कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेपाली फिल्ममा महिला कलाकार : कमजोर उपस्थिति, सीमित भूमिका

प्रकृति दाहाल

काठमाडौँ — आमा, माइतीघर, कुमारी । यी नारीप्रधान नाम हुन्, जहाँबाट नेपाली फिल्मको इतिहास सुरु हुन्छ । सुरुआती चरणमा नारीको वेदना र विलौनालाई नै यसले आफ्नो कथा बनायो । अहिले ६ दशकपछि नेपाली फिल्म महिला निर्देशकको कप्तानीमा छ ।

नेपाली फिल्ममा महिला कलाकार : कमजोर उपस्थिति, सीमित भूमिका

मूलधारमा रेनेसा वान्तवा राई, रेखा थापा, झरना थापा, दीपाश्री निरौलाजस्ता महिला निर्देशक सक्रिय छन् । तर दु:खलाग्दो कुरा, समग्रमा नेपाली फिल्ममा महिलाको स्थिति र उपस्थिति नाजुक छ ।

चाहे महिलालाई दिइने भूमिकाको कोणले होस् वा पारिश्रमिकको हिसाबले । चाहे महिलालाई प्रस्तुत गर्ने विधिले होस् वा जिम्मेवारीको बाँडफाँटले । नेपाली फिल्मले महिलालाई पुरुषसत्ताकै लेन्सबाट फ्रेमिङ गरिरहेको स्पष्ट हुन्छ ।

सन् २०२० नेपाली फिल्ममा महिला उपस्थितिबारे एक अध्ययन भएको थियो, रेप्रिजेन्टेसन्स अफ वुमन एन्ड गर्ल्स इन नेपाली सिनेमा शीर्षकमा । क्षितिज अधिराज र अभिमन्यु दीक्षितले गरेको उक्त अध्ययनको सार छ, ‘उपस्थितिले मात्र होइन भूमिकाको हिसाबले पनि नेपाली सिनेमामा महिलाहरु हेपिएका छन् ।’

फिल्ममा महिलालाई सशक्त, स्वाभिमानी र जुझारु देखाउनेभन्दा बढी ‘ग्ल्यामराइज्ड’ गर्ने प्रवृत्ति रहेको उक्त अध्ययनले औंल्याएको छ । साथै नायकको नायकत्वलाई देखाउनका लागि नायिकालाई एक सहायक र कमजोर पात्रका रूपमा उपस्थित गराएको पाइन्छ । नायिकाको नितम्ब, स्तनलाई जसरी फ्रेमिङ गरिन्छ, त्यसले पनि पुरुष मनोविज्ञानले नेपाली सिनेमालाई कसरी कब्जा गरेको छ भन्ने प्रस्ट पार्छ ।

फिल्म विज्ञहरु स्वीकार्छन्, ‘नेपाली फिल्ममा महिलाहरुलाई सौन्दर्यको साधनको रूपमा नै बढी देखाइने गरिन्छ । महिला निर्देशकहरुले नै निर्देशन गर्ने चलचित्रमा पनि महिलाहरुलाई वस्तुकरणको रूपमा लिइएको पाइन्छ ।’

महिलाहरु सहायक भूमिकामा देखिनुमा चलचित्रमा महिलाहरुलाई वस्तुकरण गर्ने प्रवृत्ति हावी भएको बताउँछन् निर्देशक मनोज पण्डित । उनका अनुसार महिला कलाकारहरुलाई पीडित पात्रका रूपमा देखाइने गरिन्छ । अधिकांश सिनेमामा हिरोको रोमान्स र चाहनाका लागि मात्र महिलाहरुलाई भूमिका दिने चलन छ ।

पुरुषहरुले चलचित्रमा पुरुषलाई केन्द्रीय भूमिकामा राख्नु स्वभाविक ठान्छन् पण्डित । उनी भन्छन्, ‘नेपालमा बन्ने अधिकांश फिल्म पुरुषत्वको बढाइचढाइ गर्ने खालका छन् । न मानवताको सिनेमा बनेका छन् न महिला सिनेमा नै बनेका छन् ।’

