'कलाकारलाई १०/ २० लाख, हामीलाई हजार !' [भिडियो]- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पर्दा पछाडि

'कलाकारलाई १०/ २० लाख, हामीलाई हजार !' [भिडियो]

जसले राजेश हमालदेखि अनमोल केसीलाई समेत चिया खुवाएका छन्
रीना मोक्तान

काठमाडौँ — उनी मिठो चिया बनाएर खुवाउँछन् । चिया मात्रै होइन, कलाकारलाई खाना/नास्ता खुवाउने अनि छाता ओढाउने जिम्मा उनकै हुन्छ । छायांकन स्थललाई चिटिक्क पार्न होस् या प्राविधिक सामग्री बोक्न, उनकै खाँचो पर्छ । हरबखत कलाकार, निर्देशकको अगाडि तम्तयार भएर खडा हुनुपर्छ ।

बिहानदेखि रातिसम्म सेटमा सहयोगीका रुपमा खट्ने पुराना 'स्पटब्वाई' हुन्, राजु फुयाँल । राजुले ३० वर्ष फिल्म क्षेत्रमा बिताइसके । उनी सँगैका केही समकालीन स्पटब्वाई हुँदै निर्देशक, छायांकार बने । तर, निर्देशक बन्ने उनको सपना पढाइकै कारण पूरा हुन सकेन । निर्देशक बन्ने सपना कसैले कोट्याइदिए उनीसँग एउटै जवाफ हुन्छ, 'डाइरेक्टर बन्ने मन त थियो । तर, आमाबुबाले पढाइदिएनन् । गरिब परिवार भएर सपना पूरा गर्न सकिएन।'

राजु सानैमा आमासँग काठमाडौं आए । अर्काको घरमा खाना पकाउने, भाँडा माझ्ने काम गर्न थाले । त्यो कामले उनलाई गुजारा चलाउन नै ठिक्क थियो । राजुले पढ्न पाएनन् । काम नजान्दा उल्टै कुटाइ खाएको सम्झन्छन् राजु । त्यसै क्रममा 'रोमा दिदी'सँग उनको भेट भयो । रोमाले नै निर्देशक शम्भु प्रधानको घरमा काम गर्न सल्लाह दिइन् । निर्देशकको घरमा काम गरेपछि फिल्ममा देखिन पाइन्छ भन्ने आसा थियो । तर शम्भुको घरमा काम गरेको एक वर्षमै उनी बने -'स्पटब्वाई' ।

'काठमाडौं आउनुअघि म गाउँमा घाँस, दाउरा गर्थें । सानैदेखि दु: ख पाएँ । तर, काठमाडौंको डिल्लीबजारमा एक दिन रोमा दिदीलाई भेटें । दिदीले शम्भु प्रधानकहाँ भाँडा माझ्न जाने हो ? कलाकार बन्न पाइन्छ भन्नुभयो । निर्माताको घरमा बसेपछि फिल्म लाइनमा जान पाइन्छ भन्ने लाग्थ्यो । रोमा दिदीले गर्दा नै म यो फिल्म क्षेत्रमा आएँ,'राजु पुराना दिन सम्झन्छन् ।

हुन त शम्भुको घरमा काम गर्न बस्दा राजु धेरै कलाकारलाई चिन्थेनन् । तर, राजेश हमाल कस्तो होला ? भन्ने जिज्ञासा मनमा उब्जन्थ्यो । उनले शम्भुको घरमा दुई वर्ष काम गरे । तर, एक वर्ष नहुँदै फिल्ममा 'स्पटब्वाई' बन्न पाए । 'सम्पत्ति'को छायांकन स्थल नै 'स्पटब्वाई' करिअरको पहिलो खुड्किलो बन्यो । फिल्मका निर्देशक थिए उनै शम्भु । शम्भु कलाकारलाई कुर्सी लगिदिन भन्थे, राजु त्यसै गर्थे । सेटमा गाली पनि खान्थे । तर, पहिलो पटक अर्जुन श्रेष्ठ, मौसमी मल्ललाई आफ्नै हातले पकाएको चिया खुवाउँदाको आनन्द अझै उनको अनुहारमा झल्किन्छ । 'पहिलो पटक चिया बनाएको त्यतिबेलै हो । उहाँहरू दुवैले चिया मिठो छ भन्नुभएको थियो,' त्यसबेलाको क्षण सम्झँदै उनले भने ,'कलाकार कस्तो होलान् भन्ने लाग्थ्यो । अहिले खासै केही लाग्दैन ।'

