कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बटौली जब बुटवल बन्यो

लेखक तथा इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार झन्डै २५ सय वर्षअघि बुद्धकालीन समयमा यस क्षेत्रका १० सहरलाई बुद्धवली भनिन्थ्यो, त्यसपछि सेन राजाहरुको पालामा बुटवली बन्यो, त्यसको अपभ्रंश भई बुटवल भन्न थालियो
घनश्याम गौतम

रुपन्देही — सीताराम गौतम बुटवलको कायाकल्प सम्झेरै मात्रै पनि अचम्म मान्छन् । उतिबेलाको बटौली भनिने सानो गाउँमा १९९६ सालमा जन्मेका सीतारामको जीवनकालमै बटौली फेरिएर बुटवलभित्र समाहित भयो । पहाडबाट आउने घिउ, अदुवा, बेसार, जडीबुटी, तरुल, सखरखण्ड, कोदो, मकैसहित गाँजा र चरेसको खरिदबिक्री हुने बटौलीको दुई चोक हेर्दाहेर्दै व्यस्त सहरभित्र हराए । कहाँको श्यामश्वेत बटौली, कहाँको चमकधमक बुटवल । 

बटौली जब बुटवल बन्यो

अहिलेको बुटवलका दुई चर्चित चोक ट्राफिक चोक र मिलन चोक जस्तै पुरानो बटौलीमा दुई चोक थिए, कदम चोक र निम चोक । इतिहासका जानकारहरू विसं १७६२/६३ ताका पाल्पाली राजा मणिमुकुन्द सेनले व्यापार जानेका कश्मीरका कसौधनहरूलाई ल्याएर बटौलीको कदम चोकमा राखेको बताउँछन् ।

कसौधन थरका ती भारतीय व्यापारीले पुरानो बटौलीका दुई चोकमा अस्थायी छाप्रा बनाएर व्यापार सुरु गरे । त्यो समय बटौलीमा मंसिर, पुस, माघ र फागुनमा थेगिनसक्नुको भीड हुन्थ्यो । फागुनदेखि गर्मी सुरु हुने भएकाले मधेसमा ‘औल’ लाग्ने भन्दै पहाडका मान्छे तराई झर्न डराउँथे । सीतारामका अनुसार २०२२/२३ सालसम्म पनि बटौलीमा पहाडबाट मान्छे चैतदेखि कात्तिकसम्म आउन डराउँथे । घिउ, अदुवा, बेसार, जडीबुटी, तरुल, सखरखण्ड, कोदो, मकै बेच्न पहाडबाट झरेकाहरू बदलामा नुन, चिनी, काँचो कपडा लिएर पहाड उक्लिन्थे ।

बटौलीमै जन्मे पनि सीतारामका पुर्खा दाङको देउखुरीबाट झरेका थिए । सीतारामका बाबुबाजेलाई तत्कालीन शासक चन्द्रशमशेरले ‘लालमोहरिया’ बनाएर आफ्नो घरमा जजमानी (पूजापाठ) गराउनका लागि देउखुरीबाट बटौली ल्याएका थिए । त्यतिबेला राजाहरूले आफ्नो सहयोग र पूजापाठका लागि जग्गा दिएर लालमोहर लगाइदिने चलन थियो । सीताराम यही परिवारको आठौं पुस्ता हुन् । चन्द्रशमशेरकै पालादेखि चलेको सीतारामहरूको जजमानी अहिले पनि यो क्षेत्रमा चलिरहेकै छ ।

बटौलीका पुराना व्यापारी रामचन्द्र कसौधनको घर । तस्बिर : घनश्याम गौतम/कान्तिपुर

बाबु चुरामणिले उनलाई सुनाएअनुसार कदम चोकदेखि निमचोकसम्म ४/५ घर मात्र थिए । अन्य सबै खाली जग्गा थियो । त्यही खाली जग्गामा छाप्रो बनाएर ल्हासाको सुन र नुनदेखि पहाडको घिउ र जडीबुटीको व्यापार हुन्थ्यो । मालमत्ताको भारीसहित पाल्पा, स्याङ्जा, गुल्मी, पर्वतबाट आउने नुवाकोटको डाँडो हुँदै कदम चोक झर्थे । गुल्मी, स्याङ्जादेखि आएका भरिया १५ दिनमा बटौली आइपुग्थे । टिनका भाँडोमा बोकेर ल्याएको पहाडको घिउ छाप्रा बनाएर बसेका कसौधन र मारवाडीले किन्थे । सुका पैसामा दुई माना घिउ पाइन्थ्यो । एक टिनमा १० मानासम्म हुन्थ्यो ।

