देश देशावरमा मिथिला चित्रकला- फिचर - कान्तिपुर समाचार

देश देशावरमा मिथिला चित्रकला

मिथिला चित्रकलाले कागजबाट क्यानभास र क्यानभासबाट कम्प्युटरसम्मको यात्रा गरिसकेको छ, चित्रहरु कागजमा आएपछि प्रचारप्रसार र बिक्रीवितरणमा सजिलो भएको छ, पारम्परिक कथ्यबाट सुरू भएको यो चित्रकला अन्तर्मनको भाव व्यक्त गर्ने सशक्त माध्यम बनेको छ
श्यामसुन्दर शशि

जनकपुर — संस्कृतका आदिकवि वाल्मीकिद्वारा लिखित वाल्मीकि रामायणको सुन्दरकाण्डमा लेखिएको छ, 
‘यदि वाचं प्रदास्यामि, द्विजातिरिव संस्कृतम्
रावणं मन्यमाना मां सीता भीता भविष्यति ।
अवश्यमेव वक्तव्यं मानुषं वाक्यमर्थवत्
मया सान्त्वयितं शक्या नान्यथेयमनिन्दिता ।।’

अर्थात् यदि संस्कृतमा संवाद गर्छु भने रावणका गणहरूले बुझ्नेछन् अनि सीतालाई अझ दुःख दिनेछन् । तसर्थ म आफ्नै भाषामा संवाद गर्न चाहन्छु ।

रावणले हरण गरेर सीतालाई अशोक वाटिकामा राखेका बेला हनुमानको मनोवाद हो यो । रावणका गणहरूले नबुझ्ने मानुषी भाषामा बहुभाषाविद् हनुमानले सीतासँग संवाद गरेका थिए । वाल्मीकि रामायणमा प्रयुक्त मानुषी भाषा ‘मैथिली’ नै भएको भाषाविद्हरूको दाबी छ । इतिहासकार दुर्गानन्द झा ‘श्रीश’ जनकवंशको कार्यकाल इसापूर्व ३००० देखि इसाको ६०० सम्म मान्छन् । झन् मिथिला र विदेह राज्यको चर्चा वैदिककालको उत्तरार्द्धमा लेखिएका यजुर्वेद, सामवेद, अथर्ववेद, उपनिषद् आदिमा समेत पाइन्छ ।

भारतीय–आर्य समुदायका २८ भाषामध्ये मैथिली मराठीपछिको सर्वाधिक पुरानो रहेको भाषाविद् रामावतार यादव बताउँछन् । मैथिली भाषामा लेखिएको ‘वर्णरत्नाकर’ भारोपेली भाषा समूहको पहिलो गद्यग्रन्थ मानिन्छ । मिथिलाको इतिहास, भूगोल, भाषा, संस्कृति, जन्मदेखि मृत्युसम्मका संस्कार, लोकगीत, लोकगाथासँगै विश्वलाई नै चकित बनाएको मौलिक चित्रकला पनि छ, जसलाई मिथिला चित्रकला भनिन्छ । विशिष्ट शैली, पारम्परिक रङविधान तथा चित्रमा अभिव्यक्त धार्मिक, सांस्कृतिक भाष्यका कारण अचेल यस चित्रकलाप्रति विश्वकै ध्यानाकृष्ट भएको छ । सीताको विवाहका बेला मिथिला नरेश जनकले मिथिलावासीलाई आआफ्ना घर सजाउन भनेका थिए । भनिन्छ— त्यतिबेला मिथिलावासीले मिथिला चित्रकला कोरेर घर सजाएका थिए । यद्यपि मिथिला चित्रकलाका जानकार एससी सुमन मिथिला चित्रकलाको आरम्भ मिथिला सभ्यताको सुरुवातसँगै भएको बताउँछन् । ‘आदिमानवको प्रकृति प्रदत्त शक्ति तथा उपादानका आधारमा मानवीय कला विकास भएको थियो । मिथिलामा विकसित मानवीय कला मिथिला चित्रकला हो,’ सुमन भन्छन् ।