पहिलो पटक सेटमा छिर्दा चिया पकाउन पनि जान्दैनथे, राजु । आनन्दबहादुर गुर्माछाने 'नन्दु'ले उनलाई चिया पकाउन सिकाए । राजु नन्दुले 'गाउँले' फिल्मको छायांकनमा आफूलाई चिया पकाउन सिकाएको सुनाउँछन् । पहिलो फिल्मपछि राजुले ‍अरुका घरमा काम गर्नु परेन । 'स्पटब्वाई'को रुपमा उनको डिमान्ड बढ्न थाल्यो । झन्डै २ सयभन्दा बढी फिल्ममा 'स्पटब्वाई' बनिसकेका राजु आफूले गरेका फिल्महरूको मनपर्ने सूचीमा 'सम्पत्ति', 'सुख–दु:ख', 'हामी तीन भाइ' र 'सक्कली–नक्कली'को नाम लिन छुटाउँदैनन् । पछिल्लो समय 'छक्का–पञ्जा', 'नाइँ नभन्नु ल–५', 'ए मेरो हजुर–४' र 'लाखे'मा काम गरेका राजु कलाकारले आफ्नो चियाको खुबै तारिफ गर्ने बताउँछन् । 'राजेश दाइले राजुको हातको चिया खाइदिउँ न त भन्नुहुन्थ्यो । राजु पनि पुरानो म पनि पुरानो भन्नुहुन्थ्यो,' उनले मुसुक्क हाँस्दै सुनाए । राजेश हमालदेखि अनमोल केसीसम्मलाई चिया खुवाएका राजु आफूले अधिकांश कलाकारसँग काम गरिसकेको दाबी गर्छन् । 'सबै कलाकारसँग काम गरेको छु । मलाई सबैले माया गर्नुहुन्छ । सबले राजु यता आऊ, यो गर्देऊ भनेर मलाई नै सम्झनुहुन्छ । राजुले कति काम गर्छ भन्नुहुन्छ । राजु फुयाँलले बनाएको चिया कसैले नमिठो भन्दैन,'उनले भने,'खासमा मलाई चिया बनाउँदा सफा सुग्घर चाहिन्छ । चियाको भाँडा पनि सफा नै चाहिन्छ ।'

कलाकारको बीचमा रमाइलो-नरमाइलो :

पर्दामा देखिने कलाकारको बीचमा काम गर्दा बाल्यकालमा आफूले भोगेको दु:ख बिर्सन्छन्, राजु । सेटमा जति दु:ख गर्नुपर्दा पनि उनी हाँसेर गरिदिन्छन् । त्यसैले अभिनेत्री झरना थापाले दिने एउटा प्रतिक्रिया उनी कहिल्यै भुल्दैनन् । 'झरना दिदीले यो राजु त रिसाउँदा पनि रिसाउँदैन, हाँसेको हास्यै देख्छु भन्नुहुन्छ । दीपाश्री निरौला दिदीले पनि त्यस्तै भन्नुहुन्छ । म पनि कलाकारको बीचमा काम गर्दा सानो बेलाको दु:ख बिर्सन्छु । त्यो बिर्सँदा अनुहारमा हाँसो छाउँछ । राजु फुयाँलले बनाएको चिया खाउँखाउँ लाग्छ भन्छन् कलाकारहरू पनि,'कलाकारका प्रतिक्रिया सम्झँदै हाँस्न थाले उनी ।