त्यतिबेला बटौलीमा घिउको व्यापार गर्न भरियासहित दैनिक १ सय ५० जनासम्म पहाडिया साहुजी आउँथे । उनीहरूबाट खरिदेको घिउलाई बटौलीका व्यापारीले ठूला कराहीमा राखेर पकाउँथे । अनि त्यही घिउ मारवाडीहरूले भारतको कोलकातादेखि बनारससम्म पुर्‍याएर बिक्री गर्थे । अहिलेको सिद्धार्थ राजमार्ग निर्माण नभइसकेकाले भारतको बेथरी भन्ने स्थान भारत छिर्ने मुख्य नाका थियो ।

गुल्मीको गुल्मी दरबार गाउँपालिका–२ जुभुङका ९१ वर्षीय पीताम्बर गौतमका अनुसार त्यहाँबाट बटौली पुग्न ४ देखि ५ दिन लाग्थ्यो । सामान बोकेर फर्किंदा अर्को ६/७ दिन । उनी १४ वर्षको हुँदा २००२ सालमा पहिलो पटक बाबुसँग सामान लिन बटौली पुगेका थिए । ‘बुबासँग गएर नुन लिएर फर्किंदा हामीलाई १२ दिन लागेको सम्झना छ,’ उनले भने, ‘त्यति बेला बटौलीका व्यापारीले बोलेको कुरा हामीले बुझ्न सकिन्नथ्यो ।’

बुटवलको नयाँ बस्ती ।

बटौलीको नारायणस्थान चोकमा रहेका केशवमान शाक्य त्यति बेला ‘पुँजीपति’ व्यापारीका रूपमा चिनिन्थे । अर्का ठूला व्यापारी बनारसका नागेश्वर कसौधनले पनि १९५५/५६ सालतिरै घर बनाएका थिए । भीमसेन टोलमा रहेको उनको घर बटौलीको पुरानोमध्येकै एक हो । त्यही घरलाई अहिले उनका नाति पर्ने ४७ वर्षीय बजरंगी कसौधनले संरक्षण गरेर बसेका छन् । सुरक्षाको कमजोर प्रबन्ध रहेकाले त्यति बेला व्यापारीहरूले घरका भित्तामा पैसा राख्न बलिया सेफ बनाएका थिए । नागेश्वरको घरको भित्तामा बनाइएको सेफ अहिले पनि सुरक्षित छ । तर, नागेश्वरका छोरा रामचन्द्रले ठूलो ताला लगाएको त्यो सेफ झन्डै ७० वर्षयता खोलिएको छैन ।

बटौलीका पुराना बासिन्दा एवं समाजसेवी रवीन्द्रगोपाल लाकौलका अनुसार बटौलीको व्यापारमा कसौधन र मारवाडीहरू जमेका थिए । स्वामी प्रभुदयाल, वंश गोपाल, चिनियामान, पीताम्बर काँचो कपडाका चर्चित व्यापारी हुन् । राम वकस, जुगीलाल, सानो काजी, गोविन्द वैद्य, रामलाललगायतका व्यापारीले कपडा र किराना व्यापार गर्थे । तीर्थ बाँटासहितका साहुजीहरूले सुन र तामाको कारोबार गर्थे । ‘बटौलीमा सुरुदेखि नै मारवाडी र कसौधनहरूले व्यापारमा अड्डा जमाएका थिए,’ उनले भने, ‘पछि पाल्पाबाट नेवार, मुस्ताङबाट थकाली, पर्वतबाट गुरुङ र स्याङ्जाबाट बाहुन–क्षत्री पनि झरेर व्यापार गर्न थालेपछि कसौधन र मारवाडी पलायन भए ।’

पाल्पाबाट झरेका नेवारले कपडा, किरानाको व्यापार, थकालीहरूले भट्टी (होटल) र गुरुङहरूले जडीबुटी र गाडीका कारोबार गर्न थालेपछि भारतीय मूलका व्यापारी विस्थापित भएको उनी बताउँछन् ।

खस्यौलीको उदय

बटौलीबाट सुरु भएको व्यापार बिस्तारै बढ्दै गयो । जंगल व्यस्त बजारमा परिणत भए । पुल चोक, गढी चोक, भीमसेन टोल, सोठी चोक, सरकारी टोललगायतका नामले बजार विस्तार भए । व्यापारसँगै आबादी पनि बढ्दै गयो । विसं १९७७ ताका ५० को हाराहारीमा घर भएको बटौली बिस्तारै बजारको स्वरूपमा फैलिँदै गयो ।

