कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

शिक्षण अस्पताल सजाउने माली

बुनु थारु

काठमाडौँ — यदि तपाई महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल जानुभएको छ भने मुख्य गेटबाट १ मिनेटको दूरीमा रहेको फूलैफूलले ढाकेको बगैंचा पक्कै पनि याद गर्नुभएको छ होला । बगैंचाको बीचमा एउटा सेतो रंगको सालिक देखिन्छ । हरियो पर्खालले घेरिएको मनमोहक फूल बगैंचा वरपर मानिसहरू बसिरहेका भेटिन्छन् ।

शिक्षण अस्पताल सजाउने माली

त्यही बगैंचाभित्र गोदावरीको बिरुवा सार्नमा व्यस्त छन् काठमाडौं बसुन्धाराका ५८ वर्षीय राजु महर्जन । उनी गोदावरीको बिरुवा झिक्दै प्लास्टिकको पोलीमा रोप्दैछन् । विशेषगरी तिहारमा फुलिसक्ने गोदावरी रोप्न उनलाई चटारो छ । उनलाई अरु ३ जनाले पनि रोप्न सघाइरहेका छन् भने अर्का एक जना फूलमा पानी हाल्दै छन् ।

अस्पतालको इतिहास जति लामो छ त्यति नै लामो काम गरेको अनुभव महर्जनसँग छ । उनले अस्पतालमा बगैंचाको मालीको रुपमा काम गर्दै आएको करिब ४० वर्ष पुग्न लाग्यो । वि.सं. २०४० मा स्थापना भएको त्रिवि शिक्षण अस्पतालमा पहिलो निर्देशक डा भिष्मराज प्रसाईं रहेको बेला महर्जनको नियुक्ति भएको थियो । उद्यानको सुरुवात भने वि.सं. २०४३ साल पुस १३ गते गरिएको बगैंचाभित्र रहेको शिलालेखमा उल्लेख छ । उनी आउनुभन्दा पहिले एक जना मालीको रुपमा काम गर्थे तर उनले १ वर्ष मात्र काम गरे । त्यसयता भने उनले नै यो बगैंचाको रेखदेख गरिरहेका छन् । फूलको बिरुवा सार्दै गरिरहेका उनले भने‚ ‘अस्पतालमा काम गर्न थालेको सायद अब ३९औँ वर्ष लाग्छ होला । ४० साल चैततिर यहाँ काम गर्न थालेको हो ।’

त्यो समय राजुको तलब २५० रुपैयाँ थियो भने खाजा भत्ता जोडेर ३७८ जति आउँथ्यो । अहिले भने उनको तलब २८ हजार पुगिसकेको छ ।

२० वर्षको उमेरदेखि नै मालीको रुपमा काम थालेका उनले अस्पतालमा काम गर्नुभन्दा पहिले विदेशी र केही चिकित्सकहरूको घरमा पनि काम गरे । उनी पार्ट टाइम काम गर्थे । त्यसरी उनले १०-१२ वर्ष बिताए । एक दिन उनलाई शल्यचिकित्सक डा. अञ्जनीकुमार शर्माले ‘शिक्षण अस्पतालमा काम गर्छौ ?’ भनेर प्रस्ताव राखे । सुरुमा उनले त्यति इच्छा देखाएनन् तर पछि शर्माले कर गरेपछि भने अस्पतालमा काम थालेको उनी सुनाउँछन् । भन्छन्‚ ‘ पार्ट टाइम नै सजिलो अनि राम्रो लाग्थ्यो । अस्पतालमा के काम गर्नु भन्ने पनि लाग्यो तर सरले ढिपी गरेपछि काम थालेको हुँ । अहिले त सर हुनुहुन्न तर सम्झिरहन्छु उहाँलाई ।’

ड्युटी ८ बजे सुरु भएपनि उनी ७ बजे नै आइसक्छन्; फूल गोडमेल गर्छन्; पानी हाल्छन्; आवश्यकताअनुसार मल हाल्छन् । विशेषगरी वैशाख र दशैंको सिजनमा बगैंचा ढकमक्क हुने गरेको बताउँछन् उनी । वर्षायाम लागिसक्दा पहिलेझैं नभए पनि बगैंचामा गुलाब, डालिया, घडी फूल, सयपत्री मुस्कुराइरहेका छन्; त्यो सबै उनको मेहनतको कमाल हो ।