दर्शकले नजिकबाट देख्न नपाएका कलाकारका माझ काम गर्ने 'स्पटब्वाई'का दु:ख कम्तीको हुँदैन । कतै डाँडामा फिल्मको छायांकन गर्नुपर्‍यो भने त्यहाँसम्म क्यामेरादेखि छायांकनका सामग्री 'स्पटब्वोइ'ले नै बोक्नुपर्छ । पानी नपाउने ठाउँमा पानी खुवाउने जिम्मा उनीहरूकै हुन्छ । 'कलाकारलाई छाता ओढाउने, सेटमा कुचो लगाउने । कलाकारले खाए/खाएनन् हेर्ने । तीन पटक चिया बनाएर खुवाउने । कुनै घरमा सुटिङ भइरहेको छ भने टेबल पुछ्नुपर्छ । अलिअलि गल्ती भयो भने लास्टै गाली गर्छन् डाइरेक्टरले,' उनले हाँस्दै आफ्ना जिम्मेवारी सुनाए,'कलाकारहरू भोकै भए भने पनि स्पटब्वाईले नै गाली खान्छ । कलाकारले पानी पिउन पाएनन् भने पनि हामीलाई नै गाली गर्छन् । गाली हाम्रै थाप्लोमा हुन्छ ।' 'काली'को सेटमा कुर्सी समयमा नपुर्‍याउँदा रेखा थापाको गाली खानुपरेको उनलाई हिजोजस्तै लाग्छ । जल शाहको पहिरन नमिलेको निहुँमा दयाराम दाहालले चिया हुर्‍याइदिएको उनले बिर्सेका छैनन् ।

सेटमा हरबखत अस्तव्यस्त हुने भएर होला राजुलाई काम गर्दाका खासै रमाइलो क्षण याद रहेनछ । तर, 'मारुनी', 'नाइ नभन्नु ल–५', 'छक्का पञ्जा'मा खुसी हुँदै काम गरेको रमाइलो अनुभव उनीसँग छ । 'एउटै परिवार भएर काम गर्दा रमाइलो भइहाल्छ नि । घरको परिवारले त हेप्दैनन् नि । पहिला त कति दु:ख गरियो । हामी त सानो तहको काम गर्छौं, त्यसैले कतिले हेप्थे । नहेप्नेहरू पनि हुन्थे,' अनुहार मलिनो बनाउँदै उनले सुनाए । कामकै आधारमा हेला गर्न खोज्नेहरूलाई अहिले राजुको प्रश्न छ, 'स्पटब्वाईलाई हेपे, चिया पकाएर कसले खुवाउँछ । सफा गरभन्दा स्पटब्वाईले सफा गर्दिएनन् भने ?'

उनीसँगैका 'स्पटब्वाई' दयाराम दाहाल निर्देशक हुँदै चलचित्र विकास बोर्डको अध्यक्ष बने । 'पाहुना' फिल्ममा उनले नै काम सिकाउन ल्याएका हरि हुमागाईं छायांकार बनेको देख्दा राजु आफू निर्देशक हुन नपाएकोमा थकथकी मान्छन् । पर्दामा देखिने कलाकारहरू त कार चढ्छन् । उनीहरूकै चर्चा चुलिन्छ । तर, पर्दा पछाडि काम गर्ने उनीजस्ता प्राविधिकहरूलाई कमैले चिन्छन् । आफूहरूले कलाकारको दाँजोमा निकै कम पारिश्रमिक पाउने गरेको गुनासो उनको छ । त्यही पारिश्रमिक पाउन पनि बारम्बार धाइरहनु परेको उनको समस्या अन्य प्राविधिकको भन्दा फरक छैन ।

'समयमा पारिश्रमिक दिँदैनन् हामीलाई । काम सकिसकेको हुन्छ । तर, पारिश्रमिक माग्दा भोलि आइज, पर्सी आइज भन्छन्,'फिल्महरूको नाम नखुलाउने सर्तमा उनले आफ्नो समस्या पोखे,'कलाकारको पारिश्रमिक घटाएर स्पटब्वाईलाई अलि बढी थपिदिनुपर्ने हो । दैनिक १५ सय दिए पनि राम्रो हुन्थ्यो, तर हामीलाई दिनको हजार नै दिइन्छ । राम्रो बजेट छ भने मात्र १५ सय पाउँछौं । बढाइदेऊ भन्दा बढाइदिँदैन । जति रोइकराइ गर्दा पनि बढाइदिँदैनन् । कलाकारहरूलाई १० लाख, २० लाख दिन्छन् हामीलाई त त्यही हजार ।'

