कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
तीज विशेष

बदलिँदो रोजाइ

सीमा तामाङ

काठमाडौँ — तीजमा महिलाहरूको रोजाइ भनेकै रातो रङको सारी । चुरापोते र गरगहना । यो पर्व नजिकिँदा व्यापारीदेखि उपभोक्तासम्मलाई बजारमा कस्तो सामग्रीको माग छ भन्नेमै बढी चासो हुन्छ । 

बदलिँदो रोजाइ

समय फेरिँदै जाँदा पहिरन र गरगहनाको ट्रेन्ड पनि बदलिँदो छ । पहिला हेभी र महँगो सारी लगाउने प्रचलन थियो, अहिले रातै रङमा पनि हलुका र सस्तो मूल्यका सारी बजारमा आउन थालेका छन् । तीज जति नजिकियो, व्यापार भने कम हुन थालेको व्यापारीहरूको भनाइ छ । ‘तीजको बजारमा देखिएको रौनक अहिले घटिरहेको छ,’ असनका एक व्यापारीले भने ।

मोबाइलमा फोटो लिएर मखनस्थित पसलमा सारी खोज्दै थिइन्, कोटेश्वर बस्ने सरु मगर । भाइरल सारी भन्दै विभिन्न कलर मिक्स भएको बुट्टे सारी खरिद गर्ने योजनामा रहेकी उनी १५ सय रुपैयाँ मूल्य सुनेपछि झस्किइन् । सात सयदेखि एक हजारमा बेचिरहेको टिकटकमार्फत थाहा पाएको भन्दै उनी पसलेलाई मूल्य घटाउन आग्रह गरिरहेकी थिइन् । सातवटा सारी लिने भन्दै उनले हजार रुपैयाँमै दिन जोड गरिन् । तर पसलेले १३ सय रुपैयाँभन्दा कम मूल्यमा दिन नसकिने बताएपछि उनी सोही मूल्यमा सारी किन्न राजी भइन् । रोजेर सामान किन्नेभन्दा पनि फोटो लिएर खोज्न आउने धेरै रहेको ती पसलेले सुनाए । उनका अनुसार हिजोआज समूहका सबैले एउटै सारी लगाउने हुँदा एकै पटकमा १५ वटासम्म बिक्ने गरेको छ ।

साउन महिनामा मात्रै १९ करोड ८१ लाख ५४ हजार रुपैयाँको सारी भित्रिएको भन्सार विभागको तथ्यांक छ । उक्त अवधिमा ४ लाख २० हजार ४ सय १८ वटा सारी भित्रिएको थियो । सबैभन्दा बढी भारतबाट १९ करोड ६० लाख ४४ हजार रुपैयाँ बराबरको ४ लाख १४ हजार ७ सय १८ वटा सारी भित्रिएको हो । बाँकी सारी इन्डोनसिया, बंगलादेश, चीन, हङकङबाट भित्रिएका हुन् । एउटै सारीको मूल्य पनि गुणस्तरअनुसार सस्तो र महँगो पर्छ । तीजको व्यापार सुरु भएसँगै दैनिक ३ देखि ४ लाखसम्मको सारीको व्यापार भएको बाँगेमुढास्थित सञ्जय इम्पेरियलमा कार्यरत सेलिना श्रेष्ठले बताइन् । उनलाई अहिले सारी देखाउन भ्याइनभ्याई छ । गएको साताको तुलनामा सारी किन्न कम मानिस आउन थालेको उनले सुनाइन् । ‘एक सातादेखि तीजका लागि सारी बेचिरहेका छौं, आजदेखि मान्छे कम हुन थाले,’ आइतबार उनले भनिन्, ‘धेरै मानिस टिकटकमा चलेको सारी खोज्न आउँछन्, अनि मूल्य सुनेर तर्सिन्छन् ।’