मिथिला सभ्यताको आरम्भदेखि नै घर–आँगन र भित्तामा कोरिन थालिएको तथा विवाह, व्रतबन्ध, पूजा–अर्चना एवं कृषि उत्सवहरूको अभिन्न अंग बनिसकेको मिथिला चित्रकलाबारे भने धेरैपछिसम्म विश्व बेखबर जस्तै थियो । नेपाल र भारत दुवैतिर विदेशीहरूले नै पहिलो पटक मिथिला चित्रकलाबारे अध्ययन–अनुसन्धान गरे । यसको व्यावसायिक सम्भावनाबारे बुझाए । अमेरिकी नागरिक क्लियर बर्केट नेपालको राजनीतिक अवस्थाबारे अध्ययन गर्न सन् १९८५ मा नेपाल आएकी थिइन् । ६ महिनाको नेपाल बसाइमा उनले नेपालको राजनीतिक अवस्थाबारे विभिन्न पत्रपत्रिकामा लेख लेखिन् । सन् १९८७ मा उनी दोस्रो पटक नेपाल आइन् । परिवार नियोजन (सानोठिमी) रेडियो कार्यक्रममा संलग्न भइन् ।

परिवार नियोजनको चलचित्र निर्माणका क्रममा जनकपुर आउँदा उनको ध्यान यहाँका महिलाहरूको दयनीय अवस्था, गरिबी, अशिक्षा, विभेदसँगै महिलाहरूले जोगाएर राखेका लोककलातर्फ पनि आकृष्ट भयो । गरिबी र अशिक्षाका कारण यहाँका महिलाले आफूसँग भएको अनमोल कलाकौशलको महत्त्व बुझ्न सकेका छैनन् भन्ने उनले ठम्याइन् । उनीहरूको कौशललाई कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने उनको मनमा आयो ।

यस क्रममा उनले मधुवनी जिल्लाका विभिन्न गाउँको पनि भ्रमण गरिन् । सन् १९८९ मा तेस्रो पटक नेपाल आउँदा लौकिक चित्रकलाको विकास र संवर्द्धन गर्न बर्केटले जनकपुर चित्रकला परियोजना सञ्चालन गरिन् । परियोजनालाई संस्थागत गर्न सन् १९९२ मा जनकपुरधाम–१२ स्थित

कुवामा नारी विकास केन्द्र स्थापना गरिन् । अध्ययन–अनुसन्धानसँगै नारी विकास केन्द्रमार्फत मिथिला चित्रकलाको व्यावसायिक उत्पादन सुरु भयो । सरकारी उपेक्षा तथा अव्यवस्थाबीच यो अद्यावधि सञ्चालनमा छ । अहिले नेपालमा मिथिला चित्रकला बिक्री गर्ने सयौं ग्यालरी सञ्चालन भइसकेका छन् । चित्र कोरेर जीवनयापन गर्ने हजारौं चित्रकार पनि क्रियाशील छन् ।

ललितकला क्याम्पस, काठमाडौंबाट हालै फाइन आर्टमा स्नातक गरेकी तथा मोडर्न मिथिला ग्यालरी चलाइरहेकी मनीषा साह नेपालमा मिथिला चित्रकलाका एक हजारभन्दा अधिक कलाकार रहेको बताउँछिन् । ‘मिथिलाञ्चलका घरघरमा मिथिला चित्रकलाका जानकार छन् । जो पर्व–त्योहार, विवाह–व्रतबन्धमा स्वयं चित्र कोर्छन् । व्यावसायिक रूपमा देखा नपरेकाले उनीहरूको गणना गर्न नसकिएको हो,’ मनीषा भन्छिन् ।

मिथिला चित्रकला कि मधुवनी पेन्टिङ ?

प्राचीन मिथिलाको सीमा उत्तरमा महाभारत पर्वत शृंखला, दक्षिणमा गंगानदी, पूर्वमा कोसी र पश्चिममा गण्डकी नदी थियो । यस सीमाभित्र कोरिने पारम्परिक चित्रकला मिथिला चित्रकला हो । तर सीमापारि यसै प्रकृतिको चित्रकलालाई मधुवनी पेन्टिङ भनिने मिथिला चित्रकलाका जानकार एससी सुमन बताउँछन् ।