दैनिक ज्यालादारीमै भर पर्ने हुँदा पहिलो लकडाउनमा उनलाई परिवार पाल्न हम्मेहम्मे भयो । 'धेरै गाह्रो भयो नि त्यतिबेला । मैले परिवारलाई कसरी खुवाएँ होला ? मलाई दु:ख भयो भन्ने थाहा पाएपछि प्राविधिक संघले चामल पुर्‍याउन आउनुभयो । नीता ढुंगाना, दीपाश्री निरौला, दिनेश डिसीले पनि चामल दिनुभयो,'उनले सुनाए,'पहिलो लकडाउनमा त के गरौं, के भनौं भएको थियो । छोरो पनि बिरामी । पछि दीपा दिदीले पाँच हजार दिनुभयो । विकास सरले पनि पैसा दिनुभयो । धेरै प्राविधिकलाई खान गाह्रो परेको थियो ।'

समयमै पारिश्रमिक नपाउँदा राजुलाई 'पैसा नदिनेहरूबारे पत्रिकामा समाचार छपाइदिएर फिल्म लाइन नै छोड्ने' झोंक पनि चल्दो रहेछ । भन्छन्,'कहिलेकाहीँ त धेरै रिस उठ्छ । दुनियाँलाई चिया पकाएर खुवाउनुपर्छ । कलाकारहरू उभिएको देख्यो भने डाइरेक्टरले कम कराउँछ ? कुर्सी दिनु पर्दैन भन्छन् । बिहान ६ देखि रातको ७ बजेसम्म काम गर्छौं हामी, हाम्रै पारिश्रमिक बढ्दैन ।'

प्रकाशित : असार ३२, २०७९ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

‘फिल्म मनोरञ्जन मात्रै होइन’ [भिडियो]

रीना मोक्तान

काठमाडौँ — 'तपाईंको फिल्म हेर्नेबित्तिकै एक जना महिला दौडेर मकहाँ आउनुभयो । अनि रुँदै यो फिल्म देखाउनु भएकोमा धन्यवाद भन्नुभयो । आफ्नो फिल्म हाम्रो फेस्टिभलमा पठाउनु भएकोमा धन्यवाद ।'

'ऐना झ्यालको पुतली'ले बुसानमा पाएको यो प्रतिक्रिया निर्देशक सुजीत बिडारी कहिल्यै बिर्सिंदैनन् । चर्चित फिल्म फेस्टिभलमा छनोट भइसकेपछि बुसानका प्रोगामरले ‍इमेलमा पठाएको प्रतिक्रियाले उल्लास थपिदियो । सुजीतलाई लाग्यो- फिल्मका पात्रहरूको भावना सबैले अनुभव गर्न सक्ने रहेछन् ।

'डाँडातिर दौडिएर दाजुभाइसँग झगडा गर्ने कुरा त कोरियामा हुँदैन थियो होला । उनीहरूको जीवन अर्कै थियो होला । तर त्यो इमोसन सबैको उस्तै हुँदो रहेछ भन्ने भयो,' सुजीत सुनाउँछन्,'यो कथा भन्न सकियो भने पात्रहरुको इमोस्नल जर्नीसँग दर्शकलाई जोड्न सकिन्छ भन्ने थियो ।'

आफ्नी १३ वर्षीया दिदीमा बिस्तारै आइरहेको परिवर्तनको साक्षी ९ वर्षका एक भाइ हुने कथा फिल्ममा देखाइएको छ । यो कथा लेखिसकेपछि पनि सुजीतले आफ्ना साथीहरूबाट बुसानमा झैं प्रतिक्रिया बटुलेका थिए । 'यो त तिम्रो दिदीभाइको मात्रै कथा होइन; यो त हाम्रै दिदीभाइको पनि कथा हो । घटना फरक होला तर, त्यो भावनात्मक यात्रा, त्यो आत्मीयता, झगडा त मेरै हो भन्न थाले साथीहरूले । कथामा साथीहरूले आफ्नो आमा दिदीभाइलाई भेट्दै गए,' कथा लेख्दै गर्दाको क्षण सम्झिँदै उनले सुनाए ।

