१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६३

साइकलमा ‘ग्रेट हिमालय ट्रेल’

यात्रामा ४० दिनपछि सिन्धुपाल्चोकको भोटेकोसी आइपुगेका लामा भन्छन्, ‘म हिमालका बासिन्दाको कथा भन्छु’
सुशीला तामा‌ङ

काठमाडौँ — ग्रेट हिमालयन ट्रेल अर्थात् पाकिस्तान, भारत, नेपाल, भुटान र चीनको तिब्बत जोड्ने हिमाली बाटो । हाइ अल्टिट्युडको यात्रा पछ्याउनेहरूका लागि यो साहसिक पदमार्ग मात्र हो । यो कुनै सडक वा गोरेटो रहेको सजिलो रुट होइन । नेपालमा पूर्वदेखि पश्चिमसम्मका उच्च हिमाली शृंखलाहरू समेटिएको ‘ग्रेट हिमालय ट्रेल’ साइकलमा छिचोल्न निस्किएका छन् मंगलकृष्ण लामा ।

साइकलमा ‘ग्रेट हिमालय ट्रेल’

मेचीको हिमाली क्षेत्रबाट ४० दिनमा सिन्धुपाल्चोकको भोटेकोसी आइपुगेका उनले आफ्नो यात्राको एक तिहाइ (३८ प्रतिशत) पूरा गरेका छन् । उत्तरपूर्वबाट थालेको यात्रामा उनले ५ हजारदेखि ६ हजार मिटर उचाइमा रहेका शेर्पिनी कोल, वेस्ट कोल, आम्बुलाप्चा, टासी लाप्चाजस्ता निकै जोखिमपूर्ण हिमाली क्षेत्रहरूको करिब ४ सय किलोमिटर पार पार गरेका छन् । यस क्रममा उकालीओराली हुने यात्रामा ३८ हजार मिटर (लगभग ४ पटकसम्म सगरमाथा चढेको उचाइ) यात्रा गरेको उनले बताए ।

नुवाकोट ककनीका ३७ वर्षीय लामाले नेपालको भूभाग भएर गरिने उच्च हिमाली क्षेत्रको यात्रा ‘जीएचटी अन ह्वील्ज’ परियोजनाका साथ गत चैत १८ मा सुरु गरेका हुन् । ७० दिनमा हुम्लाको हिल्सासम्मको १ हजार ७ सय किलोमिटरको दूरी पूरा गर्ने लक्ष्यका साथ कञ्चनजंघाको उत्तरी मोहडा बेसक्याम्पबाट उनले एक्लै यात्रा थालेका हुन् । भोटेकोसीस्थित लास्ट रिसोर्टमा शनिबार कान्तिपुरसँगको कुराकानीमा उनले यात्रा निकै कठिन रहेको सुनाए । यसका बाबजुद पनि हिमाली क्षेत्रको भू–बनोट, पर्यावरण, जनजीवन, संस्कृति र त्यस क्षेत्रमा साइकलका लिएरै गर्न सकिने सम्भाव्य मार्गहरू पहिचानमा पाएको सफलताले भने उनी उत्साहित छन् ।

‘कञ्चनजंघाको बेसक्याम्पबाट पहिलो दिन बिहान ८ बजेदेखिको सुरुवाती यात्रामा नै मौसमले साथ दिएन,’ उनले भने, ‘बाक्लो हुस्सुले बाटो देखिएन । कति ठाउँमा हिँड्ने बाटोको संकेत चिह्न नभएर हिउँको बाटोमै अलपत्र परें ।’ कतिपय ठाउँमा हिउँ पगालेर चिया खाँदै यात्रालाई निरन्तरता दिएको उनले सुनाए । खाना उपलब्ध नहुने कतिपय ठाउँमा उनले तोङ्बा बनाएपछि बाँकी छोडिने कोदो खाएर जीउमा शक्ति सञ्चयसमेत गरे । उनका अनुसार झन्डै ४ हजार ८ मिटर उचाइको घुन्सा हुँदै नाङ्गोला, ओलाङ्चुङ्गोला क्षेत्रमा उनलाई ज्यान जोगाउनै हम्मेहम्मे नै पर्‍यो । निरन्तर आइरहने पहिरो, न्यून तापक्रम र अनकन्टार ठाउँमा उनी कयौं रात जागै बसे । उनलाई काठमाडौंबाटै निरन्तर नक्सा तथा नेटवर्कमार्फत परियोजनाकै पवन ढकालले सम्पर्क गरिरहे । कैयौं ठाउँमा सम्पर्कविहीन भएर पनि यात्रालाई निरन्तरता दिएको लामाले सुनाए ।

डेढ दशकदेखि नै माउन्टेन गाइड हुँदै उच्च हिमाली क्षेत्रमा उनले आफूलाई बाइक रेसरका रूपमा स्थापित गरिसकेका छन् । एक दशकअघि नै देखेको ‘ग्रेट हिमालय ट्रेल’ को सपना समग्र आठ भागमा तीन भाग पूरा हुँदै गर्दा उनी अझ उत्साहित र सजग भएका छन् । यस पटक ‘ग्रेट हिमालय ट्रेल’ का उपयुक्त मार्ग खोजी गरेर साइकल लिएर अन्य पर्यटकका लागि पथप्रदर्शक बन्ने उनको सपना छ । कुनै पनि जोखिम यात्राका पैसा, समय र आँट चाहिने बुझेका उनले आर्थिक समस्याले निकै गाँजेको दुःखेसो गरे । उनले भने, ‘मेरो यात्रा मेरा लागि नभएर देश र पर्यटन क्षेत्रका लागि हो । मैले समय र आँट त गरें तर आर्थिक रूपमा निकै गाह्रो परेको छ ।’

केही निजी संस्था र व्यक्तिगत रूपमा संकलन गरिएका सहयोगबाट नै मंगलकृष्णले यात्रा जारी गरेको परियोजनाका अध्यक्ष राल्बा लामाले बताए । उनका अनुसार पर्यटन क्षेत्रसँग जोडिएका पर्यटन बोर्डलगायत संस्थाले आर्थिक सहयोग गर्ने सम्झौता गरेका थिए । तर सहयोग भने प्राप्त भएको छैन । मंगलकृष्णले सुरु गरेको यात्रालाई जसरी पनि पूरा गर्न परियोजना लागि परेको संयोजक प्रशान्त श्रेष्ठले सुनाए । मंगलकृष्णले सोमबारदेखि पश्चिममा यात्रा सुरु गरेका छन् । भोटेकोसी लिस्ती हुँदै उनी गोसाइँकुण्ड, स्याफ्रुबेंसी, लाङटाङ भएर डोल्पा, जुम्ला र हुम्लाको हिल्सामा पुग्नेछन् । लाङटाङ यात्रालाई भने उनले जोखिमका रूपमा लिएका छन् ।

राजधानीभन्दा पर हिमाली जनता र त्यहाँका दुःख, अभावलाई उनले भिडियो फुटेजमा कैद गरेर राखेका छन् । ‘हिमाली जिल्लाहरूको आफ्नै जिउने तरिका रहेछन् । उनीहरूको जीवनशैली र संस्कृति निकै नौला छन् । सायद कतिले काठमाडौं, नेपाल देश हाम्रो भन्ने महसुस गरेकै छैन रहेछ,’ उनले यात्रानुभव सुनाए । यात्राका सबै विवरण पुस्तक, डकुमेन्ट्रीका ल्याउने उनको समूहले लक्ष्य बनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७९ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?