मधुवनी पेन्टिङ नामकरणको श्रेय पनि एक विदेशीलाई नै जान्छ । सुमनका अनुसार सन् १९३४ मा मिथिलाञ्चलमा ठूलो भुइँचालो आएको थियो । त्यसपछि क्षतिको विवरण बुझ्न तत्कालीन अंग्रेज शासकले विलियम आर्चर नामका सर्भेयरलाई मधुवनी पठाएका थिए । सर्वेक्षणका क्रममा उनले भताभुंग घरका भित्तामा आकर्षक तस्बिर फेला पारे । ती चित्र क्यामरामा उतारे अनि यसको महत्त्व, निर्माण कला अनि रङविधानबारे स्थानीयसँग सोधीखोजी गरे । सम्पूर्ण तथ्य खोजी र विश्लेषणपछि विलियम आर्चरले सन् १९४९ मा मिथिला चित्रकलासम्बन्धी लेख तत्कालीन मार्ग पत्रिकामा प्रकाशन गराए । आर्चरले मधुवनी जिल्लाको सर्वेक्षण गरेका थिए । त्यसैले उनले मधुवनीमा प्राप्त चित्रकलालाई मधुवनी पेन्टिङ नाम दिए ।

अंग्रेजी भाषामा प्रकाशित उक्त लेखपछि मिथिला चित्रकलाबारे विश्वको ध्यानाकृष्ट भयो । सन् १९९४ मा आर्चरको पुस्तक नै प्रकाशित भयो— आर्चर एन्ड आर्चर । जसमा उनले मिथिला चित्रकलाका विषयमा लेखेका छन्, ‘यी तस्बिर (मिथिला चित्रकला) हेर्नुभन्दा पहिले मैले यस्तो केही पनि देखेको थिइनँ । जो सहजभावले युरोपको आधुनिक कला मान्यताहरूको नजिक होस् ।’

भित्तादेखि कम्प्युटरसम्म

आर्चर र रिचार्ज बर्केटले फेला पारेका मिथिला चित्रकलाको मूल स्वरूप घरका भित्ता तथा धार्मिक र सामाजिक संस्कारहरूमा घरआँगनमा बनाइने अरिपन आदिमा सीमित थिए । मध्यकालीन मिथिलाञ्चलमा माटो तथा बाँसको टाटमा माटो पोतेर बनाएको पर्खालमाथि घर ठडाउने परम्परा थियो । यो परम्परा अद्यापि छ । माटोबाट बनेका यस्ता घरलाई आकर्षक बनाउन माटोबाटै वा भित्तामा विभिन्न रङको प्रयोग गरेर कलात्मक आकृति बनाउने गरिन्छ । साथै अन्न राख्न माटोको कलात्मक कोठी (भकारी), दियो राख्न दियटी, पानीको घैला (गाग्रो) राख्न घैलची आदिको निर्माण पनि माटोबाटै गरिन्थ्यो, जो अत्यन्त कलात्मक हुन्छ ।

सन् १९७० पछि विलियम आर्चरले भित्तामा कोरिएका तस्बिरलाई कागजमा उतार्न लगाएको एससी सुमन बताउँछन् । भारत मधुवनीकी सीतादेवी, गंगादेवी र जगदम्बादेवीहरू यस काममा लगाइएका थिए । भित्ते चित्रलाई कागजमा उतार्ने यिनीहरू पहिलो पुस्ताका मिथिला चित्रकार हुन् । यसरी भित्ताबाट कागजमा उतार्दा तस्बिरहरूको लय अलिअलि फरक भएको सुमनको कथन छ ।

‘उभिएर भित्तामा बनाइएको तस्बिरलाई बसेर कागजमा उतार्दा त्यसको रिदममा अलिअलि फरक आयो,’ सुमनले भने । मिथिला चित्रकलाले कागजबाट क्यानभास र क्यानभासबाट कम्प्युटरसम्मको यात्रा गरिसकेको छ । चित्रहरू कागजमा आएपछि प्रचारप्रसार र बिक्रीवितरणमा सजिलो भएको सुमनको कथन छ । पारम्परिक कथ्यबाट सुरु भएको यो चित्रकला अन्तर्मनको भाव व्यक्त गर्ने सशक्त माध्यम बनेको छ । एससी सुमनका अनुसार–व्यवसायीकरणसँगै अभिव्यक्तिको दायरा पनि फराकिलो भएपछि मिथिला चित्रकलाको विषयवस्तु थपिने क्रम बढेको छ । अचेल मिथिला चित्रकलाको शैलीमा आधुनिक भाष्यहरूको सिर्जना हुन थालेको छ । विवाह, व्रतबन्ध, रासलीला, राधा–कृष्ण, कोवर, अरिपनसँगै महिला हिंसा, शिक्षा, स्वास्थ्य सचेतना जस्ता विषय पनि यसका विषय बन्न थालेका छन् ।