२०१५/२०१६ तिर गुल्जार बनेको बटौलीको चमकधमकमा त्यसपछि भने ब्रेक लाग्यो । २०२२ सालमा सिद्धार्थ राजमार्ग बनेपछि भने बटौलीको फैलिँदो रफ्तार मात्रै खुम्चिएन, सडकसँगै जोडिएर आउने व्यापार व्यवसायको सम्भावना पनि बटौलीबाट स्थानान्तरण भयो । राजमार्ग बनेपछि बस्तीको विस्तार तिनाउवारि बढ्न थाल्यो । खस्यौली भनेर चिनिने तिनाउको बगर, जंगलको झाडी (अहिलेको लक्ष्मीनगरदेखि अमरपथसम्म) भएको क्षेत्रमा आबादी सुरु भयो । राजमार्ग नबनुन्जेलसम्म यो क्षेत्र जंगलले ढाकिएको खोला किनार थियो । जंगली जनावरको डर भएकाले त्यतातिर मान्छेको आँखा कमै जान्थ्यो ।

बटौली बजार ।

२०१६ सालमा बनेको बटौली नगरपालिकालाई २०१७ सालदेखि नगर पञ्चायत भनियो । २०२७ तिर नगर पञ्चायतले खस्यौलीमा बस्ती बसाल्न २ हजार रुपैयाँमा २ बिघा जग्गा दिने सूचना जारी गर्‍यो । त्यसपछि व्यापारीहरू खस्यौली सर्न थाले । २०३४ सालमा बटौलीबाट खस्यौलीमै नगर पञ्चायतको कार्यालय खोलियो । २०२६ सालमा पूर्वपश्चिम राजमार्ग बनेपछि खस्यौली झनै आकर्षणको केन्द्र बन्यो ।

२०१० सालमा पाल्पाबाट व्यापार गर्न बटौली झरेका गणेशप्रसाद सैंजुका परिवारले २०२० मा खस्यौलीमा २ हजार रुपैयाँमा जग्गा किनेका थिए । उनीहरू २०२५ सालतिर खस्यौली सरेपछि पाल्पाका नेवार समुदायका अन्य व्यापारी पनि खस्यौली झरे । त्यति बेला सुनौलीदेखि खस्यौलीसम्म नियमित दुई वटा बस चल्थे । खस्यौलीमा पनि पुलचोक, अमर पथ, राम पथ, बीपी पथ बन्दै घरले भरिन थाल्यो । हेर्दाहेर्दै खस्यौली फैलिँदै गयो । खस्यौली गोलपार्कदेखि ट्राफिकचोक हुँदै राम मन्दिर, दुर्गा मन्दिर, पुष्पलालपार्क, मिलन चोकसम्म बजार विस्तार भयो । तिनाउ किनारमा बढ्दै गएको बजारमा पहाडबाट झरेका मगर, गुरुङसहितका खस आर्यले प्रभाव बढाए । समय क्रममा खस्यौली बुटवल सहरकै एउटा अंश भयो ।

‘सेनकालीन इतिहास कला र संस्कृति’ पुस्तकका लेखक एवं बुटवलको इतिहासका जानकार निर्मल श्रेष्ठका अनुसार झन्डै २५ सय वर्षअघि बुद्धकालीन समयमा यस क्षेत्रका १० सहरलाई बुद्धवली भन्ने गरिन्थ्यो । त्यसपछि सेन राजाहरूको पालामा बुटवली बन्यो । त्यसको अपभ्रंस भई बुटवल भएको थियो । ‘ठ्याक्कै कहिलेदेखि बुटवल भनियो भन्ने तथ्य देखिएको छैन,’ उनले भने, ‘तर, बुद्धवली, बटौली हुँदै बुटवल भएको देखिन्छ ।’ साहित्यकार एवं इतिहासविद् योगी नरहरि नाथको ‘हाम्रो देश दर्शन’ पुस्तकमा पनि बुद्धवलीको अपभ्रंस भएर बुटवल रहन गएको भन्ने उल्लेख छ ।

खस्यौली हुँदै बुटवलमा पहाडी व्यापारी र ग्राहकको भीड बढेपछि भारतीय मूलका कसौधन र मारवाडीहरू विस्थापित हुन थाले । बिस्तारै बटौली सुनसान बन्दै गयो । खस्यौली गुल्जार बन्न थाल्यो । त्यही खस्यौली अहिले मुलुककै व्यवस्थित व्यापारिक केन्द्र र बुटवल सहर बनेको छ । बुटवल ठूलो सहरका रूपमा विकास हुँदै गएपछि २०३५/३६ सालपछि बटौलीको रौनक पूरै हराएको छ ।