उनका अनुसार उनलाई यो फिल्मको कथा भूकम्पको समयमा फुरेको थियो । भूकम्पले जीवन निरस बनायो; एउटै दैनिकी भनेकै साथिहरूसँग गफिनु मात्रै भयो । त्यति बेलै साथिहरूबीच स्क्रिप्ट लेख्ने योजना बन्यो । आफ्नो समाज, परिवारको कथा भनियो भने राम्रो हुन्छ भन्ने सुजीतलाई थाहा थियो । त्यसैले वास्तविक जीवनका भोगाइलाई उनले आख्यानमा बुने । ७-८ पेजको ट्रिटमेन्ट लेखिसकेपछि उनले साथिहरूलाई यसबारे सनाए । साथीहरूले कथा मन पनि पराए । फिल्मको कथा लेख्ने काम सहज हुन्छ भन्ने मानिसहरूको सोचाइ सत्य नभएको भन्दै उनले कथा लेख्ने काम अरुले भनेजस्तो सहज नभएको बताउँछन् । फिल्म लेखनको 'स्ट्रक्चर'लाई पच्छ्याउँदै गर्दा उनी रोकिए तर निर्देशक कीरण पोखरेलले कविताको शैलीमा लेख्न भनेपछि 'ऐना झ्यालको पुतली'को पूरा कथा लेखेको सुजीत सुनाउँछन् ।

'उहाँले तिमी कविता पनि लेख्छौ कहिलेकाहीँ । कविता लेखेको पारामा फिल्म लेख; धेरै अल्झियौ भन्नुभयो । स्वच्छन्द रुपमा केही नसोची सरर लेखियो । आफूभित्रैबाट आएका कुरा भएर होला स्ट्रक्चर पनि हेर्नु परेन,' सुजीत सुनाउँछन्, 'कहिलेकाहीँ विषयवस्तुले पनि निर्धारण गर्दो रहेछ‚ कुन पक्षबाट कथा लेख्नुपर्छ भन्ने । जब तपाईं फिल्ममा तपाईंभित्रको उकुसमुकुस, या भनौं तपाईंको कथा भन्दै हुनुहुन्छ भने त्यसलाई स्ट्रक्चरमा राख्दा तपाईंले सेल्फ सेन्सर गर्नुहुँदो रहेछ । काल्पनिक कथा लेख्न थाल्नुभयो भने बहकिएला भनेर स्ट्रक्चरमा लेखिने हो नि !'

फिल्मको कथामा सुजीतले बाल्यकालको आफूलाई पनि लेखेका छन् । त्यसैले बाल कलाकारमा सानो बेलाको सुजीत भेट्याउने उनी बताउँछन् । 'बाल कलाकार फाइनल भइसकेपछि आमालाई तस्बिर देखाएँ । तँजस्तै पो छानिछस् भनेर भन्नुभयो । मैले कास्टिङ डाइरेक्टरहरूलाई मेरो बाल्यकालको तस्बिर दिँदै यस्तै खोज्नु भनेको थिएँ,' हाँस्दै उनले सुनाए ।

यो फिल्म फेस्टिभल लक्षित गरेर बनाइएको होइन । दिदीभाइको कथा नेपाली दर्शकलाई नै सुनाउन चाहन्थ्यो सुजीतको टिम । पोस्ट प्रोडक्सनमा साउन्डको काम भइरहँदा टिमलाई लाग्यो- 'फेस्टिभलमा पठाइ हेरौं न त' । त्यसपछि निर्माणाधीन फिल्मलाई बुसानमा पठाइयो । 'हामी तिम्रो फिल्म न्यु करेन्ट सेक्सन'मा राख्छौं भनेर इमेल आयो । बुसानको जुनसुकै विधामा छनोट भए पनि राम्रै हुन्छ भन्ने सुजीतले ठाने । जब निर्माताहरूलाई सुनाए तब उनले उक्त विधाको महत्त्व थाहा पाए । कोरियाका राम्रा-राम्रा फिल्मकर्मी यही विधाबाट निस्किएका रहेछन् । एसियाबाट कस्ता फिल्ममेकर आइरहेका छन् भनेर अन्तर्राष्ट्रिय बजारले समेत त्यो विधालाई हेरिदिँदो रहेछ भन्ने थाहा भयो,' सुजीत बुसानमा फिल्म छनोट हुँदाको पल सम्झन्छन् ।