मिथिला चित्रकलाका प्रमुख ६ शैली मानिन्छ, जसमध्ये तीन परम्परागत र तीन लोकशैली छन् । परम्परागत शैलीहरूमा कचनी, भरनी र तान्त्रिक चित्र शैली प्रमुख मानिन्छ । लोक शैलीहरूमा भने गोदना, गोबर र गेरु शैलीलाई लिइन्छ । नेपालमा मिथिला चित्रकला र सीमापारि मधुवनी पेन्टिङका नामले चिनिनाले यो मिथिलाञ्चलको ऐना बनेको छ । यसमा प्राचीन र आधुनिक मिथिलाको प्रस्ट तस्बिर देख्न सकिन्छ । यस लोककलाको संरक्षण, संवर्द्धन तथा बजारीकरणमा भारतमा अनेकौं प्रयास भए पनि नेपालमा भने तीनै तहका सरकारले यसको संरक्षण, संवर्द्धन तथा बजारीकरणबारे कुनै ठोस योजनासम्म ल्याउन सकेका छैनन् ।

सन् १९६६ मा उत्तर भारतमा भोकमरी हुँदा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी अल इन्डिया ह्यान्डीक्राफ्ट बोर्ड स्थापना गरेर मिथिलाञ्चलका महिलाहरूलाई हस्तकलामार्फत आयआर्जन गर्न प्रोत्साहन गरेकी थिइन्, जसको निर्देशक बनाइएका थिए पुपुल जयकर । योजनामार्फत महिलाहरूलाई कागजमा चित्र कोर्न लगाई आर्थिक लाभ दिइन्थ्यो । यसका अतिरिक्त मधुवनी पेन्टिङमा उल्लेख्य योगदान दिनेहरूलाई बिहार र भारत सरकारले पुरस्कृत पनि गर्दै आएको छ ।

मधुवनी, जितवारपुरकी सीता देवीलाई भारत सरकारले राष्ट्रिय पुरस्कार प्रदान गरेको थियो । मधुवनीकै जगदम्बा देवीलाई भारतका राष्ट्रपतिले सन् १९७५ मा पद्मश्री पुरस्कार प्रदान गरेका थिए । तर नेपालमा मिथिला चित्रकलाका कलाकार असुरक्षित महसुस गरिरहेका छन् । नेपालका विश्वविद्यालयमा मिथिला चित्रकला पाठ्यक्रममा समेत समावेश हुन सकेको छैन । जब कि भारतको बिहार र उत्तर प्रदेश मात्र होइन, महाराष्ट्र, गोवा जस्ता राज्यहरूका विश्वविद्यालयमा समेत मिथिला चित्रकला पाठ्यक्रममा राखिएको छ ।

प्रकाशित : वैशाख ७, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

चुनावभन्दा गाँसबासको चिन्ता

पहिरोले विस्थापित भएकाहरूलाई सुरक्षित ओत लाग्ने ठाँउ र दुई छाक टार्न हम्मे छ । बस्तीमा आएर आफ्नो पीडा बुझ्ने, आश्वासन दिने मात्र होइन; गाँसबासको बन्दोबस्त मिलाइदिनेलाई भोट दिने बताएका छन् ।
सरिता श्रेष्ठ

धादिङ — च्यातिनै लागेको टेन्टलाई चारैतिर डोरीले कसिलोगरी बाँधिएको छ । टेन्टभित्रको माथिल्लो भागतिर खुट्टेखाट राखिएको छ । खाटनजिकै कपडा र भाडावर्तन यत्रतत्र छरपस्ट देखिन्छ । ६८ वर्षीय धनमाया लामा र उनका २१ वर्षीय कान्छा छोरा बुद्ध लामा एकै छहारीमा दुःखसुख जोहो गरिरहेका छन् ।



ओत लाग्न टेन्टको छहारी भए पनि खाना पकाउन र खान खुल्ला ठाउँ उनीहरूका लागि दिनचर्या बनिसक्यो । जब हावाहुरीसहित मेघगर्जनको पानी पर्छ, न सुत्ने ठेगान हुन्छ न खाने, टेन्टलाई छहारी बनाएर भोकभाकै रात काट्छन् ।

