्यतिबेला आफ्नो फिल्मको पोस्टर आफैं टाँस्दै हिँडेको व्यक्तिको अहिले मुम्बईजस्तो ठाउँमा पोस्टर टाँसिनु गर्वको विषय हो नि।'

शुभबहादुर सुनामले आश्विन ३ मा संसार त्यागे । एलिसले आफ्नो हजुरबुबा मात्रै गुमाएनन्, पथ प्रदर्शक गुमाए । हजुरबुबा सुनाम एलिसलाई संगीतमा पथ प्रदर्शन गरिरहन्थे । 'हर युग होस्' लाई लाइभ रेकर्डिङ गर्ने आइडिया उनले सुरुमा हजुरबुबालाई नै सुनाएका थिए । हजुरबुबाले नै उनलाई लाइभ रेकर्डिङका लागि सहयोग गरिदिएका थिए । शुभबहादुर सुनामले स्याक्सोफोनलाई आफ्नो हतियार बनाए झैं, हजुरबुबाले झैं कालजयी गीतहरू बनाउने एलिसको सपना छ । 'अन्तिम समयसम्म पनि स्याक्सोफोन बजाएरै मर्छु भन्ने उहाँको इच्छा थियो । डाक्टरले नबजाउ भन्दा पनि उहाँले अन्तिम समयसम्म पनि स्याक्सोफोन बजाउनुभयो । स्वर्गीय हुनु २/३ दिन अगाडि पनि उहाँले स्याक्सोफोन बजाउनु भएको थियो । उहाँ पूर्व सैनिक पनि, संगीतमा पनि योद्धा जसरी आफ्नो हतियार नछोडे जसरी स्याक्सोफोन छोड्नु भएन ।' केही वर्षअघि बन्ने घोषणा भएको फिल्म 'दीपेन्द्र सरकारमा' का लागि हजुरबुबासँग मिलेर संगीतको काम गर्ने योजना थियो । तर, त्यो फिल्म अझै बनेको छैन ।

'हजुरबुबाले केही समयअगाडि एउटा पार्टीमा, पहिला हजुरबुबाको नामले नातिलाई चिनिथ्यो भने अहिले नातिको नामले पनि हजुरबुबा चिनिन्छ है भन्नुभएको थियो । उहाँ मलाई संगीतमा सधैं उत्साह दिनुहुन्थ्यो । संगीतमा उहाँले छोडेर जानुभएको पदचाप मलाई पछ्याउनु छ,' एलिसले भने, 'अहिले म कमलादी गणेशस्थान पछाडि शान्ता कोलोनीमा म्युजिक क्लाउड भन्ने स्टुडियो खोल्दैछु । हजुरबुबाले धेरै पटक त्यो स्टुडियो हेर्नुभएको थियो तर ओपनिङको समयमा छोडेर जानुभयो । आफ्ना साथिभाइबीच नातिले स्टुडियो खोलको भनेर प्रचार पनि गर्नुभएको थियो । खब मलाई नेपाली संगीतलाई अन्तर्राष्ट्रिय तहमा कसरी पुर्‍याउने भन्नेतर्फ काम गर्ने मन छ ।'

प्रकाशित : आश्विन १५, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?