उनका अनुसार अहिले कोरियन सिफन, कोरियन सिल्क, अर्गान्जालगायत ब्रान्डका सारीको माग धेरै छ । ‘यो तीजमा फ्लोरल प्रिन्ट, बुट्टे सारीलगायत हलुका र सस्तो सारी धेरै बिक्री भयो,’ उनले भनिन्, ‘महँगो र हेभी सारी कमै बिके ।’ पहिलाको तीजमा यस्ता सारीको माग धेरै आउने भए पनि कोरोना महामारीयता सारीको ट्रेन्ड नै फेरिएको उनको अनुभव छ । ‘पहिला रातै रङका सारी खोज्न आउँथे, हिजोआज रातो मिसिएको अन्य रङका खोज्न आउने पनि छन्,’ उनले भनिन्, ‘यसपालि ६५० देखि १५ सयसम्मका सारी धेरै बिक्री भए ।’

तीजमा सारीसँगै सुनचाँदीको समेत सिजन हो । तीजमा रातै तिलहरी, चुरापोते किन्ने क्रम ह्वात्तै बढ्छ । न्युरोड, असन र इन्द्रचोकलगायत बजारमा सारी, चुरापोते खरिद गर्न आउने उस्तै छन् । तीजमा रातो रङको माइली तिलहरी र हरियो छड्के तिलहरीको माग धेरै हुने सुनचाँदी व्यापारी बताउँछन् । अन्य गहनाभन्दा तिलहरीकै माग बढी आएको ओटुस्थित गहना निकुञ्जका कर्मचारी दीपक खोखालीले बताए । ‘अहिले दैनिक ८

देखि १० तोलासम्म सुनको माग छ, सबैभन्दा धेरै तिलहरीको छ,’ उनले भने, ‘अरू बेलाजस्तै चुरा र औंठी किन्ने त छँदै छन् ।’ उनका अनुसार पहिला २५ देखि ३० तोलासम्मको माग हुन्थ्यो ।

सुनको कम तौलबाट बन्ने चोकर, रानीहार, नौगेडी, जन्तरलगायत सामग्रीको पनि माग रहेको उनले सुनाए ।

भन्सार विभागका अनुसार साउनमा १ अर्ब ४८ करोड २७ लाख ४२ हजार रुपैयाँको दुई लाख ६ हजार ग्राम सुन आयात भएको थियो । ५ करोड ५२ लाख ९१ हजार रुपैयाँ बराबरको ३ हजार ३ सय ४६ ग्राम सुनको तयारी गहना आयात भएको विभागको तथ्यांक छ ।

तीजमा रातोसँगै हरियो पोतेको पनि माग धेरै रहेको इन्द्रचोकस्थित पोते पसलका साजिद उद्दिनले बताए । ‘विवाहितले रातो लगाए पनि छड्के तिलहरीका लागि हरियो नै खोज्छन्, अविवाहितले पनि लगाउने मिल्ने हुँदा हरियोको धेरै माग छ,’ उनले भने, ‘अरू रङका पोते पनि खोज्न आउँछन् ।’ तीजमा तिलहरी, नौगेडी, जन्तरलगायतमा पोते भर्न आउने धेरै भएको उनले सुनाए । उनका अनुसार पोते बनाएको २ सयदेखि ७ सय रुपैयाँसम्म ज्याला पर्छ । साउनमा २ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको ४५ हजार ९ सय ४७ किलो पोते आयात भएको छ । चुरा र टीका ७ करोड ९ लाख ८० हजार रुपैयाँको आयात भएको विभागको तथ्यांक छ ।

शंखमूलको क्रिस्टल ब्युटिपार्लरकी सीमा थापाले भेल्भेट र रातो चुराको माग धेरै रहेको बताइन् । ‘सिसाको भन्दा भेल्भेट चुराको माग धेरै छ, भेल्भेटमा पनि मेटल र सिसाको आउँछ,’ उनले भनिन्, ‘अहिले मखमलको टीका, रातो लच्छा र रातै चुराको मात्र धेरै छ ।’

प्रकाशित : भाद्र १३, २०७९ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?