२०७६ साउन ५ गतेको त्यो दिन । धनमाया त्यो दिनलाई सम्झदै आँखाबाट आँसु झार्छिन् । गजुरी गाउँपालिका २ बाह्रबिसेस्थित आफ्नै घरमा बसिरहेको बेला एक्कासी हावाहुरीसहितको पानीले घर वरपरको माटो बगाउन थाल्यो । घर, जमिन चिराचिरा पर्न थाल्यो । ओत लाग्ने छहारी भासिन थालेपछि छिमेकीहरूको भागाभाग हुन थाल्यो । छिमेकीसहित धनमाया पनि अलि परको स्कुलमा ओत लाग्न पुगिन् । उनी त्यो दिन सम्झदै भन्छिन्, ‘एक्कासी हावाहुरी; पानीले माटो बगाउन थाल्यो; घर चिराचिरा पर्न थाल्यो; ज्यान बचाउन स्कुलको शरणमा पुग्यौँ ।’

दुई रात स्कुलकै छहारीमा गुजारेका उनीहरूलाई बिहानीपम्प नजिकैको पाखामा जग्गा भाडामा लिएर गजुरी गाउँपालिकाले बासको बन्दोबस्त मिलाइदियो । केही खाद्यान्न पनि उपलब्ध गराइदियो तर त्यो पर्याप्त थिएन । तीन वर्ष पुग्नै लागिसकेको छ । बर्खामा हावाहुरी र घाम, हिउँदमा चिसोले सकस बेहोरिरहनु परेको छ । वर्षैपिच्छे पीडाको घाउ थपिँदै जाँदा उनी बिलौना गर्छिन् । जेठा छोरा रुद्रबहादुर लामा आफ्नी श्रीमतीसहित त्यहि बस्तीमा अलग्गै बस्छन् । कान्छा छोराले कमाएर दिए भने खान पाइयो नत्र भोकभाकै हुन्छिन् ।

धनमायाको भन्दा कम्ती छैन सुनबहादुर तामाङको पीडा पनि । भूकम्पले बाह्रबिसेको घर भत्काइदियो । अनुदानमा बन्दै गरेको घरमा बस्नसमेत पाएनन् । बाढीपहिरोले डाँडै बग्यो, समथर बाह्रबिसे टोल गह्रागह्रा बन्यो । बस्नै नसक्ने अवस्था पुगेपछि बाह्रबिसेको बस्ती नै छाडेर बिहानीपम्प नजिकै पुगे । सुरुसुरुमा त आफन्तको घरमा शरण लिन पुग्थे तर कत्तिन्जेल आफन्तकोमा बस्न जानु ? रेडक्रसले टेन्ट उपलब्ध गराएपछि तत्कालका लागि ओत लाग्ने बास सुनिश्चित भयो । तीन वर्षदेखि एउटै टेन्टभित्र श्रीमती आइतमाया तामाङसहित ६ जनाको परिवार जसोतसो गुजारिरहेका छन् ।

सुनबहादुरको टेन्टभित्र एउटा खाट छ । नजिकै भान्छाका सामानहरू छरपस्ट छन् । कोही त्यहि खाटमा सुत्छन्, कोही भुइँमा । हावाहुरी, पानी आउँदा भागाभाग, रुवाबासी चल्छ । साना बालबच्चा रुने/कराउने गर्छन् । ‘कोही खाँटमुनि लुक्छन्‚ कोही तरकारीको किरेट ओडेर बस्छन्‚’ सुनबहादुर भन्छन्, ‘यसपालि पनि हावाहुरीको मौसम सुरु भएको छ; कहाँ बस्नु, के खानु अत्तोपत्तो छैन ।’ आफ्नो परिवारको विलाप सम्झेर उनी बेलाबेलामा भक्कानिन्छन् ।

बिहान-बेलुकाको छाक टार्न सुनबहादुर डोको बुन्छन्, छोराछोरीहरू त्रिशुली किनारैमा बालुवा चाल्न जान्छन्, मेलापात गर्छन् । दिनभरि कमाएर बेलुका खान्छन्, काम नगरेको दिन भोकै सुत्छन् । सुरक्षित गाँसबासको बन्दोबस्त मिलाइदिन उनीहरू पटक पटक स्थानीय सरकारलाई गुहारिरहेका छन् । ‘बस्तीमा आउँछन्, हाम्रो बिजोग हेर्छन्, अनि आश्वासन दिएर जान्छन्‚’ उनी भन्छन्, ‘चुनाव आउँदैछ, जसले हाम्रो गाँसबासको उचित व्यवस्थापन गरिदिन्छन्, उसैलाई भोट दिन्छौं । आफैंले जग्गा किनेर अन्यन्त्र बस्न सक्ने अवस्था छैन । चुनावअघि अन्यन्त्र सारिदिन्छन् कि भन्ने आश थियो तर पीडा कसैले पनि देख्दैनन् ।’