हुन पनि सिनेमाटोग्राफीदेखि सम्पादनसम्म, लाइटदेखि साउन्डसम्म, स्क्रिप्टदेखि निर्देशकसम्म नेपाली फिल्ममा पुरुषको घनत्व बढी छ । यही कारण महिलाको मर्मलाई न्याय गर्नसक्ने फिल्म बन्न नसकेको निर्देशक रेनेशा वान्तवा राई बताउँछिन् । नेपालमासक्रिय महिला स्क्रिप्ट राइटरको पनि कमी छ । यसैले फिल्ममा पुरुष मनोविज्ञान हावी हुने रेनेशाको बुझाइ छ ।

पछिल्लो समय ब्लकबस्टर भनिएका फिल्म ‘छक्कापञ्जा’को निर्देशक हुन्, दीपाश्री निरौला । उनको फिल्म बक्स अफिसमा हिट छ । यद्यपि उनले पनि आफ्नो लेन्सबाट महिलालाई त्यही कोणबाट प्रस्तुत गरिरहेकी छन्, जुन पुरुष निर्देशकले गर्छन् ।

महिला निर्देशक भएकाले महिलाका विषय मात्रै उठान गर्नुपर्छ भन्ने लाग्दैन दीपाश्रीलाई । ‘म महिला भएकाले महिलाका विषयहरु मात्रै उठान गर्नुपर्छ भन्ने ठान्दिनँ,’ उनले भनिन ‘समाजमा त पुरुष पनि छन् नि । समाजका विकृतिविरुद्ध चलचित्र निर्माण गर्ने गर्छु । ’

अभिनेत्री हुँदै निर्देशकसम्म बनेकी रेखा थापा भने एक यस्ती पात्र हुन्, जसले फिल्ममा महिलालाई नायक बनाउने गर्छन् । उनले बनाउने जुनसुकै फिल्ममा महिला पात्र नै केन्द्रीय भूमिकामा हुन्छन् र त्यसले पुरुष सत्तामाथि जहिले पनि विद्रोह गर्छ । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्रमा उनले महिलालाई नायकका रूपमा स्थापित गरेकी छिन् ।

रेखा भन्छिन्, ‘महिला आफै पनि सक्षम नायक हुन्, तर त्यो मनोविज्ञानलाई नेपाली फिल्मले अस्वीकार गरिरहेको छ ।’ फिल्मकर्मीको सोच अझै पनि फराकिलो नभएको उनको ठम्याइ छ । उनी भन्छिन् ‘समाजमा महिलालाई गरिने व्यवहार अझै पनि पितृसत्तात्मक नै छ, यो सोच महिलामाथि चलचित्रमा पनि हावी भएको छ ।’ चलचित्रमा पितृसत्तात्मक सोच परिवर्तन गर्नका लागि महिलाहरु आफै अग्रसर हुने पर्ने उनले बताइन् । उनका अनुसार जबसम्म महिलाहरु आफ्नो लागि आफै लेख्ने र बोल्ने गर्दैनन् यो अवस्था अझै रहिरहन्छ ।

चलचित्र लेखक तथा निर्देशक दिवाकर भट्टराई चलचिलाई समाजको ऐनको रूपमा देखाइने भएकाले पनि परिमार्जन गर्न नसकेको ठान्छन् ।

पारिश्रमिकमा पनि विभेद उस्तै

समाचारहरुमा बारम्बार सुनिन्छ, अनमोल केसीले एउटा फिल्मबाट ५० लाख बराबर पारिश्रमिक बुझ्छन् । दयाहाङ राई, विपीन कार्कीलगायतले १७ देखि २० लाख हाराहारीमा पारिश्रमिक लिँदै आएको पाइन्छ । त्यसबाहेक अन्य पुरुष कलाकारको पारिश्रमिक पनि ८ लाखदेखि ३ लाखसम्म छ ।

तर, अभिनेत्रीको हकमा यस्तो छैन । अनमोल केसी, दयाहाङ राईहरुको तुलनामा निकै कम पारिश्रमिकमै अभिनेत्रीहरुले काम गरिरहेको पाइन्छ ।

अक्सर केन्द्रीय भूमिकामा पुरुषलाई राखिने भएकाले उनीहरुको मूल्य बढी भएको निर्देशकहरुकै टिप्पणी छ । एक निर्देशक भन्छन्, ‘महिला पात्र वैकल्पिक रुपमा प्रयोग गरिने भएकाले उनीहरुसँग बार्गेनिङ क्षमता कम हुन्छ ।’

प्रकाशित : फाल्गुन २४, २०७८ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?