०००

'२० औं ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल'को अन्तिम दिन; आइसोलेसनमा थिए, सुजीत । अवार्ड समारोह सकिएको भोलिपल्टै नेपाल फर्कने सोचेर सुजीत र अर्का फिल्मकर्मी किरण पोख्रेलले पीसीआर परीक्षण गराए । नचिताएको नतिजा निस्कियो, 'कोभिड पोजिटिभ' ।

अवार्ड समारोहका लागि बंगलादेशको ढाका पुगेका उनीहरू दुवै जना होटलको कोठामा थुनिए । अब अवार्ड समारोहलाई लाइभ हेर्नुको कुनै विकल्प थिएन । महोत्सवको ल्याबमा कीरणको फिल्मको खुबै चर्चा थियो । मानिसहरू किरणको फिल्मले अवार्ड जित्ला कि नजित्ला? भनेर सोचिरहेका थिए; त्यतिकैमा एसियन विधातर्फको फिल्ममा उत्कृष्ट निर्देशकमा सुजीतको नाम उद्घोषण भयो । ऐना झ्यालको पुतलीबाट उनले यो अवार्ड जित्दा कीरणले उत्कृष्ट स्क्रिप्ट जिते । अवार्ड उचाल्न नपाए पनि दुवैले आइसोलेसनमा खुसी साटासाट गरे ।

'जितिन्छ भन्ने त सोचेकै थिएन । एकदम राम्रा फिल्महरु थिए त्यहाँ । भारतको पेबल्स भन्ने फिल्म हेरिसकेपछि त अलिअलि भएको आशा पनि हराएको थियो । कीरण दाइको एकदमै चर्चा थियो । मलाई त कीरण दाइको के हुन्छ होला भन्ने भएर बसिरहेको थिएँ । तर फ्याट्ट मेरो नाम लिइदियो । एकदमै आश्चर्यचकित बनें,' सुजीत अवार्ड जित्दाको क्षण सम्झन्छन्, 'अवार्ड जित्दा त खुसी लाग्यो नि । १०/११ दिन कोठाभित्रै थुनिनु पर्‍यो । जे होस रमाइलै अनुभव भयो ।'

अन्तर्राष्ट्रिय प्ल्याटफर्ममा फिल्म छनोट भइसकेपछि आफू 'सही ठाउँमा छु' भन्ने महसुस भएको सुजीत बताउँछन् । 'कसैले मेरो पेसा सोध्दा जवाफमा फिल्ममेकिङ भन्यो भने नाक खुम्च्याउँछन् । अझै पनि फिल्म क्षेत्र भनेकै बिग्रिएका मानिस लाग्ने ठाउँ हो भन्ने संकुचित विचार छ,' सुजीत भन्छन्, 'अन्तरर्राष्ट्रिय ठाउँमा आफ्नो कामले उपलब्धि कमाउँदा कम्तीमा म राम्रो ठाउँमा छु है भन्ने हुँदो रहेछ । फिल्मकर्मीका हिसाबले सन्तुष्टि पनि मिल्दो रहेछ ।'

