राजनीतिमा 'राजापाक्षे र लाजपचेहरू'- फिचर - कान्तिपुर समाचार

राजनीतिमा 'राजापाक्षे र लाजपचेहरू'

रमन पौडेल

काठमाडौँ — सिंहदरबारमा त सधैँ राजनीतिक 'गाईजात्रा' चलिरहेको होला । कलाकारहरूलाई भने वर्षमा एक पटक भव्य गाईजात्रा लाग्छ । गाईजात्रालाई भव्य बनाउने कलाकारको अग्रसूचीमा पर्छन्- मनोज गजुरेल । हरेक वर्ष नयाँ आवरणमा देखा पर्ने उनी यसवर्ष पनि केही पात्रहरुको क्यारिकेचर लिएर आएका छन् । गजुरेल यसपटकको गाईजात्राका लागि एक महिनाभन्दा अघिदेखि रिहर्सलमा थिए । क्यारिकेचर मात्रै नभएर गाईजात्राका लागि उनी विशेष रुपमा विषयवस्तु र त्यसको 'ग्राभिटी'मा केन्द्रित हुने गर्छन् ।

फलस्वरुप उनले यसपटक अघिल्ला वर्षभन्दा फरक विषय र पात्र छनोट गरे- जनार्दन शर्मा, अरबी व्यवसायी र महिन्दा राजापाक्षे ।

अरबी व्यवसायीको नक्कल गर्न उनलाई खासै गार्‍हो भएन । किनकि उनले यसअघि पनि यस्तो क्यारिकेचर गरिसकेका थिए । साथै पटक पटक अरब जाँदा पनि भाषालगायत कतिपय आधारभुत कुरा सिक्न उनलाई सजिलो भएको थियो । अरबी व्यवसायीहरूले लाखौं नेपाली युवालाई रोजगारी दिएका छन् । नेपाली कामदारहरूले पनि अरबको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

रोजगारदाता र श्रमिकको बीचमा आइपुग्छन् बिचौलियाहरू । जसले अधिकांश युवाहरूलाई ठगिरहेका छन् । उता अरबका मालिकहरूलाई पनि छक्याइरहेका छन् । यस्तै विषयमा मनोजले यसपटक चोटिलो व्यंग्य गरेका छन् । 'सुनको लौरो दुर्गा प्रसाइँ इन्साल्लाह, काठको लौरो मुर्गा फसाइस् मासाल्लह !' मनोजले अरबिक भाषा र नेपालीको फ्युजनमा गरेको व्यंग्य अरबिक जस्तो पनि र नेपाली जस्तो पनि सुनिन्छ । यथार्थमा उनको व्यंग्यले नेपाली युवाहरूलाई ठगिरहेका बिचौलियाहरूमाथि प्रहार गरेको छ ।

यसपटकको गाईजात्रामा मनोजका अर्का हिट पात्र हुन्- अर्थमन्त्री जनार्दन शर्मा । उर्जामन्त्री बनेर लोडसेडिङ अन्त्य गर्ने बेला अत्यधिक लोकप्रिय बनेका उनै शर्मा गठबन्धन सरकारको अर्थमन्त्री बनेपछि त रातारात अलोकप्रिय बने । शर्माले बजेट निर्माणमा बाहिरिया व्यक्ति प्रवेश गराएको र 'सीसीटीभी फुटेज काण्ड' आम जनता र राज्यका लागि हानिकारक भयो नै, एक व्यंग्यकारका रुपमा मनोज गजुरेलका लागि भने गतिलो 'कन्टेन्ट' बन्यो । व्यंग्यमा गजुरेलले अर्थमन्त्रीलाई 'ब्यर्थमन्त्री' र जनार्दनलाई 'मानमर्दन' भनेर सम्बोधन गरेका छन् ।

कुनै राजनीतिज्ञ आफ्नै कर्मले लोकप्रियताको शिखरमा पुगेर कसरी अलोकप्रियताको ओरालो यात्रा गर्न सक्छ भन्ने सामाजिक राजनीतिक सम्बन्ध मनोजले नक्कली शर्मा बनेर सक्कली शर्मा र त्यस्तै अरु राजनीतिज्ञहरूको कहानी भनेका छन् । यस वर्ष मनोजको गाईजात्रा सेटमा देखिएका छन् श्रीलंकाका पूर्वराष्ट्रपति 'महिन्दा राजापाक्षे' पनि । पछिल्लो एक वर्षमा श्रीलंका संसारकै चासोको केन्द्रमा रह्यो । त्यस्तै चर्चामा रहे राजापाक्षे । उनै राजापाक्षेमाथि मनोजको व्यंग्य चर्चामा छ ।

