कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

'कार चढेर मकै खान आउनेले ५ रुपैयाँमा मोलमोलाइ गर्छन्'

गोविन्द पोखरेल

काठमाडौँ — ६८ वर्षीया मिठू रिजाल १६ वर्षदेखि काठमाडौंको बानेश्वर-बत्तीसपुतली सडकखण्डमा मकै पोलेर गुजारा चलाउँदै आएकी छिन् । तीनकुने र कालीमाटीबाट मकैका घोगा ल्याएर उनले सडकछेउमै बेच्दै आएकी छन् ।

'कार चढेर मकै खान आउनेले ५ रुपैयाँमा मोलमोलाइ गर्छन्'

हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा रिजालजस्ता हजारौं महिला र उनीहरूको समस्या भने छायाँमा पर्ने गरेका छन् ।

कुनै दिवस आएको पत्तै नपाउने रिजालसँग इकान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानी :

मकै पोलेर बेच्न थाल्नुभएको कति वर्ष भयो ?

त्यस्तै १६/१७ वर्ष भयो होला ।

एकदिनमा कतिवटा बिक्री हुन्छन् ?

त्यस्तै ४०/५० वटा बिक्छ ।

मकै कहाँबाट ल्याउनुहुन्छ ?

बिहान साढे ४ बजे उठेर हिँड्नुपर्छ । बिहानै गएन भने मकै नै पाइँदैन । तीनकुनेमा पाइएन भने कालिमाटी जानुपर्छ । जसले छिटो गयो त्यहाँ पाइन्छ नभए कालिमाटीमा । ९/१० बजेतिर फुटपाथमा जान्छु । बदाम र चुरोटहरू पनि बेच्छु ।

प्रतिगोटा कति लिनुहुन्छ ?

मकै ३० रुपैयाँ । बदामचाहिँ २०, ३० र ६० रुपैयाँको छ ।

फाइदा कतिको हुन्छ ?

मकै बेचेर के नै पो हुन्छ र ? गुजारा त चलाउनु पर्‍यो नि । दिनमा ४०/५० घोगा बेच्दा त्यस्तै २/३ सय रुपैयाँ बच्छ । गाडीभाडा, दाउरा गर्दा एउटा घोगा नै २५ परिहाल्छ । सबै एकैखालका नि हुँदैनन् । कुनै २५ रुपैयाँमा पनि बेच्छु ।

नियमित ग्राहक छन् कि सडक हिँड्नेले मात्रै किन्छन् ?

मकै खान आउने सबै एकथरिका हुँदैनन् पनि । फुटपाथको मकै सधैं कसले पो खान्छ र ? बाटोमा हिँड्नेहरुले धेरै खान्छन् । सधैं एकनासको व्यापार पनि छैन । कसैले दु:ख देख्छन्, कोही विचरा भन्छन् । कसैले 'सडकमा ठग्न बसेको' भन्दै थर्काउँछन् । कारमा चढ्नेहरु पनि आउँछन् तर उनीहरुलाई नै अलिक सस्तो चाहिन्छ । ३० रुपैयाँको मकै बेच्नु छ त्यसमा पनि ५ रुपैयाँका लागि मोलमोलाइ गर्छन् ।

सडकपेटीमा बस्न त नगरप्रहरीले पनि दिँदैन होला नि ?

अस्ति नै नगरपालिकाले पोलिदिएर केही छैन । आगो नै घोप्टाइदियो । १०/१५ दिन भयो होला । मकै पोल्ने ओदान अर्कै थियो । उनीहरु आएर खोस्न थाले । ओदान अघि लगेँ । कराई खस्दा कोइला सबै मेरो खुट्टामा लाग्यो । हातखुट्टामा पोल्यो । माथि अफिसबाट घ्युकुमारी ल्याएर एकजना भाइले लगाइदिए । अनि नगर प्रहरी गयो ।

पहिला नि दुई चोटि खोसिदिएको थियो । तर यसपालि चाहिँ आगोले नै पोल्यो । नयाँ चिम्टा किनेँ । ओदानचाहिँ वरिपरिका घरधनीहरुले बनाइदिनुभयो । चिम्टा पनि २ सय रुपैयाँ हालेर किनेँ ।

तपाईंको घर कता हो नि ?

मेरो घर दोलखाको मैनापोखरी हो । २०३६ सालमा आएको थिएँ । गाउँको एकजना दाजु-भाउजूले लिएर आउनुभएको थियो । म मेरा दुई भाइहरुसँग आएको थिएँ । पढेको थिएन, ज्यामी काम गरिन्थ्यो । म त्यसबेला २२ वर्ष जति थिएँ होला ।कहिले ज्यामी काम गर्‍यो कहिले खेत रोप्न गयो । धोबी खोलाको फाँटमा खेत रोप्न जान्थ्यौं । ज्याला ५ रुपैयाँ दिन्थे । हामी जस्ता सोझाले केही गर्न सकेनौं ।

कहाँ बस्नु हुन्छ ?