अब सुजीतको टिम 'ऐना झ्यालको पुतली'लाई प्रदर्शन गर्ने तयारीमा छ । भदौ २४ मा उनको फिल्म प्रदर्शनको मिति तोकिएको छ । फिल्मलाई दर्शकले कसरी स्विकार्छन् भन्ने डरमा छन् उनी ।'फिल्म सम्पादनदेखि, कलरिङलगायतका थुप्रै पटक तपाईंले फिल्म हेरिसक्नु भएको हुन्छ । त्यसैले तपाईंलाई फिल्म कस्तो छ भन्ने कुरा थाहा नहुँदा पनि त्यस किसिमको तनाव हुँदो रहेछ । लेखनको समयमा पनि यो स्क्रिप्टलाई राम्रोसँग खिचियो भने राम्रो फिल्म बनाउन सकिन्छ भन्ने विश्वास थियो । त्यसैले जसले यो फिल्म हेर्नुहुन्छ, हेर्ने दर्शकलाई बोरिङ लाग्दैन होला भन्ने एकदम विश्वास छ,' उनले सुनाए ।

नेपाली दर्शकको स्वाद बलिउड शैलीका फिल्म, नाचगान, रोनाधोनामै अड्किएको छ भन्ने सुजीतलाई थाहा छ । त्यही स्वादमा रमाउने दर्शकले आफ्नो फिल्मलाई मनपराइदेलान् वा मन नपराइदेलान् भन्ने चिन्ता उनमा थपिएको छ ।

'जति नै कुरा गरे पनि हाम्रो दर्शकको ठूलो संख्यालाई त्यही नाचगाना, मारधाड नै फिल्म हो । यो एउटा फगत मनोरञ्जन मात्र हो भन्ने बुझाइ छ । हो, यो मनोरञ्जन पनि हो । तर फिल्म मनोरञ्जन मात्रै होइन भन्ने बुझाइ आउन अझै समय लाग्छ । यो भन्दै गर्दा दर्शकलाई मैले कम आँक्न खोजेको होइन,' सुजीतले भने, 'मैले फिल्म त्यही दर्शकलाई भनेर बनाएको हुँ । मैले ल्याएको कन्टेन्टलाई स्विकार्न अझै गाह्रो पर्ने हो कि भन्ने आफैंभित्र एक तहको डर छ । त्यो हुँदाहुँदै पनि यो कथा भनियो भने पात्रहरुको भावनात्मक यात्रासँग दर्शकलाई पनि जोड्न सकिन्छ भनेर नै बनाएको हो । तर अहिलेको हाम्रो इच्छा एकपटक दर्शक फिल्म हेर्न हलसम्म आइदिऊन् भन्ने हो ।'

'सावित्री', 'लालपुर्जा' र 'कालो पोथी'(कन्ट्रिब्युटिङ राइटिङ) लेखिसकेका सुजीत आफ्नो पहिलो फिचर फिल्मले व्यावसायिक सफलता कमाएको देख्न चाहन्छन् । 'कमाउनकै लागि यस्तो फिल्म बनाउनुपर्छ भन्ने धारणा राख्नु त गलत हो तर कमाउनकै लागि फिल्म बनाएको होइन भन्नेले पनि तपाईंले खर्चिएको मेहनत, समय फिर्ता आओस् भन्ने त चाहन्छ नि । व्यावसायिक पाटोमा पनि राम्रो प्रतिफल आइदियोस् भन्ने हुँदो रहेछ ।'

फिल्म कलेजका प्रशिक्षकसमेत रहेका सुजीत कुनै बेला विज्ञापनतिर आफ्नो भविष्य देख्थे । उनलाई भिजुअल विज्ञापनतिर खुबै रहर । त्यही सोचले विज्ञापनबारे सिक्न काठमाडौं आए । हुन त परिवार उनलाई विदेश पठाउन चाहन्थ्यो । तर 'आइल्स' गर्ने बहनामा उनी काठमाडौं आएर विज्ञापनतिर लागे । विज्ञापनका लागि ग्राफिक डिजाइनिङ सिक्न ओस्कर कलेज पुगे । त्यहाँ फिल्म मन पराउनेहरूको भीडमा मिसिँदै गएपछि सुजीतले आफ्नो करिअर फिल्ममै बनाए । त्यसैको पछिल्लो परिणाम हो, 'ऐना झ्यालको पुतली'।

प्रकाशित : असार ३०, २०७९ १८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×