राजापाक्षेसँग नेपालका नेताहरूको संवादलाई उनले 'राजापाक्षे र लाजपचेहरू' भन्दै व्यंग्य गरेका छन् । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र राजापाक्षेसँग गर्ने संवाद निकै रोचक छ । यसका लागि सिंहाला भाषाका आधारभुत कुराहरू सिकेको बताउँछन् मनोज । 'अनुहार र भाव मिलाउन त धेरै गाह्रो थिएन तर भाषा सिक्न चुनौती भयो । गुगलमा सर्च गरेपछि पनि एक सातासम्म मैले श्रीलंकामा बोलिने सिंहाला भाषाका आधारभुत कुरा सिकेँ । तर गहिराइमा बुझ्दा सिंहाला त नेपालको संस्कृत भाषासँग केही मिल्दोजुल्दो रहेछ । यसले पनि मलाई नेपालीसँग मिसाउन सजिलो भयो ।'अरबी व्यवसायी, जनार्दन शर्मा र राजापाक्षेमाथि उनले बनाएका व्यंग्य टिकटक, फेसबुक र युट्युबमा केही घण्टामै लाखौंले अवलोकन गरिसकेका छन् । फेसबुकमा जनार्दनको क्यारिकेचरको फोटो राख्दा मात्रै पनि धेरै प्रशंसा पाएको उनको अनुभव छ ।

त्यसो त, सबैभन्दा धेरै राजनीतिज्ञ र सेलिब्रीटीहरूमाथि व्यंग्य गर्ने कलाकार सम्भवत: मनोज गजुरेल नै हुन् । नरेन्द्र मोदी, सी चिनफिङदेखि डोनाल्ड ट्रम्प हुँदै डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम गेहब्रेयससको समेत क्यारिकेचर गर्न उनले भ्याए । यतिसम्म कि अधिकांश कलाकारले चासो नदिएका तर रोचक पात्र भारतीय पत्रकार अर्नव गोस्वामीको क्यारिकेचर पनि मनोजले गर्न भ्याए ।

मनोज विदेशी व्यक्तित्वहरूमाथि व्यंग्य गर्ने पहिलो नेपाली कलाकार मात्रै हैन विदेशी मिडियाले कभरेज गरिएका कलाकार पनि हुन् उनी । भारतले नेपालमाथि नाकाबन्दी लगाइरहँदा उनले मोदीमाथि गरेको व्यंग्यले भारतीय मिडियामा प्रमुख स्थान पाएको थियो। त्यससँगै उनका व्यंग्य भारतीय मिडियासँगै बीबीसीदेखि डेलीमेलले समेत कभरेज गरेका छन् ।

टेड्रोससँगको भेट

विश्वभर कोरोना महामारीको संकट चलिरहँदा सबैको ध्यान तानिरहेका एक प्रमुख पात्र थिए डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस । उनै टेड्रोससँग मनोजले भेट्ने अवसर पाए । त्यति मात्रै नभएर उनको क्यारिकेचर गर्दा चौतर्फी प्रशंसा पनि पाए उनले ।

खासमा टेड्रोससँग उनको भेट अविस्मरणीय त थियो नै, रोचक पनि भएछ । टेड्रोस नेपाल आउने भनेपछि मनोजले उनलाई भेट्न खोजिरहेका थिए । यही शिलशिलामा उनले स्वास्थ्य र परराष्ट्र मन्त्रालयका कर्मचारीहरू मार्फत् टेड्रोससँग भेटको अवसर जुराइदिन आग्रह गरेका थिए ।

कर्मचारीहरूले मनोजलाई आश्वासन त दिएका थिए तर भेटको अवसर जुराउन सकिरहेका थिएनन् । यतिसम्म कि भेट नै गर्न सक्ने वा नसक्ने यकिन गर्न सकिरहेका थिएनन् । त्यस्तैमा टेड्रोस आफैंले मनोजसँग भेट्न चाहेको खबर मनोजले नै थाहा पाए । मनोजलाई नै फोन आयो र टेड्रोसले भेट्न चाहेको कुरा गरियो । 'ढुंगा खोज्दा देउता भेटे जस्तै भयो मलाई त । मैले नै भेट्न खोजिरहेको व्यक्ति आफैंले मलाई भेट्ने भनेर समय माग्दा त अचम्म नै भयो' मनोज भन्छन् ।