धनमाया र सुनबहादुरको जस्तै सोही ठाउँका वीरबहादुर लामाको पनि उस्तै समस्या छ । ५ रोपनी जग्गाजमिनसहित घर नै पहिरोले भासिएपछि विस्थापित भएर अन्यत्र बस्नुपरेको छ । अहिले पूराना जस्ताको जोहो गरेर चार जनाको परिवार जसोतसो गुजारिरहेका छन् । उनी भन्छन्, ‘हामी त घरको न घाटको भएका छौँ । तत्कालका लागि हामीलाई बसोबासका लागि स्थानान्तरण गरिदिनुपर्‍यो ।’ सुत्ने पर्याप्त ठेगान छैन, खाना पकाउने ठाउँ छैन, तैपनि उनीहरू दिनरात गुजारिरहेका छन् ।

बाह्रबिसेका २१ घरधुरी नै विस्थापित भएका छन् । सबैको व्यथा एउटै छ । कोही टेन्टमा त कोही पूराना जस्ताको ट्रस्ट बनाएर बसिरहेका छन् । पहिले दिएको टेन्ट हावाहुरीले च्यातिँदै गएको छ । पानी परेको बेला टेन्टमा पानी छिरेर बस्ने ठाउँसमेत हुँदैन । सर्प, गड्यौँलालगायत जनावर बस्तीमै पस्छन् । बालबालिकालाई राख्न सुरक्षित ठाउँ छैन । बस्ने ठेगान छैन, खाने ठेगान छैन, बालबालिकाले पढ्न पाएका छैनन् ।

सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै राजनीतिक दलका नेताहरू चुनावमा होमिएका छन् । मतदाता फकाउन लागिपरिरहेका छन् । यो बस्तीमा पनि भोट हाल्न आग्रह गर्दै विभिन्न आश्वासन देखाएर नेताहरू पुग्ने गरेका छन् । चाँडै नै सुरक्षित बास र गाँसको बन्दोबस्त मिलाइदिने भन्दै फर्कन्छन् तर तीन वर्ष पुग्नै लाग्यो; ती आश्वासन अहिले हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । चुनावअघि गाँसबासको व्यवस्था मिलाइदिन्छन् कि भन्ने आशामा बसेका विस्थापितहरू निराश भएका छन् ।

बाह्रबिसेका २१ घरधुरी नै विस्थापित भएका छन् । बस्ती नै पहिरोले भासिएपछि यहाँका मानिसहरू अन्यन्त्र बसिरहेका छन् । उनीहरू विस्थापित भएसँगै खाद्यान्न अभाव पनि भोगिरहेका छन् । खाद्यान्न अभाव हुनुमा जग्गाजमिन निकै कम हुनु हो । भएका जग्गाजमिन पनि पहिरोले पुरिएको अवस्थामा छ । अहिले यहाँको मुख्य समस्या भनेको सुरक्षित आवासको अभाव र खाद्य अभाव हो । बसोबास रहेको गाउँमा जमिन चिरिएर भासिएको छ । खाद्य अभाव टार्न ज्याला मजदुरी बाहेक अर्को विकल्प कसैले देखेका छैनन् । त्यसैले उनीहरू त्रिशुलीमा बालुवा चाल्न जाने, मजदुरी गर्ने, मेलापातमा गएर गुजारा टारिरहेका छन् ।

बाह्रबिसे पहिरो विस्थापित बस्दै आइरहेको बस्तीको गजुरी गाउँपालिकाले जग्गाभाडा उपलब्ध गराइदिएको छ । तर त्यो दीर्घकालीन नहुने विस्थापितहरू बताउँछन् । अर्कोतर्फ बसिरहेको जग्गा विवादित पनि छ । जग्गावालाले बस्ती छाड्न आग्रह गरेपछि कहाँ जाने, के गर्ने अन्योलमा छन् ।

प्रकाशित : वैशाख ७, २०७९ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×