यहीँ बानेश्वरमा ।

को-को बस्नुहुन्छ ?

एउटा कोठा लिएको छु । भाइको छोरी नि सँगै छे । अरु थोक काम गर्न सक्दिनँ । ६८ वर्ष पुगिसकेँ । मेरो बुवाआमा हुनुहुन्न थियो, भाइहरु पाल्नुपर्ने भयो । विवाह गर्नै पाइनँ । दाइ हुनुहुन्थ्यो उहाँ पनि बित्नुभयो । भाइहरुसँगै काठमाडौं आएको थिएँ । एक जना भाइ बित्यो अब एउटा मात्रै छ । खर्चपर्च भाइले दिन्छ छोरीको, खाने बस्नेको जोहो म गर्छु । भाइको छोरी नि कलेज पढ्न थालेकी छे ।

मकैको सिजन नभएको बेला के गर्नुहुन्छ ?

पुस–माघदेखि भदौसम्म मकै पोल्छु । त्यसपछि बदाम, चुरोट, खत्र्याकखुत्रुक ।

पहिला र अहिलेको काठमाडौं कस्तो छ ?

काठमाडौंमा आउँदा गाडीहरु देख्न पाइयो । पहिला टाइलका घरहरु थिए अहिले बिल्डिङ नै बिल्डिङ छन् । पहिले हरियाली थियो ।

मकै पोलेको मात्रै १६ वर्ष भयो । १६ वर्षमा यसरी गफ गर्न कोही नि आएनन् । मानिसहरुलाई फुर्सद छैन होला,त्यही भएर पनि होला । फुटपाथमा यो मकै बेच्दा बोल्ने/नबोल्नेलाई हप्काउने पर्ने केही खाइदिएको छैन । आफ्नो मिहिनेत गरेर खानेलाई कसले हप्काउने ।

घर कतिको जानुहुन्छ ?

हाम्रो घर वैतेश्वर गाउँपालिकामा पर्छ । गाउँ जान्छु नि । दसैं तिहार, केही काम परो भने, विवाहतिर जाने नि आफ्नो घरमा । गाउँमा बसेर कोदालो खन्न सक्दिनँ, भारी बोक्न सक्दिनँ ।

मकै बेच्दाको अनुभव के छ नि ?

मकै लिन जाँदा ४ वर्षअगाडि मोटरसाइकलले ठक्कर दियो । अस्पताल ल्याएपछि मात्र मलाई थाहा भयो । मलाई लडाएर हिँडेछ, भागिहालेछ । बिहानै थियो । कसैले नम्बर पनि टिपेन । हामी जस्तोलाई कसले हेर्छ र ? त्यही त हो नि । डेढ वर्षसम्म हातमा स्टिल राखियो । सु:ख त आफ्नो भाग्यमा नै छैन । कसलाई चोर्नू ढाँट्नु नपरोस्, मिहिनेत गरेर खाएको छु । नगरी त भगवानले मुखमा हालिदिँदैनन् । आफ्नो हातले मिहिनेत त गर्नुपरो नि ।

फिल्म हेर्न जानु भएको छ ?

फिल्म हेर्ने भए पो थाहा हुनु । शिव श्रेष्ठ, भुवन केसी याद छ । राजेश हमाल पनि । न्यूरोडको रञ्जना हलमा हेरेको थिएँ । खै, कुन फिल्म हो याद छैन ।

तपाईँलाई नेताहरू कस्तो लाग्छ ?

आरीबाट कोइला घोप्ट्याउने, तीनै नेता हुन् ? यी नेताहरु यस्तै हुन् । आगो घोप्ट्याउन लगाउने यस्तै हो, यी नेता होइनन् त नगरपालिकाका ? मैले ठूलो गल्ती गरेको भए त हुन्थ्यो । म छेउ लागेर बसेको छु । मैले गलत गरेको हो भने मलाई व्यवसाय गर्ने ठाउँ देखाइदिनुपरो । म जस्तोलाई फुटपाथमा पनि स्थान छैन । मैले बाटो रोकेर व्यवसाय गरेको पनि छैन । हिँड्न मज्जाले सक्छन् । मैले सडकभित्र गरेर बसेको छैन । डेरा बसेकै घर अगाडि बसेको छु ।

नेताहरुको नाम थाहा छ ?

यी नेताहरुको हामीलाई केही नै छैन । कागलाई बेल पाक्यो, हर्ष न विस्मात जस्तै हो । नेताहरुले केही नि गरेका छैनन् । मैले थाहा पाएकाहरु मरिसके । गिरिजा, सूर्यबहादुर थापा, मरिचमान चिन्थेँ ।

भोट हाल्न गाउँ जानु भएको छ कि छैन ?

भोट पनि हालेको छैन । किन हाल्नु भोट ? बहुदल आएको वर्षमा हालेको छु । केही गर्ने होइनन्, तिनीहरुलाई भोट हाल्न किन यहाँबाट धाईधाई जानु ?

प्रकाशित : फाल्गुन २४, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×