खासमा मनोजले त्यसअघि नै टेड्रोसको क्यारिकेचर गरिसकेका थिए । त्यसो त कोरोना महामारीका बेला हास्यव्यंग्य उतिसारो जम्ने अवस्था त थिएन । तर टेड्रोस त्यस्ता व्यक्ति थिए, जसमाथि संसारको चासो थियो। मनोजले भने उनको क्यारिकेचर गरेर कोरोना महामारीमा खेलवाड नगरौं भन्ने सन्देश पनि दिएका थिए ।

२०६२/६३ को जनआन्दोलनसँगै मनोजले अन्तर्राष्ट्रिय छवि बनाएका नेताहरूमाथि पनि व्यंग्य गर्न थालेका हुन् । त्यसअघि नेपाली राजनीतिज्ञ र सेलिब्रिटीहरूमाथि नै व्यंग्य गर्ने मनोजले जनआन्दोलनपछि नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प, सी चिनफिङ लगायत अन्तर्राष्ट्रिय व्यक्तिहरूमाथि पनि व्यंग्य गर्न थालेका हुन् । त्यसो त मनोजले सुरु गरेको धेरै पछिसम्म पनि अन्तर्राष्ट्रिय व्यक्तिहरूमाथि व्यंग्य गर्ने चलन थिएन ।

यस्तै विदेशी पात्र र विषयको विविधता खोजी गर्दा मनोजले ३० भन्दा धेरै व्यक्तिको क्यारिकेचर गरिसकेका छन् । पछिल्लो समय स्वदेशी भन्दा पनि विदेशी पात्रमाथि उनका व्यंग्य निकै चोटिला हुने गर्छन् । तर किन विदेशी पात्रहरू ? मनोज भन्छन्- 'अहिले अरब देशहरूमा हुने कुनै घटनाले नेपाललाई पनि असर पार्न सक्छ । भारतमा हुने राजनीतिले नेपाललाई प्रभाव पारेकै हुन्छ । चीन वा अमेरिकामा हुने राजनीतिले पनि नेपाललाई कुनै न कुनै रुपमा प्रभाव पार्छ । अहिलेको विश्व साँघुरो पनि छ । विश्वको कुनै कुनामा हुने घटनामा अर्को कुनामा हुने देशको पनि चासो हुन सक्छ ।'

व्यंग्य सम्पादकीय

कुनै सञ्चारमाध्यमको आधिकारिक धारणा सम्पादकीय मार्फत् सार्वजनिक हुन्छ । कलाकार मनोजले भने आफ्नो कलाकारिताको अलग सम्पादकीय तयार पारेका छन् । व्यंग्य गर्ने क्रममा कस्ता विषय र मुद्दालाई नछुने वा कस्ता पात्रलाई नछुने भनेर उनले एउटा आचारसंहिता जस्तो नीति तयार पारेका छन् । त्यसलाई उनले आफ्नो व्यंग्यकारिताको सम्पादकीय नाम दिएका छन् ।

मनोज भन्छन्, 'पत्रकारिता पढ्ने क्रममा गुरुले सम्पादकीयबारे पढाएको सम्झन्छु म । त्यसैले पनि म आफू आफ्नो पेसामा प्रतिवद्ध र इमानदार बन्नु पर्छ भनेर सम्पादकीय तयार पारेको हुँ । यसलाई म आफ्नो प्रस्तुतिमा सधैँ ख्याल गर्छु ।' सोल्टी मोडमा केही महिनाअघि भारतीय पत्रकार रविस कुमारको कार्यक्रममा पनि उनले आफ्नो सम्पादकीयबारे चर्चा गरेका थिए ।

पुरानाभन्दा नयाँ, नयाँभन्दा अनुभवी

मनोजको पहिचान भर्सटाइल त छ, उनका अगाडि केही चुनौती पनि थपिँदै छन् । पछिल्लो समय उनैले हौसला दिएर 'ग्रुम' गरेका स्ट्यान्ड अप कमेडियनहरूको ठूलो जमात तयार भइसकेको छ । उनीहरूका कन्टेन्टमा नयाँपन भेटिन्छ । अपडेट हुन्छन् । यस्तै अध्ययन गरेका र नयाँहरूको भीडसँगै पुरानाहरूले अवकास लिनुपर्ने अवस्था पनि देखिन थालेको छ ।