आधुनिक सहर बुटवलका जानकार एवं बुटवल उपमहानगर पालिकाका पूर्वउपप्रमुख ७३ वर्षीय बिमलबहादुर शाक्यका अनुसार २०३६ सालपछि बुटवलमा पहाडबाट बसाइँ सर्नेको ताँती नै लाग्यो । व्यापार तथा सुखी जीवनयापनका लागि बुटवल झर्नेहरू बाक्लिँदै गएपछि बुटवल तीव्र गतिमा उछालिँदै गयो । ट्राफिकचोक र बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) क्षेत्रतिर बस्ती बढ्यो । हाटबजार चल्न थाल्यो । बिस्तारै नेपालगन्ज रोड, हस्पिटल लाइन, मिलन चोक, चौराहासम्म बस्ती बाक्लियो । २०४६ सालसम्ममा सुक्खानगर, दीपनगर, देवीनगर, कालिकानगरसम्म बस्ती विकास भयो । माओवादी ‘जनयुद्ध’ र २०६२/६३ को जनआन्दोलनपछि योगीकुटी, जानकीनगर, शंकरनगर, मणिग्राम, भलवारी हुँदै बस्ती भैरहवासम्म पुगेको थियो ।

माओवादी ‘जनयुद्ध’ उत्कर्षमा पुगेपछि बटौली र खस्यौलीका अधिकांश नेवार समुदायका व्यापारी विस्थापित भए । ‘पछिल्लो समय बुटवलमा देशका झन्डै ६० जिल्लाका मान्छे बसाइँसराइ गरेर आएको देखिन्छ,’ शाक्य भन्छन्, ‘बुटवलको विकासमा पञ्चायतदेखि माओवादी ‘जनयुद्ध’ को पनि ठूलो देन छ ।’ शान्ति स्थापनापछि बुटवलदेखि तल योगीकुटीदेखि मणिग्रामसम्मको बस्ती विकास अत्यन्तै तीव्र गतिले बढेको छ । त्योसँगै बुटवल औद्योगिक, आर्थिक, सांस्कृतिक, राजनीतिक हरेक क्षेत्रबाट सहर बनेको उनले बताए ।

कालीपारे घिउको कथा

बटौलीको इतिहास सम्झिँदा ‘कालीपारे’ को सम्झना पनि आइहाल्छ । गुल्मी, स्याङ्जादेखि बागलुङ, पर्वतबाट भरियालाई बोकाएर घिउ बिक्री गर्न बटौली झर्ने व्यापारीलाई ‘कालीपारे’ भनिन्थ्यो । कालीगण्डकी तरेर आउने भएकाले उनीहरू कालीपारका रूपमा चिनिन्थे ।

उतिबेला घिउ खार्ने कराही मिल्काइएको अवस्थामा ।

पहाडिया व्यापारीले ल्याएको त्यही कालीपारे घिउ प्रशोधन गर्न बुटवलमा कसौधन र मारवाडीहरूले एक पटकमा एक क्विन्टलसम्म तताएर खार्न मिल्ने फलामका ठूला कराही बनाएका थिए । एक पटकमा ५ वटासम्म कराही आगोमा बसालेर घिउ प्रशोधन गरिन्थ्यो । ‘कालीपारे घिउ लेखेको टिन’ मा राखेर बनारस पुर्‍याउँथे । बटौलीमा तयार गरिएको कालीपारे घिउमा बन्ने जेरी, मिठाई, हलुवाईको स्वाद मीठो हुने भएकाले बनारमा कालीपारे घिउका माग थियो ।

‘बटौलीबाट सातामा २ लडिया घिउ बनारस जाने गर्थ्यो,’ नागेश्वरका छोरा रामचन्द्रले भने, ‘बनारसमा कालीपारे घिउ आउँदै छ भनेर मिठाई व्यापारी कुरेर बस्थे ।’ बाटो खुलेर पहाडतिर गाडी जान थालेपछि बटौली धानेको पहाडको घिउदेखि जडीबुटीसम्मको व्यापार हराएको उनी बताउँछन् । ‘बाटोले बजार पनि सर्‍यो, घिउ पनि हरायो,’ उनले भने, ‘कराहीमा खिया लाग्यो, बटौली पनि सुस्तायो ।’

बटौलीका नागेश्वर कसौधन घिउ प्रशोधन गर्ने ठूला व्यापारी थिए । उतिबेला घिउ खार्ने ४ कराही अहिले मिल्काइएको अवस्थामा छन् । नागेश्वरका नाति ४७ वर्षे बजरंगी कसौधन उतिबेला कबाडीलाई बिक्री गर्न खोज्दा बाबुले नदिएपछि १०/१२ वटा यस्ता कराही झाडीमा फालिएको बताउँछन् ।

प्रकाशित : आश्विन १४, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?