उनको जिम्मेवारी भनेको अस्पतालको सबैभन्दा अगाडिको मोहोडा, नाक कान घाँटी विभाग साइडतिरको बगैंचाको स्याहार गर्नु हो । नर्सिङ अस्पताल परिसरको बगैंचाको भाग भने अर्कैको जिम्मेवारीमा छ । उनी नर्सरीबाट सकेसम्म फूलका बिरुवाहरू किनेर ल्याउँदैनन् । बिउबाट उम्रिन सक्ने फूल र हाँगाबाट सार्न मिल्ने फूल उनी अर्को सिजनका लागि जोगाउँछन्; साथै फूलका बिउहरू किन्ने र आफैं उमार्ने अनि रोप्ने गर्दछन् । भन्छन्, ‘अचेल फूलहरू पनि धेरै महँगो भइसक्यो । आफैं बिउ उमार्ने, हाँगाबाट पनि सर्छ फूलहरू । त्यसरी नै रोप्छु । सिजनल फूल धेरै समय टिक्दैनन् । पैसा मात्र किन खर्च गर्नु ?’

बगैंचा वरिपरी छेउमा बस्ने ठाउँ पनि छ । कुरुवा तथा बिरामी जाडोको समयमा घाम ताप्ने अनि आराम गर्ने गर्छन् । रंगीचंगी फूलहरूसित नलोभिने को नहोला र ? आहा ! भन्दै मानिसहरू फोटो खिचिहाल्छन्; कोही सेल्फी खिच्छन् त कोहीले टिकटक पनि बनाउछन् । बगैंचाले अस्पतालको सौन्दर्य मात्र बढाएको छैन; बिरामी तथा कुरुवालाई एकछिन भएपनि ‘फ्रेस’ बनाउने गरेको छ । आफ्नो मेहनत अरुले मनपराइदिँदा प्रफुल्ल हुन्छन् राजु । ‘अस्पतालमा विदेशी पनि आउँछन् । धेरैले राम्रो छ बगैंचा भन्दै धन्यवाद भनेर जान्छन् । प्रशंसा गर्दा खुसी लाग्छ,’ उनले मुस्कुराउँदै भने ।

हँसिलो स्वाभावका राजु कसैले फूल चुँडेर लाँदा भने दुःख मान्छन् । भन्छन्‚ ‘फूल माग्छन्‚ दिएन भने सरापेर पनि जान्छन् । एउटाले दियो भने सबैले माग्छन् । कतिलाई दिनु?’ उनलाई कुनै बिरुवा ल्याएर यो रोप्दिनूस् भन्ने पनि छन् । भर्ना गरेका बिरामी निको भएपछि फूल रोप्दिनू भन्ने गरेको पनि उनले सुनाए ।

राजधानीका धेरै अस्पतालमा ढकमक्क फूल फुलेका अस्पतालको बगैंचा कमै देखिन्छन्; त्यसैले पनि मख्ख पर्छन् राजु । ‘पहिले बिमा संस्थान, सर्वोच्च अदालत परिसरमा कति राम्रा फूलहरू हुन्थे; अहिले भने त्यस्तो देखिँदैन । यहाँ मैले राम्रो बनाउने कोसिस गरेको छु,’ उनले खुसी हुँदै सुनाए ।

प्राडा प्रेमकृष्ण खड्गा २०७५ सालमा नियुक्त भएपछि मात्र बगैंचा वरिपरी फलामे पर्खालले घेरिएको थियो नभए दिनहुँ धेरै मात्रामा फूलहरू चोरेर लाने गरेको राजु सम्झिन्छन् । ‘४ वर्ष भयो ।अहिले अलि कम भएको छ चोर्न तर अग्लो फूलहरू त टिपिहाल्छन् । जत्ति भने पनि लाग्दैन,’ उनले भने । अस्पतालमा आउने धेरैले त फूलको बिरुवा मागेर हैरान बनाउने पनि रहेछन् उनलाई ।

फूललाई स्याहारको राम्रो आवश्यकता पर्छ । कसैलाई दिनहुँ पानी हाल्नुपर्छ त कसैलाई दिन बिराएर; त्यसमाथि समय-समयमा किराले सताउने हुन्छ । किरा र माटोको मिश्रणले पनि राम्रो फूल फुलाउनमा मद्दत गर्ने उनको भनाइ छ । बगैंचामा फूलसँगै जामुन, अनारको पनि रुख छ । सिजनअनुसारको फूल फूलिरहन्छन् । फूललाई गोडमेल गर्नु, मल हाल्नु, छाँटकाँट गर्नु, बिरुवाको बिउहरू जोगाउनु, फेरि उमार्नु उनको दैनिकी हो । यो दैनिकीसँग उनी थकित छैनन् । फूलको सुन्दरताले उनलाई काम गर्ने ऊर्जा झनै थपिदिन्छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?