मनोज भने नयाँ पुस्ताका कमेडियनहरू आउनुलाई सकारात्मक नै ठान्छन् । 'म विज्ञानमा विश्वास गर्छु । हरेक चिज पुरानोलाई नयाँले विस्थापित गर्छ । पुरानोले आफूलाई अपडेट गर्न सकेन भने स्वत: विदा हुनु पर्छ । र पुरानो विदा हुँदै गर्दा नयाँ आउन सकेन भने त्यहाँ भ्याकुम सिर्जना हुन्छ । त्यसैले पनि नयाँ पुस्ताका कमेडियनहरू आउनु जरुरी छ ।'

यसबाट मनोजलाई केही लाभ पनि मिलेको छ । सन्तोष पन्त, हरिवंश आचार्यहरूभन्दा नयाँ हुन् उनी । र अचेलका स्ट्यान्डअप कमेडियनहरूभन्दा पुराना र अनुभवी । यसलाई उनी अवसर ठान्छन् । र यसबाट दुवै पुस्ताको सम्बन्धको सेतू बन्न पाएको उनको बुझाइ छ ।

क्यारिकेचरले कसरी परिवर्तन ?

पुराना गाईजात्रा स्टेजको स्मरण गर्दै अचेल धेरै परिवर्तन भएको ठान्छन् मनोज । 'पहिले पहिले गाईजात्रामा पास पाउँ न सर भन्नेहरू अहिले विभिन्न अन्तरक्रिया र बहसमा हामीलाई बोलाउनु हुन्छ । हामी यसको प्रभावबारे बहस गर्छौं । कुनै स्वतन्त्र संस्था वा संगठनले यस्ता बहसलाई महत्व दिन्छन् । तर महत्त्वपूर्ण कुरा के भने हामी कति इथिकल छौं । कति इमानदार छौं भन्ने कुराले हामीले गरेको कामको प्रभाव कति पर्‍यो भन्ने निर्धारण हुन्छ । कति प्रभाव पार्ला भन्दा पनि हामी कति इमानदार भयौं भन्ने महत्त्वपूर्ण हो । दीर्घकालीन रुपमा परिवर्तन त हुन्छ नै ।'

तर नेताहरूलाई व्यंग्य गर्दा मनोजले आलोचना सहनु नपर्ने रहेछ । बरु सिधै गाली र निराधार आरोपको सामना गर्नुपर्छ । विशेषगरी शीर्ष नेताहरूमाथि व्यंग्य गर्दा विपक्षी दलका कार्यकर्ताको छुद्र गालीबाट बालबाल बच्नुपर्छ उनी । त्यस्ता कार्यकर्ता र समूहबाट विषय नबुझिकन तथानाम गाली आउने गरेको उनको अनुभव छ। यद्यपि उनी त्यस्ता तर्कहीन गालीका पछाडि कहिल्यै लाग्दैनन् । यस्तैमा उनले एउटा व्यंग्य कविता नै तयार पारेका छन्-'हास्यव्यंग्यलाई एन्जाइटी भएको छ ।'

'ओलीलाई व्यंग्य गर्छु प्रचण्डको झोले भन्छन्, जब प्रचण्डलाई दनक दिन्छु ओलीको हनुमान भन्छन् । जब देउवालाई व्यंग्य गर्दा प्रतिगमनको मतियार भन्छन्। प्रतिगमनलाई व्यंग्य गर्दा अराजकताको हतियार भन्छन्..'

तस्बिर सौजन्य : मनोज गजुरेलको फेसबुक पेज ।

प्रकाशित : श्रावण २८, २०७९ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्

सागका पदक विजेता सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण एसियाली खेलकुद (साग) को १२ र १३ औं संस्करणमा लगातार पदक जितेका उसुका हरिप्रसाद गोलेलाई सम्मान गरिएको छ ।

बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो । गोलेले १२औं सागमा रजत र १३औं सागमा थाउलोतर्फ कांस्य जितेका थिए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरकी उपमेयर अनिता लामा, वडा–१ का अध्यक्ष सुरेन्द्र लामा, वडा–३ का अध्यक्ष आकाश धिताल र वडा–५ का अध्यक्ष कृष्ण शाह ठकुरी पनि सम्मानित भए ।

उनीहरूलाई नेपाल कुङ्फु संघका अध्यक्ष सीताराम हुमागाईं, बालविकास बोर्डिङ हाई स्कुलका प्रिन्सिपल महेशकुमार श्रेष्ठ, बुढानीलकण्ठ कुङ्फुका प्रमुख सुकुमान लामा र नेपाल व्यायाम सेन्टरका विनोद महर्जनले सम्मानपत्र प्रदान गरे ।

प्रकाशित : श्रावण २८, २०७९ २०:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×