कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागको विजोग [भिडियो]

गोविन्द पोखरेल

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागकी छात्रा सुजता शर्माले यस वर्ष स्नातकोत्तर अध्ययन पूरा गर्दै छिन् । चोथौ सेमेस्टरकी छात्रा शर्माको स्नातकोत्तर अध्ययन कक्षाकोठामा नभएर, सेमिनार हलमा धाउँदै बित्न लागेको छ ।

त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागको विजोग [भिडियो]

ठाउँ अभावका कारण उनको ब्याचले सेमिनार हल, प्रयोगशालामै ‘थ्यौरी’ कक्षा लिएर स्नातकोत्तर पूरा गर्न लागेका हुन् ।

भूकम्पका कारण पुरानो भवन भत्किएपछि विभागमा कक्षाकोठा अभाव हुँदा विद्यार्थीहरु एउटै कक्षाकोठामा पालो पर्खेर पढ्नुपर्ने बाध्यता छ ।

विभागमा तेस्रो सेमेस्टर अध्ययनरत छात्र महेन्द्र थापा कक्षा कोठाको समस्या झेल्दै स्नातकोत्तर अध्ययन सकिन लागेको बताए । उनले भने, ‘ हाम्रो समस्या भनेको पढ्नका लागि कक्षाकोठा नै छैन । बायोटेक विषय पढ्नका लागि कुनै कक्षा नै छैन ।’

ठाउँ अभावका कारण सेमिनार हलमा विद्यार्थीहरु पढ्नुपर्ने बाध्यता छ । कुनै कार्यक्रम भयो भने कक्षा नै स्थगित हुने गरेको छ । कुनै एउटा सेमेस्टरको परीक्षा भयो भने अन्य सेमेस्टरको कक्षा नै हुँदैन । छात्रा शर्माले कक्षा कोठाको व्यवस्थापन हुन्छ भन्दाभन्दै पढाइ सकिन लागेको बताइन् ।

अर्का छात्र किरण पन्थीका अनुसार विभागमा तेस्रो र चौथो समेस्टर अध्ययनरत विद्यार्थीहरुले एउटै कक्षामा ल्याबको काम गर्नुपर्ने बाध्यता छ । सामानहरु मर्मतसम्भार गर्नुपर्ने धेरै नै रहेको उनले बताए ।

०००

वनस्पति शास्त्र केन्द्रीय विभागमा वनस्पति विज्ञान, वातावरण र जैविक विविधता गरी दुई वटा विषयमा स्नातकोत्तरको अध्ययन हुन्छ । वनस्पति विज्ञानमा हरेक वर्ष विभागले ३५ जना विद्यार्थी भर्ना हुन्छन् भने वातावरण र जैविक विधितामा १५ जना । अहिले विभागमा चारवटै सेमेस्टरका २ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा कोठा एउटा मात्रै हुँदा समस्या भएको हो ।

विभागका सहप्राध्यापक सञ्जयकुमार झाले कक्षाकोठा अभाव हुँदा अध्यापन गराउन समस्या भएको बताए । समयमा नै प्राध्यापकहरुले कक्षा लिन नपाइरहेको उनले बताए । कोठा एउटा मात्रै हुँदा त्यसैमा थ्यौरी र प्रयोगात्मक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

सहप्राध्यापक झाले कान्तिपुरसित भने, ‘कारोना महामारीका कारणले तीन वटा सेमेस्टरको पढाइ समयमा नै हुन पाएन । परीक्षा नियमित रुपमा हुन नपाउँदा सबै कक्षा खप्टिएका छन् । ’

ठाउँ अभावकै कारण विभागमा नियमित परीक्षा हुन पाइरहेको छैन । ठाउँ अभाव भएकाले पालो कुरेर बस्नुपर्ने बाध्यता छ ।

विभागमा कक्षाकोठा नहुँदा विद्यार्थीहरुको थेसिस डिफेन्स पनि अन्य विभागको कक्षाकोठामा गर्नुपर्ने बाध्यता छ । कहिले भौतिकशास्त्र विभाग त कहिले अन्य संकायको भवनमा गएर डिफेन्स गर्नुपर्ने बाध्यता भएको सहप्राध्यापक झाले बताए । ‘विजोग’ अवस्थामा पढाउनुपर्ने बाध्यता रहेको सहप्राध्यापक झाको भनाइ छ ।

२०७२ सालको विनाशकारी भूकम्पले वनस्पति विभागको सुविधासम्पन्न भवनमा क्षति भएको थियो । भारत सरकारले सन् १९६० को दशकमा निर्माण गरिदिएको उक्त भवन त्रिविको विज्ञान तथा प्रविधि संकायहरुमध्ये कै उत्कृष्ट थियो । उक्त भवनमा सुविधासम्पन्न कक्षा,कोठा, प्रयोगशाला, छुट्टै सेमिनार हल, लेक्चर हल, ल्याब हल, प्राध्यापकहरुका लागि छुट्टै कोठा/क्याबिन, प्रयोगशालालगायत सबै किसिमका सुविधा थियो ।

भूकम्पका कारण भवन भत्किएपछि अस्थायी टहरा निर्माण गरिएको थियो । त्यही टहरामा अहिलेका कक्षा,कोठा र प्रयोगात्मक कक्षाकोठा छन् । विभागको अर्को छुट्टै भवन भएपनि उक्त भवनमा अनुसन्धान उपकरण र प्रशासन राखिएको छ ।

ठाउँ अभावका कारण अहिले कार्यालयका फर्निचर, पुस्तकहरु यत्रतत्र राखिएका छन् । विभागका प्राध्यापकहरुलाई एउटै कोठामा राखिएको छ । प्रध्यापकहरुका लागि छुट्टै रिसर्च क्याबिन पनि नभएको उपप्राध्यापक नारायणप्रसाद घिमिरेले बताए । एउटा भवनमा पीएचडी अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरे पनि त्यहाँ ठाउ अभाव रहेको उनले जानकारी दिए । विभागमा हाल २७ जना पीएचडी अध्ययनरत विद्यार्थी छन् ।

विभागले नयाँ भवन निर्माणका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेर त्रिविलाई प्रतिवेदन र नक्सा २०७४ सालमै दिएको रामकैलाश प्रसाद यादवले बताए । उनका अनुसार पुनर्निर्माण प्राधिकरणले एक्जिम बैंकको सहयोगमा भवन निर्माण गर्ने तयारी गरेको थियो । माटो परीक्षणसहित नयाँ भवनको सम्पूर्ण डिजाइन विभागले तयार गरेर बुझाएको प्राध्यापक यादवले बताए । तर हालसम्म पनि भवन निर्माणका लागि ठोस कदम त्रिविले नगरेको उनको भनाइ छ ।

त्रिविका पदाधिकारीहरुले पटकपटक विभागको अवस्था निरीक्षण गर्न आउने र प्रतिबद्धता व्यक्त गर्ने काम बाहेक केही नगरेको उनीहरुको गुनासो छ ।

विभागका प्रमुख प्राध्यापक यादवले पनि कक्षा कोठा अभावका कारण विशेष गरी पहिलो र दोस्रो सेमेस्टरका विद्यार्थीहरुलाई निकै नै समस्या हुने गरेको बताए ।

उनले असहजताका बाबजुद पनि विभागले अनुसन्धानको कामहरु गरिरहेको बताए ।

प्रकाशित : जेष्ठ २५, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?